ग्यालेक्सी हस्पिटलको निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५ सय बढीले सेवा लिए

पोखरा । पोखराको उत्तमचोकमा रहेको ग्यालेक्सी हस्पिटल प्रालिले पोखरा मानपा ३३ बागमारामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सरस्वती टीका माबि परिसरमा भएको उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नसारोग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, नाक,कान,घाँटी, आँखा लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले स्थानिय ५८५ जनालाई चेकजाँच गरि औषधी समेत बितरण गरिएको हस्पिटलका अध्यक्ष डा हेमन्तकुमार मानन्धरले बताए । उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा डा हेमन्तकुमार मानन्धर, डा कल्याण बराल, डा प्रेमराज पंगेनी, डा सृजना शर्मा, डा सुरज बराल, डा शुरेश परियार, डा रोजिना पौडेल, डा बिक्रमबाबु कार्की, डा अन्जिता हिराचन, डा सुमन पराजुली लगायतले बिरामीलाई निशुल्क चेकजाच, स्वास्थ्य परामर्श तथा औषधि वितरण गरिएको र लक्षित समुहमा सेवा उपलब्ध गराउन सकिएको ग्यालेक्सी हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताएका छन् । सो अवसरमा १६० जनाको निशुल्क सुगर तथा युरिक एसिड जाँच र १२० जनाको भिडियो एक्सरे समेत गरिएको थियो। आवश्यकता अनुसार बिरामीलाई १ हप्ता देखी ३ महिनासम्मको लागि निशुल्क औषधि वितरण गरिएको बताइएको छ। हस्पिटलका संचालक महेश सिग्देललेले उक्त कार्यक्रम पोखरा मनपा वडा नं ३३ का अध्यक्ष रामचन्द्र पराजुली, विधालय व्यवस्थापन समिति, प्रधानाध्यापक, विधालय परिवार, आमा समुह, युवा कलव, टोल विकास समितिको समन्वयमा गरिएको जानकारी गराउदै शिविरमा सर्मपित सम्पर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । २४ घण्टा बिशेषज्ञ स्वास्थ्य सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक हप्ताको सोमबार निशल्क हाड जोर्नी तथा नसारोगको किल्निक संचालन गरिरहेको साथै यस हस्पिटलले नेपाल सरकार श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालय अन्तरगतको सामाजीक सुरक्षा कोष कार्यक्रममा आवद्ध हुने सम्पुर्ण सदस्यहरुलाई सहुलियत दरको मात्र २० प्रतिशत शुल्कमा उपचार गरिरहेको छ । उक्त कोषका सदस्यहरुको दुर्घटना भई चोट पटक लागेमा सत प्रतिशत निशुल्क सहित स्वास्थ्य उपचार तथा परार्मश सेवा उपलब्ध गराई रहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा ऋषीराम ढकालले बताए ।

भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण

काठमाडौं । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन् । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ । नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।’ उनका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ । उनले अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको बताए । ‘भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ । छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पु¥याउनेछौँ’, उनले भने । मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे । उनले भने, ‘धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन् । भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पु¥याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ ।’ उनले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसासमेत गरे । ‘भारतको ‘छिमेकी प्राथमिकता नीति’ नेपालका लागि खुसीको कुरा हो, भारतीय सरकारको सहयोग निकै उल्लेखनीय छ’, उनले भने । दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिए ।

बागलुङमा ठेक्काको म्याद सकिनै लाग्दासमेत अस्पताल निर्माण सुरु भएन

गलकोट । सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो । आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै सुरु भएको छैन । जिल्लाका अन्य पालिकाका आधारभूत अस्पताल धमाधम निर्माण भइरहेको सन्र्दभमा यहाँ भने जग्गा स्थानान्तरण विवाद र ठेकेदार कम्पनीबीचको असमझदारीका कारण ताराखोला गाउँपालिकाको पाँच शय्याको अस्पताल निर्माण ठेक्का म्याद सकिनै लाग्दासमेत सुरु नभएको हो । भौगोलिकरुपमा दुर्गम गाउँपालिका रहेको ताराखोलामा अस्पताल बनाउनका लागि उपयुक्त जग्गा नभएकै कारण अस्पताल निर्माणमा कठिन देखिएको हो । आधारभूत अस्पताल निर्माणका लागि वडा नम्बर २ को सरपान्डीडाँडामा दुई वर्ष अघि शिलान्यास भए पनि जग्गा विवाद तथा भौगोलिक जटिलताको कारण देखाउँदै गाउँपालिकाले ठेक्का लगाइसकेको जग्गालाई स्थानान्तरण गरी सोही वडाको कुवाँधुनेखोलामा पु¥याउँदा अस्पताल निर्माणमा निर्माण व्यवसायी र पालिकाबीच समस्या देखिएको थियो । शिलान्यासको वर्षनै ताराखोलामा बाढी पहिरो गएका कारण उक्त सरपान्डीडाँडामा अस्पताल निर्माण गर्न भौगोलिकरुपमा जोखिम रहेको गाउँपालिकाका प्राविधिकको सल्लाहमा अस्पताल निर्माणको जग्गा स्थानान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए । ‘दुई वर्षअघिनै जग्गा विवाद तथा भौगोलिक कठिनाइका कारण अस्पतालको जग्गा स्थानान्तरण गरिएको थियो, ठेकेदारले ठेक्का ल्याइसकेपछि काम रोकेर राखेको देखिएको छ, जुन स्थानमा अस्पताल बनाए पनि अस्पतालको डिजाईन एउटै हो, केही लागत थप घट भए पालिकाले निर्णय लिन्छ भन्ने थियो’, उनले भने, ‘निर्माण व्यवसायीले जग्गा स्थानान्तरणको कारण देखाउँदै भवन निर्माण गर्न आलटाल गर्दै दुई वर्ष बिताउनुभयो, चैत मसान्त सम्म सम्झौता मिति छ, म्याद सकिएपछि सार्वजनिक खरिद ऐनलाई टेकेर पुन ठेक्कामा जाने तयारीमा छौँ, अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा चरम ढिलासुस्ती गाउँपालिकालाई मान्य छैन ।’ प्रशासकीय अधिकृत गैरेका अनुसार सार्वजनिक खरिद ऐनमा ठेक्का मिति सम्झौता नसकेसम्म ठेकेदारलाई कारबाहीको काम गर्न नपाइने भएकाले चैत मसान्तभित्र ठेकेदारले काम थाल्ने लिखित सम्झौता नगरे ठेक्का रद्द गर्ने प्रक्रियामा गाउँकार्यपालिका जानेछ । पालिकाको आधारभूत अस्पताल समयमै नबन्दा गाउँपालिकाले दिने स्वास्थ्य सेवा प्रभावित बन्दै आएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । प्राविधिकले पालिका अस्पताल बनाउन शिलान्यास गरिएको जग्गा उपयुक्त नदेखेपछि स्थानीयको पहलमा अर्को स्थानमा जग्गा व्यवस्थापन गरेर अस्पताल बनाउने गाउँपालिकाको योजना रहे पनि निर्माण व्यवसायीले काम नै नथाल्दा समस्या भएको उनको भनाई छ । ‘अस्पताल बनिसक्ने समयमा काम सुरु नहुनु दुःखद् हो, ठेक्का मिति सकिदासाथ गाउँपालिकाले कार्यपालिकामार्फत ठेक्कालाई निरन्तरता दिने अथवा ठेक्का रद्द गर्ने निर्णय गर्ला’, उनले भने, ‘जिल्लाका १० पालिकामध्ये अधिकांश पालिकामा आधारभूत अस्पताल ठडिदा हाम्रोमा कामै सुरु नहुनु दुःखद् हो ।’ कोरोना कहरको समयमा पालिकाले कोरोना प्रभावित विरामीलाई पालिकाले निर्माण गरेको बहुउद्देश्यीय सभाहलमा राखेर उपचार गराएको थियो । भौगोलिक रुपमा भिरालो जमिन रहेको ताराखोलामा ठूला भवन तथा संरचना निर्माण गर्न समस्या हुँदै आएको छ । विसं २०७७ वैशाखमा दुई वर्षमा निर्माण सक्ने गरी गाउँपालिका र एसी कन्ट्रक्सनबीच रु सात करोड ५७ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का म्याद सकिना दुई महिना मात्रै बाँकी रहदा अस्पताल निर्माण सुरुसमेत भएको छैन भने निर्माण व्यवसायीले पालिकाको कारण अस्पताल बनाउन नसकेको बताउँदै आएको छ । यता ताराखोला गाउँपालिकाले निर्माण व्यवसायीका कारण काम नभएको जनाएको छ । ठेक्का लगाइसकेको जग्गामा अस्पताल नबनाएर नयाँ जग्गामा अस्पताल बनाउन पालिकाले भने पनि लागत फरक पर्ने भएकाले भवन निर्माणको काम नथालेको अस्पताल भवन निर्माणको जिम्मा पाएको एसी कन्ट्रक्सन प्रालिका प्रतिनिधि दीपक अदैले जानकारी दिए । काम गरेर मूल्याङ्कन नभएर लगानी डुब्नभन्दा कामै सुरु नगर्दा राम्रो देखिएको भन्दै जग्गा अनुसार भवनको जग फरक पर्ने भएकाले पालिकाले उक्त परिवर्तित नक्सा उपलब्धसमेत नगराएको उनको भनाइ छ । ‘भवन एउटा जग्गामा गर्ने भनेर ठेक्का लिए, काम गर्न उपकरणसहित जाँदा स्थान परिवर्तन भएको देखियो, उक्त स्थानमा काम गर्दा लागत बढ्ने भए पनि गाउँपालिकाले सोही लागतमा काम गर्न दबाब दिइराखेको थियो’, उनले भने, ‘पछि काम गरेर भुक्तानी नपाउनभन्दा कामै नगर्दा राम्रो भनेर हात झिकेर फर्के, अहिले अस्पतालको जग्गा व्यवस्थापन र पहिरो नियन्त्रणका लागि गरेको कामको समेत रकम भुक्तानी भएन, आजको दिनसम्म हामीले एक पैसासमेत लिएका छैनौँ ।’ गाउँपालिकाले ठेक्का मिति सकिने बेलासम्म परिवर्तित भवनको नक्सा र डिजाइन उपलब्ध नगराएर निर्माण व्यवसायीलाई दोष दिन नमिल्ने अदैको भनाइ छ । स्वास्थ्य मन्त्रालयको बजेटमा निर्माण हुने पालिका अस्पतालका लागि केन्द्रले नै स्वीकृत गरेको नक्सा र डिजाइनअनुसार पालिकाले काम गर्नुपर्ने प्रावधान छ । अस्पताल बनाउनका लागि पालिकाको नाममा अस्पतालको शय्याअनुसार तोकेको जग्गा हुनुपर्ने छ । पालिकाले सार्वजनिक खरिद ऐनअनुसार सुविस्थाको आधारमा पुनःठेक्का गर्नेतर्फ जानका लागि निर्माण व्यवसायीले समझदारी गर्ने निर्माण व्यवसायीको भनाइ छ । अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निर्माण व्यवसायीको तर्फबाट हालसम्म ५० लाख रुपैयाँ खर्च भइसकेको ठेकेदार कम्पनीको दाबी छ । रासस