सुनसरीको बर्जुमा दादुरा फैलियो, १० हजार बालबालिकालाई खोप लगाइँदै

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ । दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् । जसमध्ये केही वयश्क व्यक्ति समेत रहेका छन् । योसँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालिन कार्य योजना अघि बढाएको छ । प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा बिरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए । उनले दादुरा अति संक्रमित रोग भएकाले एउटै क्षेत्रमा ५ जना पुष्टि भए यसलाई महामारीको रुपमा लिइने बताए । उनले यसलाई रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिहरुलाई अघि सारेको बताए । २९ जना पोजेटिभ केस फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या थप बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ । दादुरा तिब्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अविलम्व अवलम्वन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरुमा फागुनको १६ गतेबाट एकसाथ दादुरा बिरुद्धको खोप अभियान सञ्चालनमा ल्याइनेछ । अभियानमा ६ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई दादुरा बिरुद्धको खोप लगाउने गरी तयारी थालिएको कार्यालयले जनाएको छ ।

चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित

बागलुङ । विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् । एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अमित ढुङ्गाना र डा अभिशेष वाग्ले मात्रै कार्यरत छन् । दरबन्दीका चिकित्सक नआउँदा छात्रवृत्ति र करारका चिकित्सकको सहयोगमा बिरामीको उपचार भइरहेको धवलागिरिमा पछिल्लो समय छात्रवृत्ति र करारका चिकित्सकसमेत आउन नमान्दा उपचार सेवा प्रभावित भएको छ । चिकित्सक अभावमा धवलागिरिमा डेढ महिनादेखि अत्यावश्यक प्रसूति सेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा सामान्य ओपिडी सेवामात्रै सञ्चालनमा ल्याइए पनि गर्भवतीको जटिल समस्या र शल्यक्रियाका लागि पोखरा सिफारिस गर्न अस्पताल बाध्य छ । प्रसूति विभागमात्रै होइन, चिकित्सक अभावमा बालरोग विभाग, नाक, कान तथा घाँटी रोग विभाग र छाला रोग विभाग बन्द अवस्थामा छ । अस्पतालमा अहिले चिकित्सक अभावमा ओपिडीदेखि इमर्जेन्सी तथा आइसीयूसम्मको सेवामा प्रभाव पारेको धवलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा ढुङ्गानाले बताए । “एक हप्ताअघिमात्रै गण्डकी प्रदेश सरकारले करारका दुई मेडिकल अधिकृत पठाएको छ, अहिले तत्कालका लागि स्त्रीरोग विशेषज्ञ र बालरोग विशेषज्ञसहित चिकित्सकको आवश्यकता छ, अभावका बीच अस्पतालको अन्य सेवा निरन्तररूपमा चले पनि प्रसूति विभाग, बालरोग तथा नाक, कान घाँटीरोग विभाग सञ्चालनमा कठिनाइ छ ।” डा ढुङ्गानाले भने, ‘छात्रवृत्तिका चिकित्सकको भरमा चल्दै आएको अस्पतालमा लामो समयदेखि दरबन्दीका चिकित्सक आउन सकेका छैनन्, छात्रवृत्तिका चिकित्सकको समयावधि सकिएपछि फर्कनुहुन्छ, कोरोना त्रासमा थपिएका करारका चिकित्सकको करार नवीकरण भएन, दरबन्दीका चार मेडिकल अधिकृत अध्ययन बिदामा हुनुहुन्छ ।’ तत्कालै चार विशेषज्ञ र चार मेडिकल अधिकृत नभएसम्म अस्पतालका सबै विभाग सञ्चालन गर्न कठिन हुने उनले बताए । केही महिनाअघिसम्म छात्रवृत्तितर्फका ११ विशेषज्ञ चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा अहिले पाँच जनामात्रै विशेषज्ञ छन् । अस्पतालमा करार र छात्रवृत्तितर्फका गरी जम्मा छ र दरबन्दीका दुई १३ चिकित्सक कार्यरत रहेको धवलागिरिका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए। ‘तेइस जनाको दरबन्दी रहेको अस्पतालमा जम्मा १३ चिकित्सक छन्, दरबन्दीका जम्मा दुईजना हुनुहुन्छ, अहिले अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्षलगायत मानसिक रोग विभागसहित धेरै सेवा थपिएका छन्’, उनले भने, ‘दरबन्दी अनुसारका मात्रैले समेत नथेग्ने अस्पतालमा अहिले चिकित्सकको अभाव छ, दैनिक ओपिडी शाखामा मात्रै अहिले चार सय बिरामी आउँछन्, अस्पतालको भौतिक पूर्वाधारसमेत धेरै बन्यो, तर अस्पतालमा दरबन्दीका चिकित्सक ल्याउनै सकिएन ।’ चिकित्सक अभावबारे स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारलाई पत्राचार गरिएको छ । छात्रवृत्तिका चिकित्सक समयावधि पुगेर फर्कनु र दरबन्दीका चिकित्सक अध्ययन बिदामा बस्दा समस्या भएको हो । रासस

आजदेखि १५ जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै

काठमाडौं । आजदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि यही फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा खुवाइँदै छ । मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए। औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तिपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तिपाइले हुनबाट जोगाउँछ । हात्तिपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तिपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ । शरीरमा हात्तिपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तिपाइलेका कारण शारीरिक अपाङ्गता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउनेछ । सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।