
काठमाडौं । डाक्टर जेपी प्रधानांगले सामान्यतया कान सफा गरिरहनुनपर्ने बताएका छन् । उनले कान सफा गर्ने भनेको कानको बाहिरी भाग मात्र भएको बताएका छन् ।
सामाजिक सञ्जालमा सूचनामूलक सामग्री सेयर गर्दै डा. प्रधानांगले लेखेका छन्, ‘कानभित्र कानेगुजी बनिरहेको हुन्छ, प्राकृतिक रुपमा आँफै निस्कन्छ, सफा गरिरहनुपर्दैन ।’
कानेगुजी फोहोर नभई कानको प्राकृतिक संरक्षण भएको, कानेगुजीमा एन्टिसेप्टिक गुण हुने र त्यसले विभिन्न जीवाणु र ढुसीबाट हुनसक्ने संक्रमणबाट बचाउने डा. प्रधानांगले उल्लेख गरेका छन् । साथै कानेगुजीले किरा र धुलोलाई छेकेर समेत कानलाई बचाउने उनको तर्क छ ।
केही व्यक्तिहरुमा कानेगुजी अत्याधिक मात्रामा बन्ने र बिस्तारै पुरै कान भरिएर समस्या दिन सक्ने अवस्थामा कानेगुजी नरम गर्ने थोपा केही दिन राखेर चिकित्सकको निगरानीमा कान सफा गर्नुपर्ने उनले सुझाव दिएका छन् । डा. प्रधानांग वीर अस्पतालको नाक, कान घाँटी विभागमा सिनियर मेडिकल अफिसरको रुपमा कार्यरत छन् ।
