सम्पर्कमा नआएपछि वीर अस्पतालले पाँच जना स्टाफ जर्सलाई जागिरबाट हटायो
काठमाडौं । सम्पर्कमा नआएपछि वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई जागिरबाट हटाएको छ । पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुनलाई जागिरबाट हटाएको अस्पतालले सूचनामार्फत जनाएको छ । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि अस्पतालले उनीहरुलाई सेवाबाट हटाएको सूचनामा उल्लेख गरिएको छ ।
५०० शय्याको बन्दै कर्णाली प्रदेश अस्पताल, डेढ अर्ब बजेट छुट्याइयो
वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने भएको छ । अस्पतालका निर्देशक डा डम्मर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएकोे जानकारी दिए । तला थप गर्न प्रदेश सरकारले करिब डेढ अर्ब बजेट छुट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको उनले उल्लेख गरे । भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्ने गरी सुविधा विस्तार गर्न लागिएको छ । हालै मात्र अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यहाँ अहिलेसम्म मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । यदी मिर्गौला प्रत्यारोपण गर्नुपरेमा काठमाडौँ नै जानुपर्ने बाध्यता रहेकामा अब भने यस्तोे जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ । अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान गर्न लागेको छ । यस वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बीमा सुरु गरेको छ । त्यसैगरी अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारी सरोकारवालासँग छलफल गराइएको छ । सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाटसमेत उपचारका लागि बिरामी आउने गरेकाले अस्पतालमा बिरामीको चाप बढ्न थालेको निर्देशक डा खड्काले बताए । रासस
डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे र काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गरे । पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ । पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, नाम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समेटिएको छ । चार सय ५२ पृष्ठको उक्त पुस्तकको मूल्य छ सय ७५ रहेको छ । तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटुरोग विधामा विशेषज्ञता हासिल गर्नुभएका डा उपाध्यायले मुलुकको मुटुरोग उपचार सेवामा विशिष्ट योगदान पु¥याएका छन् । उनले मुलुकको सबैभन्दा ठूलो वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटुरोग उपचारमा सेवा पु¥याएका छन् । कार्यक्रममा डा पाण्डेले मुलुकको स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा भएका प्रगतिप्रति सन्तोष गर्ने धेरै ठाउँ रहेको बताए। पूर्वउपकुलपति शर्माले देश र समाजलाई माया गर्ने व्यक्तिले गुनासो होइन, कर्तव्य पूरा गरेर मात्र योगदान पु¥याउन सक्छ भने । पूर्वसचिव रामचन्द्रमान सिंह, डा प्रचण्ड प्रधान, डा प्रकाशराज रेग्मी, वरिष्ठ कवि दिनेश अधिकारीलगायतले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकभित्र मुटुको महासागरसम्बन्धी घटना समेटिएको बताए । पुस्तकमा डा उपाध्यायले विधाप्रतिको साधना एवं मेहनत आवश्यक रहने चिकित्साशास्त्र कला र विज्ञानको एउटा अब्बल नमूना भएको उल्लेख गरेका छन् ।