आयोगद्वारा विभिन्न कलेजलाई एमबिबिएस कोटा निर्धारण, कुन-कुनले पाए ?

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल/कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको हो । आयोगले विभिन्न २१ वटा शिक्षण अस्पताल/कलेजको एमबिबिएसका लागि १ हजार ८९५ कोटा निर्धारण गरेको आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए । उनका अनुसार १ सय जना कोटाका दरले १७ शिक्षण अस्पतालका लागि बाँडफाँट गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स टिचिङ अस्पताल, गण्डकी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्स, लुम्बिनी मेडिकल कलेजले एक सय जनाको कोटा एमबिबिएस पाएका छन् । यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेज अफ साइन्सेजले पनि एक सय जना एमबिबिएस पढाउने कोटा पाएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६५ कोटा, देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट र जानकी मेडिकल कलेज ५०/५० कोटा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० कोटा पाएका छन् ।

डा. सन्दुक रुइत जन्मभूमि फर्किँदा…

ताप्लेजुङ । आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन् । ‘आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ’, गृहजिल्ला ताप्लेजुङ आएका डा सन्दुक रुइतले भने । जन्मगाउँ ओलाङ्चुङगोला प्रस्थान गर्नुअघि फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा आयोजित आँखा शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जन्मभूमिप्रति आफ्नो छुट्टै दायित्वसमेत रहेको बताए । सानो छँदै मनभरि गाउँको माया र सम्झनाको भारी बोकेर उज्यालो भविष्यका लागि गाउँ छाडेका डा रुइत जिम्मेवारी र दायित्वका भारी बोकेर यतिबेला गृहजिल्ला आइपुगेका हुन् । आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ आएका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका छन् । उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगेका हुन् । हजारौँको आँखामा ज्योति दिएका डा रुइतलाई राज्यको नजर आफ्नो जिल्लाको भिरपाखा, दूरदराजका गाउँमा नपुग्दा भने दुःख लागेको छ । सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने, ‘सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दुःख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, तमोर काबेलीजस्ता नदीनाला, प्रसिद्ध तीर्थस्थल पाथीभरा, करिब चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवद्र्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ ।’ यहाँका नागरिकमा उसबेला देखिएको कठिनाइ आज पनि झण्डै उस्तै देखिएको भन्दै उनीहरूको जीवनस्तरलाई कसरी उकास्न सकिन्छ भन्ने आफूलाई चिन्ता भएको उनको भनाइ थियो । हरेक हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकास र समृद्धिका लागि सबै जना मिलेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए । ओलाङचुङगोलाप्रति मात्रै नभई समग्र जिल्लाप्रति नै आफ्नो केही दायित्व भएकाले भित्रैबाट केही गरौँ–गरौँ लाग्ने उनको भनाइ थियो । यस्तै संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा यस जिल्लालाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको समेत बताएका छन् । यसले यहाँको आर्थिक गतिविधि बढ्नुका साथै नागरिकहरू गुणस्तरीय स्वास्थ्य, शिक्षाको पहुँचमा पुग्ने र आत्मनिर्भर हुने बाटो खुल्ने उनको भनाइ छ । यसका लागि पर्यटन र अन्तरदेशीय व्यापार प्रवद्र्धनका लागि मुख्यरूपमा तमोर करिडोरको चाँडो निर्माण सम्पन्न हुनुपर्ने उनले प्रष्ट पारे । यस सडक संरचना छिटो सम्पन्न भएमा टिपताला नाका हुँदै आयात–निर्यात हुने र यसले यहाँका जनतालाई फाइदा पुग्ने उनले बताए । तमोर करिडोर ओलाङचुङगोलासँग जोडिन करिब तीन किलोमिटर बाँकी रहेको छ । उता टिपतालाबाट ओलाङचुङगोला बस्ती तीन वर्षअघि नै सडक सञ्जालले जोडिएको छ । कुनै समय उत्तरी चीनसँगका विभिन्न नाकाहरूलाई तिब्बतसँग जोडिएको टिपताला नाकाले लिड गर्ने गरेको तर हाल बन्द अवस्थामा रहेको सुनाउँदै उनले यसलाई खोल्न सरकारले कूटनीतिकरूपमा पहल गर्नुपर्ने बताएका छन् । निर्माणाधीन तमोर करिडोरले छिमेकी मुलुक चीन र भारतलाई सबैभन्दा छोटो मार्गबाट जोड्ने भएकाले सडक पूर्वाधारको निर्माण चाँडो सम्पन्न गरेर टिपताला नाका सञ्चालनमा ल्याउन आवश्यक भएको बताए । छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध राखेर मुलुक र जनताको आर्थिक समृद्धिका लागि सरकारले कूटनीतिक पहलकदमी चाल्नुपर्ने उनको भनाइ छ । टिपताला नाका हाल बन्द रहेको छ । कोभिड सङ्क्रमणकालमा चीनले बन्द गराएको नाका हालसम्म नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या छ । झण्डै तीन वर्षदेखि नाका बन्द रहँदा टिपताला नाका हुँदै आयात–निर्यात पनि ठप्प छ । सीमावर्ती गाउँ ओलाङ्चुङगोला, घुन्सा, याङ्माका बासिन्दाले तिब्बतबाट खाद्यान्नलगायतका सामान आयात गर्ने गर्थे भने यहाँ उत्पादित गलैँचा, घ्यू, छुर्पी र जडीबुटी निर्यात गर्थे । सपनाझैँ लाग्छन् गाउँघरका पहाड र विगत सात वर्षको हुँदा उनका बुवाले डा सन्दुकलाई पढाउन १५ दिन लगाएर दार्जिलिङ पुर्याएका थिए । उनलाई त्यो बेला लेलेप, तापेथोक, मित्लुङ, ताप्लेजुङ बजार, पाँचथर हुँदै दार्जिलिङ जाँदाको क्षण अलिअलि याद छ । बाटोमा हिँड्दै गर्दा उनका बुवाले माथि–माथिका डाँडा हेर्दै विभिन्न नाम लिएर देखाएका गाउँ सम्झिँदा मनमनै सपनामा बसेका ठाउँहरूजस्तो लाग्ने उनले सुनाए । आँखा शिविरमा आँखा जाँच गराउन तापेथोकमा आएकाहरूलाई घर गाउँ सोधीसोधी जाँच गरिरहेका देखिन्थिए । ‘आँखा उपचारमा आएकाले आफ्नो गाउँको नाम सुनाउँदा सानैमा आफ्ना बुवाले सुनाएको गाउँको नाम याद आयो, पहिले ती ठाउँहरू विकट थिए, मुस्किलले हिँड्नपथ्र्यो, अहिले केही ठाउँमा गाडी गुड्ने सडक पुगेको छ, कतिपय बिरामी मुस्किलले हिँडेर टाढा–टाढाबाट आउनुभएको पाएँ’, डा रुइतले भने । उसबेला गाउँमा जाने पैदल बाटो पनि त्यति सहज थिएन । गाउँमा बिजुली, टेलिफोन कुरै भएन । याक, चौँरीपालन, जडीबुटी सङ्कलन मुख्य पेसा थियो । गोलावासीले तिब्बतमा आफ्ना उत्पादन बेचेर नुन, तेल र खाद्यान्नलगायत अन्य सामान ल्याउने गर्थे । त्यो बेला यहाँका नागरिकको दुःख सम्झिँदा गाउँमा अझै पनि त्यति सहज र सुविधा नहोला भन्ने उहाँलाई लाग्ने गरेको छ । त्यसैले पनि आफू जहाँ पुगे पनि आफ्नो गाउँघर, आफन्त र यहाँका बासिन्दाको सम्झना उनलाई आइरहन्छ । गाउँका अग्ला पहाड र भिरपाखामा बसोबास गरिरहेका नागरिकको दुःखमा राज्यको नजर पुगोस् भन्ने उनलाई लाग्छ । अझै पनि यहाँका दूरदराजका गाउँका नागरिक गुणस्तरीय शिक्षा स्वास्थ्यको पहुँचमा छैनन् । राम्रो पठनपाठन, स्वास्थ्योपचारका लागि कम्तीमा सदरमुकाम फुङलिङसम्म नै आउनुपर्छ । ओलाङचुङगोला, याङ्मा, घुन्साजस्ता गाउँबाट दुई–तीन दिनको समय लगाएर सदरमुकाम आउनुपर्छ । डा रुइत जन्मे–हुर्केको गाउँ ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट अहिले दुई दिनको समय लाग्छ । यहाँबाट १५ दिनको समय लगाएर सात वर्षको उमेरमा पढाइका लागि दार्जिलिङ पुगेर शिक्षा आर्जन सुरु गरेका डा रुइतले विस्तारै आफूलाई चिकित्सा विज्ञानमा समर्पित गरे । विभिन्न ठाउँमा अध्ययन र सेवासँगै पछिल्लोपटक अष्ट्रेलियामा रहेर एक वर्षको अध्ययनपछि नेपाल फर्किएर काठमाडौँमा आँखा चिकित्सालयको स्थापना गरे । उनी अहिले तिलगङ्गा आँखा प्रतिष्ठानको संस्थापक एवं नेत्ररोग विशेषज्ञका रूपमा विश्वभर परिचित छन् । उनलाई विश्वका गरिबहरूका लागि आँखाका देवताका रूपमा लिने गर्दछन् । उनले एक लाखभन्दा बढी मानिसको आँखाको ज्योति पुनःस्थापित गरेकाे बताइन्छ । विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत उनी पछिल्लोपटक प्रतिष्ठित इशा अवार्डबाट सम्मानित भएका छन् । झण्डै तीन दशकदेखि मानवताका लागि सेवा गरेवापत बहराइन सरकारका तर्फबाट राजा हमादबिन इसा अल खालिफाले सो पुरस्कार प्रदान गरेका थिए । यसैबीच सोमबार गाउँमा पुग्दा उहाँलाई आफ्नो भूगोल र समुदायको शिर उच्च राखेकामा खुसी व्यक्त गर्दै आफन्त तथा गाउँलेले भव्य स्वागत गरेका छन् । विश्वमाझ आफ्नो छुट्टै पहिचान बनाएका डा रुइतलाई लामो समयपछि जन्मेको गाउँमा पुग्दा जति खुसी र उत्साह थियो उति नै आफन्तलाई पनि । उहाँलाई स्वागत गर्न गाउँभरका आफन्त एकै ठाउँमा जम्मा भएका थिए । तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङ्लुङ गाउँपालिकाको आयोजनामा फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित शिविर सम्पन्नपछि उनी आफ्नो गाउँमा पुगेका हुन् । शिविरमा उनले आफ्ना गाउँठाउँका ७० जना मोतियाबिन्दुको समस्यामा परेका बिरामीको शल्यक्रिया गरेका छन् । गाउँमा फर्किएर ज्योति दिएकामा उनीप्रति गाउँलेले खुसी व्यक्त गरे । यस्तै शिविरमा दुई हजार चार सय बढीले आँखाको जाँच तथा उपचार सेवा लिएका थिए । चार जनाको भने जटिल समस्या देखिएकाले तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको बताइएको छ । बिरामीलाई शल्यक्रिया गरिने स्थान तापेथोकसम्म आउन–जान गाडीको व्यवस्था गाउँपालिकाले मिलाएको थियो । आफ्नै गाउँठाउँमा जन्मे–हुर्केको छोराकै हातबाट उपचार गर्न पाउँदा स्थानीयवासी हर्षित देखिन्छन् । दूरदराजका गाउँमा निःशुल्क नेत्र शिविर सञ्चालन हुँदा यहाँका धेरै नागरिकले आँखा देख्न पाउँदा नयाँ जीवन पाएको बताएका छन् । रासस

नेपालगञ्जका सिकिस्त बिरामीलाई काठमाडौं पुर्याउनुपर्ने बाध्यता हट्दै

राँझा । नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ । सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेस्टर्न अस्पतालले अत्याधुनिक सुविधासहित आठ शय्याको सघन उपचार कक्ष (आइसीयू) सेवा सुरु गरेपछि अब सिकिस्त बिरामीको उपचार पनि नेपालगञ्जमै सम्भव भएको अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले जानकारी दिए । उनका अनुसार यसअघि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा सीमित सघन उपचारकक्ष रहे पनि सिकिस्त बिरामीको सङ्ख्या धेरै हुने हुँदा थप उपचारका लागि काठमाडौँ वा भारतको लखनउ प्रेषण गर्नुपर्ने बाध्यता थियो । आइसीयू सञ्चालन नहुँदा वेष्टर्न अस्पतालले मात्रै दैनिक करिब पाँच सिकिस्त बिरामीलाई थप उपचारका लागि काठमाडौं वा भारतको लखनउ प्रेषण गर्दै आएको थियो । अब नेपालगञ्जमै आइसीयूकक्ष भएपछि बिरामीले आफ्नै ठाउँमा सहजरूपमा उपचार पाउने डा थापाको भनाइ छ । आइसीयूमा भर्ना हुने हरेक बिरामीका लागि एक–एक जना तालिमप्राप्त नर्सका साथै २४सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ चिकित्सकको निगरानी रहने व्यवस्था मिलाइएको छ । यस्तो सुविधा भएको आइसीयू सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो । विगत १९ वर्षदेखि सञ्चालित वेष्टर्न अस्पतालले छ शय्याको एचडीयू सेवा पनि सुरु गरेको छ । केही दिनमै छ शय्याको एनआइसीयू पनि सञ्चालन गर्ने तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक थापाले जानकारी दिए । आइसीयूमा भर्ना हुने बिरामीको स्वास्थ्य सूचकहरूका बारेमा जानकारी दिनका लागि डब्लुएचओको मापदण्डअनुसार बिरामीको स्वास्थ्य सूचक सूचना प्रणाली मिलाइएको छ । आइसीयूमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूबाट उच्च शिक्षा र तालिमप्राप्त अनुभवी चिकित्सक र नर्सहरू कार्यरत रहेको प्रबन्ध निर्देशक थापाको भनाइ छ । अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्ससहित चिकित्सकहरूको टिम बनाएर वेष्टर्न अस्पतालले नेपालगञ्जमै काठमाडौँ र लखनउका ठूला र सुविधासम्पन्न अस्पतालकै हाराहारीमा उपचार सेवा दिने प्रयास गरिरहेको अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा पारस पाण्डेले जानकारी दिए ।