सेवा विस्तार गर्दै रामपुर अस्पताल, साढे १८ करोडको लागतमा ५० श्ययाको भवन बन्ने

रामपुर । सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको छ । सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसुति, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको निस्दी गाउँपालिका-१ का देउबहादुर ढेंगा बताउँछन् । ‘रामपुर अस्पतालमा शल्यक्रियामार्फत सेवा दिन थालेपछि हामीजस्ता विपन्न नागरिकलाई धेरै राहत मिलेको छ, अन्यत्र अस्पतालमा लैजाँदा बाटोमा नै बिरामीको ज्यान जाने हो कि भन्ने समस्या, अर्कोतर्फ आर्थिक समस्याले निकै पिरोल्ने गरेको थियो,’ उनले भने । अस्पतालमा गत चैत ३० गते राति ३० वर्षीया महिलाको एक्टोपिक गर्भावस्थाको जटिल प्रकृतिको शल्यक्रिया गरियो । आठ हप्ताको गर्भवतीको पाठेघरभन्दा बाहिर अण्डबाहिनी नलीमा बसेको भ्रुरण फुटेर पेटमा रगत फैलिएको थियो । सो समस्याको यस अस्पतालमा शल्यक्रिया गर्न सहज थिएन । तैपनि तत्काल अन्यत्र पठाउन नजिक सुविधासम्पन्न अस्पताल नहुनु, अर्कोतर्फ बिरामीको परिवारको आर्थिक अवस्था नाजुक भएकाले यहाँका स्वास्थ्यकर्मीले जोखिम मोलेर सफल शल्यक्रिया गरी बिरामीको ज्यान मृत्यु हुनबाट बचाएका छन् । अस्पतालमा भिडियो एक्स-रेमार्फत हेर्दा उहाँको पाठेघर बाहिर रहेको अण्डबाहिनी नलीमा भ्रुण बसेको हुँदा सो भु्रण असुरिक्षत गर्भनिरोधक औषधि सेवनको असरले फुटेर पेटमा रगत फैलिएको अवस्थामा अस्पतालमा ल्याइएको चिकित्सक सुनिलकुमार दासले बताए । स्थानीय मेडिकल सञ्चालकले अन्धाधुन्ध गर्भनिरोधक औषधि वितरणको असरले यस्तो समस्या बल्झिएको हो । बिरामी महिलाले रामपुर बेझाडको एक स्थानीय मेडिकल पसलबाट गर्भनिरोधक औषधि सेवन गरेको परिवारले बताएको छ । उनले आठ हप्ताको गर्भ निरोधक औषधि मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गरिन् । ती महिलाले गत चैत २८ गतेदेखि औषधि सेवन गरेपछि उनमा समस्या देखिन थाल्यो । चैत २९ गते साँझ दोस्रोपटक औषधि सेवन गरेपछि झन् उनमा समस्या थपियो । औषधिको असरले कष्टसँग दुखाइ सहेर बसे । चैत ३० गते झन् समस्या बढ्न थालेपछि उनलाई अस्पताल लगियो । भिडियो एक्स-रेमार्फत हेर्दा भ्रुण फुटेर पेटभित्र रगत फैलिएको थियो । तुरुन्तै स्वास्थ्यकर्मीले करिब दुई घन्टा लगाएर शल्यक्रिया गर्न सफल भए । उनको पेटमा रगत मिसिएको साढे तीन लिटर झोल पदार्थ र डेढ किलो रगतको चोक्टा भेटिएको थियो । रगतको मात्रा बिरामीको शरीरमा घट्दै गएपछि अस्पतालकै स्वाथ्यकर्मीबाट रगत व्यवस्थापन गरेर बिरामीलाई स्वास्थ्योपचार सेवा दिएपछि अहिले अवस्था निको हुँदै गएको छ । पर्याप्त साधन स्रोत र जनशक्ति अभावका बीच पनि स्वास्थ्योपचार सेवालाई प्राथमिकता दिएर जटिल प्रकृतिका शल्यक्रिया सेवा दिन थालेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियार बताउँछन् । चालु आर्थिक वर्षको हालसम्म एक सय नौ जनाले सुरक्षित गर्भपतन सेवा लिएको पाइएको छ । उनका अनुसार गर्भपतन सेवा अनुमति नभएका स्थानीय स्वास्थ्य संस्थामा गर्भनिरोधक औषधि सेवन गरेका चारदेखि छ जनासम्म यस अस्पतालमा हरेक महिना थप उपचारका लागि आउने गर्दछन् । रामपुर नगरपालिकाभित्र रामपुर अस्पताल, गाँडाकोट र गेझा स्वास्थ्यचौकीमा मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । स्थानीय मेडिकल पसलमा गर्भपतनको औषधि सेवन गर्ने तर पछि स्वास्थ्यमा समस्या आएपछि मात्रै अस्पतालमा जाने प्रचलन छ । स्थानीयस्तरमा फार्मेसी खुल्ने क्रम बढिरहेको छ । मनपरी तरिकाले औषधि प्रयोग गर्ने र गराउने कार्यले मानव स्वास्थ्य जोखिममा परेको छ । अन्तिम अवस्थामा जीवन नै धरापमा पर्न थालेपछि मात्रै अस्पतालमा बिरामी पुग्दछन् । मान्यता प्राप्त स्वास्थ्य संस्थाबाटै मात्रै सुरक्षित गर्भपतन गराउनुपर्ने भनिए तापनि स्थानीय मेडिकलले खुलेआम विभिन्न सञ्चारमाध्यममा सुरक्षित गर्भपतन सेवाका सूचना प्रवाह गर्ने, कानुनविपरीत मानव स्वास्थ्य नै जोखिममा पर्नेगरी स्वास्थ्योपचार गर्दा जोखिममा घटना निम्तने गरेका छन् । यसमा स्थानीय सरकारले गम्भीररुपमा चासो नदिँदा पनि मेडिकलले मनपरी ढङ्गले आफ्ना ग्राहकलाई प्रलोभनमा पारी सेवा दिइरहेको स्थानीयको भनाइ छ । पाल्पाको पूर्वी भेगमा रहेको यस अस्पतालको सेवा क्षेत्र ठूलो रहेकाले यहाँका नागरिकलाई अस्पतालमा कतिपय साधन स्रोत कम र जनशक्ति अभावका बाबजुद पनि प्रभावकारी सेवा प्रवाह भइरहेको अस्पताल विकास समितिक अध्यक्ष रामप्रसाद ढकालले बताए । यहाँ दैनिकजसो तीन सय बढी बिरामी उपचारमा आउने गर्दछन् । अस्पतालको पचास श्ययाको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएपछि नयाँ भवनबाट विशेषज्ञसहितको सेवा दिने अस्पतालले जनाएको छ । वि.सं. २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ मा १५ श्ययामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल २०७२ मा ५० श्ययामा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ । करिब साढे १८ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण थालनी भएको छ । नयाँ भवन हस्तान्तरणपश्चात विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान गरी सेवा विस्तार गर्ने अस्पतालले जनाएको छ । रासस

सिभिल अस्पताल निर्देशकको कार्यकक्षमा ट्रेड युनियनका कर्मचारीले लगाए ताला

काठमाडौं । सिभिल अस्पतालले विभिन्न पदमा तीन सय ५० भन्दा बढी कर्मचारी माग गरेपछि अस्पतालमा कार्यरत कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन आन्दोलनमा उत्रिएको छ । आधिकारिक ट्रेड युनियनका कर्मचारीहरुले अस्पतालका अस्पतालका कर्मचारीले कार्यकारी निर्देशक, मेडिकल डाइरेक्टर र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अस्पतालका कार्यकारी निर्देशकको राजीनामा माग गर्दै चैत २ गतेबाट उनीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुको स्थायित्वको सुनिश्चितता गर्नुपर्ने, बिनियमावली संशोधन गरी कर्मचारीहरुको तहगत बढुवा गर्नुपर्ने, दैनिक ज्यालादारी र सेसनमा नयाँ नियुक्ति गर्न नपाइने लगायतका माग राखेर कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरुको हित र मर्मविपरित अस्पताल प्रशासनले एकलौटी गर्न लागेकाले आन्दोलनमा जानुपरेको ट्रेड युनियनका अध्यक्ष सन्तोष धिमालले सञ्चार माध्यमलाई बताएका छन् । उनका अनुसार भोलि देखि कर्मचारीले रिले अनशन शुरु गर्नेछन् ।

सरकारको स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्न सकेन

घोराही । दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो । आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पु¥याउने उद्देश्यले कार्यक्रम लागु भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए । चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको सङ्ख्या बढ्न नसकेको उनको भनाइ छ । प्रमुख वलीका अनुसार जिल्लाका दशवटै पालिकामा ३२ हजार आठ सय बढीले बीमा गरेका छन् । हालसम्म १६ हजार नौ सय ३३ महिला र १५ हजार आठ सय ६७ पुरुषले बीमा गरेका हुन् । सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा १५ हजार पाँच सय ९१ बिमित छन् । तुलसीपुर उपमहानगरपालिकामा सात हजार सात सय ३८, लमही नगरपालिकामा एक हजार सात सय ६७, बबई गाउँपालिकामा एक हजार चार सय ३९, बङ्गलाचुली गाउँपालिकामा छ सय ७५, दङ्गीशरण गाउँपालिकामा आठ सय ९७, गढवा गाउँपालिकामा सात सय ७९, राजपुर गाउँपालिकामा पाँच सय ३३, राप्ती गाउँपालिकामा एक हजार चार सय ४३ र शान्तिनगरमा एक हजार ४० बीमित रहेका प्रमुख वलीले जानकारी दिए । उनका अनुसार हालसम्म बीमा गर्नेमध्ये सामान्य परिवारका १७ हजार आठ सय ३३, ज्येष्ठ नागरिक १० हजार दुई सय ३६, अति अशक्त एक हजार तीन सय ५२, महिला स्वास्थ्य स्वयम्सेविका एक हजार एक सय ९१, एचआईभी सङ्क्रमित दुई सय २८, एमडिआर टिभी १० र लेप्रोसी रोगका चार जना छन् । ‘आर्थिक रूपमा समस्यामा परेका परिवारलाई उपचार सेवा लिन सहजताका लागि बीमा कार्यक्रम ल्याइएको भए पनि चेतनाको अभावका कारण बीमा गर्नेको सङ्ख्या बढ्न सकेको छैन’, प्रमुख वलीले भने । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा र बङ्गलाचुली अस्पतालले बीमा गरे बापत उपचारका लागि रकम उपलब्ध गराउँदै आएका छन् । रासस