सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो
काठमाडौं । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीको भनाइ छ । उनले भने, ‘भारतका विभिन्न सहरमा कोरोना फैलिएको भन्नेछ, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो । सङ्क्रमित पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन् ।’ भारतसँग जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित रुपमा कोरोना परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए । भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । उनले भने, ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरेका छौँ । यसले जोखिम कम गर्न सकिन्छ ।’ साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल ५५ वर्षमाथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको जोशीको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४२ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय आठजनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ । रासस
विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
काठमाडौं। नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ। ‘हो! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए । नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन् । आर्थिक वर्ष २०७८\७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव चार प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन् । केन्द्रका निर्देशक डा शाहले वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको बताए । ‘झण्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । यो एक चुनौतीको रुपमा रहेको छ’, उनले भने । नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको सङ्ख्या करिब दुई हजार आठ सय रहेको छ। यो सङ्ख्या नेपालको कूल जनसङ्ख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । आव २०७८\७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए । विश्व स्वास्थ्य सङ्गठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो । नेपाल सरकारले आगामी आव २०८२\८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८\७९–२०८२\८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ । रणनीतिक योजनाले गुणस्तरीय क्षयरोग सेवाको विस्तार, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषक प्रयोगशालाको स्थापना, माइक्रोस्कोपिक केन्द्रको विस्तार, केन्द्रीयस्तरमा निर्माण सम्पन्न भएका छातीरोग अस्पतालको सञ्चालन, सातवटै प्रदेशमा क्षयरोग उपचार केन्द्र स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तारलगायत छन्। केन्द्रका निर्देशक डा शाहले स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरी नेपाललाई क्षयरोग मुक्त बनाइने बताए । आव २०७८\७९ मा २५ स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको थियो । चालु आवमामा एक सय स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन भइरहेको छ । आगामी चार वर्षभित्र सात सय ५३ स्थानीय तहमै अभियान सञ्चालन गर्ने लक्ष्य छ। राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत आठ सय ९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार नौ सय ७१ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र र ८१ डिआर उपकेन्द्रबाट क्षयरोगको उपचार सरकारले गरिरहेको छ ।
डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
डोटी । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजानस परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए । ‘आयस्तर कम भएका, सुत्केरी हुन नसकेर उच्च जोखिममा भएकालाई राहतस्वरुप अस्पतालले एम्बुलेन्स सेवा निःशुल्क गरेको हो’, उनले भने । स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यक दोहोरो प्रेषण प्रणालीको कार्यान्वयन भइरहेको उनले बताए । जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको आग्रहमा जिल्ला अस्पतालकै एम्बुलेन्सले लिएर आउने व्यवस्था गरिएको छ । अस्पतालमा सुत्केरी हुनेलाई यातायातस्वरुप रु दुई हजार दुई सय दिने व्यवस्था छ । एम्बुलेन्स सेवा निःशुल्क गरेपछि ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सहज भएको बडीकेदार गाउँपालिका–२ की राधा चन्दले बताए । आर्थिक अवस्था कमजोर भएका कतिपय सुत्केरीले बाटोमा तथा जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेका थिए । यसलाई मध्यनजर गरेर जिल्ला अस्पतालले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको हो । जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठले ग्रामीण भेगका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा जिल्ला अस्पताल ल्याउनुपर्ने महिलालाई उक्त कार्यक्रमबाट राहत पुग्ने बताए । रासस