भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना
दोधारा चाँदनी । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने ‘पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।’ सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ । ‘अहिले एक/दुई जनामा सङ्क्रमण देखिन थालेको छ’, पन्तले भने, ‘यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।’ कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए । ‘अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ’, उनले भने, ‘आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।’ नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले खोप लगाएका छन । चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । त्यसैगरी दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । ‘खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ’, पन्तले भने । रासस
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता सञ्चालन हुने
काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । महाशाखाले प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाउने गरेको छ ।
एमबिबिएस पढेका विद्यार्थी माल्दिभ्सदेखि मलेसियासम्म
काठमाडौं । नेपालमा चिकित्सा शास्त्र अन्तर्गतको एमबिबिएस अध्ययन पुरा गरेका अधिकांश विद्यार्थी विदेश पलायन हुने गरेका छन् । नेपालमा थप उच्च शिक्षा अध्ययनमा समस्या र बेरोजगारीको कारण विद्यार्थीहरु विदेश पलायन भएको देखिन्छ । शैक्षिक शत्र २०७९/८० का लागि चिकित्सा शिक्षा आयोगले विभिन्न विश्वविद्यालयका २१ वटा मेडिकल कलेजलाई एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको लागि अनुमति प्रदान गरेको छ । ती कलेजहरुमा एमबिबिएस अध्ययन गर्नको लागि आयोगमार्फत छ हजार छ सय ३९ जना विद्यार्थीले प्रवेश परीक्षा उत्तिर्ण गरेका छन् । शैक्षिक शत्र ०७९/८० बाहेक पछिल्लो १० वर्षमा ७६ हजार पाँच सय पचास जना विद्यार्थीले एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा उत्तिर्ण गरेको तथ्यांकले देखाउँछ । त्यस्तै, पछिल्लो दश वर्षमा २६ हजार नौ सय १६ जना विद्यार्थीले एमबिबिएस उत्तिर्ण गरेका छन् । नेपाल मेडिकल काउन्सिलमा एमबिबिएस उत्तिर्ण गरेका २७ हजार आठ सय पाँच र एमडी उत्तिर्ण गरेका नौ हजार तीन सय ३९ जना चिकित्सक दर्ता भएका छन् । काउन्सिलमा दर्ता हुनको लागि परीक्षामा सहभागी भएका मध्ये ६० प्रतिशतको हाराहारीमा मात्रै उत्तिर्ण भएको देखिन्छ । बाँकी विद्यार्थीहरुले केही पटक परीक्षामा सहभागी भए पनि सबै विद्यार्थीले निरन्तर प्रयास नगर्ने नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. अनिल बिक्रम कार्की बताउँछन् । चालु शैक्षिक शत्रबाट एमबिबिएस कोटामा दुई हजार दुई सय २३ जना विद्यार्थीले सरकारको छात्रवृत्ति कोटामा अध्ययन गर्न पाउँछन् । चालु शैक्षिक शत्रमा पनि एमबिबिएस अध्ययन गर्ने कुल कोटाको १० प्रतिशत विद्यार्थीहरुले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकअनुसार नेपालमा ३० हजारको संख्यामा डाक्टरहरु रहेका छन् । तर, चिकित्सा क्षेत्र व्यवस्थित हुन नसक्दा र चिकित्सा बेरोजगारीको दर बढ्दै जाँदा एमबिबिएस पढेका ठूलो संख्याका विद्यार्थी मुलुकबाटै पलायन हुने गरेका छन् । विद्यार्थी माल्दिभ्सदेखि खाडीसम्म ठूलो लगानी गरेर रोजगारको अवसर नपाएपछि एमबिबिएस अध्ययन गरेका विद्यार्थीहरुको ५० प्रतिशत भन्दा धेरै संख्या विदेश पलायन हुने गरेको छ । नेपाल मेडिकल एशोसियसनका अध्यक्ष कार्कीले यस्तो संख्या ७०/७५ प्रतिशत रहेको बताए । ‘नेपालमा उच्च शिक्षा अध्ययनको लागि केही बाधा व्यवधानहरु छन्, सरकारले दरबन्दी नखुलाउने र निजीमा व्यापक शोषण हुने जुन समस्या छ र न्यून पारिश्रमिकको कारणले पनि विद्यार्थीहरु पलायन हुने गरेका छन्’, डा. कार्कीले भने । विदेशमा ज्याला राम्रो भएको र करिअर पनि राम्रो हुने भएको ठानेर विद्यार्थीहरु जाने गरेको उनले बताए । डा. कार्कीका अनुसार पहिला मेडिकल अध्ययन गरेका नेपाली विद्यार्थीहरु युके, अमेरिका र अस्ट्रेलिया मात्रै जाने गरेकोमा पछिल्लो समयमा भने मालदिभ्सदेखि खाडी मुलुकहरुसम्म जाने गरेका छन् । एमबिबिएस अध्ययन नेपालको शैक्षिक क्षेत्रमध्ये महँगो बिधाको रुपमा पर्छ । तर, राज्यले वर्षेनी एमबिबिएस अध्ययनको शुरुवात गर्ने कति विद्यार्थीले अध्ययन पूरा गरे र कति बिचमा छोडे भन्ने विषयको एकीकृत तथ्यांकको विकास गरेको छैन । त्यस्तै, शुल्कमा वा छात्रवृत्तिमा एमबिबिएस उत्तिर्ण गरेका विद्यार्थीहरुको अवस्था के छ भन्ने तथ्यांक राज्यसँग छैन। छात्रवृत्तिमा अध्ययन गरेर एमबिबिएस उत्तिर्ण गरेका विद्यार्थीहरुलाई सरकारले दुई वर्ष करार सेवा उपलब्ध गराउने गरेको छ । तर, त्यसपछि पनि उनीहरुको नेपालमा रोजगारीको भविष्य नभएकाले उनीहरु करार सेवाकै अवधिमा विदेशतर्फ लाग्ने गरेको डा. सञ्जिव तिवारी बताउँछन् । नेपालमा अहिले २१ वटा शैक्षिक संस्थाले एमबिबिएस पढाउने गरेकोमा सरकारले फेरि थप मेडिकल कलेज बढाउने तयारी गरेको छ । त्यसो गर्दा थप कलेजहरुले पनि चिकित्सक उत्पादन गर्न सक्नेछन् । अवसरको सिर्जना नहुने तर जनशक्ति उत्पादनको मात्रा मात्रै बढ्दै जाने हो थप एमबिबिएस अध्ययन गर्ने विद्यार्थीहरु बेरोजगार बन्ने र पलायन हुँदै जाने अवस्था देखिने सरोकारवालाको भनाइ छ ।