शिक्षण अस्पताल विस्तार गर्दै सरकार, राजधानी बाहिर पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार निर्माण भएको तीन महिना पुरा भएको छ । प्रचण्ड सरकारले ब्यतित गरेको समयमा हुनुपर्ने उपलब्धि र भएको नतिजाको विषयमा समर्थन वा आलोचनात्मक कोणबाट विश्लेषण भइरहेका छन् । तर, यो अवधिमा स्वास्थ्य क्षेत्रको विषयमा महत्वपूर्ण निर्णय गर्दै सरकारले मोफसलमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान विश्वविद्यालयकै विस्तार गर्ने निर्णय गरेको छ । चितवनको भरतपुर अस्पताल र बाँकेको भेरी अस्पताललाई सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत आंगिक शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।चैत १० गते को मन्त्रिपरिषद्को बैठकले ती अस्पतालहरुलाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै, सरकारले कोशी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल कलेजका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा स्थापना तथा सञ्चालन गर्ने निर्णय गर्दै सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक तर्जुमा सम्बन्धमा समिति गठन भई विधेयक तर्जुमाको काम गरिरहेको जनाएको छ । सो विश्वविद्यालय सञ्चालनमा आउँदा नेपालमा पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय राजधानीबाहिर मुलुकको सुदुरपश्चिम भागबाट सञ्चालन हुनेछ । प्रचण्डको नेतृत्वको सरकारले एक सय दिनमा गरेका कामहरुको विषय सार्वजनिक गर्दै प्रधानमन्त्रीको सचिवालयले कोशी अस्पताललाई पूर्वाञ्चल विश्वविद्यालयको आंगिक शिक्षण अस्पताल र कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा स्थापना तथा सञ्चालन गर्ने निर्णय गर्दै सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको उल्लेख गरेको छ । चिकित्सा शिक्षा ऐनमा एकवटा विश्वविद्यालयले बढीमा पाँचवटा भन्दा धेरै मेडिकल कलेज सञ्चालनको लागि स्वीकृति दिन नपाइने व्यवस्था रहेको छ । केहीवर्षदेखि विश्वविद्यालयहरुबाट मेडिकल कलेज विस्तारको काम रोकिदै आएको थियो । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० अन्तर्गत दुईवटा अस्प्ताललाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो, भने पूर्वाअञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालन हुनेगरी विराटनगरको कोशी अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको हो । भेरी अस्पतालले पश्चिमी तराई, कर्णाली र सुदुरपश्चिमका मानिसहरुलाई समेत उपचार सेवा उपलब्ध गराउँदै आएको छ । सो अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्दा उपचार सेवा थप प्रभावकारी हुने जनाइएको छ । त्यस्तै पछिल्लो समयमा जनघनत्व बढ्दै गएको र धेरै भौगोलिक क्षेत्रको सुगमताको रुपमा चितवन बन्दै गएको छ । भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने आँफूहरुको लामो समयदेखिको सपना पूरा भएको भरतपूर महानगरकी प्रमूख रेनु दाहालले बताएकी छन् । त्यस्तै, नेपालको पूर्वी भूगोलकै महत्वपूर्ण अस्पतालको रुपमा कोशी अस्पताललाई शिक्षण अस्पताललाई प्रदेश सरकारले नै केहीवर्ष अगाडि शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको थियो । बिसं १९४७ सालमा स्थापना भएको सो अस्पताल तीनसय ५० बेड रहेका छन् । चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक शत्रबाट २१ वटा मेडिकल कलेजमा एमबिबिएस अध्ययनको लागि भर्ना खुलाएको छ । जसमा १६ वटा निजी कलेज रहेका छन् भने ५ वटा सरकारी कलेज रहेका छन् । सरकारको नयाँ निर्णयसँगै सरकारी स्वामित्वमा चिकित्सा शिक्षा अध्यापन गराउने संस्थाको संख्या ८ वटा पुगेको छ । लामो समयदेखि भौतिक संरचना निर्माण भएर पनि सुदुरपश्चिमको गेटा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन भने अन्य सञ्चालनमा रहेका सरकारी शिक्षण अस्पतालहरुले समयानुकुल सहज र प्रविधियुक्त उपचार सेवा प्रदान गर्न सकिरहेका छैनन् भन्ने गुनासो रहँदै आएको छ । त्यसैले प्रचण्ड सरकारले पछिल्लो सय दिनमा चिकित्सा शिक्षणको विषयमा गरेका निर्णयहरु जनपक्षीय र सराहनीय भएपनि तिनीहरुको दिगो सञ्चालन भने निकै चुनौतिपूर्ण रहेको देखिन्छ ।
भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढ्यो
काठमाडौं । भारतमा रोगजारी गरी नेपाल फर्कने नेपालीहरुलाई कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाई गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई संक्रमण देखिएको हो । नेपाल र्फकनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी साहीले जानकारी दिइन् । उनले नेपाल फर्कने नेपालीहरुको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँग परीक्षणको दायरा पनि बढाएको बताइन् । ‘जमुनाहा नाकाबाट दैनिक करिव डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको छ, चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनिन् । कोरोनाको पोजेटिभ देखिएकाहरुमा समान्य लक्षण देखिएकाले उनिहरुलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख साहीले बताइन् ।
स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन आयोजना गर्दै परिषद
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा वैज्ञानिकहरुको नवौं शिखर सम्मेलनको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि अनुसन्धान : कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ नारामा परिषदले सो सम्मेलन गर्ने भएको हो । यही महिनाको आगामी २८ र २९ गते सम्मेलन हुने र सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सयौं अनुसन्धानकर्मीहरुको सहभागिता हुने परिषदले जनाएको छ । सम्मेलनमा १ सय ५० वटा कार्यपत्रहरु प्रस्तुत हुने र नौ वटा प्यानल बनाएर ती कार्यपत्रहरुमाथि छलफल हुने छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सचिव डा प्रदिप ज्ञवालीले सम्मेलनका लागि दुई सय एकवटा अब्स्ट्रयाकहरु प्राप्त भएको र सो मध्ये एकसय ३७ वटा मौखिक प्रस्तुतिकरण र ६४ वटा पोष्टर प्रस्तुतीकरण हुने बताए । प्रस्तुतीकरण मध्येबाट विधागत रुपमा उत्कृष्ट एक–एक जनालाई अवार्ड प्रदान गरिने उनले बताए । साथै अन्य विभिन्न विधामा एवार्ड तथा पुरस्कार वितरण कार्यक्रम पनि रहेको डा ज्ञवालीले बताए । परिषदले सम्मेलनमार्फत स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य क्षेत्रको योजना नीति तथा कार्यक्रममा सूचित निर्णय गर्नका लागि पैरवी गर्ने विश्वास लिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने परिषदले जनाएको छ ।