बेनी अस्पतालमा विशेषज्ञ सेवा विस्तार
म्याग्दी । दुर्गम हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ । प्रदेश लोकसेवा आयोगबाट पदस्थापन भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले सेवा दिएका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले चिकित्सकहरू थपिएसँगै विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गरिएको जानकारी दिए । ‘सर्वसाधारणलाई निजी क्लिनिक र जिल्लाबाहिर जानुपर्ने समस्या हटाउन जनशक्ति र उपकरण व्यवस्थापनसँगै पूर्वाधार निर्माणमा जोड दिएका छौँ,’ उनले भने, ‘दुई वर्षपछि अस्पतालको सुविधासम्पन्न ५० शय्या क्षमताको भवन निर्माण पनि सुचारु भएको छ ।’ पछिल्लो समय फिजिसियन विशेषज्ञ, ज्येष्ठ नागरिक उपचार कक्ष, अत्याधुनिक एक्स–रे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग र फिजियोथेरापी सेवा सुरु गर्न लागेको जनाएको छ । यसअघि आठजना मेडिकल अधिकृत र चिकित्सक कार्यरत अस्पतालमा यसै हप्ता लोकसेवा आयोग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप छ विशेषज्ञसहित नौजना चिकित्सक आएका अस्पतालका प्रमुख चिकित्सक डा शङ्करराज लामिछानेले बताए । ‘जनशक्ति थपिएसँगै कार्यरत चिकित्सकलाई कार्यबोझ घट्ने, बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने र उपचार सेवा सहज भएको छ’, उनले भने, ‘स्त्रीरोग, हाडजोर्नी, फिजिसियन, जनरल सर्जन, दन्त, अर्थोपेडिक, आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरेका छाैं ।’ गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका जनरल सर्जन डा परिवर्तन बराल र स्त्रीरोग विशेषज्ञ डा अञ्जु थापाको बेनी अस्पतालमा पदस्थापन भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अर्थोपेडिक्स डा सुमन सुवेदी, इन्टरनल मेडिसिन डा अमित प्रजापति, जनरल सर्जरी डा कल्पना आचार्य र छात्रवृत्ति करारका डा प्रशान्त गुरागाईं पनि बेनी अस्पतालमा आएको छ । एकजना मानसिक रोग विशेषज्ञ सरुवा भएर बेनी अस्पतालमा आउन लाग्नुभएको र उपकरण खरिद, जडान र सबै व्यवस्थापकीय काम सकिएकाले केही दिनमै फिजियोथेरापी सेवा सुरु गर्न लागिएको चिकित्सक लामिछानेले बताए । अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागकासाथै शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ । मिर्गाैला रोगसम्बन्धी समस्या भएका १९ जनाले डायलासिस सेवा लिएका छन् । सामाजिक सेवा एकाइमार्फत लक्षित समुदायलाई सहुलियत र निःशुल्क उपचार सेवा दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको रु एक करोड ५० लाख मूल्य बराबरको डिजिटल एक्स–रे मेसिन प्रयोगमा ल्याइएको अस्पताल परिसरमा अक्सिजन प्लान्ट सञ्चालनमा छ । म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङका सर्वसाधारण गरी मासिक चार हजारजनाको हाराहारीमा बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । पचास शय्या क्षमताको अस्पतालले १५ शय्याकै संरचना र पूर्वाधारबाट ७६ शय्याको सेवा दिएको छ । पचास शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइका कारण अस्थायी पूर्वाधारबाट सेवा सञ्चालन गरिएको छ । रासस
सिद्धार्थ बैंकले गर्यो आँखा अस्पताललाई आर्थिक सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले त्रिपुरेश्वरको नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको लागि पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका तर्फबाट त्रिपुरेश्वरका प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभे्रपलाञ्चोक, धादिङ्ग, नुवाकोट र रसुवा जस्ता दुर्गम क्षेत्रका मोतिबिन्दु रोगीहरुको पहिचान गरि उनीहरुको आँखा शल्यक्रिया गर्नका लागि उपयोग गर्नेछ । सो सहयोगबाट आर्थिक स्थिति कमजोर भएर मोतिबिन्दु रोगको उपचार गर्न नपाइरहेका विरामीहरुको दृष्टि सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
चितवनमा दादुरा र ठेउलाको समस्या
चितवन । जिल्लाका दुई पालिकामा दादुरा र ठेउलाको समस्या देखिएको छ । ईच्छाकामना गाउँपालिकामा दादुरा र खैरहनी नगरपालिकामा ठेउलाको समस्या देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाँई का अनुसार ईच्छाकामना–६ मा तीन बालबालिकामा दादुराको सङ्क्रमण पुष्टि भएको छ । अन्य पाँच जनाको नमुना परीक्षणका लागि आज हेटौँडा पठाइएको छ । बुधबार सङ्क्रमण पुष्टि भएसँगै सो क्षेत्रमा टोली परिचालन गरिएको उनले जानकारी दिए । दुई वर्षअघि जिल्लाको पहाडी क्षेत्रमा दादुरा देखिएको थियो । यो सरुवा रोग हो । रोग नियन्त्रणका लागि जन्मिएको नौ महिना र १५ महिनामा गरी दुई पटक बालबालिकालाई खोप लगाउने गरिन्छ । सो क्षेत्रमा खोप लगाउन छुटेको हो कि भनेर अध्ययन समेत गरिएको उनले बताए । कार्यालयले सरुवा रोग भएकाले सङ्क्रमण भएकाहरुलाई छुट्टै राख्न आइसेलेशनमा र खोप लगाउन छुटेको भए खोप लगाउन अनुरोध गरेको छ । सङ्क्रमण देखिएकालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको कार्यालय प्रमुख चापागाँई ले जानकारी दिए । यसैगरी जिल्लाको खैरहनी–११ मा ठेउलाको सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएपछि नगरपालिकाको स्वास्थ्य शाखाले जनचेतना अभियान सञ्चालन गरेको छ । स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेका अनुसार गत चैत मसान्तसम्म उक्त वडाका ३३ जनामा ठेउला देखिएको छ । यसअघि स्वास्थ्य केन्द्रबाट जनचेतना जगाउने कार्य हुँदै आएकोमा बुधबारदेखि स्वास्थ्य शाखाले नै टोलटोलमा पुगेर जनचेतना जगाउने काम गरिरहेको छ । उनका अनुसार सङ्क्रमण कसरी फैलिन्छ र कसरी सावधानी अपनाउने भन्ने बारेमा जनचेतना जगाइएको छ । वन नजिकको पिछडिएको क्षेत्रमा बढी मात्रामा सङ्क्रमण देखिएको जनाउँदै उनले उपचारसँगैसँगै जनचेतना जगाउने काम भइरहेको बताए । बालबालिकामा बढी मात्रामा ठेउला देखिएको भन्दै २५ वर्षीया सुत्केरीमा समेत सङ्क्रमण भएको उनले जानकारी दिए । यो रोग सजिलै सर्ने भन्दै घिमिरेले रोकथाम गर्नुनै महत्वपूर्ण हुने बताए । उनले भने ‘यसको ठ्याक्कै उपचार हुँदैन, आउँछ, हप्ता १० दिन सताउँछ ।’ ज्वरो आएमा ज्वरोको औषधि र डाबर चिलाउने हुँदा चिलाईमर्ने औषधि दिने गरिएको उनको भनाइ छ । रासस