नयाँ वर्षमा तनाव व्यवस्थापन गर्न टुँडिखेलमा ओशो महोत्सव
काठमाडौं । सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू । समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग डिप्रेसनको अवस्थामा पुग्दैछ । पहिले कोरोना महामारी र त्यसपछि सिर्जित आर्थिक मन्दीका कारण कैयौँ उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन् । यसबाट बेरोजगार हुन पुगेका लाखौँ मानिसको मानसिक स्वास्थ्यमा असर परेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा पनि आर्थिक सङ्कट दिनप्रतिदिन बढ्दो छ, सेयर बजार झन्भन्दा झन् खस्कँदै छ । मानिसका लागि अवसर खुम्चिँदै छन् । स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा दिनहुँ हजारौँ युवायुवती विदेशिएका छन् । देशका अधिकांश क्षेत्र, पेसा या व्यवसायमा पनि सकारात्मक सञ्चार प्रवाह हुनसकेको छैन । यी विविध कारणले गर्दा मानिसमा निराशामात्र थपिँदै छ । यस्तो निराशा, कुण्ठा, असन्तुष्टि या डिप्रेसनउन्मुख अवस्थाको निदानका लागि ध्यान, साधनालाई उत्तम उपाय मानिएको छ । योग र ध्यान क्षेत्रका साधकहरूले मानिसमा यस्तो नैराश्यता हटाएर मानसिक स्वास्थ्यमा सुधार ल्याउन ध्यान र साधनाले औषधिको काम गर्ने सिफारिस गर्दछन् । नेपाली समाजमा पनि पछिल्लो समय युवा या विभिन्न उमेर समूहका मानिसमा पद, प्रतिष्ठा र सफलता प्राप्तिको आकाङ्क्षा बढ्दो देखिन्छ । तर आफूअनुकूलको वातावरण सिर्जना हुन नसक्दा उनीहरूमा निराशा बढ्दो छ । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सक या यस क्षेत्रका जानकारहरू ध्यान, योग, साधना गर्न सुझाउँछन् । मानिसको दिमागबाट डिप्रेसन र नैराश्यता हटाई उसमा आशावादिता जगाउन र सकारात्मक सोचको विकास गरी सुरक्षित र खुसी जीवनयापन गर्न उनीहरू ध्यान गर्न सुझाउने गरेका छन् । यही प्रयोजनका लागि अर्थात् मानिसमा पछिल्लो समय विकसित तनाव तथा नैराश्यताको व्यवस्थापन गर्न नयाँ वर्षको पहिलो दिन भोलि विसं २०८० वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरिएको छ । शुक्रबार बिहान ९ देखि राति ९ बजेसम्म आयोजित सो महोत्सवमा सबैलाई खुला आमन्त्रण पनि गरिएको छ । सो महोत्सवका प्रमुख संयोजक भवन भट्टले नेपाललाई समृद्ध र अध्यात्मिक बनाउने स्वामी आनन्द अरुणको चाहनाबमोजिम ओशो तपोवनको आयोजनामा गत वैशाख १ देखि हरेक नयाँ वर्षको पहिलो दिन ओशो महोत्सव सुरु गरिएको जानकारी दिए । उनले भने, ‘अहिले नेपाली समाजमा विविध कारणले विशेषगरी युवा वर्ग या विभिन्न पेसा व्यवसायका मानिसमा व्याप्त तनाव, नैराश्यता एवं प्रतिदिन बढ्दो डिप्रेसनको व्यवस्थापन गरी हरेक मानिसमा अध्यात्मिक चिन्तनको विकास गरेर उनीहरूलाई योग र ध्यानतर्फ आकर्षित गर्न यो महोत्सवको आयोजना गरिएको हो ।’ यसै वर्षको अर्थात् विसं २०७९ को वैशाख १ गते पनि टुँडिखेलमा नै कम्तीमा १० हजार जना मानिस जम्मा गर्ने उद्देश्य राखेर आयोजना गरिएको महोत्सवमा १२ हजार जनाको सहभागिता रहेको र त्यहाँ आएका कतिपय व्यक्ति पछि ओशो तपोवनमा पनि आइरहेकाले यस वर्ष कम्तीमा पनि ५० हजार जना मानिस जम्मा गर्ने महोत्सवको लक्ष्य रहेको उनले बताए । प्रमुख संयोजक भट्टले नेपाली पात्रोअनुसार हरेक वर्षको वैशाख १ गतेलाई विश्व ध्यान दिवसका रूपमा प्रस्ताव गरिएको र यससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायसम्म पनि पहल गरिएकाले सो दिनलाई विश्व ध्यान दिवस घोषणा गराउन यो अभियान निरन्तर लाग्ने जानकारी दिए । उनले भने, ‘भारतका प्रधानमान्त्री नरेन्द्र मोदीले विश्व योग दिवस भनेर प्रस्ताव गरे तर नेपालजस्तो देवभूमि, तपोभूमि, ध्यानभूमिले किन ध्यान दिवसको प्रस्ताव नगर्ने भन्ने हामीले सोच्यौँ र यो प्रस्ताव गरेका हौँ । ध्यान अध्यात्मिक चिन्तन पनि भएको र वैशाख १ गते आफैँमा नयाँ वर्षको पहिलो सङ्क्रान्तिको दिन तिथि, मिति आदि हेर्न पनि नपर्ने भएकाले यसै दिनलाई प्रस्ताव गरेका हौँ ।’ यो दिवसको घोषणा गर्न सकियो भने यसले हाम्रो नेपाली मौलिकपन झल्काउने र महादेव अर्थात् देवताहरूले तपस्या गरेको नेपालजस्तो तपोभूमि र शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्भिएको देश नेपाललाई विश्वमै ध्यान, तपस्या गर्ने अर्थात् ध्यानीहरूको देश भनेर चिनाउन सकिने उनले बताए । शुक्रबार बिहान ९ बजेदेखि १२ घन्टासम्म सञ्चालन हुने यस महोत्सवमा ध्यान, योगका साथै विशिष्ठ राष्ट्रिय कलाकारद्वारा गीत सङ्गीत र नृत्य, वरिष्ठ हास्यव्यङ्ग्य कलाकारहरूको प्रस्तुति एवं नाटक प्रदर्शन पनि आयोजना गरिएको छ । महोत्सवमा योगको संयोजन पतञ्जलीले गर्ने भएको छ । यस महोत्सवमा खाना महोत्सव र पुस्तक प्रदर्शनी पनि आयोजना गरिएको छ । ध्यानले मानिसमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ । कुनै एक जना व्यक्तिले ध्यान गर्दा उसबाट कैयौँ टाढासम्म सकारात्मक ऊर्जाको प्रवाह हुने भएकाले भोलि शुक्रबार खुलामञ्चमा ५० हजार जनाले ध्यान गर्दा यसबाट नेपाली समाजमा सकारात्मक सञ्चार प्रवाहका लागि ठूलो योगदान पुग्ने उनले बताए । अहिले नेपालमा पनि डिप्रेसन भएका मानिसको सङ्ख्या बढेको देखिएको र तनाव व्यवस्थापन गरी शान्तिपूर्ण र सुखी जीवनयापनका लागि ओशो तपोवनमा समाजका विभिन्न पेसा र व्यवसायका वरिष्ठ व्यक्तित्वदेखि युवाहरू आउने गरेका उनले सुनाए । गैरआवासी नेपाली सङ्घका पूर्वअध्यक्ष भट्ट केही वर्षदेखि ओशो अभियानमा छन् । यस अभियानका आफ्ना अनुभव सुनाउँदै उनी सुझाउँछन्, ‘मानसिक स्वास्थ्यको वर्तमान अवस्थाको निदानका लागि ध्यान र योग जत्तिको प्रभावकारी ‘थेरापी’ अरु केही नरहेको विभिन्न प्रयोग एवं अनुसन्धानबाट प्रमाणित नै भइसकेको छ । त्यसैले अब हामीले पनि नेपाली समाजमा अध्यात्मिक चिन्तनको विकास गरी सबै मानिसलाई ध्यान र योगका लागि प्रेरित गर्नुपर्छ र नेपाली समाजबाट नैराश्यता र नकारात्मक सोचलाई विस्थापित गरी सकारात्मक ऊर्जा प्रवाहमा लाग्नुपर्छ ।’ रासस
कोरोनाबाट थप एक जनाको मृत्यु, १२१ नयाँ संक्रमित
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार गप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप एक जनाको मृत्यु भएको जनाएको हो । मन्त्रालयका अनुसार बुधबार १२१ जना नयाँ संक्रमित थपिएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । मंगलबार वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मंगलबार दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको थियाे ।
मन्त्रालयले सबै अस्पताललाई भन्यो : कोरोना सङ्क्रमित बढ्न थाले, तयारी अवस्थामा बस्नु
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए । ‘कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ,’ उनले भने, ‘सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौं ।’ मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताए । उनले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिए । ‘अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ,’ उनले भने, ‘सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौं ।’ अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उनले जानकारी दिए । बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ । रासस