काठमाडौं । नर्भिक अस्पतालका संस्थापक अध्यक्ष वसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय बुबाले दखेको सपना पुरा भएको बताएका छन् । अस्पतालको ३० औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएका हुन् ।
‘मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न सामथ्र्य नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको छ,’ उनले भने ।
स्वास्थ्य विज्ञानमा नयाँ नयाँ सम्भावनाहरु थपिएसँगै चुनौतीहरु पनि बढ्दै गएका उनले बताए । यस्तै, उनले अब आफ्नी छोरी मेघा चौधरीलाई निर्भिक हाँक्न जिम्मेवारी दिने बताए ।
हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र विस्तार गर्दै अगाडि बढ्ने बताइन् । ‘हामीसँग थुप्रै महत्वकांक्षी भिजनहरु छन्, नयाँ २०० शैया को स्टेट अफ दि आर्ट फ्यासिलिटीसहितको अत्याधुनिक भवन निर्माण सुरु भइसकेको छ, अब हामीले निकट भविष्यमै आमा र बच्चासँग सम्बन्धित विशेषज्ञ सेवा समेत बिस्तार गर्नेछौं,’ उनले भनिन् ।
कार्यक्रममा २० वर्षभन्दा बढी समयदेखि नर्भिकमा अनवरत सेवा गर्दै आएका कर्मचारीहरुलाई दीर्घसेवा सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । औपचारिक समारोहअगाडि आयोजित सिएमई(कन्टीन्यूअस मेडिकल एजूकेसन)मा वरिष्ठ चिकित्सकद्वय डा. यादवदेव भट्ट र डा. पंकज जलानले क्रमशः विशेष कार्यपत्र प्रस्तुत गरेका थिए ।
