प्राकृतिक चिकित्सा पद्धतिमा ध्यान दिनुपर्छ : स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्ने बताएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज काभ्रेको पनौती ५ चौकोट धुलिखेलस्थित काठमाडौँ विश्वविद्यायलले निर्माण गरेको योग तथा प्राकृतिक चिकित्सालय भवन उद्घाटनका अवसरमा मन्त्री बस्नेतले अस्पतालमा हुने उपचार महंगो बन्दै गएको र नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था कमजोर बनेको भन्दै प्राकृतिक चिकित्सा पद्धति अगाल्न सुझाव दिएका हुन् । ‘अस्पतालमा उपचार जुनसुकै हिसाबले महङ्गो हुन थाल्यो, अब नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था छैन, सकेसम्म उपचार गर्न नपरोस् भनेर उपचारविधिमा भन्दा पनि रोकथाम विधिमा जोड दिनुपर्छ । अब योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्छ’, मन्त्री बस्नेतले भने । उनले प्राकृतिक चिकित्सा शास्त्रले रोकथामको विधिलाई मद्दत गर्ने भएकाले सम्पूर्ण नेपालीलाई यसतर्फ ध्यान दिन आग्रह गरे । मन्त्री बस्नेतले आयुर्वेदको भण्डारमा बसेको तर यस क्षेत्रमा विकास गर्न नसकिएको भन्दै कस्तुरीले आफ्नै नाभीको बिना थाहा नपाएर बास्नाको खोजीमा भौँतारिए जस्तो भएको बताए । उनले भने, ‘स्वस्थ्यको पहिलो शर्त आफू निरोगी हुनुपर्छ, जोसुकैले दिनको एक घण्टा स्वास्थ्यका लागि छुट्याउनुपर्छ, म पनि दैनिक एक घण्टा नियमित व्यायम गर्छु, योगले नै सुर्तीजन्य पदार्थ खान हुन्न भन्ने सिकाउँछ, योगका लागि समय मात्रै दिए पुग्छ ।’ मन्त्री बस्नेतले अस्पतालहरुले दश प्रतिशतलाई निःशुल्क उपचार प्रदान गर्ने व्यवस्था अनुगमन गरिरहेको बताए उनले धुलिखेलमा काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालका कारण बौद्धिक व्यक्तित्वको लस्कर देखिँदा खुसी लाग्ने गरेको स्मरण गर्दै धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बनाउने योजना बनाइने बताए। विश्वविद्यालयका उपकुलपति प्रा डा. भोला थापाले स्वास्थ्य र प्रविधि जोड्दै मानसिक, आध्यात्मिकरुपमा स्वस्थ गराउन चिकित्सा विज्ञानलाई सञ्चालनमा ल्याइएको बताए । रासस
योगाभ्यासमा आकर्षण बढ्दै, शरीर स्वस्थ र तन्दुरुस्त हुने
रामपुर । दैनिक योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र फुर्तिलो हुँदै गएको रामपुरकी विन्दु श्रेष्ठ बताउँछिन् । उनी नियमित बिहान दुई घण्टा योग कक्षमा बसेर योगाभ्यास गर्छिन् । यहाँस्थित पतञ्जली योग समितिले दैनिक योगाभ्यास गराउन थालेपछि हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सहभागी भएर योग गरिरहेको श्रेष्ठ बताउँछिन् । ‘योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र तन्दुरुस्त बनेको छ, फूर्तिलो भइँदोरहेछ, मानव शरीरलाई योगाभ्यास अति आवश्यक रहेछ’ उनी भन्छिन् । टाउको दुख्ने, र शरीरका भाग दुख्नेजस्ता विभिन्न समस्या योगाभ्यास गर्न थालेपछि हट्दै गएको श्रेष्ठको अनुभव छ । खाना रुच्ने, शरीर फूर्तिलो हुने र निरोगी बनाउने हुँदा अरुलाई पनि योग गर्न उनी सुझाव दिन्छिन् । फुर्सदको समयमा हरेक दिन योग कक्षमा बसेर योगाभ्यास गर्दै आइरहेको बताउँछिन्, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ पनि । दैनिक योग गर्न थालेपछि दिनभरको काम र हिँडाइको थकान नहुने उनको भनाइ छ । ‘घरमै बसेर पनि योगाभ्यास गर्न सकिन्छ, स्वास्थ्यलाई निरोगी बनाउन योग दैनिक जीवनमा अति महत्व रहेको बताउँदा पनि यसलाई कतिपयले महत्व दिँदैनन्’ सदस्य श्रेष्ठ भन्छिन्, ‘हरेक बिहान दुई घण्टा योग ग¥यौँ भने, दिनभरको थकान र कामको बोझ हटेर जानेछ ।’ पतञ्जली योग समितिले हरेक दिन बिहान पाँच बजेदेखि सात बजेसम्म योगाभ्यास कक्षा सञ्चालन गर्दै आइरहेको छ । रामपुर आयुर्वेद अस्पताल, किसानवारी योगकक्ष र रेशम सभाकक्षमा पनि सामूहिकरूपमा योग सिकाइन्छ । योगकक्षमा पुगेर योगाभ्यास गर्ने दैनिक करिब एकसय रहेका छन् । योगको सबैजसो विधि सिकाइने भएकाले नियमित कक्षा अगाडि बढिरहेको छ । रामपुरमा विसं २०७० देखि नियमित योग कक्षा चलिरहेको छ । पतञ्जली योग समितिका जिल्ला अध्यक्ष सुदीप गैरे तथा सदस्यहरू सूर्यप्रसाद श्रेष्ठ र राजेन्द्र ढकालले योगभ्यासका विधि सिकाउँदै आएका छन् । पछिल्लो समय योगाभ्यासमा स्थानीयवासीको आकर्षण बढ्दै गएको रामपुर आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेल बताउँछन् । उनी भन्छन्, ‘सुरुमा कक्षा चलाउँदा योग सिक्ने अति कम थिए, हिजोआज त योग सिक्न आउने बढ्दै गएका छन्, सिक्दै जाँदा शरीर फुर्तिलो र निरोगी हुन थालेपछि नियमित अभ्यास गर्ने बढ्दै गएको पाइएको छ’ । नियमित अभ्यास गर्दै जाँदा टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्टिकजस्ता रोग निको हुँदै गएको सहभागीहरू बताउँछन् । नियमित अभ्यासले रोग कम हुँदै गएपछि भगवती गौतमले अस्पतालका औषधि प्रयोग गर्न छाड्नुभएको छ । योगाभ्यास गर्नुअघि उनले औषधोपचारमा धेरै धनराशि खर्च गर्दै आएका थिए । उपचारका लागि भरतपुर, बुटवल, काठमाडौंलगायत धेरै अस्पतालमा धाउँदा पनि व्यथा भने ज्यूँका त्यूँनै रहेकामा अहिले योग गरेपछि रोग निको भएको भगवती बताउँछन् । अभ्यास गर्ने स्थानको अभावमा वडा र टोल–टोलमा योग विस्तार गर्न कठिन भएको छ । योगाभ्यासमा नियमित आउने व्यक्तिमा मोटोपन, ढाड तथा कम्मर दुख्ने, पिनास, अत्यधिक टाउको दुख्ने र माईग्रेन समस्या हट्दै गएपछि अहिले धेरैको आकर्षण पनि बढ्दै गएको छ । योगाभ्यासले शरीरलाई स्वस्थ र फुर्तिलो मात्र नभइ प्यारालाइसिसजस्ता रोग पनि निको बनाउँछ भन्ने कुरामा पहिले विश्वास नगर्ने व्यक्ति पनि अहिले सत्य सावित हुँदै गएपछि सहभागी हुन थालेका छन् । व्यवस्थित योगाभ्यास गर्ने ठाउँ भएमा योग गर्नेको जमात बढ्नेछ । रामपुर नगरपालिकाका दशवटै वडाका टोल र बस्तीमा योग कक्षा चलाउने योजना समितिले बनाएको छ । रासस
देशका विभिन्न ठाउँमा योग दिवस मनाइदैँ (फोटो फिचर)
काठमाडौं । घोराही– १४ स्थित कभर्डहलमा नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला स्तरीय मूल समारोह समिति दाङको आयोजनामा गरिएको कार्यक्रममा योगाभ्यास गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, प्रमुख जिल्ला अधिकारी, सुशिल वैद्यलगायत । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिकाका प्रमुख मोहन पाण्डे बुधबार नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगाभ्यास गराउँदै । प्रमुख पाण्डे चर्चित योगका गुरु पनि हो । तारकेश्वर नगरपालिका–९ स्थित मनमैजुमा नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा युवा नेपाल समितिले आयोजना गरेको योग महोत्सवमा योगा गर्दै विद्यार्थी, शिक्षक एवम् नागरिक । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार बिहान पोखरा रङ्गगशालामा आयोजना गरिएको योग शिविरमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । रासस