स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा उल्लेखित स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताएका छन् । आज काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालको निरीक्षणका क्रममा उनले स्वास्थ्यका क्षेत्रमा सरकारले अघि सारेका अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । ’संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक छ’, मन्त्री बस्नेतले भने, ’कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने उल्लेख गरिएको छ ।’ मन्त्री बस्नेतलाई अस्पतालका सञ्चालक समितिका महासचिव हीरामणि शर्माले अस्पतालबाट प्रदान गरिने सेवाका बारेमा जानकारी गराएका थिए । निरीक्षणका क्रममा मन्त्री बस्नेतले बिरामीसँग अस्पतालका सेवाको अवस्था बारेमा छलफल गरेका थिए । सन् २००७ मा स्थापित रेयुकाई एईको मासुनागा आँखा अस्पताल सामुदायिक अस्पताल हो । सो क्षेत्रका दैनिक करिब तीन सय सर्वसाधारणले सेवा लिने उक्त अस्पतालमा आँखाको सम्पूर्ण उपचारका तथा शल्यक्रिया गरिने महासचिव शर्माले जानकारी दिए ।

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग

काठमाडौं । औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गरेका हुन् । ’विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,’  उनले भने, ’औषधि ऐन, २०५३ को दफा १२ अनुरुप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।’ महानिर्देशक दकालले औषधिको गुणस्तर एकीन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए । औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

मनहरी । आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । हेटौँडा अस्पतालले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले छ महिना भित्र अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार मिर्गौला प्रत्यारोपणको तयारीस्वरुप हेटौँडा अस्पतालमा पूर्वाधार निर्माणसँगै आवश्यक उपकरण खरिदको कार्य भइरहेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले हेटौँडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदानस्वरुप रू नौ करोड उपलब्ध गराएको छ । उक्त रकम उपकरण खरिद र पूर्वाधार निर्माणमा खर्च हुनेछ । प्रदेश सरकारले आगामी वर्ष २०८०/८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा रू चार करोड विनियोजन गरेको छ । डा. सापकोटाका अनुसार हेटौँडा अस्पतालले तीन वर्षदेखि डाइलाइसिस सेवा दिँदै आएको छ । महिनामा ५० जनासम्म मिर्गौलाका बिरामीले डाइलाइसिसका लागि पालो कुर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको उनले जानकारी दिए । डाइलाइसिस गर्न आउने बिरामीका लागि थप १५ डाइलाइसिस मेशिन थप्नुपर्ने आवश्यक रहेको डा. सापकोटाले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले हेटौँडामा प्रत्यारोपण सेवा सुरु गरेपछि यस कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिए । रासस