आधुनिक आमाले किन गराउँदैनन् स्तनपान ?

<p>काठमाडौं । एक जना महिलाले पेटमा गर्भ बसेको थाहा पाएपछि पाटन अस्पतालमा नियमित चेकजाँच गराउन थालिन् । उनका श्रीमान सरकारी जागिरे थिए । गर्भ रहेको महिनादेखि उनी डाक्टरको सल्लाहमा चेकजाँच गरिरहेकी थिइन् । जब उनको बच्चा जन्माउने पूर्णसमय आयो । तब उनले अप्रेसन गरेर बच्चा निकाल्ने निर्णय डाक्टरलाई सुनाइन् । जबकि, उनको अवस्था नर्मलरूपमै बच्चा [&hellip;]</p>

काठमाडौं । एक जना महिलाले पेटमा गर्भ बसेको थाहा पाएपछि पाटन अस्पतालमा नियमित चेकजाँच गराउन थालिन् । उनका श्रीमान सरकारी जागिरे थिए । गर्भ रहेको महिनादेखि उनी डाक्टरको सल्लाहमा चेकजाँच गरिरहेकी थिइन् । जब उनको बच्चा जन्माउने पूर्णसमय आयो । तब उनले अप्रेसन गरेर बच्चा निकाल्ने निर्णय डाक्टरलाई सुनाइन् । जबकि, उनको अवस्था नर्मलरूपमै बच्चा जन्माउन सक्ने थियो । डाक्टरले नर्मलरूपमै बच्चा जन्माउन सल्लाह दिए पनि उनी र उनका श्रीमानले अप्रेसन गरेरै बच्चा निकाल्ने योजना बनाए । श्रीमतीलाई प्रसव डर र श्रीमानलाई श्रीमतीको स्वास्थ्यको तनाव थियो । दम्पतीको निर्णयप्रति डाक्टर पनि तयार रहे ।

उनले अस्पतालमै छोरा जन्माइन् । बच्चा निकालिसकेपछि आमाको अप्रेसनको काम सकियो । लगत्तै दुध चुसाउन मिल्ने अवस्थामा उनी थिइनन् । एकातिर अप्रेसनको घाउ अर्कातिर बच्चालाई दुध चुसाउन अफ्ठ्यारो हुँदा उनले बच्चालाई दुध चुसाउन सकिनन् । केही घण्टापछि नर्सले दुध चुसाउन सल्लाह दिँदा उनले दुध नै नचुसाउने भनिन् । जबकि, बच्चा जन्मेको एक घण्टाभित्र बच्चालाई आमाको दुध चुसाउनुपर्छ । तर, ति महिलाले बच्चा जन्मनेबित्तिकै ल्याक्टोजन दिन सुरु गरिन् । कारण थियो बच्चालाई दुध चुसाउँदा शरीर बिग्रने आमाको चिन्ता । घटना चार वर्षअघिको यो घटना पाटन अस्पतालमै काम गर्ने एकजना डाक्टरले सुनाएका हुन् । यस्ता घटना हरेक अस्पतालका डाक्टर र नर्सले देख्दै आएका छन् ।

डोटी घर भई हाल काठमाडौँमा बस्दै आएकी एक महिला अहिले छोरा भनेजस्तो हृस्टपुस्ट नहुँदा तनावमा छिन् । ६ वर्षको छोरा भइसक्दासमेत अरु बच्चाजस्तै खेल्ने, बोल्ने नहुँदा उनलाई आफैले गरेको गल्ती त हैन भन्ने लाग्छ । डरको कारण थियो छोरालाई स्तनपान नगराउनू । पेसाले उनी आफै अनमी तर, छोरा जन्मदा जति उनले जानेबुझेकी थिइन् त्यसरी छोरालाई दुध चुसाइनन् । उनले आफ्नोभन्दा बढी बजारमा पाइने दुध किनेर खुवाइन् । उनी भन्छिन्, ‘मलाई बच्चा जन्मेको एक घण्टाभित्र र त्यसपछि हरेक समयमा दुध चुसाउनुपर्छ भन्ने थाहा थियो, तर दुध चुसाउँदा शरीर नै भद्दा देखिन्छ भन्ने साथीहरूले भनेकाले आफ्नो दुध चुसाइनँ ।’ उनलाई छोरा अहिले त्यति स्वस्थ नभएकोमा पछुतो लाग्छ ।

शिक्षित आमा नै दुध चुसाउँदैनन्

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकअनुसार नेपालमा पूर्णस्तनपान गराउनेको संख्या ५६ प्रतिशत छ । शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ भने शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्मा पढेलेखेका शिक्षित परिवार नै स्तनपान नगराउने गरेको बताउँछन् । उनी भन्छन्, ‘स्वास्थ्यमा हरेक कुराहरू नजानेर, नबुझेर वा अशिक्षाका कारण भएको भनिन्छ । तर, स्तनपान ठ्याक्कै उल्टो छ । जुन बढी शिक्षा पाएका र सम्पन्न परिवारकै व्यक्ति बढी छन् ।’

शैक्षिक दृष्टिको आधारमा हेर्दा कर्णाली र सुदूरपश्चिममा महिलालाई त्यति शिक्षित छैनन् । तर, बच्चा जन्मेको १ घण्टाभित्र पूर्णस्तनपान गराउने महिला भने कर्णाली र सदुदूरपश्चिमकै रहेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार पूर्णस्तनपान गराउने सबैभन्दा धेरै सुदूरपश्चिम र कर्णाली प्रदेशमा ७४ प्रतिशत छ भने मधेश प्रदेशमा ६५ प्रतिशत, गण्डकीमा ६४ प्रतिशत, कोशीमा ५३ प्रतिशत बागमतीमा ४३ प्रतिशत छ भने लुम्बिनिमा ३६ प्रतिशत रहेको छ ।

पूर्णस्तनपान गर्ने आमाहरूको शैक्षिक अवस्था हेर्दा नेपालमा शिक्षा नभएका ५९ प्रतिशत महिलाले बच्चालाई स्तनपान गराइरहेका छन् भने आधारभूत शिक्षा भएका ६१ प्रतिशत र माध्यामिक शिक्षा भएका ५३ प्रतिशत महिला रहेको परिवार रहेका छन् ।
आर्थिक अवस्थाको विश्लेषणअनुसार न्यून आर्थिक अवस्था भएका ६४ प्रतिशत महिलालले पूर्णस्तनपान गराउने गरेको पाइएको छ भने दोस्रोे ५८ प्रतिशतमध्ये ६१ प्रतिशत चौथो ५४ प्रतिशत र उच्च आर्थिक अवस्था भएका ४४ प्रतिशत परिवारले स्तनपान गराउने गरेको पाइएको छ ।

थापाथली अस्पतालमा कार्यरत डाक्टर शैलेन्द्रवीर कर्मचार्य आर्थिक अवस्था राम्रो र पढेलेखेका परिवारकै महिला स्तनपान नगराउने पाइनु दुःखद भएको बताउँछन् । उनी भन्छन्, ‘स्तनपानसम्बन्धी थाहा नभएका महिलाहरूको हकमा भए उहाँहरूलाई बुझाउन सकिन्थ्यो तर, बुझेकाहरूलाई बुझाउन गाह्रो हुँदो रहेछ । यस्तै अवस्था रहने हो भने अब बच्चाको खान पाउने, स्वस्थ हुन पाउने अधिकार नै हनन हुने भयो ।’

तथ्यांकअनुसार नेपालमा बोतलपान गराएका शिशुको संख्या मुलुकभरि २२ प्रतिशत छ भने प्रदेशगतरूपमा बागमतीमा सबैभन्दा बढी ४३ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ प्रतिशत रहेको पाइएको छ ।
०००
जन्मनेबित्तिकै स्तनपान गर्न पाउने शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेलो, बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्कम तत्व हुन्छ । जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउँछ । यसलाई बच्चाको पहिलो खोपका रूपमा पनि लिइन्छ । यस कारण पनि बच्चा जन्मेको १ घण्टाभित्र शिशुलाई आमाको बिगौती दूध अनिवार्यरूपमा दिनुपर्छ भनिन्छ । तर, नेपालमा यस्तो पाइँदैन । राष्ट्रिय स्वास्थ्य तथा शिक्षा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्मा यस्तो अवस्था रहने हो भने बालबालिकामा देखिने पुड्कोपना, ख्याउटेपना बढ्दै जाने बताउँछन् । उनी भन्छन्, ‘अहिले समाजिक सञ्जालमा आउने भ्रामकमा नेपाली महिलाहरू छन् जसले आफ्नो दूध बच्चालाई नदिएर ज्यान बनाउने सोच बनाइरहेका छन् यसको पछिको अवस्थाले जटिलता निम्त्याउने छ ।

डाक्टर कर्मचार्य आमाहरूको यस्तो व्यवहारले आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने बताउँछन् । उनी भन्छन्, ‘अरु देश हाम्रो सिको गरिरहेको बेला हाम्रा नेपालका शिक्षित महिला र परिवारले कहीँ नभएको सिको गर्नु राम्रो हैन ।’

०००

स्तनपानको गराउनेको जुन अहिलेको डर लाग्दो अवस्था छ त्यसलाई सुधार मात्र गर्न सकिने हो भने वर्षमा ८ लाख २० हजार बच्चाको ज्यान जोगाउन सकिन्छ । आमाले अबच्चालाई दुध नचुसाउँदा एकातिर बच्चा र आमाको स्वास्थ्य जोखिममा परिरहेको छ भने अर्कोतिर आर्थिकरूपमा पनि असर परिरहेको छ । आर्थिकरूपमा कसरी असर पर्छ भन्ने प्रश्नमा डाक्टर बज्राचार्य भन्छन्, ‘आमाले दूध बच्चालाई दिदैनन्, बच्चालाई दूध नदिदाँ उसको लागि खुवाउने सामान किन्नुप¥यो । आमाको आफ्नै दूध भरिन थाल्छ, त्यो दुध बच्चालाई नचुसाउँदा भित्रै गानिएर स्वास्थ्यमा असर पर्छ । यी यावत् कुराले स्वास्थ्यमात्र हैन आर्थिकरूपमा पनि यसको असर पर्छ ।’

Share News