स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउँदै छौं : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताएका छन् । सोमबार नरदेवी आयुर्वेद चिकित्सालयले आयोजना गरेको राष्ट्रिय योग दिवसका अवसरमा आयोजित सप्ताहव्यापी आयुर्वेद तथा योगसम्बन्धी कार्यक्रमको शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले लामो समयदेखि दरबन्दी थप नभएकाले अब दरबन्दी थप गर्न लागिएको बताएका हुन् । ‘देशभरमा अहिले ९२ हजार स्वास्थ्यकर्मी तत्काल आवश्यक छ । तर आवश्यकताभन्दा कम दरबन्दी भएकाले थप गर्न लागिएको हो ।’ उनले भने । लामो इतिहास बोकेको नरदेवी आयुर्वेद चिकित्सालयलाई सरकारले विषेश ध्यान दिने उनको भनाइ छ । आयुर्वेदिक उपचार महत्वपूर्ण उपचार पद्धति रहेको भए पनि सरकारले जति ध्यान दिनुपर्ने हो त्यसरी दिन नसकेको उनको भनाइ थियो । त्यस अवसरमा नरदेवी आयुर्वेद चिकित्सालयका निर्देशक डा. श्यामबाबु यादवले अस्पतालको भौतिक पक्ष थप बलियो बनाउन र जनशक्ति वृद्धि गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे । उनले निकट भविष्यमै यस अस्पतालमा सिटीस्क्यान सेवासमेत सुरु गर्ने तयारी रहेको जानकारी दिए । अस्पतालमा निःशुल्क उपलब्ध हुने शय्या बढाएर १५ बाट २५ पुर्याइएको जानकारी दिँदै सम्पूर्ण बिरामीलाई निःशुल्क उपलब्ध गराइएको बताए । अस्पताललाई आगामी दिनमा अन्तर्राष्ट्रिय अस्पतालका रुपमा विकास गर्नका लागि निरन्तर प्रयास भइरहेको पनि उनको भनाइ थियो । अस्पताल १९७४ सालमा स्थापना भएको थियो । हाल अस्पतालमा एक सय १८ शय्या छन् । रासस

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई गण्डकी मेडिकल कलेजमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक, कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट उपलब्ध गराउन उक्त हस्पिटलबीच सम्झौता गरेको हा । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक, बैंकका कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ । स्वास्थ चेक जाँचमा कर्मचारी तथा सेयरधनीलाई १५ प्रतिशत र बैंकका ग्राहकलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

बेदकोट । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । ‘भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ’, उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’ हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए । ‘भेरिएन्ट एकिन गर्न नौ जनाको नमूना काठमाडौंं पठाएका छौँ’, उनले भने, ‘दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।’ कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । रासस