भानुका ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिने

तनहुँ । तनहुँको भानु नगरपालिकाले ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र प्राप्त गरेका, आश्रित परिवार, बेपत्ता, सहिद परिवार र बालगृहमा रहेका बालबालिकाको बीमा गरिदिन लागिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नगरपालिकाले निःशुल्क स्वस्थ्य बीमा गर्न कार्यविधि तयार गरी स्वस्थ्य बीमा प्रक्रिया अघि बढाएको र सो कार्यक्रमका लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको उपप्रमुख उमा गोतामेले बताइन् । बेपत्ता पारिएका र सहिद परिवारलाई पनि स्थानीय सरकारको प्रत्यभूति दिलाउन बीमाको कार्यक्रमलाई प्राथामिकता दिइएको भानु नगरप्रमुख त्रिपाठीले जानकारी दिए ।

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरेको छ । प्रदेश सरकार, नगरपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा नगरपालिकाभित्रका १५ वटा वडामा स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण लगायतको घुम्ती शिविर गरेको हो । राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित घुम्ती शिविर वडा नं १० पाथेकाबाट सुरुआत भएको नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख इरन राईले जानकारी दिए। शिविरमा फिजियोथेरापी डाक्टर, मेडिकल अधिकृत र टेक्निसियन (स्वास्थ्य प्राविधिक) सहभागी छन् । मेडिकल अधिकृतको सिफारिसका आधारमा अपाङ्गता भएका व्यक्तिलाई शिविरमै अपाङ्गता परिचयपत्र वितरण गर्ने नगरपालिकाले जनाएको छ । हालसम्म आठ सय २४ जनाले शिविरबाट परिचयपत्र पाइसकेका छन् । यही वैशाख १३ गतेदेखि सुरु भएको घुम्ती शिविर वैशाख २७ गते वडा नं १ दिक्तेलमा पुगेर समापन हुने छ । घुम्ती शिविरमा अपाङ्गता भएका व्यक्ति बिरामी अवस्थामा भेटिएमा निःशुल्क औषधि वितरण तथा गम्भीर प्रकृतिका बिरामीलाई थप उपचारका लागि बाहिर रिफर गरिने आयोजकले जनाएको छ । नगरपालिकाभित्रका प्रत्येक वडामा आयोजना गरिएको घुम्ती शिविरमा अपाङ्गता भएका व्यक्तिका लागि वैशाखी तथा ह्विल चेयर उपलब्ध गराउन आकारको नापसमेत लिइएको छ । उक्त नापको आधारमा वैशाखी तथा ह्विल चेयर निःशुल्क उपलब्ध गराउने शाखा प्रमुख राईले जानकारी दिए। नगरपालिकाको पूर्ण स्वामित्वमा शिविर सञ्चालन गरिएको हो । आगामी २०८३ सालको पुस मसान्तसम्म कार्यक्रम सञ्चालन गरिने त्रिपक्षीय सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने जनाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक हजार एक सय ८३ जना अपाङ्गता भएका व्यक्ति छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर नेपाल र करुणा फाउन्डेसन नेपालको ३५/३५ प्रतिशत तथा स्थानीय तहको ३० प्रतिशत लगानीमा शिविर सञ्चालन गरिएको छ । उक्त कार्यक्रम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगै जिल्लाका दशैवटा स्थानीय तहमा सम्झौता गरिएको छ ती सबै स्थानीय तहमा उक्त कार्यक्रम तीन/तीन वर्ष सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ ।

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबारदेखि मंगलबारसम्म २ हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म १ हजार ६ सय हाराहारी हुने बिरामी अहिले दैनिक २ हजारदेखि २ हजार २ सयसम्म पुग्ने गरेका छन् । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार विगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए। लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको उनले बताए । नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखालालगायतका बढीमात्रामा छन् । उनीहरूलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो । बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । गत माघदेखिको तथ्यांक हेर्ने हो भने अस्पतालको बहिरङ्ग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ । माघमा ३२ हजार, फागुनमा ३४ हजार पाँच सय, चैतमा ३६ हजार दुई सय र वैशाख २० गतेसम्म २४ हजार आठ सय बिरामीले सेवा लिएका छन् । अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ । उनले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह गरे । अहिले अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ । योसँगै नियमित औषधि सेवन गर्ने बिरामीका लागि अस्पतालमा परामर्श कक्षको स्थापना गरी चिकित्सकले परामर्श दिँदै आएको उनले बताए । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले पछिल्ला दिनमा बिरामीको सङ्ख्या बढ्दै गएको बताए। उनले चैतमाभन्दा वैशाख लागेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको बताए । गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या अझै बढ्नसक्ने भन्दै उनले सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गरे ।