बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न आग्रह गरेका छन् । उनले चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गई कार्य गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गर्ने बताए । ‘केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीले जुन उद्देश्यका लागि बिदा लिएका हुन् सोही अनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थामा, विदेशी स्वास्थ्य संस्था एवम् गैरसरकारी सङ्घ संस्थामा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकाले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवम् पेसागत अनुशासनमा रही कार्य गर्नुहोला’, सचिव बुर्लाकोटीद्वारा जारी निर्देशनमा उल्लेख छ । केहीले विदेशमा समेत गई कार्य गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरी गैर जिम्मेवारीपूर्ण कार्य गरेकाले प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गरी स्वीकृत गरेको बिदा रद्द गर्न विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएको सचिव बुर्लाकोटीले उल्लेख गरेका छन् । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधिनमा हुने र बिदा अधिकारको कुरा होइन सहुलियत मात्र हो भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गर्दै कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने भए पनि जुन उद्देश्यले बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्न उनले आग्रह गरे । बिदाको उद्देश्यविपरीत निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा सम्बन्धित निकायले स्वीकृत गरेको बिदा रद्द हुनुको साथै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा सेवा सञ्चालन सम्बन्धि प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने र सोको लागि सम्बन्धित व्यक्ति स्वयम् जिम्मेवार हुनुपर्ने सचिव बुर्लाकोटीले बताए । यस्तै स्वदेशी तथा विदेशी निजी संस्थाले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीले त्यस्तो कार्य भए गरेको देखिएमा मन्त्रालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ । रासस
तराईभन्दा पहाडमा फैलिँदै डेंगी
काठमाडौं । गर्मीसमय सुरु भएसँगै देशका विभिन्न जिल्लामा डेंगीको संक्रमण फैलिन थालेको छ । अहिले दैनिक ६ देखि ७ जनामा डेंगी संक्रमण फैलिने गरेको एइपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरिका स्वास्थ्य संस्थाहरूबाट संकलन गरिएको विवरणअनुसार दैनिक ६ देखि ७ जनामा डेगी संक्रमण देखिएकाे छ । देशभरि संक्रमितको संख्या हेर्दा तराईभन्दा पहाडमा बढी भएकाे महाशाखाले जनाएको छ । पछिल्लो समय लामखुट्टे पहाड चढेकाले संक्रमणदर पनि बढ्दै गएको छ । सन २०२४ को जनवरीदेखि मे ५ तारिखसम्मको तथ्यांकअनुसार ८ सय जनामा डेंगी संक्रमण पुष्टी भएको छ । झापा, धादिङ,पाल्पा, संखुवासभा लगायतका विभिन्न जिल्लामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । अहिले डेंगी संक्रमण फैलिरहेकाले सर्तकता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । डेंगी लामखुट्टेकाे टाेकाइबाट मानिसमा सर्ने रोग हो । यो सरुवा रोग नभए पनि लामखुट्टेको टोकाइबाट अर्को व्यक्तिमा सर्ने र फैलने गर्छ । एडिज प्रजातिको लामखुट्टेले टोक्दा डेंगी लाग्ने गर्दछ । यो लामखुट्टे पानीमा जन्मने र हुर्केने गर्छ । यो रोगबाट बच्नु लामखुट्टेको टोकाइबाट बच्नु हो । डेंगी संक्रमण भएको व्यक्तिमा टाउको दुख्ने, उच्च ज्वरो आउने, मांशेपसी र जोर्नी दुख्ने गर्छ । गत वर्ष धरानमा मनसुनअघि नै डेंगी संक्रमण फैलिएको थियो । त्योभन्दा पहिलेका वर्षमा काठमाडौं र चितवनमा डेंगी महामारीका रूपमा फैलिएको थियो । पहिले महामारी फैलिएको ठाउँमा फेरि पनि जोखिम हुन्छ तर, अन्य ठाउँमा पनि यसको जोखिम हुन्छ । महाशाखाले महामारी नियन्त्रणका लागि अहिले फाट्टफुट्ट लामखुट्टे देखा परेका स्थानीय तहहरूलाई नियन्त्रणका लागि निर्देशनपत्र पठाइसकेको छ । संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन लामखुट्टेको टोकाइबाट बच्न घरवरिपरी सरसफाइ गर्नुपर्ने बताउँछन् । यसका लागि घर आसपास पानी जम्न नदिने, पानी राखिएको भाँडा पनि खुल्ला राख्न नहुने र लामखुट्टेको टाकाइबाट बच्नु नै रोग लाग्न नदिने उत्तम उपाय हो । घरको झ्यालमा जाली लगाउने, राति सुत्दा झुलको प्रयोग गर्ने, भान्सा र शौचालय सफा राख्नु पनि यसबाट बच्ने उपाय हो । डेंगी सार्ने लामखुट्टे दिउँसोको समयमात्र सक्रिय हुने भएकाले शारीर छोप्ने लुगा लगाउनुपर्छ। डेंगीको उपचार के हो भन्ने विषयमा स्वंय चिकित्सक पनि अलमालमा छन् । डा. पुन यसको औषधी अहिलेसम्म नबनेको बताउँछन् । उनी रोगसँग लड्नसक्ने क्षमता अथवा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको उपचार रहेको बताउँछन् । डेंगी लागेको शंका लाग्नेबित्तिकै स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । यो संक्रमणले रगतको प्लेटलेट्सको संख्या घट्छ । यस्तो बेलामा खानपानमा ध्यानदिनुपर्ने उनको भनाइ छ ।
थरीथरीका ‘जाइफल तेल’ को ‘फन्दा’ मा उपभोक्ता, गुणस्तर खोइ ?
काठमाडौं । के तपाईंको ढाड–कम्मर दुख्ने समस्या छ ? अथवा हातखुट्टा झमझम गर्ने, सर्केको, मर्केको पीडामा हुनुहुन्छ, वा नसा च्यापिएर समस्यामा पर्नुभएको छ ? त्यसो हो भने, तपाईं पक्कै औषधीको खोजीमा हुनुहुन्छ । आफूलाई पीडा परेको बेला जसले जे भन्यो त्यही पत्याइन्छ पनि । तर, याद गर्नुहोस् यसरी पत्याउने बानीले पछि स्वास्थ्यमा झनै जोखिम आउन सक्छ । अहिले बजारमा व्यक्तिलाई झुक्याउनकै लागि थरीथरीका मालिस तेल आएका छन् । शुद्ध जाइफल तेल प्रयोग गर्दा विभिन्न रोगहरूलाई छिनमै निको पार्ने भन्दै भ्रामक सूचनासहित सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती विज्ञापन भेटिन्छ । यस्ता विज्ञापनले यतिसम्म गरेका छन् कि, त्यसमा बोल्ने सबै व्यक्तिले पनि आफूले तेल लगाउँदा सबै समस्या चैट भएको बताउँछन् । के यसरी बजारमा विज्ञापन भए जस्तै नेपालमा साँच्चिकै यस्तो उद्योग वा कुनै पसल दर्ता छन् त ? विकासन्युजले यही विषयमा खोजी गर्दा विज्ञापनमा भनिए जस्तै औषधीका लागि कुनै पनि उद्योग वा तेल फ्याक्ट्री दर्ता भएको पाइँदैन । यी विषयमा खोजी गर्न विकासन्युजले सामाजिक सञ्जालमा जाइफल तेलबारे गरिएका केही विज्ञापनदातासँग सम्पर्क गरेको थियो । सामाजिक सञ्जालमा थरीथरीका तेलका ६ जनासँग कुराकानी गर्दा कसैले पनि आधिकारिक सूचना दिन मानेनन् । उनीहरूले आफूहरू कामदार रहेको र कसैले फोन गरेर तेलका माग गर्छ भने उनीहरूलाई पुर्याइदिने काम गरिरहेको बताए । कतिपयले तेल आवश्यक परे पुर्याइदिने, तर सबै कुरा नगर्ने भन्दै फोन काटिदिए । सामाजिक सञ्जालमा ‘जाइफल तेल’ को प्रचार गर्दै राखिएको एउटा नम्बरमा फोन गर्दा ती व्यक्तिले आफू भक्तपुर काँडाघारीमा बस्ने र आफू तेल बिक्री गर्ने कामदार भएको बताए । उनले यसको फ्याक्ट्री भक्तपुरमै रहेको बताए । तर, फ्याक्ट्री र सञ्चालकको नाम भने बताउन चाहेनन् । उनले तेल चाहिएको भए आफू घरसम्मै पुर्याइदिने, तर सञ्चालक को हो, कुन ठाउँमा तेल बन्छ भन्नेबारे उत्तर दिन उपयुक्त नहुने बताए । सामाजिक सञ्जालमै भेटिएको अर्को ‘आयुर्वेदिक पसल’ नाम गरेको विज्ञापनदाताले पनि सामाजिक सञ्जालमा तेलको विज्ञापन गरेका छन् ।विज्ञापनमा राखिएको नम्बरमा फोन गर्दा आफ्नो पसल सातबाटोमा रहेको बताउँदै तेल आवश्यक परे जुनसुकै ठाउँमा पनि डेलीभरीको व्यवस्था रहेको बताइन् । उनले यो तेल भक्तपुरको बालकोटमा बन्ने गरेको बताइन् । सामाजिक सञ्जालमा विभिन्न नाम गरेका जाइफलको तेलको विज्ञापनमा राखिएका नम्बरमा फोन गर्दा काठमाडौं उपत्यकाका धुम्बाराही, सामाखुसी, बालकोट, काँडाघाँरी लगायत ठाउँमा जाइफल तेल बनाउने फ्याक्ट्री नै सञ्चालनमा छन् । आयुर्वेदिक पसल, नम्बर १ जाइफल तेल, ओर्जिनल पलपल जाइफल तेल, जाइफल रिफ्रेसमेन्ट तेल लगायत विभिन्न नाम राखेर तेलको औषधीको रूपमा व्यापक प्रयोग भइरहेको छ । यस्ता फ्याक्ट्री सञ्चालकले ‘जिउ दुखेको, हाडजोर्नीको दुखाइ, नसा च्यापिएको दुखाइ, हड्डी खिइएको, बाथ र नसासम्बन्धी समस्याबाट छुट्कारा पाउन जाइफल मालिस तेलको प्रयोग गर्नुहोस्, लगाउने बित्तिकै तुरुन्त आराम हुने भन्दै भ्रम फैलाइरहेका छन् । दर्ता नै छैनन् तेल उद्योग कुनै पनि व्यक्ति वा संस्थाले उद्योग सञ्चालन गर्न उद्योग दर्ता गर्नुपर्छ । अहिले सामाजिक सञ्जालमा आएका यस्ता भ्रामक विज्ञापन सही हुन् या गलत ? के तिनीहरू कानुनअनुसार दर्ता भई सञ्चालनमा आएका हुन् त ? यस विषयमा हामीले खोजी गर्दा औषधीका रूपमा प्रयोग गर्ने भन्दै विज्ञापन गरिएको जाइफल तेलको उद्योग दर्ता भई सञ्चालनमा आएको भेटिएन । औषधी व्यवस्था विभागले नेपालमा जाइफको तेल औषधीको रूपमा प्रयोग गर्ने भन्दै कसैले पनि दर्ता नगरेको बताएको छ । अहिले भर्खरै एकजनाले दर्ता गर्छु भनेर विभागको सम्पर्कमा आएको भए पनि सञ्चालनमा ल्याइनसकको विभागले जनाएको छ । विभागका सूचना अधिकारी प्रमोद केसी विभागमा कुनै पनि जाइफल तेल दर्ता नभएकाले बजारमा आएका तेल के हुन् त्यसबारे जानकारी नभएको बताँछन् । ‘स्वाथ्य उपचारका लागि सञ्चालन गरिने कुनै पनि औषधी उद्योग कानुनअनुसार दर्ता हुनुपर्छ,’ केसी भन्छन्, ‘काम धेरै छ , कर्मचारी थोरै छौँ, कामको भ्यानभ्याइ हुन्छ, बजारमा कसले के गरिरहेको छ भनेर निगरानी राख्ने मान्छे नहुँदा पनि यस्ता कुराको जानकारी हुँदैन । ’ आयोर्वेद सचिकित्सक डा. रूपेन्द्र पुरी आफूले यस्ता विज्ञापन देखेर बुझ्न फोन गर्दा जानकारी नै नपाएको बताए । उनी कुनै पनि तेल अथवा जडीबुटी औषधीका लागि प्रयोगमा ल्याउने हो भने दर्ता अनिवार्य हुनुपर्ने बताउँछन् । ‘कसैले औषधी होइन, कस्मेटिक हो भन्ला, कसैले खाद्यन्न भन्ला त्यो हामीसँग सरोकारको विषय होइन,’ उनी भन्छन,‘ जब कसैले कुनै रोगका लागि औषधी हो भन्छ भने दर्ता हुनु अनिवार्य छ, होइन भने यो कानुन विपरित हुन्छ ।’ जाइफलको तेल आफैले बनाएर प्रयोग गर्नु नराम्रो होइन । यसको प्रयोग स्वाथ्यका लागि राम्रो हुन्छ तर, सामाजिक सञ्जालमा गरिएका विज्ञापन र यसको दर्ता नहुनु कानुन विपरित भएको उनी बताउँछन् । डा. पुरी उपचारका लागि भन्दै कुनै पनि औषधीको प्रचारप्रसार गर्न नमिल्ने बताउँछन् । यदि प्रचार गर्नैपर्ने खालको भए पूर्वस्वीकृती लिनुपर्ने हुन्छ । तर, कार्यविधि नमिलेकाले औषधी विभागले कसैलाई पनि प्रचारको लागि स्वीकृत नदिएको उनको भनाइ छ । कस्तो पर्छ यसको असर ? जाइफलको तेल चलन चल्तीमा घरायसी रूपमा प्रयोग गर्ने गरिन्छ । सुद्ध जाइफलको तेल हो भने यसको मसाजले कुनै असर गर्दैन । तर, यसको प्रयोग कसरी गर्ने भन्नेबारे भने थाहा पाइराख्नुपर्छ । यो तेल प्रयोग गर्दा आँखा र नाकमा पार्न हुँदैन । मर्केको, दुखेको ठाउँमा बेस्सरी प्रयोग गर्न हुँदैन । यसको जानकारी बिना जथाभाबी प्रयोग गर्दा उल्टै असर पर्ने चिकित्सकहरू बताउँछन् । कसैलाई तेलको एलर्जी हुन्छ यस्ता व्यक्तिले प्रयोग गर्न हुँदैन । ‘सुद्ध जायफलको तेलमात्र हो भने यसले धेरै असर गर्दैन,’ उनी भन्छन, ‘तर, ‘प्रयोग कसरी गर्ने भन्नेबारे थाह नहुँदा भने समस्या हुन सक्छ ।’ के हो जाइफल ? जाइफललाई एक जडिबुटी हो । धेरैले यसलाई मसलाको रूपमा प्रयोग गर्ने गर्छन् । यो मसलामात्र हैन औषधीय गुणको खानी पनि हो । प्राचिनकालदेखि नै विभिन्न रोगको उपचारमा यसलाई प्रयोग गर्ने गरिन्छ । आयोर्वेदले जाइफललाई वेदनानशक, वातनाशक, कृमनाशक मानेको छ । यसले कलेजोलाई सक्रिय गर्ने काम पनि गर्छ । अनिद्रा, शूल, अपच, खोकी, बाडुली, शीघ्रपतन र नपुंसकता जस्ता समस्या हटाउन पनि यो यसलाई उपयोगी मानिन्छ । जाइफल स्वास्थ्यका लागि राम्रो हुँदाहुँदै पनि यसको गलत प्रयोग गर्दा दुर्घटना हुन सक्छ । भ्रामक सूचनामा नपर्न आग्रह चिकित्सकहरूले कसैले भनेकै अथवा विज्ञापनकै आधारमा कुनै पनि औषधी प्रयोग नर्गन आग्रह गरेका छन् । नेपाल सरकारकै स्वास्थ्यसेवा हरेक वडामा पुगिरहेको बेला यस्ता गलत भ्रामक सूचनाको पछाडि नलाग्न चिकित्सकहरूको आग्रह छ । ‘औषधी प्रचारको आधारमा किन्नु हुँदैन,’ डा. रुपेन्द्र भन्छन्,‘ ‘कि आधिकारिक निकायबाट दर्ता भएको हो भने ठिक छ नभए विज्ञापनकै आधारमा किन्दा यसले आफैलाई हानी पुर्याउँछ ।’ सूचना अधिकार केसी औषधी लिनेमात्र नभइ यसको प्रयोगले साइड इफेक्ट के हुन्छ भन्नेबारे समेत जानकारी लिनुपर्ने बताउँछन् । विज्ञापन राम्रो छ भन्दैमा जेपायो त्यही प्रयोग गर्न नहुने उनको सुझाव छ । औषधी ऐनको दफा १८ ले औषधीको अनुचित प्रयोग वा दुरुपयोग गर्न नहुने भनेको छ । कुनै पनि व्यक्तिले विज्ञापन गरेर औषधी भन्दै दर्ता नगरी बेचेमा कानुनअनुसार कारबाही गरिने समेत व्यवस्था छ । ऐनले औषधीको झुटा वा भ्रामक प्रचार गर्न नहुने भनेको छ । कुनै पनि औषेधीको विज्ञापन वा प्रचार गर्नुपरे तोकिएको दस्तुर तिरी तोकेबमोजिम विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ । कानुन विपरित यस्ता काम गरेको पाइएमा विभागले कारबाही हुने जनाएको छ ।