रिक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूमा निमित्त प्रमुख नियुक्त

काठमाडौं । सरकारले रिक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूमा निमित्त प्रमुख तोकेको छ । अध्यादेशमार्फत सबै स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डका प्रमुखहरूलाई पदमुक्त गरेर निमित्त प्रमुखलाई जिम्मा दिइएको छ ।  केही समयभित्र नयाँ प्रमुखहरू नियुक्त गर्ने तयारी भइरहेकाले काममा कुनै बाधा नपरोस् भन्नेका लागि सबै संस्थाको जिम्मा निमित्त उपप्रमुखलाई दिएको छ ।  नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नपरोस् भन्ने उद्देश्यले तत्कालका लागि निमित्त प्रमुखहरूको नियुक्ति गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त प्रमुखमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङलाई नियुक्त गरिएको छ । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्रा.डा. विनम्र विष्ट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. इन्द्र लिम्बु,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. सुरेश रसाइली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल डा. उमेश नेपाल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह–प्रा.डा. रविन्द्रभक्त तिमलालाई नियुक्त गरिएको छ । त्यस्तै, वीर अस्पतालको निमित्त निर्देशकमा प्रा. डा. प्रभा कोइराला र  स्वास्थ्य बीमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्त प्रमुखको रूपमा नियुक्त गरेको छ । मन्त्रालयका अनुसार निमित्त नियुक्ति केवल अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था मात्र हो ।  रिक्त पदमा छिट्टै खुला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको छ ।

३४ वर्षपछि ९७७ नयाँ दरबन्दी थप्ने तयारीमा स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवामा ९७७ नयाँ दरबन्दी थप्ने भएको छ ।  स्वास्थ्य मन्त्री निशा मेहताको पहलमा स्वास्थ्य सेवा प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जना गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  साढे तीन दशकपछि स्वास्थ्य सेवामा दरबन्दी थपको पहलले स्वास्थ्य सेवाका लागि ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  स्वास्थ्यमन्त्रीको प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेकाले अब मन्त्रिपरिषदबाट अन्तिम निर्णयमा पुग्ने जनाइएको छ ।  नेपालको स्वास्थ्य संरचना तथा दरबन्दी अन्तिमपटक विसं २०४८ मा निर्धारण गरिएको थियो । त्यो बेला नेपालको जनसंख्या करिब एक करोड ८० लाख रहेकोमा अहिले बढेर करिब तीन करोड पुगेको छ ।  तर, स्वास्थ्य सेवाको स्थायी जनशक्ति संरचना भने पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा जनशक्ति अभाव रहँदै आएको छ ।  स्वास्थ्य क्षेत्रमा चासो राख्नेहरू लामो समयदेखि दरबन्दी थप हुनुपर्ने माग राख्दै आएका थिए ।

१२ अर्बमा सिएमसी काठमाडौं र साढे २ अर्बमा सिएमसी हेटौंडा बन्दै

काठमाडौं । चितवन मेडिकल कलेज (सिएमसी) ले संघीय राजधानी काठमाडौंको तीनकुने र बागमती प्रदेश राजधानी मकवानपुरको हेटौंडामा अति विशिष्टिकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौंमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौंडामा भने भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौंको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने जानकारी दिए । १७ रोपनी जमिनमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुआतमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने उनले बताए । अस्पतालमा क्यान्सरसहित अति विशिष्टिकृत सेवा हुने छ । प्रा.डा. न्यौपानेले भने, ‘विश्वका सुविधा सम्पन्न अस्पतालले दिन सक्ने सेवा दिने गरी ठूलो लगानीमा अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालन गर्दैछौँ ।’ ३ सय शय्याको यस अस्पतालले प्रमुख रुपमा क्यान्सरको उपचार गर्ने छ भने यससँगै सबै खालका विशेषज्ञ सेवा अस्पतालले दिने छ । अनुभवी विशेषज्ञ चिकित्सकहरूले अस्पतालबाट सेवा दिने छन् । नेपाली लगानीको निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल हुने उनले दावि समेत गरे । यस अस्पताल सञ्चालनमा आएसँगै भारत लगायतका देशहरू जाने बिरामीले सोही अनुरुपको सेवा स्वदेशमा पाउने प्रा.डा न्यौपानेले बताए । उनका अनुसार सिएमसी हेटौंडा अस्पतालको निर्माण थालिएको छ । हेटौंडा उपमहानगरपालिका-४ मा अवस्थित, राजमार्गसँगै १९ कट्ठा जमिनमा निर्माण थालिएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रताप देवकोटाले वि.सं २०८४ को दशैँबाट सेवा सुरु गर्ने गरी १ सय शय्या अति विशिष्टिकृत अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिए । २ अर्ब ५० करोड रुपैयाँ हाराहारी लगानी हुने अनुमान गरिएको छ ।   सिएमसीको नेतृत्वमा स्थानीय समेत साझेदार रहेको यस अस्पताल सुरु भएसँगै मकवानपुर र आसपासका जिल्लाका बासिन्दा लाभान्वित हुने उनको भनाइ छ । सँगै स्थानीयले रोजगारीको अवसर पाउने भएका छन् । हाल ती क्षेत्रका बिरामी विशिष्टिकृत सेवाका लागि भरतपुर, काठमाडौं र भारतसमेत जानुपर्ने बाध्यता रहेको छ । २० वर्षअघि भरतपुर महानगरपालिका-१० मा स्थापना भएको चितवन मेडिकल कलेजले ७ सय शय्याबाट सेवा दिँदै आएको छ । नेपालका मेडिकल कलेजहरूमा धेरै बिरामी हुनेमध्येको यस अस्पतालले त्रिभुवन विश्वविद्यालयका स्वास्थ्यका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।