सानिमा बैंकद्वारा गोरखा अस्पताललाई ५ पिडियाट्रिक बेड सहयोग
काठमाडौं । सानिमा बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गोरखास्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पिडियाट्रिक (बाल उपचार) बेड सहयोग गरेको छ । अस्पतालमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो । बालबालिकाको स्वास्थ्य सेवा थप प्रभावकारी, सहज तथा गुणस्तरीय बनाउने उद्देश्यले बेड उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकले आवश्यक मापदण्डअनुसारका आधुनिक पिडियाट्रिक बेड उपलब्ध गराएको छ । उक्त बेड अस्पतालको बाल वार्डमा प्रयोग गरिनेछ भने त्यसको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी अस्पतालकै रहने जनाइएको छ । अस्पताल पक्षले सानिमा बैंकको सहयोगले विशेष गरी विपन्न वर्गका बालबालिकाको उपचार सेवा थप सहज हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा दुवै पक्षले स्वास्थ्य क्षेत्रसहित सामाजिक सेवामा आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । सानिमा बैंकले आफूलाई वित्तीय कारोबारमा मात्र सीमित नराखी समाजको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ ।
सिभिल अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा सुचारू हुँदै
काठमाडौं । सिभिल अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट पुनः सेवा सुचारु हुने भएको छ । आइतबारदेखि रहेको नियमित सेवा सुचारू हुने अस्पतालाले जनाएको छ । अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट गर्ने मेसिन केही समयदेखि बिग्रेकाले सेवा अवरूद्ध भएको थियो । अस्पतालमा उक्त मेसिन मर्मत भइसकेकाले पुनः सेवा सुचारू हुने अस्पतालले उल्लेख गरेको छ । त्यसैगरी, अस्पतालले बिरामीहरुलाई शुक्रबारदेखि खाना खुवाउने भएको छ । शुक्रबार बिहान ९:३० बजेबाट सेवा सुचारू हुने अस्पतालले जनाएको छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । समितिका सदस्यमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल रहेका छन् । प्रा.डा. अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत रहेका छन् । विश्वविद्यालयका अनुसार समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन २०८२ बमोजिम गठन गरिएको हो । बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै छ जना विश्वविद्यालय सभा सदस्य (सिनेटर) पनि मनोनयन गरेको छ । विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रबाट दुई महिलासहित विशिष्ट व्यक्तिहरूलाई सिनेटमा समावेश गरिएको जनाएको छ । यसैबीच, बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ ।