नेपालबाट १० चिकित्सक सहभागी भएको लिभर ट्रान्सप्लान्टेशन सोसाइटीको सम्मेलन सम्पन्न
काठमाडौं । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । यो सम्मेलन नोभेम्बर २० देखि २३ सम्म नयाँ दिल्लीको एअरसिटीस्थित होटल पुलम्यानमा आयोजना गरिएको थियो । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नवनिर्वाचित अध्यक्ष डा. अभिदिप चौधरीको विशेष निमन्त्रणामा नेपालसहित विभिन्न देशका विशेषज्ञहरू दिल्लीमा सहभागी भएका छन् । उक्त सम्मेलनमा नेपालबाट डा. दिलिप शर्मा, डा. एकानन्द सिंह, डा. सागर पौडेल, डा. रामबाबु साह, डा. सञ्जय यादव ,पुकार चन्द्र श्रेष्ठ, डा. पुकार थापा ,डा. कर्ण राजवंशी लगायतका सहभागी भएका थिए । लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नव निर्वाचित अध्यक्ष डा. अभिदिप उनले भने, 'यहाँ प्रत्येक सफल प्रत्यारोपण कडा प्रोटोकल, पारदर्शी डोनर मूल्यांकन प्रणाली र बहुविषयक चिकित्सक टोलीको निरन्तर प्रतिबद्धताको परिणाम हो । भारतलाई विशेष बनाउने कुरा केवल प्रत्यारोपणको संख्या होइन, प्रक्रियालाई मार्गदर्शन गर्ने हाम्रो मूल्य र अनुशासन हो ।' उनले प्रत्यारोपण सेवा विस्तारमा नैतिकता र मानव–केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । डा. चौधरीका अनुसार भारतमा कलेजो प्रत्यारोपण सेवा तीव्र रूपमा विकसित हुँदै गएको छ । नियमित अनुसन्धान, उच्चस्तरीय तालिम, र चिकित्सकबीचको सहकार्यका कारण प्रत्यारोपणको सफलता दर विश्वकै उत्कृष्टमा गणना हुन्छ । उनले थपे, 'हामीले विकास गरेको संरचना केवल प्राविधिक उपलब्धिभन्दा धेरै माथि छ । दानकर्ताको सम्मान, पारदर्शिता, र उपचार प्रक्रियामा परिवारहरूको सक्रिय सहभागिता नै हाम्रो प्रणालीको बलियो आधार हो ।' अन्त्यमा डा. चौधरीले भारत दक्षिण एसियामा प्रत्यारोपण सेवाको नेतृत्व गर्दै आएको र नेपालजस्ता छिमेकी मुलुकहरूलाई प्राविधिक सहयोग, विशेषज्ञ तालिम र अनुभव साझेदारीमार्फत अझ सुदृढ बनाउन तत्पर रहेको बताए । उनका अनुसार क्षेत्रीय सहकार्यले कलेजो प्रत्यारोपण सेवालाई अझ सुरक्षित, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
डा. शेखर राजभण्डारीको परिवारबाट बागलुङमा आश्रम निर्माणमा १० लाख सहयोग
काठमाडौं । नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शेखर राजभण्डारी तथा उनका दाजु–दिदीहरूले स्वर्गीय आमा विद्या लक्ष्मी राजभण्डारीको सम्झनामा बागलुङमा निर्माण हुन लागेको मानव सेवा आश्रमका लागि दश लाख रुपैयाँको सहयोग प्रदान गरेका छन् । उपलब्ध गराइएको सहयोग समाजसेवामा योगदान पुर्याउने प्रेरणादायी उदाहरणका रूपमा रहेको समाजका अगुवाहरूले बताएका छन् । यस सहयोगले स्थानीयस्तरमै मात्र नभई समग्र समाजमा मानव सेवा र करुणाको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ । डा. राजभण्डारीको यस योगदानले परोपकार र सामाजिक उत्तरदायित्वमा आम नागरिकलाई अगाडि बढ्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ ।
मंसिर २६ र २७ गते धादिङको खनियाबासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामिण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । शिविर मङ्सिर २६ गते बिहान ९ बजेबाट साँझ ५ बजेसम्म सञ्चालन हुने छ भने मङ्सिर २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध हुने आयोजकले जनाएको छ। शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, दन्त रोग (डेन्टल) विशेषज्ञ तथा हड्डी–जोर्नी रोग विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गरिने छ। शिविर संचालनमा धादिङ समाज अमेरिकाले सहकार्य गर्नेछ भने मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्राविधिक सहयोग पुर्याउने जनाइएको छ। शिविर सफल बनाउन खनियाबास गाउँपालिका, डेपिन धादिङ तथा स्थानीय स्वयंसेवी समूहहरू सहयोगी संस्थाको रूपमा रहने छन् । स्वास्थ्य शिविरबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खनालले ग्रामीण बस्तीका नागरिकलाई घर नजिक विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। त्यस्तै, यस स्वास्थ्य शिविरले धादिङको खनियाबास आसपासका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै महासचिव बाबुकाजी भण्डारीले यो पहल ग्रामीण स्वास्थ्य पहुँच विस्तारका लागि महत्त्वपूर्ण कदम रहेको टिप्पणी गरे।