दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता
काठमाडौं । होन्डाको यस आर्थिक वर्षको नाफा पूर्वानुमान घटाउने निर्णयले अमेरिकी ट्यारिफ र विश्वव्यापी चिप अभावले पारेको तत्काल दबाबलाई देखाउँछ । तर, दीर्घकालीन रूपमा होन्डाका लागि अझ गम्भीर चुनौती भने चीनका विद्युत सवारीसाधन (ईभी) निर्माताहरूबाट बढ्दो प्रतिस्पर्धा हो । जापानको दोस्रो ठूलो अटो निर्माता होन्डाले शुक्रबार बजार बन्द भएपछि आफ्नो वार्षिक नाफा पूर्वानुमान २० प्रतिशतले घटायो । कारणका रूपमा कम्पनीले एकपटकका लागि हुने ईभी खर्च र नेदरल्याण्डमा आधारित नेक्सपेरियाको चिप्स आपूर्तिमा आएको कमीलाई उल्लेख गर्यो । नेक्सपेरियालाई चीनको विङटेक स्वामित्वमा रहेको अवस्थामा नेदरल्याण्ड सरकारले गत सेप्टेम्बर ३० मा नियन्त्रणमा लिएको थियो । अमेरिकी ट्यारिफका कारण ३८५ अर्ब येन (२.६ अर्ब डलर) नोक्सान हुने अनुमान गरिएको छ, जुन प्रारम्भिक अनुमान ४५० अर्ब येनभन्दा केही कम हो । सोमबार कम्पनीका सेयर ४.७ प्रतिशतले घटे । तर होन्डाका लागि अझ गम्भीर चिन्ता भने दक्षिणपूर्वी एसियामा बजार हिस्सेदारी क्रमशः घट्नु हो — जहाँ उनीहरूले एक समय लगभग निर्विरोध वर्चस्व जमाएका थिए । हालसम्म जापानी अटो निर्माताहरूले चीनबाहेकका एसियाली बजारहरूमा आफ्नो व्यवसाय सुरक्षित हुने विश्वास गरेका थिए । तर अब त्यो धारणा सत्य देखिँदैन । होन्डाका कार्यकारी उपाध्यक्ष नोरिया काईहारा भन्छन्, ‘थाइल्यान्डजस्ता बजारमा प्रतिस्पर्धा निकै तीव्र भएको छ । मूल्यका हिसाबले हामीले आफ्नो प्रतिस्पर्धात्मक धार गुमाएका छौं ।’ बिक्री घट्नु मात्र समस्या होइन । निर्माता कम्पनीहरूले ग्राहक आकर्षित गर्न प्रोत्साहन बढाउन र मूल्य घटाउन थालेका छन्, जसले नयाँ बिक्रीमा नाफा घटाएको काईहाराले बताए । होन्डाले अहिलेको आर्थिक वर्षमा एसियामा (चीनसहित) ९ लाख २५ हजार सवारी बेच्ने लक्ष्य राखेको छ, जुन अघिल्लो लक्ष्य १.०९ मिलियनभन्दा १० प्रतिशतभन्दा बढी घटेको हो । चीनबाहेक एसियामा अघिल्लो वर्षभन्दा ५ हजार कम सवारी बिक्री हुने अनुमान गरिएकोमा अहिले त्यो संख्या ७५ हजार पुगेको छ । बीवाईडीजस्ता चिनियाँ ईभी निर्माताहरूको प्रतिस्पर्धा थाइल्यान्ड र इन्डोनेसियासहित दक्षिणपूर्वी एसियामा जापानी अटो कम्पनीहरूका लागि दिनदिनै कठिन बन्दै गएको एक उद्योग स्रोतले जनायो । ‘दक्षिणपूर्वी एसिया अहिले चीनी कम्पनीहरूको प्रभावमा गहिरिँदै गएको छ,’ स्रोतले भन्यो, ‘थाइल्यान्डमा पछिल्ला दुई वर्षमा चीनी ईभीहरूको वृद्धि अद्भूत छ ।’ चीनभित्रको तीव्र मूल्य प्रतिस्पर्धाले त्यहाँका ईभी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारतर्फ आक्रामक रूपमा विस्तार गर्न प्रेरित गरेको छ । होन्डाको खुद्रा बिक्री इन्डोनेसियामा यो वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले घट्यो । मलेसियामा १८ प्रतिशत र थाइल्यान्डमा १२ प्रतिशत कमी आयो । यो क्षेत्रका लागि होन्डासँग आगामी दुई वर्षका लागि नयाँ मोडेल योजना छैन, सिटी कम्प्याक्ट सेडानको पुनःसंस्करणबाहेक । यस ढिलाइले चीनी निर्माताहरूलाई अझै बलियो बनाउने जोखिम छ । भारत : नयाँ सम्भावनाको केन्द्र अब जापानी अटो कम्पनीहरूको नजर भारततर्फ मोडिँदैछ — जहाँको बजार हालसम्म चिनियाँ ईभी कम्पनीहरूका लागि लगभग बन्द छ । गत महिना होन्डाले भारतलाई आफ्नो नयाँ इलेक्ट्रिक सवारी उत्पादन र निर्यात आधार बनाउने घोषणा गर्यो । यसले विश्वको तेस्रो ठूलो अटो बजारका रूपमा भारतको बढ्दो महत्त्वलाई देखाउँछ । टोयोटा र सुजुकीले पनि संयुक्त रूपमा ११ अर्ब डलरको लगानी योजना घोषणा गरेका छन्, जसले उत्पादन र निर्यात क्षमतामा वृद्धि गर्नेछ । तर विज्ञहरूका अनुसार होन्डाको चुनौती संरचनात्मक रूपमा अझ गहिरो छ । गत शुक्रबार कम्पनीको अटोमोबाइल विभागले लगातार तेस्रो त्रैमासिकमा घाटा देखायो जबकि मोटरसाइकल विभागले ऐतिहासिक नाफा कमायो । त्सुकुदा मोबिलिटी रिसर्च इन्स्टिच्युटका संस्थापक योसियो त्सुकादाले दुई विभागबीचको यो नाफाको असन्तुलन ‘अनुचित’ भएको बताए । ‘यदि होन्डाले चारपाङ्ग्रे र दुईपाङ्ग्रे व्यवसाय छुट्यायो भने मोटरसाइकल व्यवसाय विश्वभर फस्टाउनेछ,’ उनले भने, ‘तर अटोमोबाइल विभाग अहिलेको संरचनामा गम्भीर संकटमा छ ।’ उत्तर अमेरिकामा पनि चुनौती होन्डाले यस आर्थिक वर्षका लागि कुल सवारी बिक्री अनुमान ३.६२ मिलियनबाट घटाएर ३.३४ मिलियनमा झारेको छ । यसमा नेक्सपेरियाबाट चिप आपूर्तिको अभावका कारण १.१ लाख सवारी उत्पादन घटेको छ । अमेरिका हाल पनि होन्डाको सबैभन्दा ठूलो बजार हो, जसले कम्पनीको कुल बिक्रीको ४२ प्रतिशत हिस्सा ओगटेको छ । तर अमेरिकी ट्यारिफबाहेक पनि त्यहाँ समस्याहरू छन् । चिप अभावका कारण मेक्सिकोमा कारखाना बन्द गर्नु परेको र अमेरिका तथा क्यानडामा उत्पादन घटाउनुपरेकोले कम्पनीको सञ्चालन नाफामा करिब १५० अर्ब येन (९९४.८३ मिलियन डलर) को असर परेको छ। यस वर्ष होन्डाका सेयर १.४ प्रतिशत घटेका छन् जबकि निक्केई २२५ सुचकांक करिब २८ प्रतिशतले बढेको छ। होन्डा र निसानबीच विलयको सम्भावनाबारे छलफल चलेको थियो तर फेब्रुअरीमा वार्ता टुंगिएको थियो । त्सुकादाका अनुसार होन्डा, निसान र मित्सुबिशी मोटर्स सबैको कमजोर स्थिति भएका कारण अहिलेको अवस्थामा कुनै मर्जर ‘दुई कमजोरहरूको गठबन्धन’ मात्र हुने छ । सुनको खेल अझै बाँकी ! मूल्य घट्ने कि फेरि इतिहास दोहोरिने ? टेस्ला शैलीमा ‘रिभियन’ले पनि सीईओ आरजे स्क्यारिन्जलाई ४.६ अर्ब डलरको तलब प्याकेज दिने
व्यवसायी कर्मा तेञ्जिङले ठमेलको होटल वैशाली किने, साढे २ अर्ब लगानी गरेर पाँचतारे होटल बनाउँदै
काठमाडौं । पर्यटन व्यवसायीका रूपमा परिचित कर्मा तेञ्जिङ एकपछि अर्को ठूलो होटल परियोजनामा प्रवेश गरेका छन् । यसअघि काठमाडौंको महाराजगञ्जमा पाँचतारे होटल मेरिडियन र अपार्टमेन्ट बनाउने घोषणा गरेका उनले ठमेलमा थप नयाँ परियोजना निर्माणको काम अगाडि बढाएका हुन् । तञ्जिङको स्वामित्व रहेको मनाङ हस्पिटालिटी प्रालिले ‘फोर प्वाइन्ट्स बाई शेराटन’ ब्रान्डअन्तर्गत पाँचतारे होटल पुन:निर्माण गर्न लागेको हो । कम्पनीले ठमेलकै पुरानो होटल वैशालीको जग्गा र भवन खरिद गरेर पुन:निर्माण गरी पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले म्यारियट इन्टरनेशनललाई होटलको व्यवस्थापन दिने उल्लेख गरेको छ । कम्पनीले कुल २ अर्ब ६७ करोड ७० लाख लागतमा होटल पुन:निर्माण गर्न लागेको हो । जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी रहनेछ । निर्माण हुन लागेको यो होटलमा सबैभन्दा धेरै शेयर मनाङ हस्पिटालिटीका अध्यक्ष तेन्जिङको रहेको छ । उनको यो होटलमा ६३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कर्मा तेन्जिङ कर्मा ग्रुपका अध्यक्षसमेत हुन् । उनको घरजग्गा, शिक्षा र हस्पिटालिटी लगायत क्षेत्रमा लगानी रहेको छ । तेन्जिङ अर्थशास्त्रमा विद्यावारिधि गरेका एक अनुभवी व्यवसायी हुन् । कम्पनीले होटलको पुन: निर्माण गरे सन् २०२७ मा आंशिक र २०२८ मा पूर्ण व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । कम्पनीले बैंकबाट दीर्घकालिन २ अर्ब र अल्पकालीन अवधिको लागि ३ करोड गरी कुल २ अर्ब ३ करोड रुपैयाँको कर्जाका लागि रेटिङ पनि गराएको छ । जसका लागि दीर्घकालीन ऋणका लागि बी प्लस र अल्पकालीन ऋणका लागि ए फोर रेटिङ प्राप्त गरेको छ । हाल यो योजना पुन:निर्माणको प्रारम्भिक चरणमा रहेको छ । होटल वैशालीका कार्यकारी निर्देशक विशाल कुमार कैथले भने होटलको जग्गा खरिद गर्ने विषयमा अहिले मनाङ हस्पिटालिटीसँग फण्डको विषयमा कुरा भइरहेको र एक महिनाभित्र सम्झाैता फाइनल हुने जानकारी दिए । कर्माले काठमाडौंको महाराजगञ्जमा पनि ४ अर्ब २ करोड रुपैयाँ लागतमा मेरिडियन होटलको निर्माणको प्रक्रिया अगाडि बढाएका हुन् । मेरिडियन पनि पाँचतारे होटल हो । लक्जरी होटेल म्यानेजमेन्ट (बीभीआई)ले व्यवस्थापन गर्ने सो पाँचतारे होटलमा १७० कोठा हुने बताइएको छ । कम्पनीले होटल निर्माणका लागि कुल लागतको ७३ प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको थियो । २७ प्रतिशत स्वपूँजीमा होटल निर्माण हुने उल्लेख छ । कर्मा हस्पिटालिटीको कुल चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको रेटिङमा उल्लेख छ । होटलसँगै तेञ्जिङले अपार्टमेन्ट पनि बनाउँदैछन् । होटल र अपार्टमेन्टको कुल लागत भने ६ अर्ब हुने बताइएको छ । कर्मा र उनको टीमले महाराजगञ्जमा १६२ युनिटको कर्मा रेसिडेन्सी अपार्टमेन्ट बनाउने तयारी थालेका हो । कर्माको पुर्ख्यौली थलो मनाङ हो । यसअघि अमेरिकामा रहेका उनी नेपालमै फर्किएर व्यवसायमा जमिरहेका छन् । उनी हिमाल आरोहीका रूपमा पनि परिचित छन् । सम्बन्धित सामग्री : कर्मा तेञ्जिङले महाराजगञ्जमा ४ अर्ब लगानीमा पाँचतारे होटल बनाउँदै, ३ अर्ब ऋण
सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य, को हुन् उनी ?
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव रुद्रप्रसाद बन्जराका अनुसार बैंकका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ । नवनियुक्त सीईओ आचार्यले आगामी माघ १२ गतेदेखि कार्यभार सम्हाल्ने उनले बताए । बैंक सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको उनले बताए । उनले बैंकको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । स्थायी ठेगाना ललितपुरमा बस्ने आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ क्षेत्रमा २१ वर्ष लामो अनुभव संगालेका छन् । हाल उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ । आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआइटी, जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।