६ बैंकले घटाए खराब कर्जा, ८ बैंकको ५ प्रतिशत नाघ्यो

काठमाडौं । ‘विगतमा हाम्रो बैंकको पनि १ प्रतिशत भन्दा कम खराब कर्जा थियो । तर, आजको दिनमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ प्रतिशतभन्दा बढी पुगिसक्यो । अब १ प्रतिशतभन्दा कम खराब कर्जा रहेको एभरेष्ट बैंक मात्रै हो,’ एक बैंकका उच्च व्यवस्थापकले भने, ‘यो आर्थिक वर्षदेखि समाधान हुन खोजिरहेको थियो । तर, जेनजी आन्दोलनको प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष असर जति परेको छ, त्यहि नै प्रोभिजन राख्नु भनेर राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले रिस्ट्रक्चरिङ गर्न नपाउने भनिएको छ ।’  उनका अनुसार आन्दोलन पछि ऋण असुलीमा ठूलो सकस भोगिरहनु परेको छ । अहिलेको जस्तो स्थिति आफ्नो बैंकिङ अनुभवमा कहिले पनि नदेखेको उनी बताउँछन् । बैंकिङ क्षेत्रमा देखिएको सकस साम्य हुन १/२ वर्ष लाग्न सक्ने उनले बताए ।  ती बैंकरले भने जस्तै बैंकहरुको खराब कर्जा उच्च विन्दुमा पुगेकाे छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ४.६ प्रतिशत पुगेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १७.६६ प्रतिशत बढेर ४.७ प्रतिशत विन्दुमा पुगेको हाे । गत वर्षको असोजसम्म बैंकहरुको खराब कर्जा ३.९१ प्रतिशत थियो ।  समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ । हिमालयन बैंकको खराब कर्जा ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दुमा पुगेको छ । जबकि गत वर्षको असोजमा ४.९८ प्रतिशत विन्दु थियो । असोज मसान्तसम्ममा नेपाल एसबीआई बैंकको खराब कर्जा ६३.५८ प्रतिशत ३.०१ प्रतिशत विन्दु रहेकाे छ ।प्रतिशतका आधारमा यस बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ । यस्तै, नेपाल बैंकको ५७.३० प्रतिशत बढेर ५.४९ प्रतिशत विन्दु, हिमालयन बैंकको ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दु, कुमारी बैंकको ४०.७२ प्रतिशत बढेर ६.९८ प्रतिशत विन्दुमा खराब कर्जा रहेको छ ।  सार्वजनिक तथ्याङ्क अनुसार सानिमा बैंकको ३२.९९ प्रतिशत बढेर ३.९१ प्रतिशत विन्दु, माछापुच्छे बैंकको ३१.११ प्रतिशत ४.१३ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २६.४३ प्रतिशत ६.८४ प्रतिशत विन्दु, एनएमबि बैंकको २६.१७ प्रतिशत ४.५८ प्रतिशत विन्दुमा खराब कर्जा रहेका छन् ।  प्राइम बैंकको २०.५७ प्रतिशत बढेर ५.८६ प्रतिशत विन्दु, प्रभु बैंकको १७ प्रतिशत बढेर ५.७८ प्रतिशत विन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १३.९१ प्रतिशत बढेर ६.६३ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको ६.६३ प्रतिशत बढेर ४.९८ प्रतिशत विन्दु, नबिल बैंकको १.१७ प्रतिशत बढेर ४.३१ प्रतिशत विन्दुमा खराब कर्जा रहेको तथ्याङ्क छ ।  तर, कृषि विकास बैंकको खराब कर्जा भने स्थिर रहेको छ । असोजसम्म बैंकको खराब कर्जा ४.७८ प्रतिशत विन्दुमा रहेको छ ।  समीक्षा अवधिमा ६ बैंकले भने खराब कर्जा घटाएका छन् । एनआइसी एशिया बैंकको १६.३४ प्रतिशत घटेर १.७४ प्रतिशत विन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.३० प्रतिशत घटेर १.७१ प्रतिशत विन्दु, राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत घटेर ३.८३ प्रतिशत विन्दु, एभरेष्ट बैंकको ३.८९ प्रतिशत घटेर ०.७४ प्रतिशत विन्दु, सिद्धार्थ बैंकको २.८१ प्रतिशत घटेर ३.८ प्रतिशत विन्दु र लक्ष्मी सनराइज बैंकको ०.३६ प्रतिशत घटेर ५.४२ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् ।

इतिहासकै ठूलो तलब योजना पारित, मस्कले टेस्लाबाट ‘१ ट्रिलियन डलर’ तलब प्याकेज पाउने

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले बिहीबार कम्पनीको इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेजको स्वीकृति प्राप्त गरेका छन् । सेयरधनीहरूले टेस्लालाई बिजुली सवारीसाधन (ईभी) निर्माता मात्र नभई कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्सको विशाल कम्पनीमा रूपान्तरण गर्ने योजनालाई समर्थन जनाएका हुन् । यो प्रस्ताव ७५ प्रतिशतभन्दा बढी समर्थनसहित पारित भयो । त्यसपछि मस्क टेक्सासको अष्टिनस्थित टेस्लाको कारखानामा आयोजित वार्षिक साधारण सभामा नाच्ने रोबोटहरूको साथ स्टेजमा पुगे । पहिल्यै नै विश्वका सबैभन्दा धनी व्यक्ति बनेका मस्कले आगामी दशकमा अधिकतम एक ट्रिलियन डलरसम्मको सेयर प्राप्त गर्न सक्छन्, यद्यपि आवश्यक भुक्तानीहरू पछि गर्दा यसको वास्तविक मूल्य झरेर करिब ८७८ अर्ब डलरसम्म पुग्नेछ । यो मतदान टेस्लाको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ, किनभने कम्पनीको मूल्याङ्कन मस्कको दृष्टिकोणमा आधारित छ— स्वचालित सवारीसाधन विकास, अमेरिकाभर रोबोट्याक्सी नेटवर्क विस्तार र मानव–जस्तै रोबोट बिक्री गर्ने योजनामा । यद्यपि उनको दक्षिणपन्थी राजनीतिक वक्तृत्वले यस वर्ष टेस्लाको ब्रान्ड छविमा असर पारेको छ । कम्पनीको सञ्चालक समितिले चेतावनी दिएको थियो कि यदि मस्कले यो तलब प्याकेज नपाए भने उनी टेस्ला छोड्न सक्छन् । केही लगानीकर्ताले यो अत्यधिक महँगो र अनावश्यक भनेका थिए, तर धेरैले यसलाई मस्कलाई टेस्लामा राख्ने उपायका रूपमा देखे र प्याकेजमा तोकिएका लक्ष्य पूरा भएमा सेयरधनीहरूलाई पनि प्रतिफल मिल्ने विश्वास गरे । मस्कले उत्साहित सेयरधनीहरूलाई भने, ‘हामी अहिले टेस्लाको भविष्यको नयाँ अध्यायमा मात्र होइन, नयाँ पुस्तककै सुरुवात गर्न लागेका छौं ।’ उनी स्टेजमा पुगेपछि उनले धेरै वाचा गरे—एप्रिलदेखि दुई सिट भएको स्टियरिङविहीन ‘साइबरक्याब’  नामक रोबोट्याक्सी उत्पादन सुरु गर्ने, नयाँ पुस्ताको रोडस्टर इलेक्ट्रिक स्पोट्र्स कार सार्वजनिक गर्ने, र एआई चिप निर्माणका लागि ‘विशाल चिप फ्याक्ट्री’ आवश्यक पर्ने भन्दै इन्टेलसँग सहकार्य गर्ने सम्भावना पनि व्यक्त गरे । सेयरधनीहरूले टेस्लाको सञ्चालक समितिमा रहेका तीन जना सदस्यलाई पुनःनिर्वाचन पनि गरे, सबै सदस्यका लागि वार्षिक निर्वाचनको समर्थन गरे र अदालतमा अड्किएको मस्कको अघिल्लो तलब प्याकेजको सट्टा नयाँ योजना स्वीकृत गरे । सेयरधनीहरूले मस्कको एआई कम्पनी एक्सएआईमा टेस्लाको लगानीको समर्थन पनि गरे, यद्यपि धेरैले मतदान नगरी तटस्थ रहन रोजे । यसले ठूला लगानीकर्ताहरूको संकोच झल्काउँछ कि सञ्चालक समितिले अझ बलियो अनुगमन बिना यस्तो सम्बन्ध अनुमोदन गर्नु उचित नठानेको हो ।  रणनीतिक सल्लाहकार कम्पनी लङ्गेकर स्क्वायरकी पार्टनर जेसिका म्याकडुगलका अनुसार धेरै लगानीकर्ताहरू ‘सञ्चालक समितिबाट स्पष्ट आश्वासन चाहन्छन् कि दुबै व्यवसायबीच अत्यधिक मिश्रण नहोस् भन्ने ग्यारेन्टी सुनिश्चित गरिएको छ ।’ मस्कले करिब १५ प्रतिशत सेयर आफैको स्वामित्वमा राखेकाले मतदानमा भाग लिन पाएका थिए, जसका कारण उनको जित अपेक्षित थियो । यद्यपि मस्कको प्रभाव हटाएर हेर्दा समर्थनको बहुमत सामान्य कम्पनीमा सीईओको तलब पुनरावलोकन गर्न पर्याप्त सानो थियो ।  केही ठूला लगानीकर्ताहरू— जस्तै नर्वेको सार्वभौम कोष र प्रोक्सी सल्लाहकार कम्पनीहरू ग्लास लुइस र इन्स्टिट्युसनल सेयरहोल्डर सर्भिसेजले यो योजना विरोध गरेका थिए । यो मतदानले लगानीकर्ताहरूको त्यो चिन्ता हटाएको छ कि मस्कले आफ्नो ध्यान स्पेसएक्स र एक्सएआई जस्ता अन्य कम्पनीतर्फ मोड्नेछन् । सञ्चालक समिति र मस्कका समर्थक लगानीकर्ताहरूले भने यो रेकर्ड तोड्ने तलब प्याकेजले दीर्घकालमा सेयरधनीहरूलाई लाभ र्पुयाउने बताएका छन् किनभने मस्कले तलब पाउनका लागि टेस्लाले धेरै लक्ष्य हासिल गर्नैपर्छ । ‘यदि यी सेयरका ट्रान्चहरू पूरा भए भने टेस्लाको आम्दानी वृद्धिमा बलियो सुधार आउनेछ,’ जाक्स इन्भेस्टमेन्ट म्यानेजमेन्टका वरिष्ठ पोर्टफोलियो प्रबन्धक ब्रायन मुलबरीले भने । ‘यो वृद्धिले सेयर पतनका चिन्ताहरू कम गर्नेछ त वा यो केवल एलनलाई एआईको भविष्य नियन्त्रण गर्न पर्याप्त प्रभाव दिने इच्छा पूरा गर्ने माध्यम हो ? त्यो त पछि मात्र थाहा हुनेछ,’ उनले थपे । आगामी दशकमा मस्कका लागि तोकिएका लक्ष्यहरूमा टेस्लाबाट २ करोड सवारीसाधन उत्पादन, १० लाख रोबोट्याक्सी सञ्चालनमा ल्याउने, १० लाख रोबोट बिक्री गर्ने र ४०० अर्ब डलरसम्मको कोर नाफा कमाउने योजना समावेश छन् । तर यी सबैका लागि टेस्लाको बजार मूल्य पनि बढ्नुपर्नेछ— हालको १.५ ट्रिलियन डलरबाट सुरु गर्दै पहिलो चरणमा २ ट्रिलियन र अन्ततः ८.५ ट्रिलियन डलरसम्म । हरेक चरण (सञ्चालन लक्ष्य र मूल्याङ्कन माइलस्टोन) पूरा हुँदा मस्कलाई कम्पनीको १ प्रतिशत सेयर प्राप्त हुनेछ । त्यसैले सबै लक्ष्य हासिल नभए पनि उनले अरबौँ डलरको सेयर पाउन सक्छन् । यदि सबै लक्ष्य पूरा भए भने मस्कलाई कम्पनीको १२ प्रतिशत सेयर—अर्थात् करिब १ ट्रिलियन डलर बराब मिल्नेछ । तर त्यसको शुद्ध मूल्य करिब ८७८ अर्ब डलर हुनेछ, किनभने प्याकेजको गणना सेप्टेम्बरको सुरुवातमा सञ्चालक समितिले प्रस्ताव पारित गरेको दिनको सेयर मूल्यबाट गणना गरिएको हो । मस्कले चाहँदा त्यो रकम नगदमा तिर्न सक्छन् वा सो मूल्यको हिसाबले कम सेयर लिन सक्छन् । यो प्याकेजको मूल्य सधैं परिवर्तनशील रहनेछ किनभने सेयर मूल्यमा हुने उतारचढावसँगै यसको गणना बदलिरहन्छ । मस्कका अनुसार उनले यो प्याकेजमा रुचि तलबका कारण नभई टेस्लामा आफ्नो मताधिकार बढाउने उद्देश्यले देखाएका हुन् ।

आन्दोलनको असर बैंकको नाफामा, १८.८२ प्रतिशत गिरावट आउँदा ५ बैंकको मात्रै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा व्यापक गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको खुद नाफामा १८.८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाखले रुपैयाँ गिरावट आएको हो ।  चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । जबकि गत वर्षको असोजसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको सञ्चालन लागत, कर्जाको गुणस्तर र तरलता व्यवस्थापनका कारण बैंकहरुको नाफामा ठूलो असर परेको बैंकरहरु बताउँछन् ।  देशको पछिल्लो अवस्थाबाट सिर्जना भएको असामान्य परिस्थितीबाट समग्र अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलताका कारण पनि बैंकमा असर परेको बैंकरहरुको भनाइ छ । साथै, केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताका कारण देशको व्यवसायिक वातावरण सकारात्मक बन्न नसकेको कारण व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकरहरु बताउँछन् ।  साथै, बाढी पहिरो, जेनजी आन्दोलन लगायत कारण पनि बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको छ ।  समीक्षा अवधिमा विभिन्न ५ बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफामा गिरावट आएको छ । चालु आवको असोजसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै बढेको छ । बैंकको नाफा २८९.७७ प्रतिशत बढेर ५८ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो ।  यस्तै, ग्लोबल आइएमई बैंकको २२.९१ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ, सानिमा बैंकको १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १०.५२ प्रतिशत बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको ४.५६ प्रतिशत बढेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् । यी बैंकको नाफा घट्यो  चालु आवको ३ महिनामा विभिन्न १५ वाणिज्य बैंकको नाफा घटेको छ । जसमध्ये सिटिजन्स बैंकले २२ करोड ४ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । जबकि सो बैंकले गत वर्षको असोजमा १९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो ।  यस्तै, कृषि विकास बैंकको ९६.९९ प्रतिशत घटेर ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब)को ९६.९२ प्रतिशत घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकको ४६.३३ प्रतिशत घटेर ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, नेपाल एसबीआई बैंकको ३८.४३ प्रतिशत घटेर ५० करोड १५ लाख ६५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ, एनएमबि बैंकको २० प्रतिशत घटेर ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.६२ प्रतिशत घटेर ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  सार्वजनिक तथ्याङ्क अनुसार माछापुच्छे बैंकको १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १५.१७ प्रतिशत घटेर ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ, नबिल बैंकको १४.५६ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, हिमालयन बैंकको ३.२४ प्रतिशत घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ, नेपाल बैंकको २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ, प्राइम बैंकको २.२० प्रतिशत घटेर १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ, कुमारी बैंकको २ प्रतिशत बढेर १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा गरेको तथ्याङ्कले देखाएको छ ।