सौरभ र सुहृद ज्योतिले हाले बाबु पद्मसहित ९ पुर्ख्यौली कम्पनी विरुद्ध मुद्दा
काठमाडौं । व्यवसायिक घराना ज्योति ग्रुप अहिले सम्पत्ती विवादको कानुनी लडाईमा छ । मणिहर्ष ज्योतिले ८२ वर्षअघि स्थापना गरेको व्यवसायिक घराना अहिले छोरा र नातिहरुबीचको नमिठो विवादमा फसेको हो । मणिहर्ष ज्योतिले सन् १९४० मा ज्योति ग्रुप स्थापना गरेका थिए । गत पुस २३ गते ज्योति ग्रुपको तेस्रो पुस्ताका सौरभ ज्योति र सुहृद ज्योतिले आफ्नो पुर्ख्यौली ९ कम्पनी विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका छन् । सम्पत्ति सम्बन्धी सो मुद्दामा सौरभ र सुहृदले आफ्नै बाबु पद्म ज्योति विरुद्ध पनि मुद्दा हालेका हुन् । सौरभ र सुह्दले आफ्नै पुख्र्यौली कम्पनीहरु स्यामुकापु एण्ड कम्पनी प्रालि, भाजुरत्न फर्मा प्रालि, म्यानेजमेन्ट सर्भिसेज प्रालि, हिमाल एण्ड कम्पनी प्रालि, भाजुरत्न कम्पनी प्रालि, ज्योति यार्न प्रोसेसिङ कम्पनी प्रालि, स्याकर कम्पनी प्रालि, इन्जिनियरिङ एण्ड सेल्स लि र ज्योति एण्ड कम्पनी प्रालि विरुद्ध मुद्दा दायर गरेका छन् । यो सबै मुद्दा सम्पत्ति विवादसँग सम्बन्धित छ । आफूहरुबीच अंशबण्डा भएर आ-आफ्नो पेश व्यवसाय गरिरहेको भएपनि आफूहरुको सेयर स्वामित्व भएका कम्पनीहरुमा आफूहरुमाथि अन्याय गरिएको निवेदक सौरभ र सुहृदको मागदाबी छ । यसरी मुद्दा परेका कम्पनीहरुमध्ये भाजुरत्न फर्मा प्रालिको अध्यक्ष सौरभ र सुहृदका बाबु पद्म ज्योति छन् । सो कम्पनीमा सौरभ र सुहृदको २ हजार कित्ता सेयर (कुल सेयरको ०.१४ प्रतिशत) स्वमित्व छ । कम्पनीले आफूहरु सेयरधनी भएपनि आफूहरुलाई कुनै जानकारी नै नदिई पुस २६ गते वार्षिक साधारणसभा गर्न लागेकोले सो सभा रोक्न माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो । ‘प्रतिवादी कम्पनीका अध्यक्ष तथा सेयरधनी पद्म ज्योति हामी निवेदकहरुको सहोदर बुबा हुनुहन्छ । निज प्रतिवादी र हामीहरुको अंशबण्डा भई आ-आफ्नो पेश व्यवसाय गरिआएका छौं । विपक्षी कम्पनीमा हाम्रा स्व. हजुरबुबा मणिहर्षका सन्तानहरु र निजहरुको स्वामित्व भएका अन्य कम्पनीहरुको नै सेयर लगानी रहेको छ,’ आफ्नै बाबु पद्म ज्योति अध्यक्ष भएको कम्पनी भाजुरत्न फर्मा प्रालि, त्यसको संचालक समिति र आफ्नै बाबु पद्म ज्योति विरुद्ध सौरभ र सुहृदले अदालतमा पेश गरेको निवेदनमा उल्लेख छ । आफूहरुको सेयर भएपनि बाबु नै अध्यक्ष भएको कम्पनीको साधारणसभामा समेत आफूहरुलाई कुनै जानकारी नदिएको र एउटै भवनमा भएका कम्पनीको गतिविधिमा आफूहरुलाई कुनै जानकारी नदिने गरिएको सौरभ र सुहृदको भनाई छ । ‘विपक्षी कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना काठमाडौं जिल्ला, कामनपा वडा नं. २७ कान्तिपथ स्थित ज्योति भवनमा हामी निवेदकहरु र हाम्रा स्व. हजुरबुबा मणिहर्षका अन्य सन्तानहरु संलग्न रहेको थुप्रै कम्पनीको रजिष्टर्ड कार्यालय रहेको तथा हामी निवेदशकहरुको व्यक्तिगत लगानी रहेका अन्य कम्पनीहरुको रजिष्टर्ड कार्यालय पनि सोही ज्योति भवनमा रहेकाले हामीले ज्योति भवनमै बसी आफ्नो नियमति व्यवसायिक काम कारबाही गर्दै आइरहेका छौं । यस्तै, अवस्थामा मिति २०७८।०९।२२ गते बिहीबार हामी निवेदकहरु आफ्नो नियमित काम सकेर घर फर्कने क्रममा ज्योति भवन परिसरमा विपक्षी कम्पनीका कर्मचारीहरुबीच कम्पनीको आव २०७७।०७८ को साधारणसभा हुन लागेको भनी छलफल भइरहेको सुनेका थियौं । उक्त कुरा सुनेपछि हामी निवेदकहरुले विपक्षी कम्पनीका केही कर्मचारीलाई कम्पनीको साधारणसभाको बारेमा के जानकारी छ भनी अनौपचारिक रुपमा सोध्दा निज कर्मचारीहरुले मिति २०७८।०९।२६ मा विपक्षी कम्पनीको साधारणसभा हुन लागेको भन्ने सुनेका छौं भनी जानकारी गराउनु भयो । हामी निवेदकहरुलाई विपक्षी कम्पनीको आव २०७७।०७८ को वार्षिक साधारणसभाका सम्बन्धमा कुनै जानकारी नभएकोले सो सम्बन्धमा सत्य तथ्य के रहेछ भनी विपक्षी कम्पनीका व्यवस्थापकहरुसँग सोध्दा विपक्षी कम्पनीका व्यवस्थापकहरुले कम्पनीको साधारणसभा जहिलेसुकै भएपनि तपाईंहरुलाई बोलाउन आवश्यक छैन, हामीहरुलाई बहुमत सेयरधनीको साथ छ, हामीहरु जे पनि निर्णय गर्न सक्छौं भनी अन्यायको धाक धम्की दिनुभयो,’ पाटन उच्च अदालतमा सौरभ र सुह्दले दिएको निवेदनमा उल्लेख छ । सौरभ र सुहृदले दिएको निवेदनका आधारमा पाटन उच्च अदालतले ७ दिने आदेश दिएको छ । सो आदेशमा विपक्षीसँग जवाफ माग गरिएको हो । ‘यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण भए सबूद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटाको म्याद बाहेक ७ (सात) दिनभित्र विपक्षीहरुले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत जवाफ पेश गर्नू,’ न्यायाधीश किरण पौडेल र मिना गौतम सेडाईको पुस २७ गतेको आदेशमा भनिएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाले दिए आवेदन (नामसहित)
काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पूर्व सीईओ सिताराम थपलियासहित १५ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा बोर्डका कार्यकारी निर्देशन निरज गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी रहेका छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईले पनि बोर्डको अध्यक्षको लागि आवेदन पेश गरेका छन् । त्यसैगरी, मुक्ति अर्याल, खगेन्द्र कटुवाल, डा. केशव प्रसाद श्रेष्ठ, रमेश अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पाेखरेल, अनिलराज पौडेल, रमेशकुमार हमाल, डा. जीवन अंगाई र हेमन्त बस्याल पनि बोर्डको अध्यक्ष बन्नका लागि दावेदार पात्र हुन् । जसमध्ये खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पाेखरेल भने नयाँ आवेदक हुन् भने बाँकी पुरानै उम्मेदवार हुन् । बोर्डले यसअघि पनि अध्यक्ष पदको लागि आवेदन फारम खुलाएको थियो । तर उक्त सूचनालाई रद्द गर्दै बोर्डले पुनः दोस्रो पटक सूचना निकालेको हो । मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरिसकेको छ । उक्त समितिले आवेदन दिएका मध्ये कम्तिमा ३ जना आवेदकको नाम सिफारिस गर्ने छ । र, मन्त्रिपरिष्दको बैठकले छानिएका आवेदकमध्ये एक जनालाई नियुक्त गर्ने प्रकृया रहेको छ । सम्बन्धित सामाग्री सेबाेन अध्यक्षका लागि पुनः आवेदन माग, यसअघि दिएकाको के हुन्छ ?
चेकमा सही नगर्ने मालिक
‘अब तपाई मालिक बन्नुहोस् । दैनिक काम छोडेर योजनामा लाग्नुहोस्’ गफगाफको क्रममा मैले उद्यमी प्रवलजंग पाण्डेसँग भनेँ । भेट्नका लागि समय लिएर उनको कार्यकक्षमा पुगेको थिएँ । तर, उनी बेफुर्सदी देखिए । घरी कार्यकक्षमा कर्मचारीलाई बोलाएर सोधखोज गर्थे, घरी फोन गरेर कर्मचारीलाई अराउ-पराउ गर्थे । उनीमा ‘विजी-नेश’ अर्थात व्यस्तपना देखियो । धेरै विजी हुने भएकैले हुनुपर्छ व्यवसायीलाई अंग्रेजीमा विजनेशम्यान भनिएको । उद्योगी पाण्डेसँग गरिएको कुराकानीमा आधारित भएर ‘हरेक वर्ष एउटा नयाँ उद्योग थप्छु’, ‘जतिवटा उद्योग खोल्यो, त्यतिवटा औषधी खानुपर्ने रहेछ’ शिर्षकमा विकासन्युजमा स्टोरीहरु भएका थिए, जुन धेरै पाठकको रुचिकर विषय बनेको थियो । तिनै उद्योगीलाई एउटा पत्रकारले ‘अब तपाई मालिक बन्नुहोस्’ भनेर सुझाउनु स्वभाविक थिएन । त्यसैले होला पाण्डेले भने- ‘किन र, म मालिक जस्तो देखिन्नँ ?’ ‘अहँ, देखिनु भएन । चेकमा सही गर्ने व्यक्ति मालिक हुन सक्दैन । मालिक बन्ने हो भने चेकमा सही गर्न छोड्नुपर्छ,’ अनौपचारिक गफगाफमा निकटताको सुविधा प्रयोग गर्दै आफूभन्दा वरिष्ठ व्यक्तिलाई सुझाएँ । ‘चेकमा सही गर्ने नै मालिकले हो’ पाण्डेले आफ्नो अभ्यासलाई पुष्टी गर्न खोजे । ‘होइन’ म आफ्नो तर्कमा अडिग रहें । ‘कसरी ?’ पत्रकारले उद्योगीलाई सोधै झै उद्योगीले पत्रकारलाई प्रश्न गरे । जवाफ जरुरी भयो । जसले भुक्तानी प्रयोजनको लागि चेकमा हस्ताक्षर गर्छ उसले सम्बन्धित भुक्तानी कसलाई ? किन ? कहिले ? लगायत विविध पक्ष हेर्नैपर्छ । उक्त भुक्तानी कानुन, नियम र प्रक्रिया सम्मत छ कि छैन भन्ने जानकारी लिनुपर्छ । सही गरिसकेपछि त्यससँग सम्बन्धित भएर भविष्यमा उठ्ने प्रश्नहरुको जवाफ दिन तयार हुनुपर्छ । यी सबै काम गर्ने व्यक्ति मालिक होइन, ऊ व्यवस्थापक हो । वास्तवमा एलन मस्क, जेफ बेजोस, विल गेट्स, मार्क जुगरवर्ग, वारेन वफेट जस्ता विश्वका धनाढ्यहरु चेकमा हस्ताक्षर गर्दैनन् । सरकारलाई सबैभन्दा बढी कर तिरेर बारम्बर सम्मानित हुने सिद्धार्थ शमशेर राणाले पनि चेकमा सही गर्दैनन् । उनीहरु कम्पनीको बोर्ड माइन्यूटमा मात्र सही गर्छन् । ठूला कम्पनीहरुमा चेक मार्फत वा डिजिटल भुक्तानीको अधिकार उच्चतहका व्यवस्थापकलाई दिइएको हुन्छ । जसले हिसावकितावको जरैसम्म केलाएर मात्र सही गर्छन् । जुन काम प्रमुख कार्यकारी अधिकृत तहमा पनि विरलै मात्रामा पुग्ने गर्छ । २०६४/६५ सालतिरको कुरा हो । म देशविकास पत्रिकाको प्रकाशक तथा सम्पादकको रुपमा काम गर्दै थिए । ‘वान म्यान आर्मी’ शैलीमा काम गरिन्थ्यो । रिपोर्टर पनि आफै । मार्केटिङ पनि आफै । अन्तरवार्ता लिन पनि आफै । पत्रकार सम्मेलनको समाचार लेख्न पनि आफै । रिपोर्टिङ कै क्रममा नेपाल राष्ट्र बैंक पुगेको थिए । खाजा खान केन्द्रीय बैंकको क्यान्टिन छिरियो । दैनिक पत्रिकामा कार्यरत पत्रकार साथीहरुको एक टोली पनि क्यान्टिनमा भेटियो । एक जना साथीले बोलिहाले- ‘ऊ, मालिक पत्रकार आउनुभयो ।’ त्यतिबेला मलाई मालिक पत्रकार भनेको बढो ननिको लाग्थो । पत्रिका आइतबार प्रकाशित हुने । शनिवार विहान ६ बजेदेखि पत्रिकाको तयारीमा जुट्थें । राति ११ बजे पत्रिकाको डिजाइन फाइनल भयो भने त्यो चाँडै काम सकिएको दिन हुन्थ्यो । कहिले काँही रात बिताएर बिहानीको २ बजेसम्म पनि पत्रिकाको काम गरिन्थ्यो । शनिवार १८/२० घण्टा काम गर्नु पर्ने बाध्यता थियो । अरु दिन पनि कम्तिमा १५/१६ घण्टा काम गरिन्थ्यो । सातामा सातै दिन काम गर्नुपर्ने वाध्यता थियो । बिदा भनेको बिरामी पर्दा मात्र हो । दैनिक पत्रिका र टेलिभिजनमा काम गर्ने पत्रकार साथीहरुको ड्युटी आवर दैनिक ८ घण्टा हुने । जो हप्तामा ६ र दिनमा ८ घण्टा काम गर्छ, उसले मलाई ‘तँ त मालिक भैहालिस् नि’ भन्थे । अरुले ‘तँ त मालिक’ भन्दै गर्दा आफूलाई आफैले चलाएको कम्पनीले दास बनाइरहेको अनुभूति थियो । आफैले कम्पनी खोल्दैमा र चेकमा सही गर्दैमा कोही मालिक हुन्छ ? म कसरी मालिक भएँ ? त्यही बेलादेखि मैले भन्ने गरेको छु- चेकमा सही गर्ने व्यक्ति मालिक हुँदैन । वास्तविक मालिक सामान्यतः नाफामुलक संस्थाको कार्यकारी अधिकार प्राप्त व्यक्ति जो अधिकतम नाफा आर्जन गर्ने उद्देश्यसहित कर्मचारीको काम र जिम्मेवारी तोक्छ, कर्मचारी परिचालन गर्छ, संस्थागत संरचना बनाउँछ र संस्थाका व्यवसायिक गतिविधि नियन्त्रणमा राख्छ । मालिकको परिभाषा यस्तै यस्तै हो । तर, यो परिभाषाले वास्तविक मालिकलाई दर्शाउँदैन । यसले उच्च तहको व्यवस्थापक दर्शाउँछ । नेपालको सन्दर्भमा धेरै लगानीकर्ता आफै व्यवस्थापकको भूमिकामा हुन्छन् । माइन्यूटमा पनि सही गर्छन्, चेकमा पनि सही गर्छन्, भौचरमा पनि सही गरिरहेका हुन्छन् । स्वरोजगारमूलक व्यवसायबाट माथि उठेका पहिलो पुस्ताका व्यवसायीमा यो अभ्यास बढी छ । ठूला कर्पोरेट हाउसमा अलि फरक हुन्छ । बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरुमा व्यवस्थापकीय काम कर्मचारीले गरिरहेका हुन्छन् । प्रशासनिक तथा व्यवसायिक गतिविधि सबै कर्मचारीले गर्छन् । बास्तविक लगानीकर्ता त्यो कम्पनीमा जाँदैन । लगानीकर्ताका सीमित प्रतिनिधि ५/७ जना सञ्चालक समितिको बैठकमा जान्छन् । व्यवसायिक योजना, नीति, रणनीति बनाउन उनीहरुले काम गर्छन् । आर्थिक, व्यवसायिक, प्रशासनिक कामको लागि व्यवस्थापकहरुलाई अधिकार प्रत्यायोजन गर्छन् । यी मालिकहरु बैठकका निर्णयहरुमा सही गर्छन्, चेकमा सही गर्दैनन् । पब्लिक कम्पनीमा धेरै संख्यामा सेयरधनी हुन्छन् । उनीहरुमध्ये धेरैले आफ्नो लगानी भएको कम्पनी देखेका पनि हुँदैनन् । त्यो कम्पनीको सञ्चालकमा उनीहरुको भूमिका नै हुँदैन । इच्छाअनुसार साधारण सभामा भाग लिन्छन्, अलि बढी चासो हुने लगानीकर्ताले सञ्चालक छनौटको क्रममा सही निर्णय लिने प्रयास गर्छ । उनीहरुको सही न माइन्यूटमा हुन्छ, न चेकमा नै । उनीहरु केबल लगानीको प्रतिफल मात्र लिईरहेका हुन्छन् । वास्तविक मालिक तिनै हुन्, जसले कम्पनीमा लगानी गरेका छन्, सञ्चालनमा कुनै मिहेनत गर्दैन, काम गर्दैनन्, प्रतिफल मात्र लिन्छन् ।