
‘अब तपाई मालिक बन्नुहोस् । दैनिक काम छोडेर योजनामा लाग्नुहोस्’ गफगाफको क्रममा मैले उद्यमी प्रवलजंग पाण्डेसँग भनेँ ।
भेट्नका लागि समय लिएर उनको कार्यकक्षमा पुगेको थिएँ ।
तर, उनी बेफुर्सदी देखिए । घरी कार्यकक्षमा कर्मचारीलाई बोलाएर सोधखोज गर्थे, घरी फोन गरेर कर्मचारीलाई अराउ-पराउ गर्थे ।
उनीमा ‘विजी-नेश’ अर्थात व्यस्तपना देखियो । धेरै विजी हुने भएकैले हुनुपर्छ व्यवसायीलाई अंग्रेजीमा विजनेशम्यान भनिएको ।
उद्योगी पाण्डेसँग गरिएको कुराकानीमा आधारित भएर ‘हरेक वर्ष एउटा नयाँ उद्योग थप्छु’, ‘जतिवटा उद्योग खोल्यो, त्यतिवटा औषधी खानुपर्ने रहेछ’ शिर्षकमा विकासन्युजमा स्टोरीहरु भएका थिए, जुन धेरै पाठकको रुचिकर विषय बनेको थियो ।
तिनै उद्योगीलाई एउटा पत्रकारले ‘अब तपाई मालिक बन्नुहोस्’ भनेर सुझाउनु स्वभाविक थिएन ।
त्यसैले होला पाण्डेले भने- ‘किन र, म मालिक जस्तो देखिन्नँ ?’
‘अहँ, देखिनु भएन । चेकमा सही गर्ने व्यक्ति मालिक हुन सक्दैन । मालिक बन्ने हो भने चेकमा सही गर्न छोड्नुपर्छ,’ अनौपचारिक गफगाफमा निकटताको सुविधा प्रयोग गर्दै आफूभन्दा वरिष्ठ व्यक्तिलाई सुझाएँ ।
‘चेकमा सही गर्ने नै मालिकले हो’ पाण्डेले आफ्नो अभ्यासलाई पुष्टी गर्न खोजे ।
‘होइन’ म आफ्नो तर्कमा अडिग रहें ।
‘कसरी ?’
पत्रकारले उद्योगीलाई सोधै झै उद्योगीले पत्रकारलाई प्रश्न गरे । जवाफ जरुरी भयो ।
जसले भुक्तानी प्रयोजनको लागि चेकमा हस्ताक्षर गर्छ उसले सम्बन्धित भुक्तानी कसलाई ? किन ? कहिले ? लगायत विविध पक्ष हेर्नैपर्छ । उक्त भुक्तानी कानुन, नियम र प्रक्रिया सम्मत छ कि छैन भन्ने जानकारी लिनुपर्छ । सही गरिसकेपछि त्यससँग सम्बन्धित भएर भविष्यमा उठ्ने प्रश्नहरुको जवाफ दिन तयार हुनुपर्छ । यी सबै काम गर्ने व्यक्ति मालिक होइन, ऊ व्यवस्थापक हो ।
वास्तवमा एलन मस्क, जेफ बेजोस, विल गेट्स, मार्क जुगरवर्ग, वारेन वफेट जस्ता विश्वका धनाढ्यहरु चेकमा हस्ताक्षर गर्दैनन् । सरकारलाई सबैभन्दा बढी कर तिरेर बारम्बर सम्मानित हुने सिद्धार्थ शमशेर राणाले पनि चेकमा सही गर्दैनन् । उनीहरु कम्पनीको बोर्ड माइन्यूटमा मात्र सही गर्छन् ।
ठूला कम्पनीहरुमा चेक मार्फत वा डिजिटल भुक्तानीको अधिकार उच्चतहका व्यवस्थापकलाई दिइएको हुन्छ । जसले हिसावकितावको जरैसम्म केलाएर मात्र सही गर्छन् । जुन काम प्रमुख कार्यकारी अधिकृत तहमा पनि विरलै मात्रामा पुग्ने गर्छ ।
२०६४/६५ सालतिरको कुरा हो । म देशविकास पत्रिकाको प्रकाशक तथा सम्पादकको रुपमा काम गर्दै थिए । ‘वान म्यान आर्मी’ शैलीमा काम गरिन्थ्यो । रिपोर्टर पनि आफै । मार्केटिङ पनि आफै । अन्तरवार्ता लिन पनि आफै । पत्रकार सम्मेलनको समाचार लेख्न पनि आफै ।
रिपोर्टिङ कै क्रममा नेपाल राष्ट्र बैंक पुगेको थिए । खाजा खान केन्द्रीय बैंकको क्यान्टिन छिरियो । दैनिक पत्रिकामा कार्यरत पत्रकार साथीहरुको एक टोली पनि क्यान्टिनमा भेटियो । एक जना साथीले बोलिहाले- ‘ऊ, मालिक पत्रकार आउनुभयो ।’
त्यतिबेला मलाई मालिक पत्रकार भनेको बढो ननिको लाग्थो । पत्रिका आइतबार प्रकाशित हुने । शनिवार विहान ६ बजेदेखि पत्रिकाको तयारीमा जुट्थें । राति ११ बजे पत्रिकाको डिजाइन फाइनल भयो भने त्यो चाँडै काम सकिएको दिन हुन्थ्यो । कहिले काँही रात बिताएर बिहानीको २ बजेसम्म पनि पत्रिकाको काम गरिन्थ्यो ।
शनिवार १८/२० घण्टा काम गर्नु पर्ने बाध्यता थियो । अरु दिन पनि कम्तिमा १५/१६ घण्टा काम गरिन्थ्यो । सातामा सातै दिन काम गर्नुपर्ने वाध्यता थियो । बिदा भनेको बिरामी पर्दा मात्र हो ।
दैनिक पत्रिका र टेलिभिजनमा काम गर्ने पत्रकार साथीहरुको ड्युटी आवर दैनिक ८ घण्टा हुने । जो हप्तामा ६ र दिनमा ८ घण्टा काम गर्छ, उसले मलाई ‘तँ त मालिक भैहालिस् नि’ भन्थे ।
अरुले ‘तँ त मालिक’ भन्दै गर्दा आफूलाई आफैले चलाएको कम्पनीले दास बनाइरहेको अनुभूति थियो । आफैले कम्पनी खोल्दैमा र चेकमा सही गर्दैमा कोही मालिक हुन्छ ? म कसरी मालिक भएँ ?
त्यही बेलादेखि मैले भन्ने गरेको छु- चेकमा सही गर्ने व्यक्ति मालिक हुँदैन ।
वास्तविक मालिक
सामान्यतः नाफामुलक संस्थाको कार्यकारी अधिकार प्राप्त व्यक्ति जो अधिकतम नाफा आर्जन गर्ने उद्देश्यसहित कर्मचारीको काम र जिम्मेवारी तोक्छ, कर्मचारी परिचालन गर्छ, संस्थागत संरचना बनाउँछ र संस्थाका व्यवसायिक गतिविधि नियन्त्रणमा राख्छ । मालिकको परिभाषा यस्तै यस्तै हो ।
तर, यो परिभाषाले वास्तविक मालिकलाई दर्शाउँदैन । यसले उच्च तहको व्यवस्थापक दर्शाउँछ ।
नेपालको सन्दर्भमा धेरै लगानीकर्ता आफै व्यवस्थापकको भूमिकामा हुन्छन् । माइन्यूटमा पनि सही गर्छन्, चेकमा पनि सही गर्छन्, भौचरमा पनि सही गरिरहेका हुन्छन् । स्वरोजगारमूलक व्यवसायबाट माथि उठेका पहिलो पुस्ताका व्यवसायीमा यो अभ्यास बढी छ ।
ठूला कर्पोरेट हाउसमा अलि फरक हुन्छ । बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरुमा व्यवस्थापकीय काम कर्मचारीले गरिरहेका हुन्छन् । प्रशासनिक तथा व्यवसायिक गतिविधि सबै कर्मचारीले गर्छन् । बास्तविक लगानीकर्ता त्यो कम्पनीमा जाँदैन ।
लगानीकर्ताका सीमित प्रतिनिधि ५/७ जना सञ्चालक समितिको बैठकमा जान्छन् । व्यवसायिक योजना, नीति, रणनीति बनाउन उनीहरुले काम गर्छन् । आर्थिक, व्यवसायिक, प्रशासनिक कामको लागि व्यवस्थापकहरुलाई अधिकार प्रत्यायोजन गर्छन् । यी मालिकहरु बैठकका निर्णयहरुमा सही गर्छन्, चेकमा सही गर्दैनन् ।
पब्लिक कम्पनीमा धेरै संख्यामा सेयरधनी हुन्छन् । उनीहरुमध्ये धेरैले आफ्नो लगानी भएको कम्पनी देखेका पनि हुँदैनन् । त्यो कम्पनीको सञ्चालकमा उनीहरुको भूमिका नै हुँदैन । इच्छाअनुसार साधारण सभामा भाग लिन्छन्, अलि बढी चासो हुने लगानीकर्ताले सञ्चालक छनौटको क्रममा सही निर्णय लिने प्रयास गर्छ । उनीहरुको सही न माइन्यूटमा हुन्छ, न चेकमा नै । उनीहरु केबल लगानीको प्रतिफल मात्र लिईरहेका हुन्छन् । वास्तविक मालिक तिनै हुन्, जसले कम्पनीमा लगानी गरेका छन्, सञ्चालनमा कुनै मिहेनत गर्दैन, काम गर्दैनन्, प्रतिफल मात्र लिन्छन् ।