काठमाडौं । हिमालयन बैंकसँग मर्जरको अनुमतिका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले बोलाएको विशेष साधारणसभा रोकिन सक्ने भएको छ । मर्जरको एउटा पक्ष हिमालयन बैंकले साधारणसभाबाट मर्जरमा नजाने निर्णय गरेपछि सोही प्रयोजनका लागि बोलाइएको विशेष साधारणसभा गर्ने कि नगर्ने भन्ने अन्योलमा इन्भेष्टमेन्ट बैंक पुगेको हो ।
इन्भेष्टमेन्ट बैंकले पुस ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो । सो विशेष साधारणसभाको प्रयोजन नै हिमालयन बैंकसँग मर्जरको निर्णय गर्नुथियो । तर, आज बसेको हिमालयन बैंकको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा नजाने निर्णय गरेपछि विशेष साधारणसभा गर्ने कि नगर्ने भन्ने अन्योलमा इन्भेष्टमेन्ट बैंक पुगेको हो ।
‘हिमालय बैंकको वार्षिक साधारणसभाले मर्जरमा नजार्ने निर्णय गर्यो भन्ने सुनियो, हामीले मर्जरमा जाने निर्णय गर्नको लागि नै विशेष साधारणसभा बोलाएका थियौं, हिमालयनको निर्णयपछि हामीले के गर्ने भन्ने बारेमा आन्तरिक छलफल चलिरहेको छ, कानुनी लगायतका प्रावधान अनुसार निर्णय गर्नको लागि छिट्टै नै बोर्ड बैठक बस्छ र आवश्यक निर्णय गर्छ,’ नेपाल इन्भेष्टमेन्ट बैंक स्रोतले भन्यो ।
इन्भेष्टमेन्ट बैंकले आइतबार बोर्ड बैठक बस्नको लागि आन्तरिक तयारी सुरु गरिसकेको छ । यद्यपि, इन्भेष्टमेन्ट बैंक संचालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे अस्वस्थ रहेका बताइएको छ । तर, बैंकले भर्चुअल माध्यमबाट विशेष साधारणसभा गर्ने निर्णय गरिसकेकोले बोर्ड बैठक पनि भर्चुअल माध्यमबाटै हुनेछ ।