काठमाडाैं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीमा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी त्यस्ता अनेकन भर्चुअल करेन्सीमा लगानी नगर्न आग्रह गरेकाे हाे ।
सरकारले नै कानुनी रुपमा अनुमति नदिएको ठाउँमा लगानी नगर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको हो । कसैले कारोबार गरेको पाइएमा तत्काल कारवाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ ।
‘हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीहरुको कारोबार तथा प्रयोग गर्न र त्यस्ता भर्चुअल करेन्सी तथा हाइपर फण्ड जस्ता कोषमा लगानी गर्न जोसिअल, क्राउडआई, सोलम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ मा आवद्ध हुन प्रोत्साहन गर्न/गराउने गरेको जानकारी हुन आएकोले सो सम्बधन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको र यसले स्वदेशी मुद्रा पलायन हुने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोवास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरुले समेत यस्ताे कार्य गरेको वा गराइएको पाइएमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी पनि राष्ट्र बैंकको छ ।
