लघुवित्तका प्रबन्ध सञ्चालकले नै १०० जनाको डिम्याट दिएर आईपीओ पार्न भनेपछि…

काठमाडौं । पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता बढ्दै गएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म कुल ५० लाख डिम्याट खाता पुगिसकेका छन् । डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्यासमेत बढेको छ । सिडिएसका अनुसार मेरो सेयरको संख्या ४१ लाख नाघेको छ । डिम्याट खाताहरु बढेसँगै विभिन्न कम्पनीहरुले जारी गर्ने साधारण सेयरका लागि आवेदन दिनेहरु पनि बढेका छन् । आईपीओका लागि आवेदन दिनेहरुको संख्या बढेसँगै आवेदन दिएका अधिकांशले सेयर पाउँदैनन् । पटक–पटक आवेदन दिँदा पनि नपरेपछि मानिसहरुमा एक किसिमको निराशासँगै सेयर बाँडफाँडमा पनि प्रश्न उठाउने गरेका छन् । मंगलबार मात्रै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भयो । सेयर बाँडफाँड कार्यक्रममा पनि आईपीओ बाँडफाँडको विषयमा प्रशंग उठ्यो । नेष्डो समृद्ध लघुवित्तको सेयरका लागि २६ लाखभन्दा बढीले आवेदन दिएका थिए । २६ लाखमध्ये ७७ हजार ४५६ जनाले मात्रै संस्थाको सेयर हात पारे भने तीन जनाले थप १ कित्ता अर्थात ११ कित्ता सेयर पाए । बाँकी सबै आवेदक निराश बन्न विवश भए । कार्यक्रममा आईपीओको बाँडफाँडको प्रक्रियाको प्रशंग जोड्दै सो लघुवित्तका प्रबन्ध सञ्चालक विश्वप्रकास प्रशाईंले आफु पनि अहिलेसम्म आईपीओ बाँडफाँडको प्रक्रियाका विषयमा स्पष्ट नभएको बताउँदै नेष्डोको देखेपछि जानकारी पाएको बताए । ‘नेष्डो सम्वृद्ध लघुवित्त पर्वतको संस्था हो, आईपीओ हाम्रो लागि नयाँ विषय थियो, मलाई पनि सेयर बाँडफाँडको विषयमा खासै जानकारी थिएन, तर, नेष्डो सम्वृद्धिको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको प्रक्रिया देखेर म प्रष्ट भएँ, यसमा कुनै धाँदली हुने रहेनछ,’ उनले भने । यस्तै, उनले आम नागरिकमा सेयर बाँडफाँड गर्दा आफन्तलाई वा चिनेजानेकालाई मात्रै पार्छन् भन्ने भ्रम भएको पनि जानकारी दिए । उनले एउटा प्रशंग जोड्दै भने, ‘सर्वसाधारणमा अझैँ पनि आफ्नालाई सेयर पार्छन् भन्ने भ्रम छ, त्यो भ्रम मैले चिनेजानेकामा पनि रहेछ, मेरै कम्पनी (नेष्डो सम्वृद्ध लघुवित्त) को आईपीओ निश्कासन गरेपछि पनि एक सयभन्दा बढीले मलाई आईपीओ पारिदिनु भनेर पठाए, मैले पनि हाल्दिँदा के जान्छ र भनेर सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका सरहरुलाई आग्रह गरेँ तर, उहाँहरुले यस्तो हुँदैन नी यो त लक्की ड्रबाट हुन्छ भनेर प्रक्रिया गरेर देखाएपछि म प्रष्ट भएँ, यस्तो भ्रम कसैले नराखौं,’ उनले भने । प्रबन्ध सञ्चालक प्रसाईंका अनुसार पर्वतबाट उनलाई १ सयभन्दा बढी उनका आफन्तले  सेयर पारिदिनु भनेर डिम्याट खाता पठाएका थिए । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण आचार्यले पनि नेपालको सेयर बाँडफाँड प्रक्रियामा कुनै कमजोरी नभएको बताए । उनले सबै सिस्टमबाट आईपीओ बाँडफाँड हुने भएकोले लक्की ड्रका आधारमै आवेदकले सेयर पाउने धारणा राखे । यस्तै, उनले सेयर भर्नेहरु नै अब निराश हुनु पर्ने अवस्था आएको बताए । आईपीओ निष्काशन हुँदा मागभन्दा बढी आवेदन पर्दा थोरै लगानीकर्ताहरूले मात्रै सेयर पाउनाले पनि अधिकांशले निराश हुनु परेको बताए । उनले अब ठूला परियोजनाहरुलाई ल्याउनु पर्ने धारणा पनि राखे । यसले देशको अर्थतन्त्रमा पनि सहयोग पुग्ने उनको धारणा छ । यस्तो छ बाँडफाँडको प्रक्रिया अहिले आईपीओ भरेका सबैले पाउने सम्भावना एकदमै न्यून हुन्छ । आईपीओ भर्ने बढी र निष्काशित सेयर संख्या कम भएकै कारण धेरैले सेयर पाउँदैनन् । सेयर बाँडफाँड गर्दा सबैलाई दिन पुग्ने भए सर्वप्रथम सबै आवेदकलाई १० कित्ताको दरले बाँडफाँड गरिन्छ । १० कित्ताका दरले बाँडफाँड गरे पश्चात बाँडफाँडको दोस्रो चरणमा बाँकी रहेको निष्काशित सेयर २० वा सो भन्दा बढी कित्ता माग गर्ने आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गरिन्छ । पुनः १० कित्ताका दरले बाँडफाँड गरेपछि ३० र सोभन्दा बढी कित्ता माग गर्ने आवेदकहरुलाई पुनः १० कित्ता दिइन्छ । अझै बाँकी रहेको सेयर गोलाप्रथाबाट पुग्ने जतिलाई १० कित्ताका दरले बाँडफाँड गरिन्छ । १० कित्ताका दरले सबै आवेदकलाई सेयर बाँडफाँड गर्न नपुग्ने अवस्थामा गोलाप्रथाबाट आवेदक छनोट गरी बाँडफाँड गरिन्छ । आवेदकहरुलाई न्युनतम १० कित्ता पाउने किसिमले सफ्टवेरको प्रयोग गरेर बाँडफाँड गरिन्छ । उदाहरणका लागि २ लाख कित्ता सेयर निष्काशन गरिएकोमा ४० हजार आवेदक भए भने सबैलाई १० कित्ताका दरले दिन पुग्दैन । ४० हजार जनालाई १० कित्ताका दरले सेयर दिन ४ लाख कित्ता आवश्यक पर्छ । यहाँ १० कित्ताका दरले २० हजार जनालाई मात्र सेयर पुग्छ । ४० हजार सेयर भर्ने आवेदकमध्येबाट ५० प्रतिशतले मात्रै सेयर पाउँछन् भने ५० प्रतिशतको हात खाली नै हुन्छ । त्यसैले भर्ने सबैले पाउँछन् भन्ने निश्चित हुँदैन । सम्बन्धित सामग्री: आईपीओ बाँडफाँडमा प्रश्नः आफ्नालाई मात्रै पो पार्छन् कि ?

विदेशी मुद्रा अपचलनमा दराज डटकम संलग्न

काठमाडौं । इकमर्श साइड दराज डटकम डटएनपी विदेशी मुद्रा अपचनमा संलग्न भएको पाइएको छ । दराजले प्रिमियम मूल्यमा अमेरिकी डलर लगायतका विदेशी मुद्रा विक्री गरिरहेको पाइएको हो । सो इकमर्श साइडमा उल्लेख भए अनुसार १ हजार ३ सय रुपैयाँ तिरेमा पे–पालमा १० अमेरिकी डलर लोड गर्न पाइन्छ । तर, केही समय अघि इसेवाले पे–पालमा रकम लोड गर्ने गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले कारवाही नै गरेको थियो । सो कारवाहीपछि इसेवाले पे–पालमा डलर लोड गर्ने सेवा बन्द गरेको छ । दराजले पे–पालमा रकम लोड गर्न तोकेको विनियम दर नेपाल राष्ट्र बैंकले तोकेको भन्दा निकै बढी पनि छ । नेपाल राष्ट्र बैंकले आजको लागि प्रतिअमेरिकी डलर १२३ रुपैयाँ ३६ पैसा विक्री दर तोकेको छ । तर, दराजमा १० अमेरिकी डलर पे–पालमा लोड गर्नको लागि १ हजार ३ सय रुपैयाँ तिर्नुपर्ने भनिएको छ । १० डलरको लागि १ हजार ३ सय रुपैयाँ तिर्नु भनेको विनिमय दर १३० रुपैयाँ हुनु हो । नेपालको विद्यमान कानुन अनुसार राष्ट्र बैंकबाट अनुमति लिएका बैंक वित्तीय संस्था बाहेकले अमेरिकी डलर विक्री गर्न पाउँदैनन् । तर, दराजले आफ्नो साइडबाटै प्रिमियम मूल्यमा अमेरिकी डलर विक्री गरिरहेको पाइएको छ । ‘नेपालमा दराज मार्फत १३ सय तिरेर १० डलर पे–पालमा लोड गर्यो भने विदेशमा गएर डलर झिक्न पाइने भयो, यसले पुँजी विदेश लैजान पनि सजिलो हुन्छ,’ एक व्यवसायीले भने । दराजकै प्लेटफर्मबाट विभिन्न प्रकारका डिजिटल गिफ्ट विक्री भइरहेको पाइएको छ । सो इकमर्श साइडमा गएर सर्च गर्दा ५ हजारभन्दा बढी डिजिटल गिफ्टहरु विक्रीको लागि राखिएको पाइएको छ । यस्ता डिजिटल गिफ्ट खरिद गरेर अरुलाई उपहार दिन पाइन्छ । दराजले यस्ता गिफ्ट गरिद गर्नको लागि नेपाली रुपैयाँमा नै भुक्तानी लिन्छ । यद्यपि, दराज आफैले कुनै सामान उत्पादन गरेर विक्री गर्दैन । दराजमा सुचिकृत भएका विक्रेताहरुले आफ्नो उत्पादन विक्री गर्ने हो । तर, दराजले सामान विक्रीको लागि प्लेटफर्म उपलब्ध गराएकोले दराजमाथि पनि प्रश्न उठेको छ । टिकटक, एक्सबक्स, स्टीम जस्ता डिजिटल गिफ्ट कार्ड खरिद गर्दा यस्ता कार्ड दिने कम्पनीहरु विदेशी भएकोले विदेशी मुद्रा बाहिरिने गर्छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल यस सम्बन्धमा थप अध्ययन आवश्यक भएको बताउँछन् । ‘यो विषय (दराज मार्फत विदेशी मुद्राको कारोबार भएको) अनुसन्धान र छानविनको विषय हो, के कसो भएको हो भनेर सम्बन्धित निकायसँग सोध्ने र आवश्यक छानविन र अनुसन्धान हुने कार्य भने हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

होङ्सीले मूल्य घटाउँदा अन्य सिमेन्ट उद्योगलाई संकट, संसदीय समितिमा पुग्यो विषय

काठमाडौं । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा सिमेन्ट उद्योेगको विषयमा कुरा उठ्यो । समितिका सभापति तथा अन्य सदस्यहरुले एक सिमेन्ट उद्योगका कारण अन्य उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आएको धारणा राखे । समितिले छलफलमा अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरी पुष्कर, उद्योग विभाग र भन्सार विभागका महानिर्देशकलाई बोलाइएको थियो । स्पञ्ज आइरन आयातमा सरकारले दिएको छुटको विषय रहेको सो बैठकमा सभापति विमलप्रसाद श्रीवास्तवले एक सिमेन्ट उद्योगका कारण अन्य सिमेन्ट उद्योगहरु बन्द हुुने अवस्था रहेको भन्दै केही उद्योगीले गुनासो गरेको बताए । सांसद अमृतादेवी अग्रहरीले छड उद्योगीदेखि सिमेन्ट उद्योगीले समितिमा गुनासो गरेको बताइन् । ‘होङसी सिमेन्ट उद्योगका कारण स्वदेशी उद्योग बन्द हुने अवस्था आएको भन्ने हामीले सुनेका छौँ, सरकारले विदेशीलाई प्रोत्साहन गरेर स्वदेशी उद्योग बन्द गर्न खोजेको हो,’ उनले भनिन् । ‘स्वदेशी सिमेन्ट उद्योगको आवश्यकता नेपाललाई छैन्, अहिले आएको चिनियाँ कम्पनीले सबै आवश्यकता परिपूर्ति गर्दिन्छ’, उनले प्रश्न गर्दै भनिन्, ‘विदेशीलाई मात्र प्रमोट गर्ने अन्यलाई नगर्ने ? यो सबै विभेदको निती छ, जबसम्म यसको अन्त्य हुँदैन्, तबसम्म कोही पनि सुखी हुँदैनन् र देश संमृद्ध हुँदैन् ।’ सांसद प्रकाश रसाईली स्नेही र सभापति विमलप्रसाद श्रीवास्तवले उनकै कुरामा समर्थन राख्दै होङसीले अन्य सिमेन्ट उद्योगी संकटमा पर्न लागेको बताए । सांसद रसाईलीले एक सिमेन्ट उद्योगका कारण अन्य सिमेन्ट उद्योग बन्द गरेर उद्योगीहरुले सरेन्डर गर्नुपर्ने अवस्था आएको बताए । ‘स्वदेशी सिमेन्ट उद्योेग आफैले क्लिंकर उत्पादन गर्न सक्दैनन्, एकै सिमेन्ट उद्योगले नेपाल कव्जा गर्न लागेको छ, दिनप्रतिदिन आयातको ग्राफ बढ्दोे छ, अहिले आयात ९२ प्रतिशत र निर्यात ८ प्रतिशत मात्र छ । त्यो ८ प्रतिशत पनि किन निर्यात गर्नु, सतप्रतिशत आयात गरौँ’, उनले समितिको बैठकमा भनेका थिए । एक वर्र्षमा २ लाख बढी मजदुर सडकमा आउने, मालिकहरु उद्योग चलाउन सकिन भनेर सेरेन्डर गर्नुपर्ने अवस्था नआउला भन्दै उनले एक सिमेन्ट उद्योगले समग्र सिमेन्ट क्षेत्र र ६ वटा स्पञ्ज आइरन उद्योगले छड उद्योग कब्जा गर्न लागे बताएका थिए । होङ्सीको प्रवेशसँगै मूल्य घट्यो सिमेन्ट बिक्रेताहरु नेपाली बजारमा होङ्सी सिमेन्टको प्रवेशसँगै अन्य सिमेन्ट उद्योगको एकलौटीपन घटेको बताउँछन् । स्वदेशी सिमेन्ट उद्योेगहरुले आफूखुशी मूल्य लिने गरेको समयमा होङ्सीले उत्पादन सुरु गरेपछि उपभोेक्तालाई राहत पुगेको उनीहरुको भनाई छ । नेपाली सिमेन्ट उद्योगमा होङसी सिमेन्टको प्रवेश भएसँगै सिमेन्टको मूल्य घटेको छ । मूल्य सँगै सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने क्लिंकर होङसीको प्रवेशसँगै आयात रोकिएको छ । होङसीले हाल अन्य सिमेन्ट उद्योगलाई क्लिंकर बिक्री गरेको छ । होङसीले नेपालमा उत्पादन सुरु गर्नुभन्दा अगाडी तेस्रो देशबाट आयात गर्नुपर्ने अवस्था थियो । आयातभन्दा सस्तो मूल्यमा नै नेपाली सिमेन्ट उद्योगलाई क्लिंकर बिक्री गरिएको होङसीले दाबी गरेको छ । पछिल्लो समय होङसीले सिमेन्टको मूल्य घटाएको छ । उसले मूल्य घटाएपनि अन्य सिमेन्ट उद्योगले मूल्य यथावत नै राखेका छन् । सिमेन्ट बिक्रेताहरु होङसीले सिमेन्ट उत्पादन गरेपछि अन्य कम्पनीले समेत मूल्य घटाएको बताउँदै आएका छन् । निर्माण व्यापार संघका अध्यक्ष दिपक श्रेष्ठ होङ्सी सिमेन्टले उत्पादन सुरु गरेदेखि नेपाली बजारमा सिमेन्टको मूल्य घटेको बताउँछन् । ‘होङ्सी आउनुअघिसम्म नेपालमा प्रतिबोरा सिमेन्टको मूल्य १ हजार रुपैयाँभन्दा बढी थियो, अहिले झरेर ६ सय रुपैयाँको हाराहामीमा छ’, उनले भने, ‘होङ्सी नआएको भए अहिले स्वदेशी उद्योगले आफूखुशी मूल्य लिन्थे, उनीहरुको एकलौटी बजारमा अहिले होङ्सीले हस्तक्षप गरेको छ ।’ मूल्य बढाउने तयारी सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्दै आएको होङ्सी सिमेन्टको उत्पादन लागत समेत धान्ने अवस्था नभएपछि मूल्य बढाउने तयारी गरिएको जनाएको छ । निरन्तर रुपमा सिमेन्ट उत्पादन खर्चमा बृद्धि हुँदै गएपछि होङ्सी सिमेन्टले मूल्य बढाउने तयारी गरेको छ । कम्पनीका उपाध्यक्ष विश्वनाथ गोयल उत्पादन लागतभन्दा कम दरमा सिमेन्ट बिक्री गर्नुपर्ने अवस्था आएपछि मूल्य बढाउने तयारी भएको बताउँछन् । ‘सिमेन्ट उद्योगमा ६० प्रतिशतभन्दा बढी कोइलाको प्रयोग हुन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य उच्च भएको छ, लागतमूल्यभन्दा कममा सिमेन्ट बिक्री वितरण गर्न सक्ने अवस्था नभएपछि मूल्य बढाउनेतर्फ लागेका छौँ’, उनले भने । उनका अनुसार प्रतिमेट्रिक टन ९० हजार डलर रहेको कोइलाको मूल्य बढेर हाल २२० डलर पुगिसकेको छ । ९० डलरहुँदा लागु गरिएको सिमेन्टको मूल्य तीन गुणाबढी कोइलाको मूल्य बढ्दासम्म स्थीर नै छ । उनका अनुसार होङ्सीसहित अन्य सिमेन्ट उद्योगले मूल्य बढाउने तयारी गरेका छन् । दैनिक ६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको होङ्सीले मागमा कमी आएपछि दैनिक ४५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । कोरोना महामारीपछि बजारमा ४० प्रतिशतभन्दा कम सिमेन्टको माग रहेको सिमेन्ट उत्पादकहरुले बताउँदै आएका छन् । सम्बन्धित सामग्रीः होङ्सीले ५० रुपैयाँ मूल्य घटाउने बित्तिकै नेपाली सिमेन्ट उद्योग कोल्याप्स हुन्छः विश्वनाथ गोयल