काठमाडौं । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा सिमेन्ट उद्योेगको विषयमा कुरा उठ्यो ।
समितिका सभापति तथा अन्य सदस्यहरुले एक सिमेन्ट उद्योगका कारण अन्य उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आएको धारणा राखे ।
समितिले छलफलमा अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरी पुष्कर, उद्योग विभाग र भन्सार विभागका महानिर्देशकलाई बोलाइएको थियो । स्पञ्ज आइरन आयातमा सरकारले दिएको छुटको विषय रहेको सो बैठकमा सभापति विमलप्रसाद श्रीवास्तवले एक सिमेन्ट उद्योगका कारण अन्य सिमेन्ट उद्योगहरु बन्द हुुने अवस्था रहेको भन्दै केही उद्योगीले गुनासो गरेको बताए ।
सांसद अमृतादेवी अग्रहरीले छड उद्योगीदेखि सिमेन्ट उद्योगीले समितिमा गुनासो गरेको बताइन् । ‘होङसी सिमेन्ट उद्योगका कारण स्वदेशी उद्योग बन्द हुने अवस्था आएको भन्ने हामीले सुनेका छौँ, सरकारले विदेशीलाई प्रोत्साहन गरेर स्वदेशी उद्योग बन्द गर्न खोजेको हो,’ उनले भनिन् ।
‘स्वदेशी सिमेन्ट उद्योगको आवश्यकता नेपाललाई छैन्, अहिले आएको चिनियाँ कम्पनीले सबै आवश्यकता परिपूर्ति गर्दिन्छ’, उनले प्रश्न गर्दै भनिन्, ‘विदेशीलाई मात्र प्रमोट गर्ने अन्यलाई नगर्ने ? यो सबै विभेदको निती छ, जबसम्म यसको अन्त्य हुँदैन्, तबसम्म कोही पनि सुखी हुँदैनन् र देश संमृद्ध हुँदैन् ।’
सांसद प्रकाश रसाईली स्नेही र सभापति विमलप्रसाद श्रीवास्तवले उनकै कुरामा समर्थन राख्दै होङसीले अन्य सिमेन्ट उद्योगी संकटमा पर्न लागेको बताए । सांसद रसाईलीले एक सिमेन्ट उद्योगका कारण अन्य सिमेन्ट उद्योग बन्द गरेर उद्योगीहरुले सरेन्डर गर्नुपर्ने अवस्था आएको बताए ।
‘स्वदेशी सिमेन्ट उद्योेग आफैले क्लिंकर उत्पादन गर्न सक्दैनन्, एकै सिमेन्ट उद्योगले नेपाल कव्जा गर्न लागेको छ, दिनप्रतिदिन आयातको ग्राफ बढ्दोे छ, अहिले आयात ९२ प्रतिशत र निर्यात ८ प्रतिशत मात्र छ । त्यो ८ प्रतिशत पनि किन निर्यात गर्नु, सतप्रतिशत आयात गरौँ’, उनले समितिको बैठकमा भनेका थिए ।
एक वर्र्षमा २ लाख बढी मजदुर सडकमा आउने, मालिकहरु उद्योग चलाउन सकिन भनेर सेरेन्डर गर्नुपर्ने अवस्था नआउला भन्दै उनले एक सिमेन्ट उद्योगले समग्र सिमेन्ट क्षेत्र र ६ वटा स्पञ्ज आइरन उद्योगले छड उद्योग कब्जा गर्न लागे बताएका थिए ।
होङ्सीको प्रवेशसँगै मूल्य घट्यो
सिमेन्ट बिक्रेताहरु नेपाली बजारमा होङ्सी सिमेन्टको प्रवेशसँगै अन्य सिमेन्ट उद्योगको एकलौटीपन घटेको बताउँछन् । स्वदेशी सिमेन्ट उद्योेगहरुले आफूखुशी मूल्य लिने गरेको समयमा होङ्सीले उत्पादन सुरु गरेपछि उपभोेक्तालाई राहत पुगेको उनीहरुको भनाई छ ।
नेपाली सिमेन्ट उद्योगमा होङसी सिमेन्टको प्रवेश भएसँगै सिमेन्टको मूल्य घटेको छ । मूल्य सँगै सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने क्लिंकर होङसीको प्रवेशसँगै आयात रोकिएको छ ।
होङसीले हाल अन्य सिमेन्ट उद्योगलाई क्लिंकर बिक्री गरेको छ । होङसीले नेपालमा उत्पादन सुरु गर्नुभन्दा अगाडी तेस्रो देशबाट आयात गर्नुपर्ने अवस्था थियो ।
आयातभन्दा सस्तो मूल्यमा नै नेपाली सिमेन्ट उद्योगलाई क्लिंकर बिक्री गरिएको होङसीले दाबी गरेको छ ।
पछिल्लो समय होङसीले सिमेन्टको मूल्य घटाएको छ । उसले मूल्य घटाएपनि अन्य सिमेन्ट उद्योगले मूल्य यथावत नै राखेका छन् । सिमेन्ट बिक्रेताहरु होङसीले सिमेन्ट उत्पादन गरेपछि अन्य कम्पनीले समेत मूल्य घटाएको बताउँदै आएका छन् ।
निर्माण व्यापार संघका अध्यक्ष दिपक श्रेष्ठ होङ्सी सिमेन्टले उत्पादन सुरु गरेदेखि नेपाली बजारमा सिमेन्टको मूल्य घटेको बताउँछन् ।
‘होङ्सी आउनुअघिसम्म नेपालमा प्रतिबोरा सिमेन्टको मूल्य १ हजार रुपैयाँभन्दा बढी थियो, अहिले झरेर ६ सय रुपैयाँको हाराहामीमा छ’, उनले भने, ‘होङ्सी नआएको भए अहिले स्वदेशी उद्योगले आफूखुशी मूल्य लिन्थे, उनीहरुको एकलौटी बजारमा अहिले होङ्सीले हस्तक्षप गरेको छ ।’
मूल्य बढाउने तयारी
सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्दै आएको होङ्सी सिमेन्टको उत्पादन लागत समेत धान्ने अवस्था नभएपछि मूल्य बढाउने तयारी गरिएको जनाएको छ । निरन्तर रुपमा सिमेन्ट उत्पादन खर्चमा बृद्धि हुँदै गएपछि होङ्सी सिमेन्टले मूल्य बढाउने तयारी गरेको छ ।
कम्पनीका उपाध्यक्ष विश्वनाथ गोयल उत्पादन लागतभन्दा कम दरमा सिमेन्ट बिक्री गर्नुपर्ने अवस्था आएपछि मूल्य बढाउने तयारी भएको बताउँछन् ।
‘सिमेन्ट उद्योगमा ६० प्रतिशतभन्दा बढी कोइलाको प्रयोग हुन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य उच्च भएको छ, लागतमूल्यभन्दा कममा सिमेन्ट बिक्री वितरण गर्न सक्ने अवस्था नभएपछि मूल्य बढाउनेतर्फ लागेका छौँ’, उनले भने ।
उनका अनुसार प्रतिमेट्रिक टन ९० हजार डलर रहेको कोइलाको मूल्य बढेर हाल २२० डलर पुगिसकेको छ । ९० डलरहुँदा लागु गरिएको सिमेन्टको मूल्य तीन गुणाबढी कोइलाको मूल्य बढ्दासम्म स्थीर नै छ ।
उनका अनुसार होङ्सीसहित अन्य सिमेन्ट उद्योगले मूल्य बढाउने तयारी गरेका छन् । दैनिक ६ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको होङ्सीले मागमा कमी आएपछि दैनिक ४५०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । कोरोना महामारीपछि बजारमा ४० प्रतिशतभन्दा कम सिमेन्टको माग रहेको सिमेन्ट उत्पादकहरुले बताउँदै आएका छन् ।
सम्बन्धित सामग्रीः होङ्सीले ५० रुपैयाँ मूल्य घटाउने बित्तिकै नेपाली सिमेन्ट उद्योग कोल्याप्स हुन्छः विश्वनाथ गोयल