युनिलिभरमा एक लाख लगानी गर्नेको सम्पत्ति झण्डै १ करोड, यस्तो छ ११ वर्षको लाभांश
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सबैभन्दा धेरै मूल्य भएको कम्पनी हो युनिलिभर नेपाल । यस कम्पनीको सेयर मूल्य नेप्सेमा सूचीकृत अन्य कम्पनीको तुलनामा धेरै छ । सन् २००७ जुलाई २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको पुरानो कम्पनीमध्येमा युनिलिभर पनि पर्छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् । सोमबारको सेयर कारोबारका आधारमा बजार पूँजी १८ अर्ब १८ करोड ३८ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य सोमबार १९ हजार ७५० रुपैयाँ छ । यसअघि कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य ५८ सयकाे हाराहारीमा पुगेको थियो । थोरै पूँजी भएको कम्पनीले बजारमा सेयर मूल्यका आधारमा सबैलाई चुनौति दिँदै आएको छ । यस कम्पनीको सेयर मूल्यसँग प्रतिस्पर्धा गर्दै आएको राष्ट्रिय बीमा कम्पनी भने धेरै तल झरिसकेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य घटेर १३ हजार ९२५ रुपैयाँमा झरेपछि सेयर मूल्यका आधारमा युनिलिभर पूँजी बजारमा एक नम्बर बनेको छ । कम्पनीले ११ वर्षको अवधिमा हालसम्म नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । कम्पनीले ११ वर्ष अघि १ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई करोडपति बनाएको छ । कम्पनीमा ११ वर्ष अघि १ लाख रुपैयाँमा १ हजार कित्ता सेयर किनेको ब्यक्तिले ८३ लाख ९० हजार रुपैयाँ प्रतिफल प्राप्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६६/०६७ मा ५९० प्रतिशत, आर्थिक वर्ष २०६८/०६९ मा ६८० प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा ७६० प्रतिशत, आर्थिक वर्ष २०७०/०७१ मा ८६० प्रतिशत, आर्थिक वर्ष २०७१/०७२ मा ९९० प्रतिशत, २०७२/०७३ मा १०२० प्रतिशत, २०७३/०७४ मा १२७० प्रतिशत, २०७४/०७५ मा ७ सय प्रतिशत, २०७५/०७६ मा ७७० प्रतिशत, २०७६/०७७ मा १ सय प्रतिशत र २०७७/०७८ मा ६५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यद्यपि, ११ वर्ष अगाडि युनिलिभरको १ हजार कित्ता सेयर पाउन असम्भव नै थियो । यदि कम्पनी नेप्सेमा सूचीकृत संस्थापक सेयरधनीसँग एक हजार कित्ता सेयर थियो भने २०६६/६७ पछिको नगद लाभांश मात्रै गणना हुँदा सो सम्पत्ति देखिन आउँछ । कम्पनीले सो समयभन्दा अगाडि पनि लाभांश दिएको थियो । सो लाभांशलाई तथ्यांकमा राखिएको छैन । तर, ११ वर्ष अगाडि युनिलिभरको वास्तविक सेयर मूल्य ५ हजार ८ सयको हाराहारीमा थियो । सोही मूल्यलाई आधार मान्दा एक हजार कित्ता सेयर खरिद गर्ने लगानीकर्तालाई ५८ लाख रुपैयाँ लागत पर्न जान्छ । यो हिसाबले भने ११ वर्ष अगाडि मात्रै सेयर खरिद गर्ने लगानीकर्तालाई २५ लाख ९० हजार रुपैयाँ मात्रै प्रतिफल आएको देखिन्छ । युनिलिभर नेपाल २८ बर्षभन्दा लामो इतिहास बोकेको एक एक कम्पनी हो । यस कम्पनीमो होम केयर (घरगृहस्थ उपयोगका वस्तु), ब्यूटि एण्ड पर्सनल केयर (सौन्दर्य प्रशाधन तथा वैयतिक उपयोगका बस्तु), फुड्स एण्ड रिफ्रेसन्ट (खाद्य तथा पेय)–अन्तर्गत लगानी–व्यवस्थापन श्रृङखलाका ब्रान्डहरु उपलव्ध छन् ।
निजी कलेजमा कृषि र पशुविज्ञान पढ्ने विद्यार्थीकाे संख्या ५० प्रतिशतसम्म घट्यो, समस्यामा लगानीकर्ता
काठमाडौं । पछिल्लो समयमा निजी स्तरबाट सञ्चालन गरिएका कृषि कलेज तथा इन्स्ट्च्यिुटहरुमा पढ्ने विद्यार्थीको संख्या घट्न थालेको छ । कृषि तथा पशुविज्ञानका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सञ्चालकहरुले पछिल्लो समयमा पढ्न आउने विद्यार्थीको संख्यामा आधा कटौती भएको बताएका छन् । नेपाल पोलीटेक्निकल इन्स्ट्च्यिुट, भरतपुर चितवनले कृषि विज्ञान, पशु विज्ञान, इन्जिनियर, नर्सिङ र पब्लिक हेल्थ विषयहरुमा अध्यापन गर्दै आएको छ । कलेजले सञ्चालन गर्दै आएको कृषि तथा पशुविज्ञानका कार्यक्रममा पछिल्लो समयमा विद्यार्थीको संख्या कोटा भन्दा झण्डै ५० प्रतिशत कम भएको इन्स्ट्च्यिुटका प्रमुख कार्यकारी अधिकृत शिव सुवेदीले विकासन्युजलाई बताए । अधिकृत सुवेदीकाअनुसार इन्स्ट्च्यिुटले सिटिइभिटीको १८ महिने भेटेनरी र कृषि कार्यक्रम सञ्चालन गरेको छ । जसमा ४०/४० वटा कोटा रहेको छ । तर, पढ्ने विद्यार्थीहरु ५० प्रतिशत मात्रै रहेको सुवेदीले बताएका छन् । यस्तै स्नातक तहको कृषि विज्ञान विषयमा ९६ जना विद्यार्थीको कोटा रहेको छ । पढ्ने विद्यार्थी भने ५० प्रतिशत मात्रै रहेको उनी बताउँछन् । सुवेदीका अनुसार स्नातक तहको पशु विज्ञान पढ्ने विद्यार्थीको संख्या भने पूर्ण रुपमा रहेको छ । यस्तै, झण्डै १ दशकदेखि सिटिइभिटीका विभिन्न प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको काठमाडौं अल नेपाल कलेज अफ टेक्निकल इन्स्ट्च्यिुटमा पनि पछिल्लो समय कृषि तथा पशुविज्ञान पढ्ने विद्यार्थीको संख्या आधा घटेको छ । विगत ३/४ वर्षसम्म इस्ट्च्यिुटमा १०/१२ जना विद्यार्थीले मात्रै १८ महिने कृषि तथा पशुविज्ञान पढ्ने गरेको र पछिल्लो शैक्षिक सत्रमा मात्रै सो संख्या बढेर २२ पुगेको इस्ट्च्यिुटका सञ्चालक निर्मल सापकोटाले बताए । ०७५ सालसम्मको अवधिमा कोटा अनुसार नै विद्यार्थी हुने गरेकोमा कोभिड महामारीपछि कोटाअनुसार विद्यार्थी पढ्न नआएको सापकोटाको भनाइ छ । मदन भण्डारी स्मिृति प्रतिष्ठान अन्तर्गत स्कुल अफ एग्रिकल्चर उर्लावारीमा पनि कोटा अनुसार विद्यार्थीको संख्या नभएको स्कुलका सहायक प्रधानाध्यापक डा. मोदराज आचार्यले बताए । आचार्यले अन्यत्र जस्तो ठूलै संख्यामा विद्यार्थी कम नभएतापनि कोभिडपछिको अवस्थामा विद्यार्थीकाे संख्या कम देखिने संकेत देखिएको बताए । कोटा अनुसार किन विद्यार्थी पढ्न आएनन् ? वैदेशिक रोजगारमा जाने विद्यार्थीको संख्या बढ्ने गरेको र पछिल्लो समयमा धेरै सरकारी कलेज तथा स्कुलहरुमा प्राविधिक शिक्षाको सम्बन्धन गएको कारणले आफ्नो कलेजमा आउने विद्यार्थी संख्या घटेको नेपाल पोलिटेक्निकल इन्स्ट्च्यिुट भरतपुर चितवनका कार्यकारी अधिकृत बताउँछन् । त्यस्तै, अल नेपाल कलेज अफ टेक्निकल एजुकेशन काठमाडौंका सञ्चालक निर्मल सापकोटाले पनि प्राविधिक शैक्षिक कार्यक्रमको सम्बन्धन धेरै संख्याका कलेज तथा विद्यालयमा दिएपछि विद्यार्थी विकेन्द्रित भएको बताए । उनले पछिल्लो ४/५ वर्षमा सिटिइभिटीले मुलुकका ५५० भन्दा धेरै सरकारी स्कुलहरुमा आफ्नो कार्यक्रम विस्तार गरेको बताए । कृषि तथा भेटेनरीका कार्यक्रम आवश्यकता भन्दा धेरै जथाभावी रुपमा बाँड्दा अहिलेको परिस्थिति आएको भन्दै सापकोटाले कृषि तथा पशुविज्ञानमा विद्यार्थीको आकर्षण भने नघटेको बताए । विगतमा १८ महिने कृषि तथा पशुविज्ञानको कार्यक्रममा विद्यार्थीसँग १ लाख ५० हजार सम्म शुल्क लिने गरेकोमा विद्यार्थी नआएपछि अहिले ५० हजारमा मात्रै पढाउने गरेको सापकोटाको भनाइ छ । स्कुल अफ एग्रिकल्चर उर्लाबारीका सह प्रधानाध्यापक डा. मोदराज आचार्यले विदेश जाने बढ्दो प्रवृत्ति र प्राविधिक शिक्षाको विस्तारले नै विद्यार्थीको संख्या प्रभावित भएको हुनसक्ने बताए । निजी क्षेत्रका प्राविधिक कलेजहरुकाे भविश्य के हाेला ? युवाहरु विदेश जाने प्रवृत्ति बढेको कारणले गर्दा स्नातक तहमा विद्यार्थीको संख्या घटेको र डिप्लोमा लेवलमा आवश्यकता भन्दा धेरै संख्यामा सम्बन्धन वितरण गर्दा कसैलाई पनि विद्यार्थी संख्या नपुगेको नेपाल पोलिटेक्निकल इन्स्ट्च्यिुटका कार्यकारी अधिकृत सुवेदीको भनाइ छ । सुवेदी अहिलेको ढांचामा जथाभावी सम्बन्धन बाँड्दा कसैलाई पनि सर्भाइव हुन गाह्रो पर्ने बताउँछन् । अल नेपाल कलेज अफ टेक्निकल एजुकेसनका सञ्चालक सापकोटाले भने जथाभावी कार्यक्रम बाँडिएका स्कुलहरुले प्राविधिक विषयलाई राम्रोसँग दिन नसक्ने भएकाले फेरि विद्यार्थीहरु आफ्ना कलेजहरुमा आउने अवस्था उत्पन्न हुने बताउँछन् । उनले प्राविधिक विषय ब्ल्याक बोर्डमा अध्ययन गराएर नहुने भएकाले स्कुलहरुमा यसको दिगोपनामा शंका रहेको बताए । त्यस्तै, स्कुल अफ एग्रिकल्चर उर्लाबारीका सह-प्रधानाध्यापक डा. मोदराज आचार्यले स्कुलहरुमा विस्तार भएका प्राविधिक शिक्षा विस्तार भएमा निजी क्षेत्रबाट सञ्चालित कलेज तथा इन्स्ट्च्यिुटहरुले नयाँ ढंगले सोच्न पर्ने अवस्था पनि आउन सक्ने बताए । तर, अहिलेसम्मको अवस्थामा समस्या आइनसकेको उनको भनाइ छ । सम्बन्धित सामग्री : इन्जिनियरिङ पढ्ने विद्यार्थी पाइन छाडे, आकर्षण विदेशतर्फ
अझै कर्जा दिन नसक्ने अवस्थामा यी ४ बैंक, प्रभु बैंकसहित ७ बैंकलाई सहज
काठमाडौं । अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव छ । बैंकहरुले कर्जा लगानीका लागि लगानीयोग्य रकम नपाइरहेको अवस्था छ । असार मासन्तमा धेरै बैंकहरुलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न पनि धौधौ भएको थियो । नयाँ आर्थिक वर्ष सुरु भएपनि अझै केही बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् । नबिल, ग्लोबल आइएमई, कृषि विकास र मेगा बैंक अझै पनि कर्जा लगानी गर्न सक्ने अवस्थामा छैनन् । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अझै पनि नबिल बैंकको ८९.७९ प्रतिशत, ग्लोबल आइएमईको ८९.२१ प्रतिशत, कृषि विकासको ८९.१७ प्रतिशत र मेगा बैंकको ८९.०५ प्रतिशत सीडी रेसियो छ । प्रभु बैंक भने सहज अवस्थामा छ । प्रभुको सीडी रेसियो ७८.३५ प्रतिशत छ । सीडी रेसियोमा सहज अवस्थामा कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, सिभिल र राष्ट्रिय वाणिजय बैंक पनि रहेका छन् । नेपाल राष्ट्र बैंकले ९० प्रतिशतको सीडी रेसियो हुनु पर्ने व्यवस्था गरेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम झन बढेकाे छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटिसकेको छ । नेपाल बैंकर्स संघका अनुसार साउनको तेश्रो साता (साउन २० गतेसम्म) मा बैंकहरुको निक्षेप ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा ४ अर्ब रुपैयाँले घटी हो । गत असार मसान्तमा भने बैंकहरुमा यस्तो रकम ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको थियो । त्यस्तै, बैंकहरुको कर्जा लगानी भने अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साता ४१ खर्ब ६४ अर्ब रुपैयाँ रहेको बैंकको कर्जा लगानी २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ नाघेको छ । जुन असार मसान्तमा भने ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो । त्यस्तै, कर्जा लगानी बढेको बैंकहरुको औषत सीडी रेसियो भने घटेको छ । अघिल्लो साता ८७.९८ प्रतिशत रहेको बैंकहरुको औषत सीडी रेसियो यो साता थोरैले घटेर ८७.६९ प्रतिशतमा झरेको छ । निक्षेप घट्दै गएपछि बैंकहरुले लगानी गर्नका लागि रकमकाे अभाव भइरहेकाे हाे ।