यी हुन् दशैं-तिहार बिदामा घुम्न जान सकिने भारतका पर्यटकीय गन्तव्य

काठमाडौं । सेप्टेम्बर–अक्टोबर महिनालाई भ्रमणका लागि उत्तम मानिन्छ । किनभने यस समयमा न त धेरै गर्मी हुन्छ न त धेरै जाडो । यो रमाइलो मौसममा घुम्न पाउँदा बेग्लै आनन्द हुन्छ । सेप्टेम्बर–अक्टोबर महिनामा सुन्दर र प्रख्यात ठाउँमा मौसम अनुकूल हुने भएकाले घुम्नुको रमाइलो चार गुणा बढी हुन्छ । तसर्थ, यी महिनामा मानिसहरू आफ्नो परिवार, साथीसँग यात्रा गर्ने योजना बनाउँछन् । नेपालीहरूको महान चाड दशैं–तिहार नजिकिँदै छ । चाडबाडका बेला अफिसदेखि लिएर विद्यालयसम्म बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्दै देश बाहिर घुम्न जान चाहनेका लागि छिमेकी देश भारत पनि उपयुक्त पर्यटकीय गन्तव्य हुन सक्छ । भारतका यी पर्यटकीय गन्तव्यहरूमा तपाईं घुम्न जान सक्नुहुन्छ । मुन्नार, केरल मुन्नार, भारतको केरल राज्यमा अवस्थित एक सुन्दर पर्यटकीय गन्तव्य हो । यो विशेषगरी चिया बगान, हरिया पहाड, र शान्त वातावरणका लागि प्रसिद्ध छ । मुन्नार पश्चिमी घाटमा अवस्थित छ, जहाँ पर्यटकहरूले प्राकृतिक सौन्दर्य र शान्त वातावरणको आनन्द लिन सक्छन् । मुन्नारको प्रमुख आकर्षणहरू चिया बगान, एराविकुलम राष्ट्रिय निकुञ्ज, अनामुडी चोटी कुंडला ताल अट्टुकड झरना लगायत छन् । यहाँ विभिन्न ट्रेकिङ मार्गहरू, जस्तै अनामुडी र राजमला, साहसिक गतिविधि प्रेमीहरूको लागि उत्कृष्ट छन् । यस्तै, एराविकुलम राष्ट्रिय निकुञ्जमा जङ्गली जनावर र चराचुरुंगीहरूको अवलोकन गर्न सकिन्छ । यहाँका बजारमा स्थानीय उत्पादन विशेषगरी चिया, मसला, र हस्तकला सामान किन्न सकिन्छ । जिरो भ्याली, अरुणाचल प्रदेश जिरो भ्याली अरुणाचल प्रदेशको एक अत्यन्तै सुन्दर र शान्त पर्यटकीय गन्तव्य हो । यो क्षेत्र सुन्दर परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाका लागि प्रसिद्ध छ । समुद्र सतहबाट करिब १ हजार ५ सय मिटर उचाइमा अवस्थित यो जिरो भ्याली पहाडहरूको बीचमा अवस्थित छ, जहाँ हरियाली, बाँसका वन र धान खेतहरूले अद्भूत दृश्य प्रदान गर्छन् । यहाँको मौसम वर्षभरि नै शीतल हुन्छ । यस भ्यालीमा बसोबास गर्ने प्रमुख जनजाति अपातानी हो । उनीहरूको सांस्कृतिक परम्परा र जीवनशैली पर्यटकहरूका लागि आकर्षणको केन्द्र हो । यहाँका धान खेतहरू निकै प्रसिद्ध छन्, जहाँ पारम्परिक सिँचाइ प्रणालीको प्रयोग गरिन्छ । यहाँ पानीको संरक्षण गर्ने विशेष प्रणाली छ, जसले यस भ्यालीलाई पर्यावरणीय दृष्टिकोणले पनि महत्त्वपूर्ण बनाएको छ ।। भ्याली अफ फ्लावर्स, उत्तराखण्ड भ्याली अफ फ्लावर्स उत्तराखण्ड राज्यको चमोली जिल्लामा अवस्थित एक सुन्दर राष्ट्रिय निकुञ्ज हो । यो स्थान आफ्नो विशाल फूलको बगैंचा, विभिन्न प्रकारका फूलहरू र प्राकृतिक सौन्दर्यका लागि विश्वभर प्रसिद्ध छ । भ्याली अफ फ्लावर्स युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश गरिएको छ । यो स्थान प्राकृतिक प्रेमी र ट्रेकिङ पारखीहरूको लागि एउटा उत्कृष्ट गन्तव्य हो । भ्याली अफ फ्लावर्समा विभिन्न प्रजातिका रंगीन र दुर्लभ फूलहरूको अवलोकन गर्न पाइन्छ । यहाँ मनमोहक ब्रह्मकमल, ब्लु पोपी, कोबरा लिली, र अनेका प्रकारका वनस्पतिहरू पाइन्छन् । यहाँको फूलहरू विशेषगरी वर्षायाममा (जुनदेखि अक्टोबर) सम्म फूल्न थाल्छन्, जसले उक्त भ्यालीलाई रंगीन बनाउँछ । यस भ्यालीमा तपाईंले विभिन्न प्रकारका दुर्लभ वनस्पतिहरूका साथै हिमालयन काला भालु, हिमचितुवा, नीलगाई, र हिमाली कस्तुरीजस्ता वन्यजन्तुहरू देख्न पाउनुहुने छ । यहाँ पंक्षी अवलोकन गर्ने चाहनेहरूले पनि विभिन्न प्रजातिका हिमाली चरा देख्न पाउनेछन् । भ्याली अफ फ्लावर्सको यात्रा रोमाञ्चक ट्रेकिङ अनुभवका लागि पनि प्रसिद्ध छ । पर्यटकहरूले गोविन्दघाटबाट यात्रा सुरु गर्छन्, जसको रुट गोविन्दघाट – घांघरिया – भ्याली अफ फ्लावर्सको हुन्छ । गोविन्दघाटबाट घांघरिया गाउँसम्म करिब १३ किलोमिटरको ट्रेकिङ गरिन्छ र त्यसपछि ४ किलोमिटरको अतिरिक्त यात्रा गर्दा भ्याली अफ फ्लावर्स पुगिन्छ । काल्पा, हिमाचल प्रदेश काल्पा, हिमाचल प्रदेशको किन्नौर जिल्लामा अवस्थित एक सुन्दर र शान्त गाउँ हो । यो ठाउँ यसको अद्वितीय प्राकृतिक सुन्दरताका लागि प्रसिद्ध छ । जहाँ तपाईंले हिमालय पर्वत श्रृंखलाहरू, विशेषगरी किन्नर कैलाशको दृश्य देख्न सक्नुहुनेछ । काल्पा आफ्नो स्याउका बगैंचाहरू र शुद्ध वातावरणका कारण पनि चर्चित छ । काल्पामा नेपाली र हिमाचली परिकारहरूको स्वाद लिन पाइन्छ । यहाँका स्थानीय खाना, विशेष गरी स्याउको परिकार, पर्यटकहरूका लागि विशेष आकर्षण हुन् । किन्नर कैलाश पर्वतलाई धार्मिक दृष्टिकोणले विशेष मानिन्छ, किनकि यो स्थान भगवान शिवको निवासस्थल मानिन्छ । काल्पामा प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र हिमालयको नजिकबाट अनुभव गर्न सकिन्छ । यो ठाउँ ट्रेकिङका लागि लोकप्रिय छ र प्रकृति प्रेमीहरूका लागि विशेष गन्तव्य हो । काल्पामा नेपाली, तिब्बती, र हिमाचली संस्कृति मिसिएको छ । यहाँका मठहरू (बौद्ध गुम्बाहरू) र हिन्दू मन्दिरहरूले यस ठाउँको धार्मिक र सांस्कृतिक विविधता देखाउँछन् । राक्छम मठ र चण्डिका मन्दिर यहाँका महत्त्वपूर्ण धार्मिक स्थल हुन् । एजेन्सी

बोनस सेयर दिने निर्णय सही भएको अपिको दाबी, सहायक कम्पनीको आम्दानीप्रति आयोगको विमति

आयोगका अध्यक्ष रामप्रसाद धिताल र कम्पनीका अध्यक्ष सृजना खड्का काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश दिने निणर्य गर्‍याे । उक्त निणर्य भदौ ७ गतेको सञ्चालक समितिले गरेको हो । निणर्य सार्वजनिक भएपछि कम्पनीको सेयर प्रतिकित्ता ३९० सम्म कारोबार भयो । असोज १० गते विद्युत नियमन आयोगले अपि पावरलाई लाभांश वितरण गर्न रोक लगाउने निणर्य गर्‍याे । उक्त निणर्यबारे अपिले १० गतेको सेयर कारोबार बन्द भएपछि मात्र सार्वजनिक गर्‍याे । यस दिन कम्पनीको अन्तिम सेयर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा भयो । यो दिने नेप्सेमा सबैभन्दा बढी ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार पनि अपिकै भयो । अपि पावर कम्पनी सहायक कम्पनीबाट पाउनु पर्ने रकमलाई गणना गरी लाभांश प्रस्ताव गरेको तर उक्त रकम अपिको खातामा आइनसकेको टिम्पणी कम्पनीको लेखापरीक्षकले नै गरेको आधारमा बोनस सेयर रोक्ने निर्णय भएको विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले बताए । आयोगले कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) बमोजिम नाफा वितरणमा रोक लगाएको पत्र अपि पावरलाई पठाएको विद्युत नियमन आयोगका प्रवक्ता मनदेवी श्रेष्ठले बताइन् । उक्त दफामा ‘कम्पनीले गरेको मुनाफा वा मुनाफाबाट सृजित कोषबाट बाहेक कम्पनीको सम्पत्तिको पुन:मूल्याकंन गरी सेयर पुँजी वृद्धि गर्न वा बोनस सेयर निष्काशन गर्न हुँदैन’ भनिएको छ । तर अपि पावरले भने कम्पनीले बोनस सेयर दिने भनी गरेको निर्णय सही भएको दावी गर्दै प्रस्तावित लाभांशलाई स्वीकृति गराउने विषयमा कम्पनीले आवश्यक कार्य गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । अपिले भनेको छ, ‘कम्पनी ऐन, २०६३ को दफा १०८ को उपदफा (२) बमोजिम कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रूपमा प्रतिबिम्वित हुनेगरी प्रचलित कानुनन बमोजिम अधिकार प्राप्त निकायले लागु गरेको लेखामान अनुरूप अपि पावर कम्पनी लिमिटेडले नेपाल लेखा प्रतिवेदन मान अनुरूप कम्पनीको आ.व. २०८०/८१ को वित्तीय विवरण तयार गरेको र सो बमोजिम कम्पनीको लेखा परीक्षण गरिएको छ । नेपाल लेखा प्रतिवेदन मान बमोजिम यस कम्पनीले विभिन्न कम्पनीहरूमा गरेको सेयर लगानीलाई नाफा नोक्सान हिसाबमार्फत बजार मूल्य अनुरूप लेखाङ्कन गरिएको र सो बमोजिम बजार मूल्यको थप घट रकमलाई कम्पनीको नाफा नोक्सान हिसाबमा नाफा/घाटा लेखाङ्कन गरी सो बापत सिर्जना हुने स्थगत करसमेतको व्यवस्था गरी कम्पनीको मुनाफा गणना गरिएको छ । यसरी नेपाल लेखा प्रतिवेदन मान बमोजिम लेखाङ्कन गरिएको मुनाफा सम्पत्तिको पुनर्मूल्यांकन नभई नियमित मुनाफा सरह रहने हुन्छ ।’ ‘कम्पनी ऐनको दफा ५६ ले कम्पनीको सेयर पूँजी हेरफेर गर्ने अधिकारको व्यवस्था गरेको र सो दफाको उपदफा (१०) ले कम्पनीले गरेको मुनाफा तथा मुनाफाबाट सिर्जित कोषबाट बाहेक सम्पत्तिको पुनर्मूल्यांकन गरी सेयर पूँजी वृद्धि गर्न वा बोनस शेयर निष्काशन गर्न बर्जित गरेको छ । यस सम्बन्धमा नेपाल लेखा मान -१६ मा स्थिर सम्पत्ति सम्बन्धमा पुनर्मूल्यांकनको व्यवस्था रहेको छ र सो बमोजिमको फरकलाई नाफा नोक्सन हिसाबमा नदेखाई अलग्गै पुनर्मूल्यांकन कोषमा सार्नुपर्ने व्यवस्था रहेको छ जुन कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) बमोजिम नै रहेको छ । तर एनएफआरएस ९ बमोजिम कम्पनीको नाफा नोक्सान हिसाबमार्फत सिर्जित मुनाफालाई पुनर्मूल्यांकनको नाफा भनेर व्याख्या गर्नु प्रचलित ऐन तथा नेपाल लेखा प्रतिवेदन मानको मर्म तथा व्यवस्था प्रतिकूल हुन्छ । यस बमोजिम अपि पावर कम्पनी लिमिटेडले कम्पनीको खुद मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई ९ प्रतिशतका दरले बाेनश सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निणर्य कानुनसम्मत रहेको छ, ’ कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अपि पावर कम्पनी लिमिटेडले यस विषयमा नियमनकारी निकाय विद्युत नियमन आयोगमा आवश्यक थप कागजपत्रसहित पत्राचार गरी थप छलफल गरी सो विषयमा आवश्यक पुष्टि गरी प्रस्तावित लाभांशलाई स्वीकृति गराउने विषयमा कार्य गर्ने निणर्यसमेत गरेको जनाएको छ ।

लगानीकर्ताको सम्पत्ति १७ अर्ब बढ्यो, यस्तो देखियो देशको अर्थतन्त्र

काठमाडौं । विगतमा देशको अर्थतन्त्र समस्यामा पर्याे अब संकट आइपर्छकि भन्दै चिन्ता, चासो र बहस भइरहन्थ्यो । तर, पछिल्लो समय त्यो चिन्ता नरहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्ले देखाएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक रहेका देखिन्छन् । अर्थतन्त्र पूर्णरूपमा सधुार नभएपनि मुख्य सूचकहरु सुधारको गतिमा छन् । तर, केही सूचकमा भने राष्ट्र बैंकले फड्को मारेको देखिन्छ । पछिल्लो समय रेमिट्यान्स आयात बढिरहँदा विदेशी मुद्रा सञ्चिति पनि थुप्रिँदै गएको देखिन्छ । एकातिर रेमिट्यान्स भित्र्याइरहने र अर्काेतिर आयातमा कमी आउँदा विदेशी मुद्रा थपिँदै गएको बुझिन्छ । विदेशी मुद्रा प्रयाप्त भएपनि आवश्यक वातावरण नहुँदा सरकार र निजी क्षेत्रको खर्च गर्ने क्षमतामा वृद्धि भएको देखिँदैन । साथै लगानीका लागि सहज अवस्था भएपनि अपेक्षित रूपमा माग नआएको बैंकरहरू बताउँछन् । महँगी ४५ प्रतिशत घट्यो साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत थियो । यो आधारमा एक वर्षको अवधिमा महँगी ४५.४७ प्रतिशतले घटेको बुझ्न सकिन्छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत, तराईको ४.४९ प्रतिशत, पहाडको ३.६७ प्रतिशत र हिमालको ४.५३ प्रतिशत रहेको छ । २०८० साउन महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५० प्रतिशत, ६.७० प्रतिशत, ७.५० प्रतिशत र ११.४६ प्रतिशत रहेको थियो । चालु खाता र शोधनान्तर स्थितिमा बलियो बन्दै कुनै समय घाटामा रहेको चालु खाता एवम् शोधनान्तर स्थिति पछिल्लो समय बलियो बन्दै गएको छ । नेपाल राष्ट्रका अनुसार गत साउनसम्म चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) २ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ । २१ खर्ब पुग्यो विदेशी मुद्रा, १६.७ महिनाको आयात धान्ने पछिल्लो समय अर्थतन्त्रमा बाह्य क्षेत्रतर्फ ठूलो सुधार भएको देखिन्छ । विदेशीने युवा विद्यार्थी र वैदेशिक रोजागरीमा गएका नेपालीहरूले धमाधम विदेशबाट रेमिट्यान्स पठाउँदा विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको देखिन्छ । गत असारमा २० खर्ब ४१ अर्ब १० रुपैयाँ मात्रै रहेको विदेशी मुद्रा सञ्चिति २.५ प्रतिशत बढेर २० अर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको होे । अमेरिकी डलरमा यस्तो सञ्चिति २ महिनामा २.० प्रतिशत बढेर ५ अर्ब ५८ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड सञ्चिति थियो । विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा साउनसम्म १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । असारमा यस्तो १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थासँग असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा साउनमा ८.४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो । साउनसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन् । असारमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए । १ खर्ब ३६ अर्ब आयो रेमिट्यान्स चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । साउनमा विप्रेषण आप्रवाह १८ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड रपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । वैदेशिक व्यापार साउनम कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटी १२ अर्ब २३ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो निर्यातमा ८.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १०.६ प्रतिशत, ५९.८ प्रतिशत र ३.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पार्टिकल बोर्ड, पिना, चिया, ऊनी गलैंचा, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पाम तेल, जिंक शिट, जुटका सामान, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ । कुल वस्तु आयातमा ०.६ प्रतिशतले कमी आई १ खर्ब २८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४.४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.० प्रतिशत र ०.४ प्रतिशतले वृद्घि भएको छ । खर्च तथा राजस्व  साउनमा नेपाल सरकारको कुल खर्च ४० अर्ब २१ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा चालु खर्च १२ अर्ब ३८ करोड रुपैयाँ, पँुजीगत खर्च ८ अर्ब ५५ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १९ अर्ब २७ करोड रहेको छ । समीक्षा अवधिमा कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यस अन्तर्गत कर राजस्व ७७ अर्ब ४१ करोड रुपैयाँ र गैर कर राजस्व १७ अर्ब ३३ करोड रुपैयाँ परिचालन भएको छ । सरकारका विभिन्न खातामा १ खर्ब ९७ अर्ब ८२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात छ । निक्षेप र कर्जा परिचालन यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.७ प्रतिशत अर्थात् ४३ अर्ब ४५ करोड रुपैयाँ घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ३३ अर्ब २४ करोड रुपैयाँ घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ । कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, ३०.३ प्रतिशत र ५७.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको थियो । यस्तै संस्थागत निक्षेपको अंश ३५.९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा १४ अर्ब ११ करोड रुपैयाँ बढेको छ । जबकी अघिल्लो वर्ष ४ अर्ब ३५ करोड घटेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाकोअंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको ०.३ प्रतिशत, वित्त कम्पनीहरुको १.१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले घटेको छ । साउनसम्मा १३.३ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६६.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । पुँजी बजार २०८० साउनमा २०३३.१४ रहेको नेप्से सूचकाङ्क २०८१ साउनमा ३०००.८१ कायम भएको छ । गत साउनमा धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको साउनमा बजार पुँजीकरण ३० खर्ब ४३ अर्ब १ करोड रहेको थियो । गत वर्षको साउनको तुलनामा बजार पुँजीकरण १७ अर्ब २२ करोड रुपैयाँ बढेको छ । तर, पछिल्लो समय नेप्से सूचकसँगै बजार पुँजीकरण पनि घटिसकेको छ । साउनमा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।