बाढीमा व्यापार : ७० प्रतिशत बढ्यो हवाई भाडा, ७ हजार पर्ने टिकटको मूल्य १३ हजार बढी

काठमाडौं । हवाई सञ्चालकहरूले बाढीको समयमा हवाइ टिकट मूल्य बढाएका छन् । बिहीबार साँझदेखि परेको निरन्तरको वर्षाले देशको विभिन्न क्षेत्रमा बाढीपहिरो जाँदा सवारीसाधन आवागमन प्रभावित भएको छ । सोही समयको फाइदा लिँदै हवाई सञ्चालकले हवाई टिकटको मूल्य बढाएका हुन् । दुई दिनअघि मात्रै काठमाडौंदेखि धनगढीको हवाई भाडा ७ हजार ९ सय रुपैयाँ पर्नेमा आज १३ हजार ३ सय रुपैयाँसम्म कायम गरेका छन् । एकदिनमै हवाई सञ्चालकले ६८ प्रतिशतले टिकटको मूल्य बढाएका हुन् । योसँगै काठमाडौंबाट विभिन्न ठाउँमा जाने हवाई टिकट ७० प्रशित बढेको छ । हवाई सञ्चालकले एकतर्फी रूपमा भाडा बढाएपछि अहिले चौतर्फी रूपमा आलोचना भइरहेको छ । बाढीको समयमा ठूलो धनजनको क्षति भइरहेको बेला हवाइ सञ्चालकले हवाइ टिकट बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको हो । वायुसेवा सञ्चालक संघले भने यात्रुको चाप बढ्दा मूल्य बढ्ने र चाप घट्दा घट्ने प्रावधानअनुसार नै टिकटको मूल्य निर्धारण गरेको बताएको छ । हवाइ भाडाको मूल्य बढाएको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै एयरलाइन्सका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको बुझिएको छ । बाढीसँगै अब दशैं सुरु हुन पनि केही दिनमात्रै बाँकी छ । हवाइ सेवा सञ्चालकहरूले दशैंमा पनि टिकटको मूल्य बढाउने गरेका छन् । अहिले पनि सवारीसाधनको आवागमन प्रभावित भएसँगै अब दशैंमा घर जानेहरूले महँगो मूल्यमा हवाइ टिकट काटेर जानुपर्ने बाध्यता देखिएको छ । यसले यात्रुलाई थप आर्थिक भार हुने भएको छ । विगतमा पनि दशैंको समयमा काठमाडौंदेखि धनगढीसम्मको टिकट मूल्य १७ हजार पुग्ने गरेको थियो ।

अम्बानीले एक कर्मचारीलाई दिन्छन् २४ करोड भारु तलब, नेपाली बैंकरको भन्दा सेफको कमाइ बढी

काठमाडौं । एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी आफ्नो विलासी जीवनशैलीका लागि परिचित छन् । तर, के तपाईंलाई थाहा छ उनको घरका शेफले कति तलब पाउँछन् ? रिपोर्टका अनुसार मुकेश अम्बानीका शेफले हरेक महिना करिब २ लाख भारु पाउँछन् । यसबाहेक उनीहरूलाई स्वास्थ्य बीमा र उनीहरूको परिवारको लागि शिक्षा सहयोगजस्ता अतिरिक्त सुविधाहरू पनि दिइएको छ । नीता अम्बानीले एक अन्तर्वार्तामा भनेकी थिइन् कि आफ्नो व्यस्त तालिकाको बावजुद मुकेशले सधैं आफ्नो परिवारसँग डिनर गर्न समय निकाल्छन् । परिवारसँग खाना खानु उनीहरूको दैनिक दिनचर्याको एक महत्त्वपूर्ण भाग हो, जसले सँगै बस्नुको महत्त्व देखाउँछ । मुकेश अम्बानी शाकाहारी हुन् । मुकेशलाई स्ट्रीट फूड, विशेषगरी सेभ पुरी र अन्य मसालेदार खाजा मन पर्छ । उनी मुम्बईको लोकप्रिय रेस्टुरेन्ट ‘स्वाती स्न्याक्स’ बाट पनि खाना अर्डर गर्न मन पराउँछन् । तिनीहरूको परिवारमा सामान्यतया दाल, रोटी र भात जस्ता परम्परागत भारतीय खानाहरू समावेश हुन्छन् । मुकेशले सेफका लागि दिने पैसा नेपाली ३ लाख २० हजार हुन्छ । जसको वार्षिक तलब ३८ लाख ४० हजार रुपैयाँ हुन आउँछ । जुन नेपाली बैंकरको हाराहारीमा हो । कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलब यो भन्दा पनि कम हुने गरेको छ । मुकेश अम्बानीले देशका लाखौं मानिसलाई रोजगारी दिँदै आएका छन् । उनले एक कर्मचारीका लागि सबैभन्दा बढी २४ करोड भारतीय रुपैयाँ दिने गरेका छन् । उनले रिलायन्स कम्पनीमा काम गर्ने निखिल मेसवानीलाई सबैभन्दा बढी तलब दिने गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी

विमानस्थल खुले, खुलेनन् नाका, दशैंमा टिकट महँगिने

काठमाडाैं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ । यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो । विमानस्थल सञ्चालनमा आएपनि काठमाडौं उपत्यकाबाट आवागमन भने प्रभावित भएको छ । काठमाडौं भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् । पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सबैभन्दा खराब छ । झ्याप्ले खोलानेर ठूलो पहिरो झर्दा केही गाडीहरू पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले धादिङ र काठमाडौं दुवैतिरबाट नागढुंगाको पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए । उनका अनुसार पहिरोमा परेर केही गाडी पनि पुरिएका छन् । सवारीसाधनको आवागमन प्रभावित भएसँगै अब दशैंमा घर जानेहरूले महँगो मूल्यमा हवाइ टिकट काटेर जानुपर्ने बाध्यता देखिएको छ । यसले यात्रुलाई थप आर्थिक भार हुने भएको छ ।