चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न
काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । दशैं र तिहारको सार्वजनिक विदामासमेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको उल्लेख गरे । रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । ‘भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुङ्गागिट्टी, बालुवा, टावरका सामान, पानी मानिस या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो,वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभावजस्ता कारणले समस्यामा परेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुन ठूलो उपलब्धि हो,’ उनले भने । ‘उत्तरतर्फको छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि चिलिमे–केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको छ, चिलिमे–त्रिशूली प्रसारण लाइनले नै चीनलाई जोड्ने छ,’ कार्यकारी निर्देशक घिसिङले थपे । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतनै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । त्रिशूली थ्रि बी हब सबस्टेसनमा आएको विद्युत् काठमाडौंको मातातीर्थसम्मको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुनेछ । सान्जेन र रसुवागढी जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडी चिलिमे–त्रिशूली प्रसारण लाइन हुँदा राष्ट्रिय प्रणालीमा समाहित हुनेछ । २८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको प्राधिकरणको उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले बताए । निर्देशक थापाले खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरु ढुवानी गरी ९ वटा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी २ वटा टावर निर्माण गरिएको उल्लेख गरे । उत्तरगया गाउँपालिका-१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मि. लम्बाइमा तार तानिएको छ । मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ)मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो । प्रसारण लाइन अन्तर्गत चिलिमे-मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरुको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली-१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख अमेरिकी डलर रहेको चिलिमे-त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।
सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए
काठमाडौं । सिटिजन्स बैंकका दुई जना संस्थापकले आफ्नो सेयर स्वामित्व घटाएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष तारा विष्ट र दिग्विजय विष्टले आफ्नो सेयर स्वामित्व घटाएका हुन् । बैंकका अनुसार गत असारसम्म दिग्विजय विष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४७ लाख ९६ हजार रुपैयाँ र तारा विष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४३ लाख ५१ हजार रुपैयाँ सेयर स्वामित्व छ । जबकि अघिल्लो वर्ष तारा विष्टको १.६५ प्रतिशत अर्थात् २३ करोड ४३ लाख ५१ हजार रुपैयाँ, र दिग्विजय विष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४६ लाख ८६ हजार रुपैयाँ सेयर स्वामित्व थियो । यस्तै, संस्थापक रमेश शर्माले बैंकमा आफ्नो स्वामित्व बढाएका छन् । उनको १.०२ प्रतिशत अर्थात् १४ करोड ५१ लाख १ हजार रुपैयाँ सेयर स्वामित्व छ । अघिल्लो वर्ष शर्माको १.०१ प्रतिशत अर्थात् १४ करोड ३९ लाख ८८ हजार रुपैयाँ स्वामित्व थियो । सिटिजन्स बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व रहेका २६ व्यक्ति तथा कम्पनीको २७.२३ प्रतिशत अर्थात् ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर लगानी छ । बैंकमा सबैभन्दा धेरै नागरिक लगानी कोषको ३.३५ प्रतिशत अर्थात् ४७ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । यस्तै, उर्मिला पाण्डेको ३.३० प्रतिशत अर्थात् ४६ करोड ९२ लाख ६८ हजार रुपैयाँ, बिजेन्द्र जोशीको १.५९ प्रतिशत अर्थात् २२ करोड ५३ लाख ६५ हजार रुपैयाँ, मनोहर दास मूलको १.३७ प्रतिशत अर्थात् १९ करोड ४६ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ । यस्तै, पवित्रकुमार कार्कीको १.२८ प्रतिशत अर्थात् १८ करोड १९ लाख ५४ हजार रुपैयाँ, रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत अर्थात् १८ करोड १३ लाख ७६ हजार रुपैयाँ, सावित्री शर्माको १.१८ प्रतिशत अर्थात् १६ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । यस्तै, सोनी जोशीको ०.९४ प्रतिशत अर्थात् १३ करोड ३२ लाख २९ हजार रुपैयाँ, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत अर्थात् ११ करोड ९९ लाख २९ हजार रुपैयाँ, जगन्नाथ ज्ञवाली ०.७३ प्रतिशत अर्थात १० करोड ३९ करोड २४ हजार रुपैयाँ र डा.शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत अर्थात् १० करोड २९ लाख ७८ हजार रुपैयाँ, विष्णु प्रसाद पोखरेलको ०.७१ प्रतिशत अर्थात् १० करोड १ लाख ९६ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, सुलोचन राजभण्डारीको ०.६८ प्रतिशत अर्थात् ९ करोड ६७ लाख ३४ हजार रुपैयाँ, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ, प्रमिला नेपालको ०.५६ प्रतिशत अर्थात् ७ करोड ८८ लाख ६३ हजार रुपैयाँ, रमिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६८ लाख ७९ हजार रुपैयाँ र मनिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६७ लाख ३७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, प्रतापजंग पाण्डेको ०.५२ प्रतिशत अर्थात् ७ करोड ४३ लाख ३१ हजार रुपैयाँ, राजेश खड्काको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ५१ हजार रुपैयाँ, राम प्रसाद श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ७ करोड १८ लाख २७ हजार रुपैयाँ, प्रेम बहादुर श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ७ करोड १८ लाख २५ हजार रुपैयाँ, एस.आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को ०.५० प्रतिशत अर्थात् ७ करोड १५ लाख ८३ हजार रुपैयाँ र अनिल कुमार ढुङ्गेलको ०.५० प्रतिशत अर्थात् ७ करोड १० लाख ७७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।
घुमघामको याम : यी हुन् गण्डकीका गन्तव्य
काठमाडौं । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ । कुनैबेला विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । तपाईँ पनि यो शरद्याममा घुमफिरको योजनामा हुनहुन्छ भने गण्डकी प्रदेशमा रहेका पर्यटकीयस्थल यहाँका लागि उपयुक्त हुनसक्छन् । प्रकृति, संस्कृति र साहस (नेचर, कल्चर र एडभेन्चर) लाई गण्डकी प्रदेशको पर्यटनको मूल आधार मानिन्छ । पोखरालाई पर्यटकीय राजधानीसमेत घोषणा भइसकेको स्थितिमा यहाँ हुने पर्यटकीय गतिविधिले मुलुककै पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्छन् । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै बामे सरेको यस क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ । नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै ५० प्रतिशत पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्ने गरेको सरकारी तथ्याङ्क छ । यहाँ भित्रिने आन्तरिक पर्यटकको कुनै लेखाजोखा नभए पनि पर्यटकीय सहर पोखरा अधिकांश नेपालीको पहिलो रोजाइ बन्ने गरेको छ । विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्ग, मुस्ताङ उपत्यका, ढोरपाटन सिकार आरक्ष, मनास्लुलगायत गन्तव्यस्थल गण्डकीका पर्यटकीय वैभव हुन् । नेपालको पर्यटकीय छविलाई विश्व पर्यटन बजारमा स्थापित गरेका यी गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि आउने गर्छन् । समुन्द्री सतहदेखि एक सय तीन मिटर उचाइमा रहेको नवलपुरको त्रिवेणीदेखि ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालसम्म फैलिएको यो प्रदेश प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले भरिएको छ । प्राचिन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश । मिश्रित जातजाति र धर्मवालम्बीहरुको बसोबास रहेको यो प्रदेश साँस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका साँस्कृतिक धरोहर हुन् । यहाँ रहेका माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, मनाश्लु जस्ता हिमशृङ्खा, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको सहर पोखरा, शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आदिले गण्डकी प्रदेशको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणी, त्रिवेणीधामलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् । मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचिन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको छ । साहसिक पर्यटन गतिविधिमा पनि गण्डकीको नाम अघि आउँछ । पवर्त र बागलुङमा पर्ने विश्वकै दोस्रो अग्लो बन्जी, प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता साहसिक खेलले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यही प्रदेशमा पर्छ । स्याङ्जाका रुद्रमान गुरुङले २०५४ मा पहिलोपटक ग्रामिण पर्यटनको अवधारणा नेपाल भित्राएका थिए । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लामा विस्तारित घरबास ९होमस्टे० कार्यक्रमले ग्रामिण पर्यटनको उत्थानमा महत्वपूर्ण टेवा पुर्याएको छ । जनजाति बाहुल्य समुदायमा घरबास सञ्चालित छन् । गाउँले जनजीवन, खानपान, घुमफिर र मौलिक संस्कृति घरबासका आकर्षण हुन् । यी हुन् गण्डकीका गन्तव्य कास्कीमा फेवाताल, बेगनासताल, रुपाताललगायत विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्वशान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । घान्द्रुक, धम्पुस, सिक्लेस, ल्वाङलगायतका पर्यटकीय गाउँ लोभलाग्दा छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै, कोरी आदि क्षेत्र पदयात्राका लागि प्रसिद्ध मानिन्छन् । बागलुङका पर्यटकीय गन्तव्यहरुमा कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत पर्छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष भएको क्षेत्र हो । बर्सेनि दुई याममा उक्त आरक्षमा वन्यजन्तुको वैधानिक सिकार गरिन्छ । साहसिक र रोमाञ्चक सिकार अनुभवका लागि विदेशी सिकारीहरु ढोरपाटन पुग्नछन् । ढोरपाटन उपत्यका, बुकी, भुटानी शरर्णाथी बस्तीलगायतले पनि त्यस क्षेत्रको आकर्षण बढाएका छन् । तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाजी जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकीय रोजाइमा पर्ने गर्छ । मनाङ हुँदै थोरङ भञ्ज्याङ पार गरेर पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, कोरला नाका, प्राचिन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । मुक्तिनाथ विश्वभरका हिन्दु धर्मवालम्बीहरुमाझ प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङ पदयात्राका लागि पनि उत्कृष्ट गन्तव्य मानिन्छ । म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् । पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ । पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे-डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् । लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् । व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । प्रदेश सरकारले पाँच वर्षअघि प्रदेशका ११ वटै जिल्लाका १०/१० गरी ११० गन्तव्य पहिचान गरी सूचीकृत गरेको थियो । गत वर्ष चैतमा गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।