मंसिरमा पनि बैंककाे ब्याज घट्ने, अधिंकाश बैंक न्यूनतम सीमामा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मंसिरमा पनि ब्याजदर घटाउने भएका छन् । दशैं तिहारपछि बैंकहरूमा निक्षेप थुप्रिएर लगानी नभएपछि बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाउने भएका हुन् । कात्तिकमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ औसत ६ प्रतिशत छ भने संस्थागततर्फ औसत ४.९७ प्रतिशत कायम छ । बैंकहरूले बचततर्फ ब्याजदर ३ प्रतिशतको हाराहारीमा झारिसकेका छन् । निरन्तर ओरालो लाग्दै आएको ब्याजदर बैंकहरूले कात्तिकमा पनि घटाएका थिए । पछिल्लो तथ्याङ्क अनुसार अधिकांश बैंकको ब्याजदर न्यूनतम बिन्दुमा छ । यदि अझैं घटाउन मिल्ने भए बैंकहरू ब्याजदर घटाउन तयार छन् । तर, नेपाल राष्ट्र बैंकले निक्षेपमा ब्याजदरको न्यूनमत बिन्दुको सीमा तोकेको छ । सो बिन्दुभन्दा तल ब्याजदर झार्न मिल्दैन । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता र कर्जाको माग नभएकाले मंसिरमा पनि ब्याजदर घटाउने भएका हुन् । तर, बैंकहरूको ब्याजदर न्यूनतम बिन्दुमा भएकाले थोरै मात्रै घट्ने एक बैंकरले बताए । उनका अनुसार मंसिरमा बैंकको निक्षेपतर्फको ब्याजदर अझै घट्न सक्नेछ । ‘दशैं तिहारमा रेमिट्यान्स पनि ह्वात्तै बढेको छ, दशैं तिहार अवधिमा बैंकहरूमा निक्षेप बढेको नै छ, फाइनान्स कम्पनी र विकास बैंकमा राम्रो निक्षेप आएको छ, उनीहरूको पनि निक्षेप आएको देखिन्छ,’ उनले भने, कर्जा प्रवाह हुन सकेको छैन, पैसा फालाफाल नै छ, राष्ट्र बैंकले पनि तिहार लगत्तै डेढ खर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट निक्षेप खिचेको छ, जबकी दोब्बर रकम राख्न बैंकहरू तयार छन् ।’ कन्सोर्टियम कर्जा र जलविद्युतका लागि कर्जाको माग आएपनि व्यक्तिगत कर्जाको माग नआएको ती बैंकको भनाइ छ । उनका अनुसार घरकर्जा ७/८ प्रतिशतमा दिँदा पनि बजारमा माग आएको छैन । बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७८ प्रतिशत हाराहारीमा रहेको उनले बताए । ‘मंसिरमा बैंकहरूको ब्याजदर घटेपनि धेरै घट्ने ठाउँ छैन । किनभने ३ प्रतिशतभन्दा तल झार्न मिल्दैन । मुद्दती निक्षेपमा पनि ग्याप राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘अब ब्याजदर घटेपनि ०.१० प्रतिशत नै हो, जसको घटाउने ठाउँ छ, उनीहरूले घटाउन सक्छन् ।’
स्तरोन्नतिमा १५ अर्ब खर्च र ५ महिना समय लाग्ने त्रिभुवन विमानस्थल कस्तो बन्दैछ ?
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबाबाट दैनिक १० घण्टा उडान बन्द गरेर बिस्तारको काम थालनी गरेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम थालनी गरेको हो । प्राधिकरणले एशियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम थालनी गरेको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द हुनेछन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले प्राधिकरणले विमानस्थल स्तरोन्नति गुरुयोजना अनुरुप विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा काम थलनी गरेको बताए । विमानस्थल स्तरोन्नतिले विमास्थलको क्षमता अभिवृद्धि अर्थात रन वे र ट्याक्सी वेको क्षमता वृद्धि हुने बताए । एअर ट्राफिक कन्ट्रोलरहरुलाई एअर ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुने उल्लेख गरे । विमानस्थलको मुख्य धावनमार्गसँगै समानन्तर हुनेगरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको बताए । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरी विमानस्थल स्तरोन्नतिको काम गर्न लागेको उल्लेख गरे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानहरु सञ्चालन गर्न सकिने जानकारी दिए । नेपाल एअर ट्राफिक कन्ट्रोलर संघका अध्यक्ष तथा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयका प्रवन्धक विपिन बज्रचार्यले विमानस्थल स्तरोन्नति हुँदा रनवे अकुपेन्सी डेढ मिनेटको समय घट्ने बताए । उनले विमानस्थलमा हुने विमान डिले, ट्याक्सी वेमा हुने डिले समेत कम हुने उल्लेख गरे । एअर ट्राफिकहरुले सहज रुपमा एअर ट्राफिक कन्ट्रोल गर्नसक्ने अवस्था आउने जानकारी दिए । उनले प्राधिकरणले गर्न लागेको विमास्थलको क्षमता अभिवृद्धिले एअर ट्राफिक कन्ट्रोलर र वायुसेवा सञ्चालकहरुलाई बढी फाइदा रहेको उल्लेख गरे । वायुसेवा कम्पनीहरुलाई आर्थिक रुपमा पनि फाइदा हुने उल्लेख गरे । विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा ३० प्रतिशतसम्म उडान कटौती हुने भन्दै वायुसेवा सञ्चालकहरु भने असन्तुष्टि जनाइरहेका छन् । विमानस्थल सञ्चालन समय घटाउँदा ३० प्रतिशतसम्म उडान कटौती हुन्छ । तर, विमानस्थल बिस्तार र पूर्वाधार निर्माणले जहाज आवतजावत तथा दीर्घकालीन ट्राफिक व्यवस्थापनमा सहज हुन्छ । विमानस्थल बन्द भएपनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन प्राधिकरणले क्षमता र गुणस्तर अभिवृद्धि गर्ने विमानस्थल मर्मतको काम गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि करिव पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको छ । प्राधिकरणले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत बिस्तार गर्ने तयारी गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ । जसमा विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ । विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको भएपनि विमानस्थल मर्मत शुरु भएसँगै दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ । अहिले भन्दा एयर ट्राफिक व्यवस्थापन गर्न एअर ट्राफिक कन्ट्रोलरहरुलाई धेरै सहज हुने बताइएकाे छ । ‘सुरक्षाको स्तर अभिवृद्धि हुन्छ । वर्तमान ट्याक्सी वे रनवेदेखि ११० मिटरको मात्रको दूरीमा रहेको निर्माणाधिन समानान्तर ट्याक्सी वे रनवे १७२.५ मिटरको दूरीमा हुने भएकाले आइकाओको मापदण्ड परिपालना हुन्छ । निर्माणाधिन १८ वटा पार्किङ एप्रोनहरु तयार भएपछि विमानहरु आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुन्छ,’ ज्रचार्य भने । ७ महिना अघि विमानस्थल मर्मत गर्ने निर्णय विमानस्थलमा विमान गुड्ने मार्ग ट्याक्सि वे र विमानस्थलमा यात्रु वा मालसामान चढाउने,उतार्ने,इन्धन भर्ने,पार्किङ र मर्मतसम्भार गर्ने क्षेत्र एप्रोन बनाउने कार्य गर्नको लागि विमानस्थल बन्द गर्ने निर्णय करिव ७ महिना अघि नै वायुसेवा कम्पनीहरुलाई समेत जानकारी लिएर एयर एआईपी सप्लिमेण्ट प्रकाशन समेत गरेको थियो । विमानस्थलको महत्वपूर्ण ग्राहक भनेको वायुसेवा सञ्चालक कम्पनीहरु हुन् । विमानस्थलको आम्दानीको प्रमुख स्रोत भनेकै वायुसेवा सञ्चालक कम्पनीहरुबाट प्राप्त हुने भएकाले वायुसेवा सञ्चालक कम्पनीहरुसँग परामर्श गरी उक्त कार्य अघि बढेको हो । आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कम्पनीहरुसँगैका छलफल परामर्श गरी लिखित सहमतिका आधारमा निर्माण कार्य अघि बढेको हो । विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्याधिक वृद्धि भएसँगै प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अध्यावधिक गरी क्रमिक रुपमा क्षमता बिस्तार गर्ने लागेको छ । जसअनुसार रनवेको लम्बाई बराबर हुनेगरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी वे तथा ट्याक्सी वेहरु,अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोनहरु,विमान मर्मतसम्भार गर्ने सुरक्षित ह्यांगरहरु निर्माण गर्ने योजना छ । अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक भवनमा रुपान्तरण गरी नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन क्षमता १ करोड यात्रु प्रतिवर्ष, (३५०० यात्रु प्रति घण्टा) निर्माण गर्ने योजना छ । एशियाली विकास बैंकको ऋण सहयोगमा रनवेको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र रनवेको पूर्वतर्फ ह्यांगर,एप्रोन र एक्जिट ट्याक्सी वेहरु निर्माण गर्नेछ । प्राधिकरणको लगानीमा रनवेको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण कार्य हुनेछ । विमानस्थल सञ्चालनको समयमा निर्माण कार्य सम्भव नभएकाे बताइएकाे छ । विमानस्थल सञ्चालनको क्रममा निर्माण कार्य गर्नु भनेको जोखिम र चुनौतीपूर्ण कार्य हो । आईकाओको मापदण्डअनुसार विमानस्थल भित्र विभिन्न क्षेत्रलाई संवेदनशिल क्षेत्रका आधारमा वर्गिकरण गरिएको हुन्छ । रनवेको केन्द्रबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशिल क्षेत्रमा पर्छ । पर्यटनको सिजन भएपनि विकास निर्माणको कार्य गर्ने उपयुक्त समय भएकाले प्राधिकरणले अहिलेको समय रोजेको बताएकाे छ ।
मेडिकल कलेजको व्यवसाय बढ्दै, यस्तो छ ८ कलेजको तीन वर्षको आम्दानी
काठमाडौं । पछिल्लो समय मेडिकल कलेजको व्यवसाय बढ्दै गएको छ । विगतका वर्षहरूको तुलनामा सन् २०२३ मा ८ वटा मेडिकल कलेजको व्यापार बढेको देखिएको हो । विकासन्यूजलाई प्राप्त तथ्यांकअनुसार ८ वटा मेडिकल कलेजले २०२३ मा कुल १२ अर्ब १४ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । २०२२ मा यी ८ वटा कलेजले ११ अर्ब ६८ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेका थिए । यो एक वर्षको अवधिमा ८ वटा मेडिकल कलेजको व्यवसाय करिब ४ प्रतिशतले बढेको देखिन्छ । यस समाचारमा हामीले देशका ठूला ८ वटा मेडिकल कलेजले विगत तीन वर्षमा गरेको व्यवसायको विश्लेषण गर्ने प्रयास गरेका छौं । आश्विन्स मेडिकल कलेज ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले सबैभन्दा धेरै व्यवसाय गरेको छ । यो अस्पतालले २०२४ को मध्यसम्म २ अर्ब २ करोड ८० लाख रुपैयाँको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२३ मा २ अर्ब ८३ करोड ४० लाख बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजले २०२२ मा २ अर्ब ७९ करोड १० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस्तै, २०२१ यो मेडिकल कलेजले २ अर्ब २२ करोड ६५ लाख रुपैयाँको व्यवसाय गरेको थियो । २००७ सालमा स्थापना भएको आश्विन्स मेडिकल कलेज एण्ड अस्पताल ३ सय शय्याको छ । जसले बहु–विशेषज्ञता स्वास्थ्य सेवा सुविधा पनि दिरहेको छ । यो अस्पतालले चिकित्सा, शल्यक्रिया र डायग्नोस्टिक सेवाहरूको विस्तृत श्रृङ्खला प्रदान गर्दै आएको छ । १ सय १२ रोपनी जग्गामा रहेको यो अस्पताल व्यावसायिक घराना महतो ग्रुपले सञ्चालन गरेको हो । यसको अध्यक्ष डा. उपेन्द्र महतो हुन् । चितवन मेडिकल कलेज सन् २००६ मा चितवन जिल्लाका डाक्टरहरूको समूहले स्थापना गरेको यो निजी कलेज हो । जसलाई पछि २०२४ जनवरी २५ मा सार्वजनिक लिमिटेडमा रूपान्तरण गरिएको थियो । यस अस्पतालले विभिन्न विशेषज्ञता क्षेत्रमा उन्नत डायग्नोस्टिक सुविधासहितको सेवा प्रदान गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चितवन मेडिकल कलेजले २०२३ मा १ अर्ब ८७ करोड ८० लाखको व्यवसाय गरेको छ भने २०२२ मा २ अर्ब ७ करोड ९० लाखको व्यवसाय गरेको छ । यो कलेजले २०२१ मा भने १ अर्ब ८७ करोड ८० लाखको व्यापार गरेको थियाे । तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने पछिल्लो समय यस मेडिकल कलेजको आम्दानी बढ्दै गएको छ । यूनिभर्सल मेडिकल कलेज रुपन्देहीको भैरहवामा रहेको यूनिभर्सल मेडिकल कलेजले पनि व्यवसाय बढाउँदै गएको छ । १९९८ मा निजी मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको यो कलेजले २०२३ मा १ अर्ब ४७ करोड ९० लाखको व्यवसाय गरेको छ । यस मेडिकल कलेजले २०२२ मा १ अर्ब ३९ करोड २० लाखको व्यापार गरेको छ भने २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यवसाय गरेको छ । ५०० शय्याको अस्पताल रहेको यो कलेजमा विद्यार्थीहरूले व्यावहारिक प्रशिक्षणका लागि अस्पतालमा काम गर्दै आइरहेका छन् । यस कलेजमा एमबीबीएस, बीडीएस (दन्त चिकित्सा), बीएससी नर्सिङ, बी फार्मा लगायत विभिन्न स्नातक कोर्सहरूका साथै स्नातकोत्तर कोर्सहरू पढाइ हुँदै आइरहेका छन् । मणिपाल कलेज पोखरामा रहेको मणिपाल मेडिकल कलेज नेपालको सबैभन्दा पुरानो मेडिकल कलेज हो । यसको पूरा नाम मणिपाल कलेज अफ मेडिकल साइन्सेस हो । १९९४ मा भारतको मणिपाल ग्रुपले स्थापना गरेको यो मेडिकल कलेजले एमबीबीएस, बीडीएस र अन्य स्वास्थ्य विज्ञानका विभिन्न कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । दक्ष चिकित्सक उत्पादन गर्न र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना भएको यो कलेजमा अत्याधुनिक प्रयोगशाला, लाइब्रेरी र अनुभवी प्राध्यापकहरू छन् । यस कलेजको आफ्नो मणिपाल शिक्षण अस्पताल पनि छ, जसमा विद्यार्थीहरूले क्लिनिकल प्रशिक्षण प्राप्त गर्छन् । कलेजले २०२४ को मध्यसम्म ७४ करोड ३० लाख रुपैयाँको व्यवसाय गरेको छ भने २०२३ मा १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । कलेजले २०२२ मा १ अर्ब ९ करोड ९० लाखको सञ्चालन आम्दानी गरेको थियो भने २०२१ मा १ अर्ब ७ करोड ७० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । नेशनल मेडिकल पर्साको वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज नेपालको एक प्रसिद्ध मेडिकल कलेज हो । यो कलेज २००१ मा देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको संस्थापक समूहले स्थापना गरेको थियाे । नेशनल मेडिकल कलेज नेपालकै उत्कृष्ट चिकित्सा शिक्षण संस्थाहरूमा गनिन्छ र यो नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । यहाँ एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र अन्य स्नातक र स्नातकोत्तर तहका स्वास्थ्य विज्ञान कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशालाहरू, लाइब्रेरी र अनुसन्धान केन्द्रहरू उपलब्ध छन् । नेशनल मेडिकल कलेजसँगै अस्पताल पनि छ, जसले विद्यार्थीहरूको क्लिनिकल प्रशिक्षणलाई सशक्त बनाउँदै आएको छ । ७५० भन्दा बढी शय्या भएकाे यो कलेजले पनि आफ्नो आम्दानी बढाउँदै गएको छ । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ भने २०२२ मा १ अर्ब १९ करोड ४० लाख र २०२१ मा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । यस मेडिकल कलेजको पनि आम्दानी बढ्दै गएको देखिन्छ । काठमाडौं मेडिकल कलेज काठमाडौं मेडिकल कलेज काठमाडौंको सिनामंगलमा अवस्थित छ । यो कलेजको स्थापना १९९७ मा भएको हो । कलेज त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ । यो कलेजले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र एमडी/एमएसजस्ता विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आइरहेको छ । यो कलेजको आफ्नै अस्पताल छ, जहाँ विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिक्न सक्छन् । अस्पतालले विभिन्न आन्तरिक चिकित्सा, शल्यचिकित्सा, प्रसूति-स्त्री रोग, बाल रोग, मनोविज्ञानलगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यो मेडिकल कलेजले २०२३ मा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब २८ करोड ८० लाख र २०२१ मा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । मेडिकल कलेजको आम्दानी पनि बर्सेनि बढ्दै गएको देखिन्छ । नेपाल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको कलेजले विद्यार्थीहरूलाई नवीनतम् चिकित्सा प्रविधि सिकाउँदै आएको छ । किष्ट मेडिकल कलेज किष्ट मेडिकल कलेज नेपालको एक प्रमुख मेडिकल कलेज हो । जुन ललितपुरको इमाडोलमा छ । यसको स्थापना २००६ मा भएको थियाे । यो कलेज नेपाल मेडिकल काउन्सिल र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त छ । कलेजले एमबीबीएस, बीडीएस र बिएससी नर्सिङजस्ता विभिन्न स्नातक स्तरका स्वास्थ्य विज्ञानका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकाे छ । किष्ट मेडिकल कलेजसँगै किष्ट मेडिकल कलेज शिक्षण अस्पताल पनि छ । जसले ५०० भन्दा बढी शैय्यासहितका विविध स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको छ । कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र मेडिकल प्रविधि छन् । कलेजले विद्यार्थीहरूको सैद्धान्तिक र प्रयोगात्मक अध्ययनलाई सहज बनाउँदै आएको छ । कलेजमा अत्याधुनिक उपकरण र अनुसन्धानको सुविधा पनि उपलब्ध छन् । यो कलेजले पनि आम्दानी बढाउँदै लगेको छ । नेपाल र विदेशका अनुभवी प्राध्यापक र चिकित्सकहरू रहेको यस मेडिकल कलेजले पनि विद्यार्थीहरूको शैक्षिक स्तरलाई बढाउने प्रयास गर्दै आएको छ । कलेजले २०२३ मा ७८ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ भने २०२२ मा ६८ करोड ८० लाख रुपैयाँ र २०२१ मा ५१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । किष्ट मेडिकल कलेजले नेपालमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ । गण्डकी मेडिकल कलेज गण्डकी मेडिकल कलेज नेपालको एक प्रतिष्ठित चिकित्सा शिक्षा संस्था हो, जुन पोखरामा अवस्थित छ । २००७ मा स्थापना भएको यो कलेजले नेपाल मेडिकल काउन्सिल र मेडिकल काउन्सिल अफ इन्डिया र अन्य अन्तर्राष्ट्रिय निकायहरूबाट मान्यता प्राप्त गरेको छ । यस मेडिकल कलेजमा एमबीबीएस, बीडीएस, बिएससी नर्सिङ र अन्य स्वास्थ्य विज्ञानसम्बन्धी स्नातक कार्यक्रमहरू सञ्चालित छन् । यो कलेजको पनि आफ्नै शिक्षण अस्पताल छ, जसमा ७५० भन्दा बढी शैय्या छन् । यो कलेजमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र अनुसन्धान केन्द्रहरू पनि छन् । यस मेडिकल कलेजले २०२३ मा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने २०२२ मा १ अर्ब १५ करोड ७० लाख र २०२१ मा १ अर्ब ७ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । यस मेडिकल कलेजको व्यवसाय पनि हरेक वर्ष बढ्दै गएको देखिन्छ । साढे १५ अर्ब ऋण खोज्दै ८ वटा मेडिकल कलेजले ऋणका लागि रेटिङ गराएका छन् । मेडिकल कलेजहरूले ऋणका लागि विभिन्न रेटिङ एजेन्सीमा रेटिङ गराएका छन् । ८ वटा मेडिकल कलेजले कुल १५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबर ऋणका लागि रेटिङ गराएका हुन् । ललितपुरको भैंसेपाटीमा रहेको आश्विन्स मेडिकल कलेजले ४ अर्ब ८४ करोड २० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ भने पोखराको मणिपाल मेडिकल कलेजले २ अर्ब ऋणको लागि रेटिङ गराएको छ । यस्तै, पोखराकै गण्डकी मेडिकल कलेजले ८२ करोड ५० लाख, चितवन मेडिकल कलेजले २ अर्ब ४१ करोड, नेशनल मेडिकल कलेजले ९५ करोड, काठमाडौं मेडिकल कलेजले १ अर्ब ६१ करोड ४० लाख र किष्ट मेडिकल कलेजले १ अर्ब ५० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको रेटिङ एजेन्सीहरूले जानकारी दिएका छन् ।