३० करोडमा खुम्चियो तिहारलक्षित विद्युतीय बजार
काठमाडौं । तिहार वर्षको एक पटकमात्रै आउँछ । यस वर्षको तिहार पनि सम्मुखमा छ । तिहारको बेलामा विद्युतीय सामग्रीहरूको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरू छन् । तर विगतका वर्षहरूमा भन्दा यस वर्ष ग्राहकहरूको माग कम आएको व्यवसायीहरू बताउँछन् । माग कम आएसँगै पसको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरुलाई छ । न त माग बढेको छ न त भनेको जस्तो व्यापार । पोहोरकै विद्युतीय सामग्रीहरु विक्री नभएकाले यस वर्ष नयाँ सामग्रहीहरु खासै नकिनेको व्यवसायीहरूको भनाइ छ । गत सालकै सामानलाई बेचिसक्ने सोचमा व्यापारीहरू छन् । तिहारमा विशेषतः विक्री हुने भनेको झिलिमिली बत्ती नै हो । तर युवाहरु विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीहरूको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताए । उनअनुसार विगतका वर्षहरूमा झैं यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन । कोलकाताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामानहरू आइसकेको भएपनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाएपनि काठमाडौं केन्द्रित बजार हुने निश्चित भएको उनको भनाइ छ । महासंघले यस वर्षको तिहारमा ३० करोड सम्मको सामान बिक्री गर्ने अनुमान छ । तर विगतका वर्षहरूमा ५०/६० करोडको बजार तिहारमा हुने गरेको बताए । ‘यथार्थमा भन्ने हो भने बजारको अवस्था कमजोर भएको कारणले विगतका साल जस्तो धेरै विद्युतीय सामग्री ल्याएका छैनौं । काेलकाताबाट वीरगञ्ज हुँदै आउने सामानहरू लगभग आइसकेको अवस्था हो । केरुङ र तातोपानी नाकाबाट आउने सामानहरू बाटो बिग्रिएको कारणले गर्दा आउन सकिरहेको छैन,’ उनी भन्छन्, ‘त्यसकारणले यथार्थ डाटा आइसकेको छैन । हाम्रो अनुमानमा २५/३० करोडको सामान आउँछ कि भन्ने छ । नेपालको बजार विगतमा धेरै राम्रो थियो । ५०/६० करोडको मार्केट हो ।’ अध्यक्ष देवकोटाले पोहोर सालकै विद्युतीय सामानहरू बिक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ कि भन्ने त्रास व्यवसायीहरूको रहेको बताए । कन्स्ट्रक्शनका कारण राम्रो व्यापार हुने भएपनि अहिले युवा जनशक्ति बाहिर हुँदा कन्स्ट्रक्शनको काम नेपालमा कम हुँदै गएको उनले बताए । उनले कोभिडपछि नेपालको बजार संकुचनमा रहेको बताउनु भयो । व्यवसायीहरूसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना बनाएर अघि बढेको बताए । अध्यक्ष देवकाेटाले भने, ‘अहिले व्यवसायीहरू सामान ल्याएर फसिन्छ कि भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहति छैनन् । विगतमा कन्स्ट्रक्शन राम्रो थियो, युवा जनशक्ति थिए, अहिले युवा जनशक्ति छैन, कोभिडपछि यहाँको बजार संकुचनमा छ, रिकभर भइसकेको छैन । ’ सुन्धाराका विद्युतीय सामग्रीहरूको व्यापार गर्दै आएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गरे । नेपालीहरू अन्तिममा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आश रहेको बताए । सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरूले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामर्थ्य नरहेको हुनसक्ने अनुमान उनको छ । बजारमा विद्युतीय सामग्रीको माग नै नरहेको उनको भनाइ छ । सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउँछिन् । तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा रहेको उनको भनाइ छ । उनले रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा खल्लो महसुस हुने गरेको बताइन् । साथै व्यापार व्यवसाय पनि राम्रो हुन नसकेको उनको गुनासो छ । अर्का व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउँछन् । पहिलाको भन्दा ६०/७० प्रतिशतले व्यापार कम रहेको बताए । देशको आर्थिक अवस्था पनि व्यवसाय नफस्टाउनुको एउटा कारण हुनसक्ने उनकाे ठम्याइ छ । व्यवसायी राज नेपालले व्यवासायीहरूलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्ता लागेको बताए । व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीहरूको माग धेरै कम छ । ग्राहकहरू पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । देशको आर्थिक अवस्थाका कारण हुनसक्ने कतिपयको अनुमान छ । अन्तिमसम्ममा व्यापार हुने आशामा रहेको उनीहरू बताउँछन् ।
बैंकहरूको खुद नाफा १६ अर्ब हुँदा वितरणयोग्य नाफा २६ अर्ब, झुक्किरहेका छन् सेयर लगानीकर्ता
काठमाडौं । नबिलले बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरणमा नाफाभन्दा बढी वितरणयोग्य नाफा देखायो । बैंकले पहिलो त्रैमासमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गर्दा ४ अर्ब ९८ करोड अर्थात् करिब ५ अर्ब अर्ब रुपैयाँ कुल वितरणयोग्य नाफा देखाएकाे हाे । यो विषयलाई अधिकांश सञ्चारमाध्यमले निकै प्राथमिकताका साथ समाचारका शीर्षक बनाए- ‘नाफाभन्दा वितरणयोग्य नाफा दोब्बर, २ अर्ब नाफा ५ अर्ब वितरणयोग्य नाफा ।’ जुन अस्वाभाविक हो । जहिल्यै पनि खुद नाफाभन्दा वितरणयोग्य नाफा कम हुन्छ । नबिलको मात्रै होइन, प्राइम कमर्सियल बैंकको पनि पहिलो त्रैमासको खुद नाफाभन्दा वितरणयोग्य नाफा साढे १ अर्ब बढी छ । बैंकको १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा हुँदा कुल वितरणयोग्य नाफा भने २ अर्ब ७३ करोड रुपैयाँ छ । सानिमा बैंकको पनि पहिलो त्रैमासमा खुद नाफा ३९ करोड रुपैयाँ हुँदा कुल वितरणयोग्य नाफा भने १ अर्ब ७१ करोड रुपैयाँ देखिन्छ । नेपाल एसबिआई बैंकको पनि पहिलो त्रैमासमा खुद नाफा ८१ करोड ४६ लाख रुपैयाँ हुँदा कुल वितरणयोग्य नाफा भने १ अर्ब ८६ करोड रुपैयाँ छ । बैंकको नाफाभन्दा कुल वितरणयोग्य नाफा १ अर्ब ५ करोड रुपैयाँ बढी हो । पहिलो त्रैमासमा अधिकांश बैंकको कुल वितरणयोग्य नाफा खुद नाफाभन्दा बढी छ । वाणिज्य बैंकहरूको खुद नाफा १६ अर्ब २२ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २६ अर्ब २८ करोड रुपैयाँ छ । तीन बैंकको कुल वितरणयोग्य नाफा भने ऋणात्मक छ । आखिर पहिलो त्रैमासमा बैंकहरूको खुद नाफाभन्दा कुल वितरणयोग्य नाफा कसरी बढी दखियो ? यो प्रश्नको उत्तर हामीले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई सोध्यौं । उनले जवाफमा भने, ‘अधिकांश बैंकहरूले गत आर्थिक वर्षको नाफाको प्रतिफल वितरण गरेका छैनन्, साधारणसभा गरेपछि मात्रै त्यो नाफा सेयरधनीको खातामा जाने हो, पहिलो त्रैमासको वित्तीय विवरणमा बैंकहरूले गत आर्थिक वर्षको वितरणयोग्य नाफा पनि देखाएका छन्, त्यसैले नाफाभन्दा बढी वितरणयोग्य नाफा देखिएको हो ।’ सीईओ खनालले भनेजस्तै अधिकांश बैंकको साधारणसभा हुन बाँकी छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वित्तीय संस्थाले साधारणसभा गरिसक्नुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधानमा रहेर वित्तीय संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने रणनीतिका साथ अगाडि बढेका हुन्छन् । लाभांश वितरणका लागि नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै बैंकको साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । त्यसैले पनि बैंकहरूले गत आवको नाफाबाट वितरण गर्नुपर्ने वितरणयोग्य नाफा पनि पहिलो त्रैमासको वित्तीय विवरणको कुल वितरणयोग्य नाफाको शीर्षकमा राख्दा खुद नाफाभन्दा कुल वितरणयोग्य नाफा बढी देखिएको हो । त्यसो भए चालु आर्थिक वर्षको पहिलो त्रैमासका वाणिज्य बैंकहरूको कुल वास्तविक वितरणयोग्य नाफा कति हो त ? आउनुहोस्, अब यस विषयमा चर्चा गरौं । बैंकका सेयरधनी, विभिन्न सञ्चारमाध्यम र सेयर बजारका लगानीकर्ताहरूले पनि सोचे र भनेजस्तो बैंकहरूको पहिलो त्रैमासको वितरणयोग्य नाफा खुद नाफाभन्दा बढी छैन । बैंकहरूले वित्तीय विवरणमा यसलाई प्रष्ट रूपमा देखाएका छन् । पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा कुल ११ अर्ब ७ करोड रुपैयाँ छ । जुन खुद नाफाभन्दा ५ अर्ब १५ करोड रुपैयाँ कम हो । पहिलो त्रैमासमा नबिलको वितरणयोग्य नाफा १ अर्ब १२ करोड, ग्लोबल आइएमईको १ अर्ब ४० करोड, नेपाल इनभेष्टमेन्टको १ अर्ब २९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ५२ करोड रुपैयाँ छ । पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरभिजन विभागका प्रमुख रामु पौडेलले पनि गत आवको नाफाबाट वितरण नगरेको वितरणयोग्य नाफा पहिलो त्रैमासको वित्तीय विवरणमा राख्न पाउने भएकोले अहिले खुद नाफाभन्दा वितरणयोग्य नाफा बढी देखिएको हुन सक्ने धारणा राखे । उनका अनुसार दोस्रो त्रैमासमा त्यो रकम स्वतः घट्नेछ । पुस मसान्तसम्म गत आर्थिक वर्षको लाभांश वितरण भइसक्ने भएकाले त्यो रकम स्वतः घट्ने उनको भनाइ छ ।
सुन थुपारेको थुपार्यै, यस कारण बढ्दैछ मूल्य
काठमाडौं । सुनको मूल्यले हरेक दिन नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ । सन् २०२४ लागेसँगै हालसम्म ३५ पटक सुनको भाउ अहिलेसम्मकै उच्च स्थानमा पुगेकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । सुनको मूल्यवृद्धि रोकिने संकेतसमेत देखिएकाे छैन । अझै बढ्नसक्ने विश्लेषकहरूकाे आँकलन छ । यो वर्ष सुनको भाउ ३३ प्रतिशतले बढेको छ । आखिर किन सुनको भाउ यति धेरै बढिरहेकाे छ ? सबैभन्दा ठूलो कारण- धेरै देशका केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन खरिद गरिरहेका छन् । जसमध्ये चीन, टर्किए, पोल्याण्ड र भारतका केन्द्रीय बैंक अगाडि छन् । विश्वको कुल सुनको भण्डारको १२.१ प्रतिशत केन्द्रीय बैंकसँग छ । यो सन् १९९० पछिकै उच्च स्तर हो । यो वर्ष केन्द्रीय बैंकको सुनको सञ्चितिमा ठूलो वृद्धि भएको छ र यो पछिल्लाे एक दशककाे दोब्बर हाे । भारत, चीन, टर्किए र पोल्याण्डका केन्द्रीय बैंकहरूले सुन खरिदमा महत्त्वपूर्ण भूमिका खेल्छन् । चीनको विदेशी मुद्रा सञ्चितिमा सुनको अंश ५.४ प्रतिशत पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको यो देशको सुनको भण्डार २ हजार २६४ टन रहेकाे छ । विश्वमा सबैभन्दा बढी सुनको खपत चीनमा हुने गरेको छ । तर, विश्वका पाँच देशसँग चीनकाे भन्दा धेरै मात्रामा सुनको भण्डार छ । केन्द्रीय बैंकले किन किनिरहेका छन् सुन ? सन् २०२२ र २०२३ मा विश्वभरका केन्द्रीय बैंकहरूले १ हजार टनभन्दा बढी सुन खरिद गरेका थिए । यसकारण युक्रेन युद्धपछि पश्चिमी देशहरूले रुसको एसेट्स जफत गरेका थिए । यही कारणले गर्दा अहिले विश्वभरका देशहरूले आफ्नो विदेशी मुद्रा सञ्चितिमा अमेरिकी डलरको अंश घटाएर सुन बढाउन थालेका हुन् । मध्यपूर्वमा जारी तनावले पनि सुनको भाउ बढाएको हाे । इतिहास साक्षी छ कि जब विश्वमा कुनै संकट आउँछ तब सुनको भाउ बढ्छ । सबैभन्दा धेरै सुन कसको ? अमेरिकामा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार छ । यो देशको सरकारी कोषमा ८ हजार १३३ टन सुन जम्मा छ । त्यसपछि जर्मनी (३ हजार ३५३ टन), इटाली (२ हजार ४५२ टन), फ्रान्स (२ हजार ४३७ टन) र रसिया (२ हजार ३३५ टन) रहेको छ । युरोपको सानो देश स्विट्जरल्याण्डमा १ हजार ४० टन, जापानमा ८४७ टन र भारतमा ८४० टन सुन छ । विश्व गोल्ड काउन्सिलका अनुसार भारतमा आम मानिससँग करिब २५ हजार टन सुन छ, जुन विश्वमा सबैभन्दा बढी हो । नेपाली बजारमा सुनकाे मूल्य आइतबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते सुनकाे मूल्य एक लाख ६६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे । उक्त रेकर्ड आज ताेडिएकाे हाे । यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो । (एजेन्सीकाे सहयाेगमा )