टेक्सास : पढाइ मात्रै होइन, भविष्य बनाउने कलेज

ओखलढुङ्गाकी सुनिता धमला चाबहिलमा रहेको टेक्सास कलेजमा कक्षा १२ मा अध्ययन गर्छिन् । व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेकी उनी यो कलेजले किताबी ज्ञानसँगै बाह्य ज्ञान पनि प्रदान गर्ने गरेको बताउँछिन् । अरुको कुरा सुनेकै आधारमा टेक्सास भर्ना भएकी उनी अहिले राम्रो कलेज रोजेकोमा खुसी छिन् ।  गाउँबाट प्लसटु पढ्न काठमाडौं आएकी उनलाई पहिले कुन कलेज रोज्ने भन्ने अन्योल थियो । उनका गाउँका दाइदिदीहरूले टेक्सास कलेज राम्रो छ भनेपछि उनी भर्ना भएकी थिइन् । सुनिता अहिले आफूले राम्रो कलेज रोजेको रहेछु भन्ने लागेको बताउँछिन् । ‘अरुले भनेकै आधारमा भर्ना भएकी थिएँ, तर यहाँ अध्ययन गर्न सुरु गरेपछि सबै कुरा थाहा भयो,’ उनी भन्छिन्, ‘यहाँको वातावरण निकै राम्रो छ, शिक्षकहरू पनि साथी जस्तै हुनुहुन्छ, पढाइ पनि राम्रो छ सँगै स्पोर्टदेखि हरेक कुरामा विद्यार्थीले अवसर पाउँछन् ।’  उनी अहिले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई पनि टेक्सास रोज्न आग्रह गर्छिन्  ।  युवाहरू विदेश गइरहेको बेला सुनिता भने नेपालमै काम गर्न इच्छा रहेको सुनाउँछिन् । प्लस टु मा व्यवस्थापन लिएर पढ्दा पछि  सूचना प्रविधि, कानुन पढ्न पनि पाइने र बैंकिङ क्षेत्रमा काम गर्ने सोच रहेकाले पनि व्यवस्थापन रोजेको उनको भनाइ छ । सोलुखुम्बुका आशिषबाबु भट्टराई टेक्सास कलेजमा कक्षा १२ मा अध्ययन गर्छन् । उनका दाइ पनि यही कलेजमा अध्ययन गरेकाले उनलाई पनि यही कलेजमा भर्ना गरिदियो । दाइले भर्ना गरेर टेक्सासमा पढिरहेका उनी कलेजको वातावरण, यहाँका शिक्षकहरूको व्यवहार निकै राम्रो रहेको बताउँछन् ।  ‘यहाँ शिक्षकहरू पनि अनुभवी, पढाउने तरिका पनि राम्रो’ उनी भन्छन्, यस्तो वातावरणमा अध्ययन गर्दाको अनुवभ फरक हुन्छ ।’ उनी पनि नयाँ कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीलाई टेक्सासमा आउन आग्रह गर्छन् ।  उनी व्यवस्थापन विषय लिएर पढ्दा  अवसर पनि हुने र धेरै कुरा सिक्न मिल्ने हुँदा यो विषय रोजेको रोजेको बताउँछन् ।  कुनै पनि विद्यालय वा कलेजको पढाउने तरिका भन्दा पनि वातावरण महत्वपूर्ण हुन्छ । विद्यार्थीले विद्यालयमा पढ्न मात्र होइन खेल्न, रमाउन उफ्रन र कुरा गर्न पाउनुपर्छ । शिक्षकसँग डराएर भन्दा नजिकै भएर सम्बन्ध बनाउँदा विद्यार्थीले छिटो सिक्छन् ।  चाबहिलका आयाम पोख्रेल टेक्सासमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका छन् । अहिले कक्षा १२ मा अध्ययन गरिरहेका उनले विभिन्न अनलाइन, टिभीमा विज्ञापन देखेर रोजेको बताउँछन् । साथीहरूबाट पनि यो कलेज राम्रो छ भन्ने सुनेका र विज्ञापनको आधारमा कलेज रोजेका उनी टेक्सास वेस्ट कलेज रहेको बताउँछन् । यहाँ विद्यार्थीलाई आवश्यक पर्ने सबै ल्याबहरूको पनि सुविधा भएको र व्यवहारिक सिकाइ धेरै हुने गरेको उनले बताए । आफूलाई मात्र नभइ आफ्नो जीवनको विकास गर्नुछ भने उनी यो कलेज रोज्न सकिने उनको भनाइ छ । टेक्सासमा प्राक्टिकल र थेउरीकल ज्ञान दुवै राम्रो रहेका घर जस्तो वातावरण र साथीजस्ता शिक्षक खोज्नेहरूलाई टेक्सासमा आउन आग्रह गर्छन् ।  साेलुखुम्बुकी ससिशा राई एसईई पास भइसकेपछि कक्षा ११ मा अध्ययन गर्न राम्रो कलेजको खोजिमा थिइन् । उनले धेरै कलेजहरूको भिजिट गरिन् । जब उनी टेक्सास कलेजमा पुगिन् उनले कलेजको बारेमा सबै बुझिन् । उनलाई यहाँको वातावरण असाध्यै राम्रो लाग्यो । उनले यही कलेजमा अध्ययन गर्ने निधो गरिन् ।  विज्ञान विष लिएर टेक्सासमा अध्ययन गरिरहेकी उनी यहाँ शुल्क पनि धेरै महँगो नरहेको र सेवासुविधा पनि राम्रो हुँदा कलेज रोजेकोमा कुनै दुःख नलागेको बताउँछिन् । पढाइको लागिमात्र नभइ यहाँ खेलकुदमा रुचि भएकाहरूलाई खेल खेल्न पनि पाइन्छ । नाच्ने रहर भएकाहरूले नाच्न पनि पाउँछन् । उनी कम पैसामा राम्रो शिक्षाका लागि टेक्सास कलेज रोज्न सकिने बताउँछिन् ।  टेक्सास कलेजमा कक्षा ११ र १२ मा चार वटा विषय लिएर पढ्न पाइन्छ । विज्ञान, व्यवस्थापन, मानविकी र कानुन गरी चारवटा विषय पढाइ हुन्छ । यो कलेजले कक्षा ११ मा हरेक वर्ष १ हजार एक सय विद्यार्थीको भर्ना लिन्छ ।  किन रोज्ने टेक्सास ?  कक्षा कोठालाई जीवनसँग जोड्न, किताबलाई जीवनयापनसँग जोड्न र  पढाइ, पढाइसँगै जीवनलाई अगाडि बढाउन टेक्सास कलेज रोज्नुपर्ने शिक्षकहरू बताउँछन् । कलेजका बिजनेस डेभलपमेन्ट डिरेक्टर नारायण पोख्रेल कलेजले विद्यार्थी पढाएर मात्र नछोड्ने भएकाले पनि यो कलेज रोज्नुपर्ने बताउँछन् ।  विद्यार्थीले पढ्ने किताब जे छ त्यो किताबलाई जीवनसँग जोड्ने प्रयास टेक्सासको हुन्छ ।  ‘यहाँ शिक्षकले पढाएर छोड्ने काम मात्र हुँदैन । पढाइसँगै आ आफ्नो विषयसँग एक्सपोजर दिन्छौं जुन एक्सोपोजरले करियरमा पनि अगाडि बढाउन सजिलो हुन्छ,’ उनले भने । जस्तै विद्यार्थीले कम्प्युटर पढ्छ भने ११ र १२ मा गरी ३० वटा एक्स्ट्रा कोर्स स्टडी गर्नुपर्छ । विद्यार्थीलाई यो परीक्षामा आउँदैन तर जीवनलाई अगाडि बढाउन निकै सहयोगी हुन्छ । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि विद्यालयको आफ्नै ल्याब छ ।  ‘विद्यार्थीलाई हामी यसरी एक्सपोजर दिन्छौं, वास्तवमा हस्पिटालिटी भनेको सामान्य कुकिङ मात्र होइन यो साइन्ससँग सम्बन्धीत विषय रहेछ भन्ने थाह पाउँछ उनी भन्छन्,‘ विद्यार्थीलाई पढाइसँगै एकाउण्टिङको ट्रेनिङदेखि लिएर अन्य विषयमा पनि तालिमहरू दिन्छौं, साइन्स पढ्ने विद्यार्थीलाई ११ देखि प्रोजेक्ट फोकस गरेर लगिएको छ ।’ टेक्सासले अब किताब राम्रो पढाउनुपर्छ, पढ्नुपर्छ, राम्रो नम्बर ल्याउनुपर्छ भन्नेमात्र सोचाइ राख्दैन । विद्यार्थीलाई करियरमा अगाडि बढाउनको लागि सीप पनि चाहिन्छ र सिपसँगै ज्ञान पनि ११ कक्षादेखि दिदैँ जानुपर्छ भन्ने टेक्सासले ध्यान दिएको छ । विद्यार्थीले पढेरमात्र हुँदैन । उनीहरूले अनिवार्य प्रस्तुति गर्नुपर्छ । यस्तो कुराले उनीहरूलाई आत्मविश्वास दिलाउँछ ।  विद्यार्थी स्कुलभित्र मात्र नभइ मार्केटमा जाँदा पनि उ बोल्न सकोस् भन्ने हेतुले विभिन्न कार्यक्रमहरू गरिरहेका छौं । विद्यार्थीलाई दक्ष बनाउने त्यही अनुसारको दक्ष जनशक्ति आवश्यक पर्छ । टेक्सासले शिक्षकहरूलाई बेलाबेला विषयविज्ञहरू बोलाएर तालिम दिन्छ । कसरी विद्यार्थीलाई सजिलो तरिकाले रुचि पूवक पढाउने भन्ने विषयमा पनि कलेजले ध्यान दिन्छ ।  प्राविधिक विषयमा विद्यार्थीको रुचि कक्षा ११ मा भर्ना हुन तथा कलेजका बारेमा बुझन आउनेहरूको टेक्सासमा भिड दिनहुँ भिड लाग्ने गरेको छ । कलेजका अनुसार आजभोलि दिनहुँ पाँच भन्दा बढी विद्यार्थी अभिभावक कलेजमा आइरहेका छन् । कलेजमा अध्ययनका लागि र बुझ्न गर्न आउनेहरूसँग कुरा गर्दा प्राविधिक विषयमा विद्यार्थीहरू रुचि बढी गएको पाइन्छ ।  पोख्रेल भन्छन्, ‘अहिलेको समय, सामाजिको सञ्जालको प्रयोगले पनि हुन सक्छ विद्यार्थीको प्राविधिक विषयमा बढी रुचि छ ।’  टेक्सासमा आउने विद्यार्थीहरू धेरै जसो विज्ञान र व्यवस्थापनतिर आए पनि कम्पुयटर साइन्स, होटेल म्यानेजमन्ट तिर बढी जान्छन् ।  ‘विद्यार्थीको यस्तो रुचि छ कि मैले भोलि जे पढे पनि भोलि रोजगारी पाउनुपर्छ भन्ने सोच हुन्छ । अहिले अभिभावकले यही पढ, तिमी यस्तै बन्नुपर्छ भन्ने दबाब पनि दिइएको पाइँदैन । जे पढोस्, तर राम्रो गरोस् भन्ने उनीहरूको चाहना हुन्छ,’ उनले भने ।   

पृथ्वी राजमार्गको मुहार फेरिँदै : यात्रामा सहजता, स्थानीयलाई राहतसँगै सकस

धादिङ ।  'पानी परे हिलो, नपरे धुलो ।  गर्मीमा पनि धुलोले ढोका थुनेर बस्नुपर्थ्यो । पकाएर राखेको खानामा समेत धुलो हुन्थ्यो,' धादिङको गल्छी, सिमबजारकी चित्रा कुमारी श्रेष्ठले जब यो भनिरहेकी थिइन्, उनको पछाडि चिल्लो कालोपत्रेमा गाडीहरू सरर दौडिरहेका थिए । उनको यो भनाइले वर्षौंसम्म पृथ्वी राजमार्गको पर्याय बनेको कहालीलाग्दो अवस्था र अहिलेको परिवर्तनलाई एकैसाथ चित्रण गर्छ । नेपालको गौरवको आयोजना मानिने पृथ्वी राजमार्ग र यससँग जोडिएको मुग्लिन–पोखरा सडक विस्तार आयोजना अहिले अन्तिम चरणमा पुग्दै गर्दा यसले राष्ट्रिय मुहार मात्र फेरेको छैन, स्थानीयको जीवनशैली, यात्राको अनुभव र विकासको परिभाषामा समेत नयाँ अध्याय थपेको छ । तर, यो परिवर्तनले सबैलाई सुख मात्र दिएको छैन कतै राहतको सास छ, कतै नयाँ सकसको सुरुवात भएको छ । घण्टौँको यात्रा छोटियो, धुलो–हिलोबाट मुक्ति आयोजनाका विभिन्न खण्डका प्रमुखहरूका अनुसार, नागढुङ्गादेखि पोखरासम्मको यो बृहत् परियोजनाले उल्लेख्य गति लिएको छ । नागढुङ्गा–मुग्लिन पूर्वी खण्डका योजना प्रमुख केशव प्रसाद ओझाका अनुसार कुल ५५ किलोमिटरमध्ये करिब आधा (२७ किमि) मा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ । 'आगामी आर्थिक वर्षको मसान्तसम्ममा सम्पूर्ण खण्डमा पहिलो तहको कालोपत्र सम्पन्न गर्ने हाम्रो लक्ष्य छ,' ओझाले भने । यो प्रगतिको प्रत्यक्ष अनुभव मुग्लिन–पोखरा खण्डमा पनि देखिन्छ, जहाँको भौतिक प्रगति ५५ प्रतिशत नाघेको छ । आयोजना प्रमुख कृष्णबहादुर कुँवर भन्छन्, 'विगतमा अस्तव्यस्त यो सडकमा अहिले मुग्लिनबाट पोखरा २ घण्टामै पुग्न सकिने अवस्था बनेको छ, जुन २० वर्षअघिको अवस्था जस्तै हो ।' यसले पोखराको पर्यटनमा नयाँ ऊर्जा थप्ने निश्चित छ । राजमार्ग छेउका बासिन्दाहरू धुलो र हिलोको युगबाट मुक्त हुँदा हर्षित छन् ।  गल्छीको २ किलोमिटर खण्ड, जहाँ सधैं पानी जमेर सवारी दुर्घटना हुन्थ्यो, अहिले कंक्रिट पेभमेन्ट (सेतोपत्रे) ले ढलान गरिएको छ । यसले स्थानीयलाई ठूलो राहत दिएको छ । चुनौतीका पहाड : निर्माण सामग्रीको अभावदेखि घर डुबानसम्म तर, यो सफलताको पछाडि चुनौतीका अग्ला पहाडहरू थिए । बिजुलीका पोल सार्ने, खानेपानीको पाइप व्यवस्थापन गर्ने, जग्गा अधिग्रहण र वन क्षेत्रको रुख कटान जस्ता प्रक्रियागत झन्झटले आयोजनालाई पछाडि धकेलिरह्यो । सबैभन्दा ठूलो चुनौती निर्माण सामग्रीको अभाव बन्यो ।  नागढुङ्गा–नौबिसे खण्डका प्रतिनिधि ज्ञानेन्द्र घिमिरे भन्छन्, 'निर्माण सामग्री, विशेषगरी ढुङ्गा–गिटीको अभाव र सरकारी नीतिका कारण हाम्रो एक सिजन पूरै काम प्रभावित भयो । नत्र आयोजना एक वर्षअघि नै सकिने अवस्थामा थियो ।' विकासले ल्याएको अर्को सकस हो, घर डुबान ।  सडकको सतह अग्लो भएपछि गल्छीका ईश्वर प्रसाद धितालको घर डुबानमा पर्यो । 'रोड राम्रो भयो, तर मेरो घर डुबानमा पर्यो । बस्न नसकेर घर नै भत्काउनुपर्यो,' उनले दुखेसो पोखे ।  सडक अग्लो हुँदा बजार क्षेत्रका करिब ८–१० वटा घर प्रभावित भएका छन्, जसले पूर्वाधार विकाससँगै उचित योजनाको आवश्यकतालाई औंल्याउँछ ।  सधैँ पानी जमेर हिलाम्मे हुने गल्छीको २ किलोमिटर खण्डमा कालोपत्रेको सट्टा कंक्रिट ढलान (सेतोपत्रे) गरिएको छ, जसले दीर्घकालीन समाधान दिएको आयोजनाले दाबी गरेको छ ।  इन्जिनियरिङका अनुपम नमुना : कृष्णभीर, झाप्ले र मादी पुल कृष्णभीर, झाप्ले र मादी पुल आयोजना सडक फराकिलो बनाउने काम मात्र होइन, यो नेपालको चुनौतीपूर्ण भूगोलमा आधुनिक इन्जिनियरिङको उत्कृष्ट नमुना पनि हो । कृष्णभीरको स्थायी समाधान कुनै बेला पहिरोको त्रास बनेको कृष्णभीरलाई ’बायो–इन्जिनियरिङ’ मार्फत स्थिरीकरण गरिएको थियो । अहिले सडक विस्तारका क्रममा यसलाई असर नपुग्ने गरी काम अघि बढाइएको छ । कुनै बेला पहिरोको पर्याय बनेको कृष्णभीरमा गत वर्ष नदी कटानले सडक भासिएपछि अहिले ’पाइलिङ’ गरेर बलियो बनाउने काम अन्तिम चरणमा पुगेको नागढुङ्गा–मुग्लिन पश्चिम खण्डका योजना प्रमुख केदारप्रसाद नेपालले जानकारी दिए ।  प्रमुख नेपालले भने, 'हामीले यो संवेदनशील भीरलाई नचलाई, नकाटी सतह सुधार मात्र गर्नेछौँ। विगतमा ’बायो–इन्जिनियरिङ’ मार्फत सफल भएको यो संरचनालाई हामी जोगाउनेछौँ ।' यस्तै, गत वर्ष ३५ जनाको ज्यान जाने गरी पहिरो गएको झाप्ले खोलामा ‘माइक्रो पाइलिङ’ र ‘सोइल एन्करिङ’ जस्ता नयाँ प्रविधि प्रयोग गरेर पहिरो रोकथामको काम भइरहेको छ भने तनहुँको दमौलीस्थित मादी नदीमा १ अर्ब २१ करोडको लागतमा नेपालकै पहिलो चार–लेनको ‘डिजाइन एण्ड बिल्ड’ पुल बनिरहेको छ । ३१८ मिटर लामो यो पुलमा काठमाडौंको बिजुलीबजारमा जस्तै ‘नेटवर्क आर्च’ डिजाइन रहने आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उनका अनुसार ६ मध्ये ४ स्पानको काम सकिएको र बाँकी काम मनसुनपछि पूरा हुनेछ । ‘डिजाइन एण्ड बिल्ड’ अवधारणामा बनिरहेको यो पुलले नेपालको पुल निर्माण क्षमतामा नयाँ आयाम थप्ने बताइएको छ ।  सुरक्षित यात्राको चुनौती सडक चिल्लो बनेसँगै सवारीको तीव्र गतिले दुर्घटनाको जोखिम पनि बढाएको छ । आयोजनाका अनुसार सडकको डिजाइन स्पिड ६० किमि प्रतिघण्टा भए पनि चालकहरूले यसलाई ‘फ्री वे’का रूपमा प्रयोग गर्दा जोखिम बढेको हो । सडक सुरक्षाका लागि ट्राफिक चिह्न र अन्य संरचना निर्माणको कामलाई तीव्रता दिइएको छ । पृथ्वी राजमार्ग र मुग्लिन–पोखरा सडक विस्तार आयोजना नेपालको पूर्वाधार विकासमा एक महत्वपूर्ण कोशेढुङ्गा हो । यसले यात्रालाई सहज बनाएको छ, तर निर्माण सामग्रीको व्यवस्थापन, स्थानीयको समस्या सम्बोधन र सुरक्षित यात्राको सुनिश्चितता जस्ता विषयमा अझै गम्भीर बन्नुपर्ने पाठ सिकाएको छ ।  

अर्थतन्त्रका समस्या चिर्ने मौद्रिक नीति, व्यवसाय बढ्ने, ऋण उठ्ने

काठमाडौं । समग्र अर्थतन्त्र चलायमान गर्ने गरी मौद्रिक नीति आएको बैंकरहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शिथिल अर्थतन्त्र चलायमान गर्ने र सबैको मनोबल वृद्धि गर्ने सन्देश प्रवाह गरेको बैंकहरु बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला आगामी वर्षको मौद्रिक नीति सकारात्मक र लचिलो आएको बताउँछन् । अर्थतन्त्रलाई बुस्ट गराउन जे गर्नु पर्थ्यो त्यो मौद्रिक नीतिमा समेटिएका उनको भनाइ छ । साथै मौद्रिक नीतिको प्रभावकारिता सर्कुलर र निर्देशन जारी पश्चात् मात्रै देखिने उनले बताए ।  ‘अब सर्कुलर र निर्देशन कसरी आउँछन् त्यो भने हेर्न बाँकी छ । मौद्रिक नीतिले भनेका सबै विषयलाई सर्कुलर र निर्देशनमा समावेश गर्याे भने अहिलेको अर्थतन्त्र चलायमान हुने देखिन्छ,’ उनले भने, ‘नेपाल बैंकर्स संघले दिएका सबै सुझावहरु गभर्नरले समेट्नु भएको छ । अहिलेको अर्थतन्त्रमा देखिएका समस्या चिर्ने गरी मौद्रिक नीति आएको छ ।’ सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कँडेल आफ्नो सीमा र दायरा भित्र रहेर मौद्रिक नीति आएको बताउँछन् । अर्थतन्त्र चलायमान, उपभोक्ता र ऋणीहरूको मनोबल बढाउने गरी मौद्रिक नीति आएको उनको बुझाइ छ । ‘सकारात्मक भायव श्रृजना गर्ने गरी मौद्रिक नीति आउनुपर्थ्यो, जसमा धेरै प्यारामिटर आएका छन् । मुद्रास्फितीसँग जोडिएको विषय भएको पहिलो त्रैमासमा २०/२५ पैसाको थप सुधार गर्ने देखिन्छ,’ उनले भने, ‘रियल स्टेट र सेयर मार्केटलाई सपोर्ट हुने किसिमका नीति आएका छन् । जसले डिमाण्ड साइटमा सकारात्मक भायव श्रृजना गर्नेछ ।’  मौद्रिक नीतिमा प्राविधिक विषयहरू पुनरावलोकन गरिने उल्लेख छन् । जस्तै ब्याजदर, आधार दर, चार्जेज, लिक्विडिटीसँग सम्बन्धित विषय र हायर पर्चेज विजनेशमा पनि पुनरावलोकन गर्ने उल्लेख गरिएकाले सकारात्मक देखिएको उनले बताए ।  ‘कतिपय विषयमा रिभ्यू गर्ने लेभलमा राष्ट्र बैंक पुगेको छ, त्यो नै सकारात्मक पक्ष हो । एनपीए बढेको कारण बैंकको क्यापिटलमा स्ट्रेस थियो, जसले गर्दा यस वर्ष ८/९ प्रतिशतको कर्जा वृद्धि हुने देखिन्छ । तर, अर्काे वर्षपनि १२ प्रतिशतकै कर्जा वृद्धि दर राख्नु भएको छ । १५ प्रतिशतको कर्जा वृद्धि दर भन्न सक्नु हुन्थ्यो । तर, धेरै आक्रामक नभई वास्तविक हुन खोज्नु भएको छ,’ उनले भने, ‘आवश्यक क्यापिटलका लागि गैर बैंकिङ सम्पत्तिलाई जोड्न मिल्नेछ । राइट वा अन्य प्रोभिजनबाट क्यापिटल वृद्धि दिने आधार छन् ।’ उनका अनुसार दक्षिण एशियन मार्केटलाई मध्येनजर गरेर बासेल ३ का कम्पोनेन्टहरु कार्यान्वयन गर्दै जाने क्रममा आउन सक्ने रिल्याक्सेसनलाई अहिले नै समावेश गरेर जाँदा राम्रो हुन्छ भनेर बैंकर्स संघले सुझाव दिइरहेको छ । मौद्रिक नीतिमा त्यसलाई ध्यानमा केही विषय उल्लेख गरिएका छन् । जसले भविष्यमा रिभ्यू हुन्छ भन्ने अपेक्षा गरिएको उनले बताए । घरजग्गा र सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने गरी नीति आएको उनको भनाइ छ । ‘डिबेञ्चर रिडेम्सन फन्सनका बारेमा बोल्नु भएको छैन तर, निर्देशनबाट आउने विश्वास छ । डिबेञ्चर रिडेम्सन फन्सनलाई पनि एड्रेस गर्नुभयो भने बैंकहरुको लाभांश वितरण गर्ने क्षमता बढ्छ । जसले क्यापिटल मार्केटलाई सपोर्ट गर्छ,’ उनले भने, ‘यो चाहिँ आएन, यो गरिदिएको भए हुन्थ्यो भन्दा पनि सबैलाई खुला राखेर सकारात्मक सन्देश र सकारात्मक नियत नेपाल राष्ट्र बैंकको देखिन्छ ।’  उनका अनुसार सेयर बजार र घरजग्गाले अर्थतन्त्रलाई बढी प्रभावित पार्छ । तर, जग्गा बिक्री नै नहुने समस्या छ । होमलोनको सीमा बढाउँदा त्यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । लोन टू भ्यालू रेसियोमा गरिएको सुधारले सकारात्मक सन्देश जाने उनले बताए ।  उनले भने, ‘सेयर कर्जामा १५ करोडको सीमालाई २५ करोड रुपैयाँ पुर्याउनु सकारात्मक सन्देश हो । यसले लगानीकर्तामा मनोबल बढाउँछ । यसले तत्कालै बजार चलायमान हुन्छ भन्ने होइन, तर, यसले सुधार हुन्छ भन्ने सन्देश दिएका छ ।’ बैंकर ज्ञानेन्द्र ढुंगाना पोलिसी डिपार्चर हुने गरी मौद्रिक नीति आएको बताउँछन् । पुराना नीतिलाई पुनरावलोकन गर्ने तथा समसामयिक बनाउने विषय सकारात्मक भएको उनको भनाइ छ ।  ‘मौद्रिक नीतिमा यहि गर्ने भनिएका छैनन् तर, गरिने भनेर आएका छन् । लोन लस प्रोभिजनिङ, क्यापिटल एडुकेसी लगायत विषयमा सबैको सुझाव समेटिएको छ । बैंकहरू क्यापिटल एडुकेसीको सर्टफलमा भएका कारण कतिपयले लाभांश दिन सकेका छैनन् भने कतिपय बैंकले कर्जा विस्तार गर्न सकिरहेका छैनन् । यो विषयलाई पनि समावेश गरिएका छन्,’ उनले भने । हुलाकी राजमार्ग तथा मध्य-पहाडी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्तरीकरण लोगो (संकेत) लिएका होटल तथा रेष्टुरेन्ट र राजमार्ग/लोकमार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायहरूलाई प्रवर्द्धन गर्न उक्त क्षेत्रका उद्योग व्यवसायीहरूलाई प्रवाह हुने कर्जामा सहजीकरण गर्ने उल्लेख छ । डाइरेक्टिभ सेक्टर लेण्डिङको नीति पुनरावलोकन गर्ने विषय प्रत्यक्ष रुपमा नआएपनि समेट्न खोजिएको उनको बुझाइ छ । ‘बैंकको व्यवसाय बढाउन सहयोग पुग्नेछ । किनभने बैंकको क्यापिटल पनि बढाउँछ र प्रोभिजिङ कम गर्ने भनिएको छ । सब्लिमेन्ट्री क्यापिटलमा नन बैंकिङ एसेटको प्रोभिजिङ २ वर्षसम्म छुट दिनु भनेको बैंकलाई डिबेन्ञ्चर जारी नगरेपनि भयो । यसले लागत घटाउँछ । सीडी रेसियो हटाएर एलसीआर मोडलमा जाने भनिएको छ । यसले जसको लिक्विडिटी कभरेज रेसियो बेटर छ, उसले बढी कर्जा दिन सक्ने भयो,’  बैंकहरू मारमा परेको हुँदा मौद्रिक नीति बैंकिङ क्षेत्रलाई जोड दिने गरी आएको उनी बताउँछन् । व्यवसायीलाई पनि उत्तिकै जोड दिएको बताउँदै उनले भने, ‘सेयर कर्जाको सीमा बढाएको छ, कस्टम लोनको ८० प्रतिशत र ३ करोड रुपैयाँ पुर्याएको छ । विगतमा आवश्यकताका आधारमा कडाइ गगरेको भएपनि अहिले कडाइ गर्दा अर्थतन्त्रको स्थिति झन् डामाडोल हुने भएकाले लचकता अपनाइएको छ । किनभने कर्जा गइरहेको छैन, कर्जा उठिरहेको छैन, त्यसलाई चलायमान गर्न खुकुलो नीति आएको छ ।’