सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि १० अर्ब निकासा
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब निकासा गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि शनिबार नौ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासको सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि छुट्याइएको रकम पहिलो त्रैमासमा निकासा गर्ने निर्णय मन्त्रिस्तरबाट भएको हो । 'सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित रकमलाई कार्यक्रम संशोधनमार्फत पहिलो त्रैमासिक कायम गरी विगत सातवटा त्रैमासमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैङ्कलाई सोधभर्ना उपलब्ध गराउन आज अर्थमन्त्रिस्तरीय निर्णय भएको छ', अर्थ मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । नेपाल राष्ट्र बैङ्कले लामो समयदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सरकारबाट पाउन सकेको थिएन । यो रकम निकासा भएसँगै कर्जा विस्तारका लागि थप सहज हुने अनुमान गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार कृषि तथा पशुपन्छी कर्जा रु पाँच करोडसम्म, महिला उद्यमशील कर्जा तथा स्टार्टअप उद्यम कर्जा २५ लाख रुपैयाँसम्म उपलब्ध गराउन सक्ने व्यवस्था छ । त्यसैगरी वैदेशिक रोजगारबाट फर्केका युवा तथा शिक्षित युवा परियोजनाका लागि २० लाख रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ । प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जाका रुपमा पाँच लाख रुपैयाँ बराबर कर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ । बैङ्क तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने यस्तो सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानीका लागि सरकारले अनुदान उपलब्ध गराउँदै आएको छ ।
गाउँमा भन्दा शहरमा चर्चित छ पक्कु, ब्राण्डमा जोड्दै प्रेसिडेन्ट
शंकर भण्डारी नेपालीहरूको महान चाड विजयादशमी अर्थात् दशैं । नेपाली आत्माको सामूहिक उत्सव नेपालीहरूको जीवनमा यो पर्व धार्मिक संस्कार मात्र होइन, आत्माको गहिरो अभिव्यक्ति र परिवारसँग बाँडिने खुशीको साझा उत्सव हो । दशैं भन्नासाथ हरेक नेपालीको मनमा उही दृश्य उभिन्छ । गाउँले चुलोको धुवाँ, घर आँगनमा लिपेको कमेरो, रातो माटोको सुवास, खेतबारीका ताजा फलफूल, काँक्रामा परेको खर्सी, रङ्गीचङ्गी फूल, टीका र जमरा, देवीदेउराली र छत्रमा पूजा, धुपबत्तीको धुवाँ, बाजागाजाको ताल, नाचगानको रमाइलो र आमाको हातबाट बनेका परिकार। गाउँमा हुर्केका पुस्तालाई दशैं भन्नासाथ बाल्यकालका मीठा स्मृतिहरू जाग्छन् । बिहानैदेखि भजनकीर्तन, देवीदेवताका नाममा आराधना, भाकलपूजा, भागवतपाठ, आँगनमै जमेको परिवार र छिमेकी, चौपारीमा हल्लिएको लिङ्गे पिङ । यी सबै क्षण केवल धार्मिक संस्कार थिएनन्, सामूहिकतामा खुशी बाँड्ने अवसर पनि थिए । दशैंको अर्थ नै परिवार, गाउँ, र समाजलाई एकसाथ बाँध्ने धागो हो । खसी–बोकासँग जोडिएको सामाजिक आयाम दशैं आयो भने गाउँघरमा खसी–बोका काट्ने दृश्य अझै पनि आँखाअघि झल्किन्छ । तर त्यो मासु सबैका लागि सजिलै उपलब्ध थिएन । धेरैले दुःख गरी पैसा जम्मा गरेर दशैंमा मात्रै एउटा खसी काट्न सक्थे । महिलाले भाकल छुनै नहुने, प्रसादका रूपमा मासु खान नहुनेजस्ता विभेदकारी परम्परा पनि प्रचलित थिए । तर त्यही समाजभित्रै परम्पराले दिएको एउटा अद्भुत खजाना थियो, मासुलाई लामो समयसम्म सुरक्षित राख्ने कला । आज फ्रिज, चिस्यान वा आधुनिक संरचना नभएको त्यतिबेला पुर्खाले प्रयोग गरेको उपाय नै थियो । तोरीको तेल वा घ्यूमा मसला हालेर मासु बिस्तारै आगोमा पकाउने र सुरक्षित राख्ने । यही बुद्धिमानीले जन्म दियो पक्कु भन्ने परिकारलाई । बाल्यकालमा दशैंसँग गाँसिएको पक्कुको सुवास अझै पनि जीवित छ । दशैं सकिए पनि तिहारसम्म पक्कु घरमा हुन्थ्यो । बिहान वा बेलुकी भाँडाबाट थोरै निकालेर तताउने, परिवारसँग बाँड्ने त्यो स्वाद मात्र होइन, त्यो सामूहिकता नै हाम्रो संस्कृतिको आत्मा थियो । पक्कु मासुको परिकारमा मात्रै सीमित नभई, त्यो परिवार, सामूहिकता, बचत र आत्मनिर्भर जीवनशैली पनि हो । परम्परागत स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने प्रेसिडेन्टको संकल्प समयसँगै शहरमा जनसंख्या बढ्यो, आधुनिक परिकार म:म:, पिज्जा, बर्गर, केएफसी जस्ता डिश र फास्टफुडले बजार ओगट्न थाले । तर मौलिक स्वाद हराउँदै गएको देख्दा हाम्रो मनमा संकल्प जाग्यो । गाउँमा सीमित परम्परालाई शहरमा ल्याउने, यसलाई व्यवस्थित ब्रान्डमा रूपान्तरण गर्ने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पक्कु चिनाउने । यही सोचका साथ २०८१ साल असोज १७ देखि २१ गतेसम्म प्रेसिडेन्ट सेकुवाले नेपालमै पहिलो पटक ‘पक्कु फेस्टिवल’ आयोजना गर्यो । सुरुमा धेरै शंका उठे । शहरबासीलाई पक्कु मन पर्ला ? बर्गर र पिज्जामा रमाउने युवाले यसलाई स्वीकार्लान ? तर हाम्रो विश्वास दृढ थियो । यो परिकार मात्र होइन, आत्मीयता र भावनाको पुनर्जीवन पनि हो । पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखे । दैनिक सातवटा खसी बराबरको मासु प्रयोग भयो । कतिपय दिन त माग धान्नै गाह्रो भयो । कतिपय पाहुनाले लामो समय पर्खनुपरे पनि उहाँहरूको धैर्यले हामीलाई ऊर्जा थप्यो । सबैभन्दा भावुक क्षण तब आयो, जब पक्कुको स्वाद लिन आएका अधिकांश पाहुनाले आँखा रसाउँदै भने, 'यो स्वाद आमाको हातको स्वाद जस्तै रहेछ । मेरी आमाले मलाई सानोमा घरमा बनाइदिनुहुन्थ्यो । मलाई त्यो बालापन, गाउँघर र आमाको सम्झना आयो । मलाई गाउँ फर्किएझैं लाग्यो ।' त्यो एक वाक्यले पुष्टि गर्यो, हाम्रो प्रयास केवल व्यापार होइन, हराउँदै गएको स्मृतिलाई पुनर्जीवित गर्ने अभियान हो । त्यो क्षणले हामीलाई अझै ठोस यात्रामा अघि बढ्न प्रेरित गर्यो । पक्कु फेस्टिवल : परम्परा र आधुनिकताको संगम पहिलो अनुभवको सफलताले हिम्मत थप्यो । त्यसैले २०८२ सालमा पनि प्रेसिडेन्ट सेकुवाले पक्कुलाई परम्परा र आधुनिकताको संगमको रूपमा जोड्न प्रयत्न गर्दै छ । यसपटक पनि पाँच दिन लामो फेस्टिवल हुनेछ । करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य रहेको छ । यसपटक पक्कुमा विविधता थपिएको छ । जस्ताेकि तोरीको तेलमा पकाइएको पारम्परिक पक्कु, घ्यूमा बनेको विशेष पक्कु, युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, प्रेसिडेन्ट सेकुवा, नदीका लोकल माछा, अन्य रैथाने र परम्परागत साकाहारी परिकार । साथै पुरातात्विक चिनारीको प्रदर्शन, लिङ्गे पिङ, र सांस्कृतिक कार्यक्रमले वातावरणलाई अझै रमाइलो बनाउनेछ । हामीलाई विश्वास छ, खानामा संस्कृतिको आत्मा बस्छ । पक्कु केवल परिकार होइन, सामूहिकता, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो । हरेक नेपालीले चाखेको स्वादभित्र एउटा कथा, एउटा पहिचान, एउटा स्मृति लुकेको हुन्छ । हाम्रो उद्देश्य स्वाद मात्र होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने, हराउँदै गएको परम्परा पुनर्जीवित गर्ने र नेपाललाई पाककलाको नक्सामा चिनाउने हो । पक्कु : अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध पक्कु फेस्टिवल केवल खानाको प्रदर्शनी मात्रै होइन । यसले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्याएको छ । गत वर्ष देखिएको सकारात्मक प्रभावलाई आधार बनाएर यसपटक १२ हजार भन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ । यसले स्वादको अनुभव मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउनेछ । नेपालमा रहेका अन्य होटल तथा रेस्टुरेन्टले समेत यसबाट प्रेरणा लिनेछन् । प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो पाइला राखिसकेको छ । अब पोखरा र विराटनगर जस्ता प्रमुख शहरमा पक्कु र सेकुवाको स्वाद पुर्याउने तयारी भइरहेको छ । दीर्घकालीन लक्ष्य अझ ठूलो छ, अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिवल आयोजना गर्ने । हाम्रो सपना छ, विदेशिएका नेपालीले जहाँ भए पनि आफ्नै देशको स्वाद पाउन सकून्, र विदेशी पाहुनाले नेपाललाई हिमाल मात्र नभई स्वाद र संस्कृतिको देशका रूपमा अनुभव गर्न सकून् । पक्कु : एक मौलिक स्वाद र प्रेसिडेन्टको पहिचान पहिलो फेस्टिवलको अन्तिम रात, थाकेको शरीर तर हलुका मनसहित हामीले महसुस गर्यौं, गाउँमा खाएको पक्कुको स्वाद हजारौं पारखीहरूसँग बाँड्न सक्यौं । त्यो क्षणले देखायो, यो व्यवसायिक कदम होइन, संस्कृतिको पुनर्जीवन हो । आज हामी निश्चिन्त भई भन्छौं, पक्कु फेस्टिवल केवल महोत्सव होइन, यो मौलिक स्वाद र नेपालीको पहिचान हो । परम्परा जोगाउने, संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने, र नेपाललाई पाककलाको विश्वमा स्थापित गर्ने अभियान हो । हामीलाई विश्वास छ, यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौं भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ । यो प्रेसिडेन्ट सेकुवाको नाममा मात्र होइन, प्रत्येक नेपाली किसान, व्यवसायी, सेयर सदस्य र उपभोक्ताको साझा सपना हो । त्यसैले म सम्पूर्ण नेपालीलाई यो पक्कु अभियानमा सहभागी हुन आह्वान गर्दछु कि पक्कुको स्वाद लिन, यसको मौलिकता र कथा बाँड्न, र हाम्रो सामूहिक स्मृतिलाई भविष्यसम्म जोगाइराख्न । पक्कु लगायत हाम्रा विभिन्न पर्वसँग जोडिएका परम्परागत खाना केवल एउटा परिकार होइनन्, यी त हाम्रो सामूहिक स्मृति, हाम्रो पहिचान, र हाम्रो भविष्य समेत हुन् । (लेखक टीआर भण्डारी (शंकर) पर्यटन व्यवसायी र प्रेसिडेन्ट ग्रुपका अध्यक्ष हुन्)
रविको मुद्दा चलेका सबै अदालत खरानी, योजनाबद्ध आक्रमण भएको अंकगणितीय पुष्टि
पुस्कर कोइराला गत २३ गतेको जेनजी प्रदर्शनमा क्रममा राज्यले गरेको दमनको प्रतिकार स्वरूप २४ गते देशभर आगजनी भयो । प्रदर्शनकारीहरूले देशभरिका विभिन्न सरकारी कार्यालयहरूसँगै विभिन्न अदालत समेत आगजनीमा परे । देशभरका ७७ वटा जिल्ला अदालतमध्ये १० अदालतहरू आगजनी भएका छन् । यसरी आगजनी भएका अदालतको विश्लेषण गर्दा एउटा तथ्यमा विचार गर्नुपर्ने देखिन्छ । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सहकारी ठगी सम्बन्धी मुद्दा ५ जिल्ला अदालतमा चलिरहेका थिए । ती अदालतहरूमा काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालत थिए । १० अदालत जल्दा लामिछाने विरुद्ध मुद्दा चलिरहेका सबै अदालत जलेका छन् । अब लामिछानेको सहकारी ठगी मुद्दा रहेर पनि जल्न बाँकी जिल्ला अदालत छैनन् । उनको मुद्दा नभएका केही थप अदालतहरूमा मात्र आगजनी भएका देखिन्छ । यसले रवि लामिछानेका विचाराधीन मुद्दा भएका ५ वटै अदालतहरू कसरी जले ? के त्यो संयोग मात्र थियो वा नियोजित थियो ? १० जलेका अदालतहरूमा रवि लामिछानेका मुद्दा रहेको १०० प्रतिशत अदालत कसरी कसरी परे भन्ने प्रश्न उठाउँछ । यस्तो घटना पूर्णत संयोगवश भएको मान्नेहरू पनि छन् । यस्तो संयोगको सम्भावना कति हुन्छ ? तथ्यगत विश्लेषण गर्नु उपयुक्त हुन्छ । यो घटनाको विश्लेषणका लागि हाइपरज्यामितीय सम्भाव्यता मोडेल उपयुक्त छ । किनभने देशभर अदालतहरूको कुल संख्या सीमित छ, ७७ वटा । 'सफलता’ अर्थात् रवि लामिछानेका मुद्दा भएका अदालतहरूको संख्या निश्चित छ, ५ वटा । जलाइएका अदालतहरूको नमूना (१० वटा) कुल संख्याबाट छनोट गरिएको हो र एउटै अदालत दोहोर्याएर जलाउन सकिँदैन । हामीले यही नमूना भित्र सबै ५ वटा “सफलता“ पर्ने सम्भावना खोजिरहेका छौं । सजिलोसँग बुझ्न अर्को एक उदाहरणलाई हेरौं । मानौं एउटा भाँडोमा जम्मा ७७ वटा बल छन् । ती मध्ये ५ वटा रातो बल छन् (रवि लमिछानेका मुद्दा भएका अदालत) । बाँकी ७२ वटा सेता बल छन् (रवि लमिछानेका मुद्दा नभएका अदालत) । अब आँखामा पट्टि बाँधेर भाँडोबाट १० वटा बल निकाल्न भनियो (१० अदालत जलाइयो) । त्यो ७७ बटा बलको पोकोबाट १० बटा बल निकाल्दा के सबै ५ वटा रातो बल (लमिछानेको मुद्दा भएका अदालत अदालत) पनि निस्कन्छन् ? अंकगणितले यसो भन्छ । यदि ७७ वटा अदालतहरूमध्ये १० वटा अदालतहरू अनियमित रूपमा जलाइएको भए, रवि लामिछानेका मुद्दा भएका सबै ५ वटै अदालतहरू ती जलेका १० अदालतभित्र पर्ने सम्भावना कति थियो ? यस्तो अवस्थामा सामान्य गणितीय हिसाबले हाइपरज्यामितीय सम्भाव्यता गणना गर्दा यस्तो घटनामा यस्तो संयोग पर्ने सम्भावना ०.००००७८ प्रतिशत हुन आउने रहेछ । अर्थात १२ लाख ८० हजार मध्ये १ अर्थात शून्य बराबर । गणनाले देखाएको अत्यन्त न्यून सम्भावना (करिब १२ लाख ८० हजार मा १ पटक मात्र) ले यो प्रष्ट बनाउँछ कि ७७ वटा जिल्ला अदालतमध्ये जलेका १० अदालत संयोगवश मात्र छानिएको भए, सबै ५ वटा रवि लमिछाने सम्बन्धित अदालत जल्ने घटना पर्न असम्भव थियो । हाइपरज्यामितीय विश्लेषणले यो देखाउँछ कि रवि लामिछानेका सबै ५ वटै मुद्दा भएका अदालतहरू संयोगवश जल्ने सम्भावना अत्यन्तै न्यून छ । यद्यपि गणितले संयोगलाई पूर्णरूपमा नकार्दैन । यद्यपि तथ्याङ्कीय असम्भाव्यताले मात्र जानाजानी निशाना बनाइएको प्रमाणित गर्न सक्दैन । यो एक सामान्य अंकगणितबाट देखिएको असामान्य नतिजा मात्र हो । गणितीय रुपमा असम्भव जस्तै देखिएको यस्तो घटना कतै योजनाबद्ध ढंगले वा लक्षित उद्देश्यका कारण भएको त हैन ? यसबारे थप अनुसन्धान हुन आवश्यक देखिन्छ ।