जेनजी आन्दोलनले एमालेलाई ३ अर्बको क्षति, ९४ कार्यालयमा आगजनी

काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा नेकपा एमालेका केन्द्रीय कार्यालयदेखि ६९ जिल्ला, सातै प्रदेश कार्यालय, केही पालिका र वडा कार्यालयसहित ९४ भन्दा धेरै कार्यालयहरूमा क्षति पुगेको छ ।  आक्रोशित भीडको निशानामा परेको ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय पूर्ण रूपमा क्षति भएको छ । नेकपा एमालेका देशैभरिका धेरै कार्यालयहरूमा आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेको पार्टीका संगठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उक्त आन्दोलनमा परेर नेकपा एमालेको करिब ३ अर्ब रुपैयाँ बराबरका भौतिक संरचनामा अनुमानित क्षति भएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुसार यो प्रारम्भिक अनुमान मात्रै हो । क्षतिको आँकडा अझै धेरै बढ्न सक्छ । भौतिक क्षतिको त अनुमान गर्न सकिएला तर अभिलेखहरूको विनासले अपुरणीय क्षति पुगेको ती नेताले बताए । पछिल्लो जेनजी आन्दोलन सुरुमा शान्तिपूर्ण नाराबाजीमा सीमित थियो । आन्दोलनले हिंसात्मक स्वरूप लिँदै जादा युवा आक्रोशले पार्टी संरचनालाई निशाना बनायो । केन्द्रीय कार्यालयमा गरिएको आगजनीले पार्टीको अभिलेख, सदस्यता विवरण, वित्तीय हिसाबकिताब, पुस्तकालय र सूचना–प्रविधि उपकरण नष्ट भएको दलको इतिहास र सञ्चालन एकैपटक हराएको ढुङ्गेलले बताए । प्राविधिक मूल्यांकन अनुसार करिब तीन अर्ब रुपैयाँको क्षति देखिएको छ ।  तर, असली असर भने संगठनात्मक उपस्थिति र जनविश्वासमा परेको छ । कार्यालयहरु नष्ट हुँदा पार्टीका स्थानीय सम्पर्क केन्द्रहरू ठप्प भएका छन् । त्यसमाथि पार्टीका अन्य रचनात्मक कार्यमा लाग्नुपर्ने नेता कार्यकर्ता पार्टी कार्यालय खोज्न वा नवनिर्माणमा लाग्नुपर्ने अवस्था आएको छ । धेरै जिल्लामा अस्थायी टेन्ट, भाडाको कोठा वा नेताहरूको निजी घरबाट गतिविधि चलाउन बाध्य हुनुपरेको संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।  यो घटना केवल तत्कालीन प्राविधिक चुनौती मात्र नभएर दीर्घकालीन संगठनात्मक संकट सृजना गर्ने उद्देश्यले अभिप्रेरित रहेको एमालेको ठहर छ । एमाले सचिव गोकर्ण विष्ट यस आक्रमणले एमालेलाई अझ बलियो बनाएको बताउँछन् । यस आक्रमणलाई उपमहासचिव प्रदीप ज्ञवालीले नियोजित प्रहारको संज्ञा दिएका छन् । यो प्रहार एमाले सिद्याउने उद्देश्य प्रेरित रहेको ज्ञवालीको ठहर छ ।  ‘एमाले जनताको पार्टी हो, यसलाई कसैले सकाउने दुस्वप्न नदेखे हुन्छ,’ ज्ञवाली भन्छन्, ‘एमाले फोनिक्स चरी हो जो खरानीबाट जुरुक्क उठ्छ । र अझ जवान र सक्रिय हुन्छ ।’ तर केही राजनीतिक विश्लेषकहरूको दृष्टिमा यो आन्दोलनले दिएको सन्देश केवल विध्वंसमा मात्रै सीमित छैन । युवापुस्ताको पुराना दलप्रति गुमेको विश्वासको रूपमा पनि बुझ्नु पर्ने विश्लेषकहरूको मत रहेको छ ।  एमाले केन्द्रीय सदस्य विष्णु रिजाल यो क्षतीलाई परिपूरण गर्न नसके पनि पार्टीका संरचनाहरूमा भएको विनाशलाई पुराना राजनीतिक संरचनालाई सुधार्न बाध्य बनाउने चेतावनीको रूपमा बुझेर अगाडि बढ्नुको विकल्प नरहेको बताउँछन् । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे एमाले अब एकैपटक तीन मोर्चामा उत्रन बाध्य भएको बताउँछन् । उनका अनुसार एमालेले तत्कालै तत्कालीन भौतिक पुनःनिर्माणका लागि ‘पुनःनिर्माण कोष’ स्थापना गर्दै पार्टीका भौतिक संरचना निर्माणमा लागि हाल्नुपर्ने अवस्था आएको छ ।  आगामी निर्वाचनको तयारीमा पनि आजैबाट गर्नुपर्ने पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पाण्डे बताउँछन् ।  कहाँ कस्तो क्षति ? एमालेले आफ्ना विभिन्न कार्यालयमा भएको क्षतिको विवरण संकलन गरिरहेको छ । संगठन विभाग सचिवसमेत रहेका एमाले नेता माधव ढुङ्गेलका अनुसार सातै प्रदेशका अध्यक्षहरुले आआफ्नो प्रदेश मातहत रहेका कार्यालयहरुमा भएको क्षतीको बिवरण तयार गरिरहेका छन् ।  ढुङ्गेलले भने, ‘सम्भवतः आज अबेर रातिसम्म क्षतिको प्रारम्भिक विवरण एमाले केन्द्रीय कमिटीमा आइपुग्छ ।’ प्रदेश अध्यक्ष तथा नेताहरूले दिएको जानकारीअनुसार मधेश प्रदेशमा एमालेका संरचनामाथि धेरै आक्रमण भएको छ । एमाले मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलका अनुसार मधेश प्रदेश पार्टी कार्यालय पूर्णरूपमा क्षति भएको छ । धनुषा जिल्ला कार्यालय पनि शतप्रतिशत जलेको छ ।  महोत्तरी र सिराहामा प्रदर्शनकारी पुग्नु पहिले नै एमालेका स्थानीय नेता/कार्यकर्ता पार्टी कार्यालयमा पुगेर आन्दोलनकारीलाई रोक्न सकेकाले कार्यालय जोगाउन सकिएको मण्डल बताउँछन् । मधेश प्रदेशका आठ जिल्लामध्ये ६ जिल्लाका पार्टी कार्यालय, एक प्रदेश कार्यालय, १० पालिका कार्यालयमा आगजनी र तोडफोड भएको उनले जानकारी दिए । सुदूरपश्चिमको पनि प्रदेश कार्यालय चार जिल्लाका कार्यालयमा तोडफोड र आगजनी भएको प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । कैलाली, कन्चनपुर, दार्चुला र बैतडीका जिल्ला पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ भने झुलाघाटको स्मारक पनि भत्काइएको छ । कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार झापा, मोरङ, सुनसरी, उदयपुर, तापलेजुङ र इलामका जिल्ला कार्यालयसहित प्रदेश कार्यालयमा पूर्ण आगजनी र तोडफोड गरिएको छ । यस्तै, इटहरी, धरान उपमहानगरपालिका कमिटीका कार्यालय पनि नष्ट भएको छ । खतिवडाका अनुसार कोशीमा ६ जिल्ला कार्यालय, एक प्रदेश कार्यालय, १० पालिका कार्यालय र १० भन्दा धेरै वडा कार्यालय भत्काइएको वा आगो लगाइएको छ । बागमतीको भक्तपुरमा एमालेको आफ्नो कार्यालय नभएर भाडाको घर भएकोले आगलागीबाट जोगिएको एमाले बागमतीका अध्यक्ष कैलाश ढुङ्गेलले जानकारी दिए । उनका अनुसार रामेछापमा नयाँ भवनमा सरी नसकेकोले उक्त भवन पनि नष्ट हुनबाट जोगिएको छ । च्यासलमा रहेको प्रदेश कार्यालयसहित काठमाडौं, ललितपुरका जिल्ला कार्यालय जलाइएका छन् । चितवन, मकवानपुरका जिल्ला कार्यालय ध्वस्त भएको ढङ्गेलले बताए । उनका अनुसार बनेपाको कार्यालय पनि जलाइएको छ । गण्डकी प्रदेशमा कास्की जिल्ला कार्यालयसहित तनहुँ, गोरखा, स्याङ्जा, नवलपुर म्याग्दीका जिल्ला कार्यालय पूर्ण रूपमा क्षति भएको एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले जानकारी दिए ।  गण्डकीमा पोखरा उपमहानगर पार्टी कार्यालय र प्रदेश कार्यालय पनि पूर्ण क्षति भएका छन् । यस्तै, गण्डकीमा ४ वटा वडा कार्यालय पनि जलाइएको छ । लुम्बिनी र कर्णालीमा पनि एमालेका थुप्रो संरचनामा आक्रमण भएको ती प्रदेशका नेताहरूले जानकारी दिएका छन् । एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार पाल्पा, रुकुम, रोल्पाका जिल्ला कार्यालयबाहेक अरू सबै जिल्लाका पार्टी कार्यालय जलाइएको छ । प्रदेश कार्यालयसहित ९ वटा जिल्ला कार्यालय र ४ पालिका कार्यालय र ९ वडा कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको छ । कर्णालीमा पनि सुर्खेतमा रहेको प्रदेश कार्यालयसहित सुर्खेत, जुम्ला, कालीकोट जिल्ला कार्यालयमा आगजनी भएको कर्णालीका एमाले नेता टेकराज पछाईले जानकारी दिए ।  

आफू ‘घरविहीन’ बनेर पनि अरूलाई सम्हाल्दैछन् गभर्नर, कोर्दैछन् अर्थतन्त्र सुधारको मार्गचित्र

काठमाडौं । भदौ २६ गते गभर्नर डा. विश्व पौडेलले सामाजिक सञ्जाल फेसबुकमा दुइटा भावुक र मर्मस्पर्शी स्टाटस राखे । जेनजी आन्दोलनमा दुइटै घर आगजनी भएको भन्दै आफू आफन्तको शरणमा पुगेको स्टाटससहितको आगजनीको भिडियो उनले फेसबुकमा राखे । त्यो स्टाटस र भिडियोले अधिकांशको आँखा रसायो, भिडियो हेर्नेले आगजनी गर्नेलाई सरापे । गभर्नर पौडेलले पोष्ट गरेका दुइटै भिडियोलाई लाखौंले हेरेका छन्, हजारौंले आफ्नो प्रतिक्रिया दिएका छन् ।  गभर्नर पौडेलाक अनुसार जेनजी आन्दोलनकर्ताहरुले भदौ २४ गते गभर्नर पौडेलको भैँसेपाटीस्थित घरमा आगजनी गरे भने चितवनमा रहेको घरमा तोडफोड गरे । दुइटै घर नष्ट भएपछि उनले बस्ने बासस्थान पाएनन्, उनी आफन्तको शरणमा पुगे । उनले स्टाटसमा भनेका छन्, ‘ढुङ्गा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिया बुढी आमाको सुत्ने कोठा हो । उहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो, मेरो बुबाले १५ वर्षअघि म विद्यार्थी हुँदा यो घर बनाउनु भएको हो, बुबा पनि ८७ वर्षको हुनु भयो, जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस ।’ उनले सोही दिन भैसेपाटीको घर जल्दै गरेको अर्को भिडियोसहितको स्टाटस राखे । आफू राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर जलाउँदा शरणार्थी भएर बस्नु परेको दुखेसो पोखे ।  उनले आफ्नो दुइटै घर आगजनी हुँदा शरणार्थी बनेको गुनासो गरेका छन् । गभर्नर पौडेलको मात्रै होइन जेनजी आन्दोलनले धेरै नेताहरु तथा व्यवसायीहरुको घर तथा निजी कम्पनी ध्वस्त भए ।  देशको अर्थतन्त्रको बागडोर सम्हालिरहेका गभर्नर डा. पौडेल अहिले ठूलो सकसमा छन् । किनकी आफ्नो परिश्रमले बनाएको घर नष्ट भएको छ । वर्षौं वर्ष मिहिनेत गरेर जोडेको करोडौंको सम्पत्ति खरानी बनेको छ । कुनै पनि पुस्तकालयमा खोजेर पनि नपाइने महत्वपूर्ण पुस्तकहरु आगजनीमै परेर विलिन भएका छन्  । करोडौंको सम्पत्ति गुमाएका गभर्नर पौडेललाई आफ्नो पीडाभन्दा अरुको पडा सुन्न फुर्सद छैन ।  अहिले गभर्नर पौडेल आफ्नो पीडालाई लुकाएर अरूको सकस सुनिरहेका छन् । उनले जेनजी आन्दोलनकर्ताहरुले दिएको पीडा मनभित्र दबाएर उद्योगी व्यवसायी र बैंकरको मर्म सुनिरहेका छन् । मिहिनेतले बनाएको घर दनदनी जलेको दृश्यलाई भुलेर उनी देशको अर्थतन्त्र सुधारको उपचार खोजिरहेका छन् । जेनजी आन्दोलनकारीहरुले धेरै व्यवसायीहरुका व्यावसायिक कम्प्लेक्स ध्वस्त पारे । बैंक तथा वित्तीय संस्थाका शाखा तथा एटीएम आगजनी तथा तोडफोड गरे । आफ्नै दुइटै घर ध्वस्त भएको पीडा सम्हाल्दै गभर्नर पौडेल प्रदर्शनकारीले आगजनी गरेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गर्न पुगे ।  यहीबेला उनी प्रदर्शनकारीले ध्वस्त बनाएका उद्योगी व्यवसायीहरूका व्यावसायिक कम्प्लेकसहरुका कहानीहरु सुनिरहेका छन् । सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा उपस्थित भएका गभर्नर पौडेलको मलिन अनुहार धेरैका लागि असह्य बन्यो ।  आफ्नो पीडालाई लुकाएर उनी अर्थतन्त्र सुधारको बाटो बोलिरहेका छन् । बिग्रिएको अर्थतन्त्र सुधारको मार्गचित्र प्रस्तुत गरिरहेका छन् । आफ्नो पीडालाई मनभित्रै दबाएर उनी अरुलाई सान्त्वना दिइरहेका छन् ।  उनको पीडा उद्योगी व्यवसायी र बैंकरले पनि महसुस गरेका छन् । संघर्ष र मिहिनेत गरेर खोने एक जना प्रोफेश्नलका लागि यो आगजनी असह्य नै हुन्छ । ‘जेनजी आन्दोलनपछि गभर्नरज्यूले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभयो । उहाँ एकदमै चिन्तित हुनुहुन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले भने । गभर्नर पौडेलले सोमबार अर्थमन्त्री खनालको पदभार ग्रहण कार्यक्रममा राष्ट्र बैंक यो अवस्थामा सकेसम्मको सहयोग गर्न तत्पर रहेको सुनाए । उनले आन्दोलनबाट बिग्रिएको मनोबल बढाउन आवश्यक रहेको धारणा राखे ।  नेपाल राष्ट्र बैंक सधैं अर्थमन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै उनले अर्थमन्त्रालयलाई चाहिने सहयोग राष्ट्र बैंकले गर्ने बताए भने आगामी दिनमा आत्तिनु नपर्ने अवस्था रहेको पनि सुनाए ।  सवा २ करोडको घर ध्वस्त नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि गत असारमा गभर्नर पौडेलले आफूसँग भएको सम्पत्ति सार्वजनिक गरेका थिए । उनले ललितपुरमा १ करोड ५५ लाख मूल्य पर्ने घर रहेको सार्वजनिक गरेका थिए । अहिले सोही घर आन्दोलनकारीले ध्वस्त बनाएका छन् ।  त्यस्तै ६० लाख रुपैयाँ मूल्यांकन गरिएको चितवनमा रहेको उनको घर पनि आन्दोलनकारीले तोडफोड गरेका छन् । यो आन्दोलनमा उनले सवा २ करोड रुपैयाँ मूल्य पर्ने घर गुमाएछन् । घरभित्रका सम्पत्ति पनि सँगै विलिन भएका छन् ।  राष्ट्र बैंकले बनायो संयन्त्र गभर्नर पौडेले आफ्नो करोडौंको सम्पत्ति गुमाए पनि उनी अर्थतन्त्र सुधारको मार्गचित्र कोरिरहेका छन् । जेनजी आन्दोलनबाट बैंकिङ क्षेत्रमा भएको नोक्सानीको विवरण माग गरिरहेका छन् । उनका अनुसार जेनजी आन्दोलकर्ताहरुले बैंकहरुका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुर्याएको छ ।  जेनजी आन्दोलनबाट निजी क्षेत्रमा के कस्ता समस्या निम्तिएका छन् र अब राष्ट्र बैंकले कसरी सहजीकरण गर्नुपर्छ भनेर संयन्त्र तयार पारेका छन् । राष्ट्र बैंकले बैंकहरुसँग समन्वय गर्न बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई फोकल पर्सन तोकेको छ । यस्तै, उद्योगी व्यवसायीका पीडा र गुनासो सुन्न भुक्तानी विभाग प्रमुख कार्यकारी निर्देश किरण पण्डितलाई जिम्मेवारी दिइएको छ ।   ‘राष्ट्र बैंकले छुट्टाछट्टै फोकल पर्सन तोकेर डेस्क तयार पारेको छ । अहिलेको समयमा बैंक पनि संयमित हुनुपर्याे र निजी क्षेत्रले उच्च मनोबल लिएर अगाडि बढ्नुहोस् भनेर गभर्नरले भन्नु भएको छ । राष्ट्र बैंकको तर्फबाट हरसम्भव कोशिस गर्ने उहाँले आश्वासन दिनु भएको छ,’ निजी क्षेत्रसँगको छलफलमा सहभागी एक उद्योगीले भने ।  राष्ट्र बैंकले तयार गरेको संयन्त्रले काम गर्न सुरु गरिसकेको बताइएको छ । राष्ट्र बैंकले जारी गर्ने निर्देशिका र कडा भएका व्यवस्थालाई सहजीकरणमा उनीहरुले भूमिका निर्वाह गर्नेछन् । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल आन्दोलनबाट क्षति भएका उद्योगी व्यवसायीहरूलाई रिफाइनान्सको सुविधा दिनुपर्ने बताउँछन् । साथै, क्षति भएका संरचना पुन निर्माणका लागि सरकारले निब्र्याजी रकम उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।  ‘राष्ट्र बैंकले पीडित उद्योगी व्यवसायीलाई कर्जालाई रिस्ट्रक्चरिङ, रिसेड्यूलको सुविधा दिनुपर्छ । राहतको व्यवस्था गर्नुपर्छ । अब पुननिर्माणमा लागेको रकमका लागि वा पुरानै अवस्थामा फर्काउन सरकारले निब्र्याजी रकम उपलब्ध गराउनुपर्छ,’ उनले भने ।  राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देश किरण पण्डित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीसँग भेटमा आन्दोलनबाट कस्तो प्रभाव पर्याे, कस्तो अवस्था छ भन्ने विषयमा छलफल भएको बताउँछन् । सम्बन्धित विभागले सम्बन्धित क्षेत्रसँग समन्वय गर्ने काम हुने भएकाले क्षतिको विवरण संकलनका लागि संयन्त्र नै तयार नगरिएको उनले बताए । ‘छलफलमा समन्वय गरिरहेका हुन्छौं । निरन्तर संवादमा बस्ने र के गर्न सकिन्छ भनेर छलफल भएको हो । उद्योगी व्यवसायीका सुझाव वा अप्ठेरा विषयमा राष्ट्र बैंक जहिले पनि खुला छ । प्रतिवेदन तयार पार्ने गरी संयन्त्र नै गठन भएको होइन,’ उनले भने ।  क्षतिको विवरण आउन बाँकी रहेकाले राष्ट्र बैंकले दिन सक्ने सुविधा के–के हुन भनेर अहिले नै भन्न नसकिने उनले बताए । किनभने क्षतिको विवरण आउन पर्ने हुन्छ । समस्या पहिचान पछि मात्रै सुविधा दिने विषयमा छलफल हुन्छ,’ उनले भने, ‘उहाँहरूलाई राज्यको सबै निकायबाट सहयोग चाहिन्छ । उहाँहरु पनि डिस्टब्र्ड हुनुहुन्छ ।’   

गण्डकी प्रदेशमा एक अर्ब १३ करोडभन्दा बढीको बीमा दाबी, हिमालयन एभरेष्टमा सबैभन्दा धेरै

काठमाडौं ।  जेनजी प्रदर्शनीका क्रममा भएको क्षतिबाट गण्डकी प्रदेशमा एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गण्डकी प्रदेशमा १२  निर्जीवन बीमा कम्पनीमा २०९ वटा दाबी परेको छ ।  प्राधिकरणको तथ्यांकअनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा दाबी परेको छ । ५० करोड रुपैयाँको ९ वटा दाबी परेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा ३५ करोड रुपैयाँको ५० वटा दाबी परेको तथ्यांक छ । राष्ट्रिय बीमा कम्पनीमा सात करोड रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच करोडको दाबी परेको छ । नेको इन्स्योरेन्स कम्पनीमा चार करोड ४५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा तीन करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा दुई करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा दुई करोड दाबी परेको छ । त्यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा तीन करोड १५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीमा ८० लाख रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनीमा ७५ लाख रुपैयाँ, नेपाल माइक्रोको इन्स्योरेन्सको ५ वटा पोलिसी २५ लाख दाबी परेको छ । १२ निर्जीवन बीमा कम्पनीमा हालसम्म कुनै दाबी परेको छैन । दाबी नपर्ने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र ट्रस्ट माइक्रो इन्स्योरेन्स हुन् ।