दसैँले रोग नबोकाओस्, अस्पतालको बास नहोस्

असोज महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैँको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने, पर्वका रुपमा स्थापित भएकाले सबैलाई एक सूत्रमा बाँध्छ । चाडपर्व भन्नेबित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्दछ । त्यसमा दसैँ र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ । बलि दिन, मजाले खान वा केटाकेटीको रमाइलो जेका लागि भए पनि प्रायःनेपालीको घर व्यवहारमा दसैँअघि नै जोहो गरिन्छ र मूल्य नभई पाउनु नै ठूलो मानिन्छ । दसैँ मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो । त्यसैले के बुढा, के बालक, हरेकको भान्साबाट मासुको बासना आउँछ । दसैँमा भुटुवा, पकुवा, कवाव र झोल हालेको मासु पकाइखाने गर्नुका साथै भुँडी, कलेजो, बोसेआन्द्रा, रकतीकान, हेकुलाको भरुवा पनि खाइन्छ तर हिजोआज समय तथा झन्झट व्यहोर्न नचाहनेले ससेज, सलामी, मिन्स, विगस, बेकोन आदिलाई स्न्याक्सको विकल्पका रुपमा प्रयोग गर्दछन् । नेपालमा प्रतिवर्ष २० करोड किलोग्रामभन्दा बढी मासु उत्पादन हुन्छ, जसमा प्रतिदिन करिब पाँच लाख ५० हजार किलो मासु खपत हुने सरकारी तथ्याङ्क छ । यसैगरी दैनिक करिब २० हजार किलो खसी, ४० हजार किलो राँगाको मासु काठमाडौँमै मात्र बिक्री हुन्छ । नेपालमा दिनहुँ कुखुराको मासु ८० हजार किलो बिक्री हुन्छ । नेपाली मासु बजारको ४० प्रतिशत बजार प्रशोधित मासुले लिइसकेको छ । नेपालमा सबैभन्दा बढी अर्थात् ७५ प्रतिशत मासु राँगा, भैँसी, नौ प्रतिशत खसीबोका र १६ प्रतिशत कुखुरा बङ्गुरको मासु खपत भएको देखिन्छ । मासु के हो ? मासु भन्नाले हामीले खाने गरेको चराचुरुङ्गी (कुखुरा, हाँस, परेवा, ढुकुर) पाल्तु जनावर (खसी, बोका, राँगो, सुँगुर), जङ्गली जनावर (बँदेल, हरिण, जरायो), पानीमा पाइने जन्तु (माछा, गगटा, भ्यागुता) आदिको मासु भन्ने बुझिन्छ । वैज्ञानिकद्वारा स्वस्थ जनावरलाई सफा ठाउँमा वध गरी तयार गरिएको, प्राकृतिक गुण र पौष्टिकताले भरिपूर्ण टाउको, घाँटी, पुच्छर, छाला, हाड र भित्री अङ्ग (कलेजो, फोक्सो, आन्द्राभुँडी आदि) बाहेकलाई खाद्य मासुको रुपमा परिभाषित गरिएको छ । नेपालमा भने रौँ, खुर, सिंह, ठूला, हड्डीबाहेक प्रायःसबै अङ्गलाई मासुसँग सम्बन्धित खाद्यवस्तु मान्ने गरिन्छ । छालादेखि आन्द्राभुँडी, फोक्सो, टाउकोसमेतबाट विभिन्न स्वादिष्ट परिकारहरु बनाउनु नेपाली पाक संस्कृतिको विशेषता नै हो तर छिट्टै बिग्रने खालका भित्री अङ्गको मासु ताजा, सफा र राम्ररी पकाइएको हुनुपर्दछ जसलाई पहिला उसिन्नु र मरमसला हाली पुनःपकाएर खानुपर्दछ, धेरै समय राख्नुहुँदैन । मासु प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ (आइरन, फस्फोस) र पानीको मिश्रणबाट बनेको हुन्छ तर पौष्टिक तत्वको अनुपात भने एकै किमिसको हुँदैन । मासुमा पाइने मुख्य पौष्टिक तत्व पूर्ण प्रोटिन हो । स्वास्थ्यका दृष्टिले मासुलाई पोसिलो खानेकुरा मानिन्छ । सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन, पाँच ग्राम चिल्लो पदार्थ, एक ग्रामभन्दा बढी खनिज पदार्थ, ६० ग्राम पानी तथा भिटामिन एवं लवणहरु हुन्छन् । त्यसैले दैनिक ३०–३५ ग्राम मासु खानाले हाम्रो शरीरलाई पुग्ने आवश्यक पौष्टिक तत्व सजिलै प्राप्त हुन्छ । हप्तामा एकपटक वा बल्ल तल्ल चाडबाडमा मात्र मासु खानेले अन्य समयमा गेडागुडी, दाल, दूध, पनिर आदि खाएर प्रोटिनको परिपूर्ति गर्नुपर्दछ । मासुको भण्डारण कसरी गर्ने ? ताजा मासु खाने नेपाली संस्कारलाई राम्रो मान्नुपर्दछ, माछा मासु चाँडो बिग्रने पदार्थ भएकाले लामो समयसम्म सुरक्षित राख्न मात्र डिपफ्रिजमा राख्नु पर्दछ । माछा मासुलाई फ्रिजमा राख्दा भाँडाको मुख प्लाष्टिक फवाइल वा सिल्भर फवाइलले बन्द गर्दा फ्रिजमा राखेका अन्य खाद्य पदार्थहरुमा मासुको गन्ध आउँदैन । मासु फ्रिजमा राख्दा ताजा काँचो मासुलाई वरफ जम्ने कोष्ठमा मात्र राख्नुपर्दछ । एउटै ठूलो ढिक्का मासु राख्नुको सट्टा काटकुट गरेरै ससाना पोको बनाइराख्दा निकाल्न सजिलो र पकाउन पनि छिटो हुन्छ । एक पटक उमालेको मासु टम्म बन्द नगरी हावा खेल्ने ठाँ दिएर बढीमा तीन दिनसम्म फ्रिजको सामान्य खानेकुरा राख्ने कोष्ठमा पनि राख्न सकिन्छ । फ्रिजमा हिउँको ढिक्का जस्तो भएको, विशेषगरी कुखुराको मासुलाई कम्तीमा गर्मीमा दुई घण्टा र जाडोमा छ घण्टा कोठाको तापमानमा राखेपछि मात्र पकाउनुपर्दछ । गर्मीयाममा झोल हालेर पकाएको मासु दुई घण्टाभन्दा बढी समय कोठाको तापमानमा राख्नु हँुदैन । पकाएको मासु फ्रिजमा राख्दा चाहिँ सेलाएपछि प्लाष्टिक वा ढक्कनले छोपेर राख्नु पर्दछ । ताततातै मासु खाँदा त्यसको गन्ध काँचो अण्डा वा वाफ सोस्ने अरु खाने कुराभित्र प्रवेश गर्न र ह्वास्स गन्हाउन सक्छ । मासुको गुणस्तर कसरी कायम राख्ने ? उपभोक्ताको घर, भान्छा र पकाउने भाँडामा आइपुगेञ्जेलसम्म पशुपक्षीको मासुको अवस्था कस्तो हुन्छ भन्नेमा ठूलो अन्योल छ मासु बजारमा । सामान्य उपभोक्ताले पशु स्वस्थ भए नभएको छुट्टयाउन सक्दैनन् । धेरैले मासु काटेको र ढुवानी गरेको पनि देख्दैनन् । त्यसैले बिक्री गर्ने ठाउँको सरसफाइका अवस्था र मासुको रुपरङ हेरेर मात्रै राम्रो नराम्रो भन्ने निर्णय गर्छन् । कुनै वैज्ञानिक जाँच वा परीक्षणभन्दा विश्वास नै हो नेपालमा बेचिने मासुको गुणस्तर मापनको आधार । उपभोक्तासम्म स्वस्थ र स्वच्छ मासु पु¥याउने दायित्व राज्यको हो । सरकारले जीवित पशुको स्वास्थ्य सुनिश्चित गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन र मासुको गुणस्तर सुनिश्चित गर्न पशु वधशाला तथा मासु जाँच ऐन र तत्सम्बन्धी नियमहरु बनाएको छ तर व्यवहारमा त्यति कार्यान्वयन भएका छैनन् । मासु बिक्री वितरणमा संलग्न अधिकांश निरक्षर छन् । यसले ऐन नियमहरु बुझेका छैनन् र सरकारले पनि बुझाउन सकेको छैन । तैपनि मासु व्यवसायी समितिद्वारा सरसफाईप्रति सचेत भई मासु बिक्री गर्ने ठाउँबाट पशुको मलमुत्र, रौं, हड्डी हटाउनुपर्ने, शिशा वा जालीको बाकसभित्र अन्य किटाणुले भेट्न नसक्ने गरी राखेर बेच्नुपर्ने, बिक्रेताले सफा एप्रोन लगाउनुपर्ने र बन्द बाकसमा राखेर वा सफा कपडाले छोपेर मासु ढुवानी गर्नुपर्ने चारबुँदे शर्त छन् । बजारबाट मासु किन्दा चाहिँ सधैँ सफा र विश्वासिलो मासु पसलबाट किन्ने गर्नु पर्दछ । राँगा, खसी प्रायः बिहान काटिने हुनाले मासु सधैँ बिहान किन्नु राम्रो हुन्छ । ताजा, दागहरु नभएको, बोसो नगलेको, गन्ध नआउने र नली हाडको भित्री भाग रातो भएको मासु छानेर किन्नुपर्दछ । कुखुराको मासुमा छाला नरम र भिजेको तथा माछाको गिलहरु रातो र कत्ला चहकिलो भएको, आँखा नगढेको हुनु पर्दछ । के के हुन् मासु खाँदा सर्न सक्ने रोगहरु ? एक व्यक्तिलाई स्वस्थ रहन वर्षको १८ किलो मासु वा सो सरहको प्रोटिन आवश्यक पर्दछ, जसले स्वस्थ रहनको लागि प्रोटिनको प्रमुख स्रोत मासुको उपभोग आवश्यक देखाउँछ । तर उपभोग गर्ने मासु अस्वस्थ भइदिनाले एक सय ६० प्रकारका रोगहरुले आक्रमण गर्न सक्छन् । यसमा टिनिया सोलिइम किरा, सुँगुर र बङ्गुरबाट मष्तिस्कमा पुगी छारे रोग, भोजन नलीको क्यान्सरलगायत पर्दछन् । मासु दूषित हुनाको प्रमुख कारण रोगी पशुपक्षी र सरसफाइमा कमी नै हो । त्यसैले स्वस्थ मासुका लागि स्वस्थ पशुपक्षीको बध र सफा वातावरणमा काटकुट, ओसारपसार र बिक्रीवितरण अनिवार्य शर्त हो । पशुपक्षीको मासु खान हुने वा नहुने भनी वध अगाडि तथा पछाडि मासु वा पशुपक्षीको राम्रोसँग निगरानी गरिनु पर्दछ । मासु मानिसका लागि जस्तै विभिन्न किसिमका रोगका जिवाणुका लागि पनि स्वादिलो र पोसिलो खानेकुरा हुने भएकाले उनीहरुको वृद्धि र विकास पनि राम्रोसँग हुन्छ । यसले गर्दा रोग सार्ने माध्यम पनि बन्न सक्छ । पटके, फित्ते जुका, खाद्य विषाक्त केही उदाहरण हुन् । मासु खाँदा सर्नसक्ने रोगहरुमा फित्ते कीराहरु–टिनिया सोलियस, टिनिया साजीनाटा, ट्राकिनेल्ला स्पाइरलिस र फ्यासकीओला हेपाटीका ब्याक्टेरियल सङ्क्रमणमा एन्थ्राकस, एकटिनोमाइकोसिस, क्षयरोग (टिबी) र खाद्य विषाक्तता पर्दछन् । ससेज, सलामी, क्यान वा बट्टामा बन्द ‘टुना फिस’ जस्तो प्याकिङ गरेको मासुमा स्वास्थ्यलाई हानी गर्ने ‘प्रिजरभेटिभ’ राखिने भएकोले ताजा मासु प्रयोग गर्नु नै राम्रो हुन्छ । साथै, कचिलाजस्तो काँचो मासुभन्दा ठिक्कको आगोमा पकाएको मासु राम्रो हुन्छ र कडा आगोमा पकाउँदा मासु खुम्ची ज्यादै कडा बन्छ र पचाउन गाह्रो हुन्छ । त्यसैगरी ज्यादै कडा तापमा तारेको, ओभनमा पकाएको, सेकेको र भुटेको मासु कडा हुने भएकाले पचाउन धेरै गाह्रो बन्ने भएकाले प्रेसर कुकरमा पकाएको अलि झोलिलो मासु स्वास्थ्यका लागि राम्रो हुन्छ । चिनी तथा मिठाइ खान नमिल्ने, मीठो मसिनो खान एकपटक सोंच्न पर्ने मधुमेहका रोगीले एक दुई टुक्रा मासु खान सक्छन् । रोगीले एउटै समयमा औषधि तथा खानाको मात्रा, समय फरकको तालमेल चाडबाडमा नमिल्दा सामान्य असन्तुलनले पनि खतरनाक सावित हुन सक्छ । मधुमेहका रोगीलाई मुटुको रोगको खतरा बढी हुने भएकाले खसीको भन्दा कुखुराको मासु खानु राम्रो हुन्छ, हल्का पेय पदार्थ पिउन सक्छन् तर धुम्रपान, मद्यपान गर्नु हुँदैन । रगतमा युरिक एसीड बढेर भएको एक किसिमको जोर्नीको पीडा हो बाथ । पुरुषमा बढी देखिने बाथ रोगमा सामान्यतया प्युरीनमुक्त खानेकुरा पूर्ण रुपले खान मिल्दछ । त्यसैले रोगीले मासु खान मिल्दैन । यस्ता रोगीले चाडबाडमा हरिया सागपात, केरा, कोक तथा कफी लिन सक्छन्, दूध खान सक्छन् । मोटो शरीर, रगतमा कोलेष्ट्रोल बढी, उच्च रक्तचाप तथा मुटुका रोगीका लागि मासु अनुकूल हुँदैन । यस्ता मानिसहरुले मासु खानै नहुने होइन, तर बढी बोसोयुक्त रातो मासु खानु हुँदैन । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने राँगा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ किन भने कोलेष्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ । माछाका परिकार खानाले शरीरको तौल घट्नुको साथै कोलेष्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ । कुखुराको मासुमा क्याल्सीयम तथा पोटासियम बढी पाइने भएकाले यो अन्य मासुभन्दा राम्रो मानिन्छ । धेरै चिल्लो तथा मसला हालेको मासुले अपच गराउने तथा मुखमा अमिलो पानी आउने, डकार आउने, पेट पोल्ने समस्या ल्याउँदछ । त्यसैले धेरै चिल्लो हालेर भुटेको, पिरो मसलादार मासुभन्दा सामान्य चिल्लो भएको तथा राम्रोसँग पकाएको मासु नै स्वस्थकर हुन्छ । काँचो मासुले विभिन्न किसिमका जुका तथा रोगका जीवाणुहरु सार्ने सम्भावना हुन्छ । त्यसैले मासुका परिकारहरु राम्रोसँग पकाउनु पर्दछ । मासु मात्र खाँदा कब्जियत हुनसक्ने भएकाले मासुसँग फलफूल तथा सलाद पनि सेवन गर्नुपर्दछ । अन्तमा, मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको श्रृङ्खलामा खानपिनमा गुलियो, अमिलो, पिरो, नुनीलो र चिल्लोको मात्रा बढी भएको आहार, विहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड भएको प्रायः देखिन्छ । प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धूमपानको फूिर्तफार्ती र बासीत्यासी अचार नभए तथा नाचगान, देउसीभैँलो, गफगाफ र जुवा तास नखेले चाड मानेजस्तो नहुने सोचाइ पनि धेरैमा पाइन्छ । खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ । यसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आउँ, पखाला, रिँगटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर), उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गाैलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ । त्यसैले चाडपर्व, भोजभतेर आदिमा स्वास्थ्यमा बढी ध्यान दिनु आवश्यक छ । रासस (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन्)

उहिलेको दशैं र अहिलेको दशैं

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दशैंको अवसरमा काठमाडौं उपत्यका र काभ्रे जिल्लाका मुख्य व्यापारिक क्षेत्रहरूको अवलोकन गर्ने अवसर पाएको छु । न्यूरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, बालाजु, माछापोखरी, वाईपास, महाराजगञ्ज, लगनखेल, गठ्ठाघर, राधेराधे, सूर्यविनायकदेखि बनेपासम्मका बजार क्षेत्र घुम्दा देखिएको दशैं बजारको अवस्था, व्यापारी र उपभोक्ताको मनोविज्ञान, देशको अर्थतन्त्र र जनजीवनमा परेको प्रभावका आधारमा केही गहिरो निष्कर्ष निकाल्न सकिन्छ । छैन चमक दशैं नेपाली समाजको सबैभन्दा ठूलो पर्व भएकाले सामान्य दिनभन्दा बजारमा चहलपहल बढ्नु स्वाभाविक हो । तर, विगतका वर्षहरूमा असन र इन्द्रचोकमा खचाखच भिड हुन्थ्यो । न्यूरोडका कपडा पसलहरूमा ग्राहक पंक्तिबद्ध हुन्थे । बनेपा र सूर्यविनायकका किराना पसलहरूमा सामान उठाउने भीड हुन्थ्यो । त्यस्तो दृश्य यस पटक धेरै कम देखियो ।  व्यापारीहरूले गत वर्षको तुलनामा बिक्री करिब ६० प्रतिशतमा मात्र सीमित भएको बताइरहेका छन् । नियमित ग्राहकको समेत आवश्यकभन्दा बढी किनमेल नगर्ने प्रवृत्ति बढेको छ, जसले देशको क्रयशक्ति खस्किएको स्पष्ट संकेत गर्छ । त्रास र अविश्वास  भदौ २४ गतेको आगजनी, तोडफोड र जेल तोडेर भागेका हजारौं कैदी, प्रहरीसँगै भएको भिडन्त र हतियार लुटपाटका घटनाले बजार क्षेत्र त्रसित बनेको छ । व्यापारीहरूसँग कुराकानी गर्दा उनीहरूको पहिलो चिन्ता सुरक्षा रहेको पाइन्छ ।  कतिपय व्यापारीहरूले आफ्नो पसलमा ठूलो लगानी गरेर पनि क्षणभरमै दङ्गा वा आगजनीले सबथोक गुम्ने डर व्यक्त गरेका छन् । उनीहरूलाई सरकारले संरक्षण गर्छ भन्ने विश्वास झनझन कमजोर हुँदै गएको छ । बजार अवलोकनको क्रममा देखिएको अर्को महत्वपूर्ण पक्ष भनेको सरकारप्रति अविश्वास हो । भदौ२३ र २४ गते भएका आन्दोलन र त्यस क्रममा आफ्ना कलिला बालबालिकाले ज्यान गुमाएका परिवारले न्याय पाउने वा नपाउने भन्ने प्रश्नमा व्यापारी र सर्वसाधारण नागरिकबीच निराशा गहिरो देखियो । सरकारले ढिलासुस्ती गर्ने, जिम्मेवारी नलिने, घटनामा संवेदनशील नदेखिने प्रवृत्तिले नागरिक मनोबलमा नकारात्मक असर पारेको छ । व्यवसाय त्याग्ने मनोवृत्ति छलफलका क्रममा भेटिएका करिब ६० प्रतिशत व्यापारीहरूले मौका मिल्ने हो भने वर्तमान व्यवसाय छोडेर अर्को विकल्प रोज्ने इच्छा राखेका छन । उनीहरूका लागि व्यापार अब सुरक्षित र टिकाउ रोजगारी देखिँदैन । लामो समयदेखि एउटै पसल सञ्चालन गर्दै आएका व्यापारीले समेत जोखिम बढ्दै गएको छ, फाइदा घट्दै गएको छ, सरकारले सुनुवाइ गर्दैन भन्दै असन्तोष पोखेका छन । यसले देशको निजी क्ष्त्रमा निराशा र पलायन हुने प्रवृत्ति बढेको संकेत गर्छ । दशैं नजिकिँदै गर्दा उपत्यकाभित्र र बाहिर जाने सडकहरूमा यात्रुहरूको चाप बढ्थ्यो । तर, यस वर्ष देखिएको अवस्था विगतभन्दा अझ अस्तव्यस्त छ । सडक छेउमा अव्यवस्थित पार्किङ, सवारी चालकहरूले मनलाग्दी रूपमा गाडी दौडाउने र ट्राफिक प्रहरीको निर्देशनलाई बेवास्ता गर्ने प्रवृति बढेको देखियो ।  टिकट बिक्रीमा समेत ठगी गर्ने प्रवृत्ति खुलेआम बढेको छ । कतिपय यातायात व्यवसायीले एउटै सिटको टिकट दुई–तीन जनालाई बेच्ने गरेको पीडा यात्रुहरूले सुनाएका छन् । सम्बन्धित निकायमा उजुरी गर्दा सुनुवाइ नै नहुने अवस्था नागरिकले भोगिरहेका छन् । भ्रमणका क्रममा कतिपय दृश्यहरूलाई नागरिकले व्यङ्ग्यात्मक रूपमा रामराज्य को पुनः आगमन भन्न थालेका छन । यसको आशय सकारात्मक नभएर नकारात्मक छ– कारण, जताततै अराजकता, नियमको तोडमोड, सुरक्षा निकायको कमजोरी, सरकारको निष्क्रियता र मनपरी चलन मौलाउँदै गएको छ । यसरी व्यवस्थित शासन नहुनु र जनजीवन अस्तव्यस्त हुनु नागरिकमाझ व्यङ्ग्यको विषय बनेको छ । यस्तै परिस्थितिमा गृहमन्त्रालयबाट आएका केही अग्रगामी सूचनाले झन नागरिकलाई चिन्तित बनाएको छ । कारण, जब सामान्य कानून कार्यान्वयनमा कमजोरी देखिन्छ, अपराध नियन्त्रणमा कमजोरी हुन्छ, यातायात व्यवस्थापन बिग्रन्छ, बजार असुरक्षित हुन्छ, त्यतिबेला नयाँ सूचना वा घोषणा नागरिकको विश्वास बढाउने भन्दा पनि शंका र संशयको कारण बन्छ । व्यापारी र सर्वसाधारणबीच यस्तो धारणा देखिनु वर्तमान राजनीतिक नेतृत्वको चुनौती हो । दशैंको रमझम र नागरिक यथार्थ सामान्यतया दशैं खुशी, मेलमिलाप र आर्थिक गतिविधिको अवसर हो । तर, यसपटकको दशैं बजारमा खुशीभन्दा बढी डर, अविश्वास र निराशा छाएको छ । बजारमा उपभोक्ता पुगे पनि उनीहरूको खर्च न्यून छ । व्यापारी पसलमा बसे पनि उनीहरूले सुरक्षित महसुस गर्न सकेका छैनन । सडकमा सवारी चले पनि यात्रुहरू ठगिने त्रासमा छन । यसरी उत्सवभन्दा बढी चिन्ता र असुरक्षा हाबी भएको देखिन्छ दशैंमा । अर्थतन्त्रमा दीर्घकालीन असर बजारमा देखिएको मन्दी, व्यापारीहरूको असन्तोष र उपभोक्ताको कमजोर क्रयशक्तिले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने सम्भावना छ । दशैं जस्तो ठूलो पर्वमा पनि व्यापारिक कारोबार घट्नु भनेको देशको उत्पादन, आपूर्ति र रोजगारीसँगै कर संकलनमा समेत नकारात्मक असर पर्ने संकेत हो । यदि सरकारले समयमै विश्वास पुनःस्थापित गर्न सकेन भने यसले दीर्घकालीन लगानीको वातावरणलाई समेत प्रभावित पार्नेछ । दशैं बजार अवलोकनका क्रममा पाइएका अनुभवहरूले वर्तमान नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको प्रतिविम्ब प्रस्तुत गर्छन । बजारमा सामान्य चहलपहल भए पनि उत्साह हराएको छ । व्यापारीहरू त्रासमा छन । उपभोक्ता सीमित खर्चमा छन । नागरिकहरू न्यायप्रति निराश छन । देशको यातायातदेखि सुरक्षा व्यवस्थासम्म अव्यवस्था व्याप्त छ । यस्तो परिस्थितिमा दशैँले ल्याउने खुशीभन्दा बढी असुरक्षा, अविश्वास र असन्तोष बढेको देखिन्छ । नेपाल जस्तो मुलुकमा पर्वहरू केवल सांस्कृतिक मात्र नभई आर्थिक गतिविधिको मेरुदण्ड हुन । त्यसैले सरकार र सम्बन्धित निकायहरूले चाडवाड बजारलाई सुरक्षित, व्यवस्थित र विश्वासिलो बनाउन सक्ने हो भने मात्र व्यापारी, उपभोक्ता र नागरिकको मनमा उज्यालो फर्किन सक्छ । अन्यथा, यस वर्षको दशैँ सहित चाडवाड बजारले दिएको चेतावनी जस्तै, मन्दी, अविश्वास र अराजकताले भविष्यलाई अझ अँध्यारो बनाउने खतरा छ । (लेखक रत्नराज्य क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक हुन् ।)

दसैँमा बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचीसहित)

काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडा दसैँको रौनकता छाइरहेको छ । घरको आँगनमै दसैँ आइपुगिसकेको छ । घटस्थापनादेखि दसैँको रौनक सुरु भएदेखि विभिन्न स्थानमा विभिन्न काम विशेषले रहेका मान्छे आ-आफ्नो घरतर्फ लागिरहेका छन् । यसपटक दसैँमा असोज १३ गते (फूलपती)देखि असोज १८ गतेसम्म सार्वजनिक बिदा रहेको छ । नेपाल राष्ट्र बैंकले पनि सार्वजनिक बिदाको सूची २०८२ अनुसार दसैँ अवधिमा घटस्थापना (असोज २ गते) र फूलपाती (असोज १३ गते)देखि निरन्तर असोज १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूका लागि बिदा रहने जनाएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले दसैँ अवधिमा पनि सीमित शाखा तथा काउण्टर खुला राखेर ग्राहकलाई वित्तीय सेवा प्रदान गर्ने भएका छन् । नेपाल बैंक  नेपाल बैंकले दसैँमा कोशी प्रदेशका मेची भन्सार यात्रु शाखा काउण्टर, मुख्य काउण्टर खुला र कृष्णनगर भन्सार काउण्टर खुला राख्ने जनाएको छ । उक्त काउण्टर बिहान ६ बजेदेखि राती १० बजेसम्म खुला रहने बैंकले जनाएको छ ।  बैंकका अनुसार बागमती प्रदेशको काठमाडौं बैंकिङ अफिस न्युरोडको विदेशी मुद्रा सटही काउण्टर खुला रहनेछ । बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले असोज १३ गतेदेखि असोज १८ गतेसम्म ७ वटा ठाउँका शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकका अनुसार सुख्खा बन्दरगाह विराटनगर, मुख्य शाखा कार्यालय, वसन्तपुर काठमाडौं, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवा, सुख्खा बन्दरगाह भैरहवा, धनगढी र इटहरी शाखा खुला रहने छन् । बिहान १० बजेदेखि २ बजेसम्म कारोबार समय रहेको बैंकले जनाएको छ । दसैँको दिनमा भने सबै शाखा बन्द रहने बैंकले जनाएको छ ।  नबिल बैंक  नबिल बैंकले दसैँ अवधिभर ३१ वटा शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकले कोशी प्रदेशमा ७ वटा, मधेश प्रदेशमा २ वटा, बागमती प्रदेशमा १५ वटा, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ वटा, कर्णाली र सुदूरपश्चिममा १/१ वटा शाखा तालिका अनुसार खुला रहनेछन् ।  खुला रहने शाखाले बिहान १० बजेदेखि १ बजेसम्म सेवा दिने बैंकले जनाएको छ । दसैँ होलिडे काउण्टरमार्फत १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न र २ लाख रुपैयाँसम्म रकम निकाल्न सक्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले दसैँ अवधिमा उपत्यकाभित्र २१ वटा र उपत्यका बाहिर २५ वटा शाखा तथा काउन्टर खुला रहने जनाएको छ । बैंकका अनुसार असोज १३ गते २६ वटा, असोज १४ गते १२ वटा, असोज १५ गते ६ वटा, असोज १६ गते १ र असोज १७ गते २३ वटा शाखा खुला रहने छन् । शाखा कार्यालय खुला रहने समय भने फरक फरक तोकेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले दसैँ अवधिमा खुला रहने शाखाको सूची सार्वजनिक गरेको छ । बैंकका अनुसार असोज १३ गते नयाँ बानेश्वर, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी शाखा खुला रहेनछन् ।  यस्तै, असोज १४ गते नयाँ बानेश्वर, विराटनगर, पोखरा शाखा, असोज १५ गते नक्साल र धरान शाखा, असोज १७ गते न्युरोड काठमाडौं र विराटनगर शाखा खुला रहनेछन् । दसैँमा खुला रहने शाखाले बिहान १० बजेदेखि १ बजेसम्म वित्तीय सेवा दिने बैंकले जनाएको छ । हिमालयन बैंक  हिमालयन बैंकले असोज १३ गते ९ वटा, असोज १४ गते ७ वटा, असोज १५ गते ७ वटा, असोज १७ गते ६ वटा शाखा खुला राख्ने जनाएको छ । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रवाह हुनेछ ।  बैंकका अनुसार २६५ दिन खुल्ने हिटी दरबार, पाटन र न्युरोड शाखा असोज १३ गतेदेखि असोज १८ गतेसम्म नियमित बिदाको काउण्टर खुल्ने समयमा बन्द रहनेछन् । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले दसैँ अवधिमा १४ वटा शाखा कार्यालय खुला राख्ने भएको छ । खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा लिन सकिने बैंकले जनाएको छ । ​​​​​​​ एभरेष्ट बैंक एभरेष्ट बैंकले दसैँमा बागमती प्रदेशको न्युरोड र पुल्चोक शाखा खुला रहने जनाएको छ । उक्त शाखाबाट ग्राहकहरूले नेपाली रुपैयाँ नगद भुक्तानी र निक्षेप, विदेशी मुद्रा विनिमय सुविधा (उपलब्धताको आधारमा) लिन सक्ने बैंकले जनाएको छ । शाखा कार्यालय बिहान १० बजेदेखि अपरान्ह १:३० बजेसम्म खुल्नेछन् ।  बैंकका अनुसार वीरगंज भन्सार कार्यालय, आईसीडी तथा आईसीपी र नेपालगन्ज भन्सार कार्यालय, भन्सार कार्यालयको तालिका अनुसार संचालनमा रहने छन् । राजस्व काउन्टरहरु माथि उल्लेखित समयमा सरकारको निर्णय अनुसार खोलिने छन् ।  एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले दसैँमा १६ वटा शाखा कार्यालय खुला रहने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, बिर्तामोड, दमक, मधेश प्रदेशका वीरगञ्ज र जनकपुर, बागमती प्रदेशका भक्तपुर, पुल्चोक, कमलादी, न्युरोड (खिचापोखरी), थानकोट, नारायणगढ शाखा, गण्डकी प्रदेशका महेन्द्रपुल पोखरा, लुम्बिनीमा बुटवल र नेपालगञ्ज, कर्णालीमा सुर्खेत र सुदूरपश्चिममा धनगढी चौराहा शाखा खुला रहेनछन् । खुला रहने शाखाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र न्युरोड खिचापोखरी शाखा २ बजेदेखि ५ बजेसम्म सेवा दिने छन् ।  माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले दसैँमा विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएको छ । असोज १३ गते १० वटा, असोज १४ गते ११ वटा, असोज १५ गते ८ वटा र असोज १७ गते ७ वटा शाखा खुला रहने बैंकले जनाएको छ । शाखा कार्यालय बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् ।  कुमारी बैंक कुमारी बैंकले दशैँमा विभिन्न शाखा कार्यालय खुला राख्ने जनाएको छ । बैंकका अनुसार असोज १३ गते १४ वटा, असोज १४ गते १५ वटा, असोज १५ गते ११ वटा र असोज १७ गते १२ वटा शाखा खुला रहने बैंकले जनाएको छ । शाखा कार्यालयबाट बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा लिन सकिनेछ । लक्ष्मी सनराइज बैंक  लक्ष्मी सनराइज बैंकले दसैँमा खुल्ने शाखाबाट कार्यालय बिहान १० बजेदेखि २ बजेसम्म सेवा प्रवाह हुने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशमा असोज १३ गते इटहरी, तिनपैनी, बिर्तामोड शाखा, असोज १४ गते विराटनगर (पुष्पलाल चोक), दमक, इनरुवा, असोज १५ गते विराटनगर (हनुमान दास रोड), धरान, काँकडभिट्टा र असोज १७ गते विराटनगर (हनुमान दास रोड) शाखा खुला रहने छन् ।  यस्तै, बागमती प्रदेश (उपत्यका भित्र) असोज १३ गते हात्तीसार, गैह्रीधारा, भक्तपुर (सुकुलढोका), पुल्चोक सामाखुशी, कालिमाटी असोज १४ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, सुकेधारा, टेकु, लगनखेल पाटन अस्पताल, भक्तपुर (सल्लाघारी), असोज १५ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, तिनकुने, पेप्सीकोला, असोज १७ गते हात्तीसार, गैह्रीधारा, पुल्चोक, मुलपानी (पिपलबोट), खुसिबु हात्तीसार र असोज १८ गते हात्तिसार र गैह्रीधारा शाखा खुला रहेनछन् । बागमती प्रदेश (उपत्यका बाहिर) भने नारायणघाट (लायन्स चोक) शाखा खुला रहेनछ । मधेश प्रदेशमा जनकपुर (वजरङ्ग चोक), वीरगंज (आदर्शनगर) जनकपुर (भानु चोक) वीरगंज (लिङ्ग रोड), गण्डकी प्रदेशमा पोखरा चिप्लेढुङ्गा) बाग्लुङ, पोखरा औद्योगिक क्षेत्र, दमौली पोखरा (न्यूरोड), रजहर, पोखरा (अमरसिंह), वालिङशाखा खुला रहेनछन् । कर्णाली प्रदेशमा विरेन्द्रनगर (यरि चोक), विरेन्द्रनगर (विरेन्द्रनगर चोक) छिञ्चु र श्रीनगर शाखा खुला हुनेछन् । सुदुरपश्चिम प्रदेशमा धनगढी (शहिदगेट), धनगढी (लक्ष्मी नारायण चोक), महेन्द्रनगर र लुम्बिनी प्रदेश नेपालगंज (कारकाँदो चोक), भैरहवा घोराही, बुटवल (मिलन चोक) शाखा खुला हुनेछन् । बैंकका अनुसार एटिएम कार्ड तथा अन्य डिजिटल बैंकिङ्ग सम्बन्धी सहायताका लागि चौविसै घण्टा उपलब्ध हुनेछन् ।  सिद्धार्थ बैंक  सिद्धार्थ बैंकले दसैँ अवधिभर २७ वटा शाखा खुला रहने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, नाम्चे, इटहरी, धरान, बिर्तामोड, दमक शाखा, मधेश प्रदेशका वीरगंज, जनकपुर शाखा खुल्नेछन् ।  यस्तै, बागमति प्रदेशका हात्तिसार, कुमारीपाटि, सूर्यविनायक, गंगबु, बौद्ध, स्वयम्भू, न्युरोड, तिनकुने नारायणघाट, हेटौडा शाखा, गण्डकी प्रदेशको पोखरा (सभागृह चोक), लुम्बिनी प्रदेशको नेपालगञ्ज, तुलसीपुर, बुटवल शाखा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चि प्रदेशको धनगढी, अत्तरिया, टिकापुर, महेन्द्रनगर शाखा खुला हुनेछन् । बैंकका शाखाबाट बिहान १० बजेदेखि १ बजेसम्म सेवा लिन सकिनेछ ।  कृषि विकास बैंक कृषि विकास बैंकले दसैँ अवधिमा बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिने छ । बैंकका अनुसार फुलपातीका दिन २२ वटा शाखा, महाअस्टमीका दिन २६ वटा शाखा र एकादशीका दिन २० वटा शाखा खुला हुनेछन् । नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ हाउसको नियम बमोजिम बैंकका आरटीजीएस, ईसीसी र राष्ट्र ऋण भुक्तानी लगायतका सेवाहरु सञ्चालन हुने बैंकले जनाएको छ ।  ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकले दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिनेछ । बैंकका अनुसार असोज १३ गते ५७ वटा शाखा, असोज १४ गते २४ वटा, असोज १५ गते १६ वटा, असोज १६ गते ३ वटा, असोज १७ गते २५ वटा र असोज १८ गते १८ वटा शाखा खुला रहनेछन् । सिटिजन्स बैंक सिटिजन्स बैंकले असोज १३ गते १५ वटा, असोज १४ गते १६ वटा, असोज १५ गते १० वटा, असोज १७ गते ७ वटा र असोज १८ गते ५ वटा शाखा खुला रहेनछन् । दसैँ अवधिमा खुला रहने शाखाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । प्राइम बैंक प्राइम बैंकले असोज १३ गते १४ वटा, असोज १४ गते १२ वटा, असोज १५ गते १० वटा, असोज १७ गते ११ वटा शाखा खुला रहने छन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । एनएमबि बैंक एनएमबि बैंकले असोज १३ गते ११ वटा, असोज १४ गते ४ वटा, असोज १५ गते ८ वटा, असोज १७ गते ९ वटा शाखा खुला रहनेछन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् । नेपाल राष्ट्र बैंकको सूचना बमोजिम दसैँको बिदाको दिन बबरमहलस्थित सेन्ट्रल ट्रेड अप्रेसन बिहान १० बजेदेखि १ बजेसम्म खुला रहेनछ ।  प्रभु बैंक  प्रभु बैंकले दसैँको समयमा बिहान १० बजेदेखि साढे १ बजेसम्म सेवा दिनेछ । काठमाण्डौ उपत्यका भित्र मुख्य शाखा, बबरमहल, कमलादी, ललितपुर (जावलाखेल) र भक्तपुर शाखा खुला हुनेछन् । यस्तै, उपत्यका बाहिर बिराटनगर (गोल्छाचोक) इटहरी, बिरगंज (आदर्शनगर), जनकपूर, नारायणगढ, हेटौडा, कावासोती, बागलुङ, दमौली, गोरखा पोखरा (रत्नचोक), नेपालगञ्ज, भैरहवा र धनगढी शाखा खुला हुनेछन् ।   सानिमा बैंक  सानिमा बैंकले असोज १३ गते २६ वटा, असोज १४ गते २४ वटा, असोज १५ गते २४ वटा, असोज १७ गते २१  वटा शाखा खुला रहने छन् । दसैँ अवधिमा खुला रहने शाखाबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने छन् ।