हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम
नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन अप्रिल १ मा अर्जेन्टिनाबाट बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए । उक्त क्रुजशिपमा हन्टा भाइरसको एन्डिस स्टेन फैलिएपछि दुई डच नागरिकसहित तीन जनाको मृत्यु, पाँच जना प्रयोगशाला प्रमाणित सङ्क्रमित र जहाजमै भएका करिब १५० जतिको सुरक्षित अवतरणको चर्चा फैलियो । जहाजबाट बीचमा झरेका विश्वका विभिन्न कुनामा पुगिसकेका यात्रुको र उनीहरुको सम्पर्कमा आएकालाई कन्टयाक्ट ट्रेसिङ खोजी कार्य आज पनि जारी छ । यात्रुलाई स्वास्थ्य संस्थामा सम्पर्कमा आउन र क्वारेन्टिनमा बस्न विभिन्न सरकारले आह्वान गरिसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनले समेत जोखिमलाई कम तर सचेतनालाई गम्भीर रुपमा स्टेज चारमा लिदै अन्तरराष्ट्रिय स्वास्थ्य नियमावलीअन्तर्गत निगरानी र नियन्त्रण प्रक्रिया सक्रिय बनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले आधिकारिकरुपमा बेलायत, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, सिङ्गापुर र टर्कीलगायत १२ देशलाई सर्तक गराएको छ । जहाजमा अप्रिल ६ देखि लक्षण देखिन थालेको र अप्रिल ११ मा पहिलोपटक एक जनाको मृत्युु भएको थियो । सुरुमा सामान्य श्वासप्रश्वाससम्बन्धी रोग ठानिएको ती व्यक्तिको मृत्युृपछि सङ्क्रमित भएको पुष्टि भएको थियो । जहाज सञ्चालक कम्पनी ओसनवाइड एक्सपिडिसनका अनुसार गत अप्रिल २४ मा सेन्ट हेलेनामा ३० जना यात्रु ओर्लिएका थिए, जसमा डच दम्पती थिए । ती दम्पतीमध्ये श्रीमानको जहाजमै मृत्यु भएको थियो भने पछि श्रीमतीको पनि मृत्यु भयो । जहाजबाट ओर्लिएपछि जोहोनेसवर्गमा एक सङ्क्रमितको मृत्यु, स्विटजरल्याण्डमा अर्को पुष्टि भएपछि मात्र हान्टा भाइरस भएको पुष्टि भएको हो । जहाजमा नभएकी एक महिलामा समेत शङ्कास्पद लक्षणहरु देखिएको छ र उनको परीक्षण गरिएको छ । क्यानाडामा समेत ब्रिटिस कोलम्बियामा आइसोलेसनमा रहेका क्रुज यात्रुमा सङ्क्रमण पुष्टि भएको छ र उनीसँग सम्पर्क आएकालाई आईसोलेसनमा राखिएको छ । अर्को कोभिड त होइन हान्टा भाइरस ? हान्टा भाइरस ब्रुन्याभिरिडी परिवारअन्तर्गत पर्ने २० भन्दा बढी भाइरसहरूको समूह हो, जसको नामकरण दक्षिण कोरियाको हन्तान नदीको नामबाट गरिएको हो, जहाँ सन् १९७८ मा पहिलो पटक यो भाइरस पहिचान गरिएको थियो । अर्थोहान्टाभाइरस जेनस, हन्टाभिरिडी परिवार तथा बुन्याभाइरालेस अर्डरअन्तर्गत पर्ने हान्टा भाइरसका विश्वभर स्थानअनुसार २० भन्दा बढी स्पिसिज पहिचान भएका छन् । सामान्यतया सङ्क्रमित मुसा तथा अन्य रोडेन्टहरूको पिसाब, दिसा वा र्यालबाट निस्किएका सूक्ष्म कण वा तिनीहरूले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा श्वासप्रश्वासमार्फत मानिसमा यो भाइरस सर्छ । यसपटक भने मानिसबाट मानिसमा सरेको पाइएकाले यो दुर्लभ तर चिन्ताजनक मानिएको छ । लामो समयसम्म नजिकको सम्पर्क, एउटै बन्द कोठामा बसाई तथा सङ्क्रमित व्यक्तिको शारीरिक तरलसँग सम्पर्क हुँदा जोखिम बढ्छ । धेरैजसो भेरियन्ट मानिसमा सजिलै सर्दैनन् । सर्ने भेरियन्ट पनि कोभिड–१९ जस्तै तीव्र रूपमा हावाबाट फैलिने प्रकृतिको होइन । सन् २०२३ मा युरोपियन क्षेत्रमा हान्टा भाइरस सङ्क्रमणबाट एचएफआरएस भएका एक हजार ८८५ केसअर्थात् प्रतिएक लाखमा ०.४ केस मात्र रिपोर्ट भएका थिए । पूर्वी एसियाका चीन र कोरियामा हरेक वर्ष हजारौँ केस रिपोर्ट हुने गर्छन् । सन् २०२५ भर अमेरिकी महादेशका आठ देशमा २२९ हान्टा भाइरसका केस पुष्टि भएकामा ५९ जनाको मृत्यु भएको रिपोर्ट छ । अमेरिकामा हान्टा भाइरस सङ्क्रमण दुर्लभ मानिन्छ र सन् १९९३ देखि २०२३ सम्म जम्मा ८९० केस पुष्टि भएका छन् । मानिसबाट मानिसमा सङ्क्रमण भएको घटना दक्षिण अमेरिकामा मात्र देखिएको छ, जहाँ २०१८–२०१९ मा भएको प्रकोपमा ३४ जना सङ्क्रमित हुँदा ११ जनाको मृत्यु भएको थियो । के कस्ता लक्षण हुन्छन् ? अन्य दीर्घरोग भएका व्यक्ति तथा ज्येष्ठ नागरिक यस सङ्क्रमणका जोखिम समूहमा पर्छन् । उनीहरूमा सजिलै सङ्क्रमण हुने, सङ्क्रमण जटिल अवस्थामा पुग्ने तथा मृत्यु हुने सम्भावना बढी हुन्छ । वातावरणीय तथा इकोलोजिकल कारकहरूले रोडेन्टको सङ्ख्यामा असर पार्ने भएकाले सङ्क्रमणको सङ्ख्या तथा प्रकोपमा समेत प्रभाव पर्छ । हान्टाको एन्डिस भाइरसको दुर्लभ तर प्राथमिक सङ्क्रमण नजिक र लामो समयसम्मको मानिस–मानिस सम्पर्कबाट हुन सक्छ । दोस्रो सङ्क्रमण स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीमा कम मात्रामा देखिन्छ, जुन सङ्क्रमणको सुरुआती अवस्थामा बढी सङ्क्रामक हुँदा हुने सम्भावना रहन्छ । सङ्क्रमण भएपछि लक्षण देखिन सामान्यतया दुईदेखि चार हप्ता लाग्छ । छिटोमा एक हप्ता र ढिलोमा आठ हप्तासम्म लाग्न सक्छ । यसले सङ्क्रमण सार्ने जोखिम अवधि ४२ दिनसम्म हुने भएकाले थप जोखिम बढाएको छ । यसमा सुरुमा एकदेखि चार हप्तासम्म चिसो लाग्ने, ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, चक्कर लाग्ने, अत्यधिक थकान महसुस हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, झाडापखाला तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन् । पछि अचानक श्वासप्रश्वासमा समस्या देखिने, रक्तचापमा परिवर्तन हुने तथा सङ्क्रमण बढ्दै जाँदा फोक्सोमा पानी भरिने, रक्तचाप घट्ने र सास फेर्न अत्यन्त गाह्रो हुने गर्छ । हान्टा भाइरस सङ्क्रमणले निम्त्याउने दुई प्रमुख गम्भीर समस्यामा हान्टा भाइरस पल्मोनरी सिन्ड्रोम (एचपीएस) र हेमोरेजिक फिभर विथ रिनल सिन्ड्रोम (एचएफआरएस) पर्दछन् । पल्मोनरी सिन्ड्रोममा भाइरसले सिधै फोक्सोमा असर गरी सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, फोक्सोमा तरल पदार्थ जम्ने, रक्तचाप घट्ने, मुटुको धड्कन तीव्र हुने तथा श्वासप्रश्वासमा गम्भीर अवरोध पैदा भई बिरामीको मृत्यु हुन सक्छ । हेमोरेजिक फिभर विथ रिनल सिन्ड्रोममा मुख्यतया मिर्गौलामा असर पर्छ र मिर्गौला फेल हुन सक्छ । भेरियन्टअनुसार लक्षण तथा चिन्ह फरक पर्न सक्छ । हान्टा भाइरसका भेरियन्टमध्ये एन्डिस स्ट्रेन मात्र मानिसबाट मानिसमा सर्ने भेरियन्ट हो । यो चिली र अर्जेन्टिनामा समय–समयमा फैलिने गरेको छ । निदानका उपायहरू के हुन सक्छन् ? शङ्कास्पद अवस्थाः सङ्क्रमण फैलिएको स्थानमा बसेको वा भ्रमण गरेको, शङ्कास्पद वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेको तथा एएनडीभी सङ्क्रमणका शङ्कास्पद लक्षण भएका व्यक्ति । सम्भावित अवस्थाः शङ्कास्पद अवस्थाका लक्षण तथा चिन्ह भएका, स्वास्थ्यकर्मीले परीक्षण गरेको, सङ्क्रमित वा सम्भावित केससँग इपिडेमियोलोजिकल सम्बन्ध तथा सम्पर्कमा रहेको तर प्रयोगशाला परीक्षण नभएको व्यक्ति । पुष्टि भएको अवस्थाः आरटी–पिसिआर वा सेरोलोजी परीक्षणबाट एएनडिभी सङ्क्रमण पुष्टि भएको व्यक्ति । समस्या नदेखिएको अवस्थाः शङ्कास्पद वा सम्भावित भए पनि आरटी–पिसीआर वा सेरोलोजी परीक्षणमा एएनडिभी नेगेटिभ आएको व्यक्ति अथवा सम्पर्कमा आएको समयदेखि अधिकतम् ओथारो अवधि पार गरिसकेको व्यक्ति । उपचार कसरी हुनसक्छ ? हान्टा भाइरस सङ्क्रमणको कुनै विशेष उपचार, औषधि, खोप वा निश्चित एन्टिभाइरल उपचार उपलब्ध छैन । सङ्क्रमितलाई लाक्षणिक तथा सहयोगात्मक उपचार मात्र गरिन्छ । अफवाह तथा सामाजिक सञ्जालका भ्रममा परी अनावश्यक आतङ्कित हुने वा गराउने काम गर्नु हुँदैन । सरकारले तोकेको आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्नुपर्छ । रोडेन्टबाट सर्ने रोगहरू, स्क्रब टाइफसलगायतका रोगहरूको नियन्त्रणका लागि मुसा तथा सम्बन्धित रोगबारे थप खोज तथा अनुसन्धान आवश्यक छ । यसले भविष्यमा हुन सक्ने महामारी तथा रोगको जोखिम व्यवस्थापन गर्न सहयोग पुर्याउँछ । व्यक्तिगत तथा वातावरणीय सरसफाइ नै मुख्य बचावटका उपाय भएकाले मुसा नियन्त्रण, सरसफाइमा सतर्कता, खाद्य सुरक्षा तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्छ । घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्ने तथा मुसाको फोहोर सफा गर्दा पिपिई, मास्क तथा पञ्जा प्रयोग गर्नुपर्छ । साबुनपानीले नियमित हात धुने, भीडभाडमा नजाने, शङ्कास्पद वा सम्भावित सङ्क्रमितसँग भौतिक दूरी कायम गर्ने तथा मास्क प्रयोग गर्नु आवश्यक छ । रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना, जोखिम सञ्चार तथा समुदाय सहभागितालाई बढावा दिनुपर्छ । ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । नेपालको तयारी कस्तो छ ? नेपालमा हालसम्म हान्टा भाइरस सङ्क्रमण पुष्टि भएको आधिकारिक तथ्याङ्क छैन । तथापि, अमेरिकाको सीडीसीको एक रिपोर्टअनुसार सन् २०१७ मा नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनी यात्रुमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि हान्टा भाइरस पुष्टि भएको थियो । उनले नेपालमा बस्दा लजमा मुसा प्रजातिका जनावरसँग सम्पर्क भएको बताएका थिए । एन्डिस भाइरसबाट सङ्क्रमित मुसा नेपालमा नपाइने, हाल सङ्क्रमित रहेको जहाजका यात्रु नेपाली नभएको तथा कुनै यात्रु नेपाल नआएको जानकारी भए पनि छिमेकी राष्ट्रका नागरिक जहाजमा रहेको उल्लेख गरिएको छ । नेपालमा हालसम्म हान्टा भाइरस पुष्टि नभएकाले जोखिम कम मानिए पनि अन्तर्राष्ट्रिय उडान तथा आवागमन, कमजोर निगरानी तथा परीक्षण प्रणालीका कारण सम्भावित जोखिमलाई पूर्ण रूपमा नकार्न सकिँदैन । नेपालमा दैनिक ४–५ दर्जनभन्दा बढी मुसाको टोकाइका बिरामी अस्पताल आउने गरेका तथ्याङ्क छन् । एशियाली स्ट्रेन विशेषगरी रसिया, जापान तथा कोरियामा देखिने गरेको छ, जहाँ नेपालीहरूको आवतजावत उल्लेख्य छ । तर आवतजावत गर्ने व्यक्तिहरूको न त पर्याप्त स्क्रिनिङ छ न त निगरानी नै । नेपालमै हान्टा भाइरस निदान गर्न सक्ने सुविधा हालसम्म उपलब्ध छैन । परीक्षणका लागि किट नेपालमै ल्याउने वा नमुना विदेश पठाएर परीक्षण गर्ने भन्ने विषयमा समेत स्पष्ट निर्णय भइसकेको छैन । त्यसैले सरकार जोखिम नभएको भन्दै प्रचारप्रसारमा मात्र सीमित नभई परीक्षण, निगरानी, निदान, उपचार व्यवस्थापन तथा पूर्वतयारी र जनचेतनामूलक कार्यमा सक्रिय हुन आवश्यक छ । रासस (लेखक वीर अस्पतालमा मुख तथा दन्त सर्जन प्रमुख हुन्)
दसैँले रोग नबोकाओस्, अस्पतालको बास नहोस्
असोज महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैँको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने, पर्वका रुपमा स्थापित भएकाले सबैलाई एक सूत्रमा बाँध्छ । चाडपर्व भन्नेबित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्दछ । त्यसमा दसैँ र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ । बलि दिन, मजाले खान वा केटाकेटीको रमाइलो जेका लागि भए पनि प्रायःनेपालीको घर व्यवहारमा दसैँअघि नै जोहो गरिन्छ र मूल्य नभई पाउनु नै ठूलो मानिन्छ । दसैँ मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो । त्यसैले के बुढा, के बालक, हरेकको भान्साबाट मासुको बासना आउँछ । दसैँमा भुटुवा, पकुवा, कवाव र झोल हालेको मासु पकाइखाने गर्नुका साथै भुँडी, कलेजो, बोसेआन्द्रा, रकतीकान, हेकुलाको भरुवा पनि खाइन्छ तर हिजोआज समय तथा झन्झट व्यहोर्न नचाहनेले ससेज, सलामी, मिन्स, विगस, बेकोन आदिलाई स्न्याक्सको विकल्पका रुपमा प्रयोग गर्दछन् । नेपालमा प्रतिवर्ष २० करोड किलोग्रामभन्दा बढी मासु उत्पादन हुन्छ, जसमा प्रतिदिन करिब पाँच लाख ५० हजार किलो मासु खपत हुने सरकारी तथ्याङ्क छ । यसैगरी दैनिक करिब २० हजार किलो खसी, ४० हजार किलो राँगाको मासु काठमाडौँमै मात्र बिक्री हुन्छ । नेपालमा दिनहुँ कुखुराको मासु ८० हजार किलो बिक्री हुन्छ । नेपाली मासु बजारको ४० प्रतिशत बजार प्रशोधित मासुले लिइसकेको छ । नेपालमा सबैभन्दा बढी अर्थात् ७५ प्रतिशत मासु राँगा, भैँसी, नौ प्रतिशत खसीबोका र १६ प्रतिशत कुखुरा बङ्गुरको मासु खपत भएको देखिन्छ । मासु के हो ? मासु भन्नाले हामीले खाने गरेको चराचुरुङ्गी (कुखुरा, हाँस, परेवा, ढुकुर) पाल्तु जनावर (खसी, बोका, राँगो, सुँगुर), जङ्गली जनावर (बँदेल, हरिण, जरायो), पानीमा पाइने जन्तु (माछा, गगटा, भ्यागुता) आदिको मासु भन्ने बुझिन्छ । वैज्ञानिकद्वारा स्वस्थ जनावरलाई सफा ठाउँमा वध गरी तयार गरिएको, प्राकृतिक गुण र पौष्टिकताले भरिपूर्ण टाउको, घाँटी, पुच्छर, छाला, हाड र भित्री अङ्ग (कलेजो, फोक्सो, आन्द्राभुँडी आदि) बाहेकलाई खाद्य मासुको रुपमा परिभाषित गरिएको छ । नेपालमा भने रौँ, खुर, सिंह, ठूला, हड्डीबाहेक प्रायःसबै अङ्गलाई मासुसँग सम्बन्धित खाद्यवस्तु मान्ने गरिन्छ । छालादेखि आन्द्राभुँडी, फोक्सो, टाउकोसमेतबाट विभिन्न स्वादिष्ट परिकारहरु बनाउनु नेपाली पाक संस्कृतिको विशेषता नै हो तर छिट्टै बिग्रने खालका भित्री अङ्गको मासु ताजा, सफा र राम्ररी पकाइएको हुनुपर्दछ जसलाई पहिला उसिन्नु र मरमसला हाली पुनःपकाएर खानुपर्दछ, धेरै समय राख्नुहुँदैन । मासु प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ (आइरन, फस्फोस) र पानीको मिश्रणबाट बनेको हुन्छ तर पौष्टिक तत्वको अनुपात भने एकै किमिसको हुँदैन । मासुमा पाइने मुख्य पौष्टिक तत्व पूर्ण प्रोटिन हो । स्वास्थ्यका दृष्टिले मासुलाई पोसिलो खानेकुरा मानिन्छ । सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन, पाँच ग्राम चिल्लो पदार्थ, एक ग्रामभन्दा बढी खनिज पदार्थ, ६० ग्राम पानी तथा भिटामिन एवं लवणहरु हुन्छन् । त्यसैले दैनिक ३०–३५ ग्राम मासु खानाले हाम्रो शरीरलाई पुग्ने आवश्यक पौष्टिक तत्व सजिलै प्राप्त हुन्छ । हप्तामा एकपटक वा बल्ल तल्ल चाडबाडमा मात्र मासु खानेले अन्य समयमा गेडागुडी, दाल, दूध, पनिर आदि खाएर प्रोटिनको परिपूर्ति गर्नुपर्दछ । मासुको भण्डारण कसरी गर्ने ? ताजा मासु खाने नेपाली संस्कारलाई राम्रो मान्नुपर्दछ, माछा मासु चाँडो बिग्रने पदार्थ भएकाले लामो समयसम्म सुरक्षित राख्न मात्र डिपफ्रिजमा राख्नु पर्दछ । माछा मासुलाई फ्रिजमा राख्दा भाँडाको मुख प्लाष्टिक फवाइल वा सिल्भर फवाइलले बन्द गर्दा फ्रिजमा राखेका अन्य खाद्य पदार्थहरुमा मासुको गन्ध आउँदैन । मासु फ्रिजमा राख्दा ताजा काँचो मासुलाई वरफ जम्ने कोष्ठमा मात्र राख्नुपर्दछ । एउटै ठूलो ढिक्का मासु राख्नुको सट्टा काटकुट गरेरै ससाना पोको बनाइराख्दा निकाल्न सजिलो र पकाउन पनि छिटो हुन्छ । एक पटक उमालेको मासु टम्म बन्द नगरी हावा खेल्ने ठाँ दिएर बढीमा तीन दिनसम्म फ्रिजको सामान्य खानेकुरा राख्ने कोष्ठमा पनि राख्न सकिन्छ । फ्रिजमा हिउँको ढिक्का जस्तो भएको, विशेषगरी कुखुराको मासुलाई कम्तीमा गर्मीमा दुई घण्टा र जाडोमा छ घण्टा कोठाको तापमानमा राखेपछि मात्र पकाउनुपर्दछ । गर्मीयाममा झोल हालेर पकाएको मासु दुई घण्टाभन्दा बढी समय कोठाको तापमानमा राख्नु हँुदैन । पकाएको मासु फ्रिजमा राख्दा चाहिँ सेलाएपछि प्लाष्टिक वा ढक्कनले छोपेर राख्नु पर्दछ । ताततातै मासु खाँदा त्यसको गन्ध काँचो अण्डा वा वाफ सोस्ने अरु खाने कुराभित्र प्रवेश गर्न र ह्वास्स गन्हाउन सक्छ । मासुको गुणस्तर कसरी कायम राख्ने ? उपभोक्ताको घर, भान्छा र पकाउने भाँडामा आइपुगेञ्जेलसम्म पशुपक्षीको मासुको अवस्था कस्तो हुन्छ भन्नेमा ठूलो अन्योल छ मासु बजारमा । सामान्य उपभोक्ताले पशु स्वस्थ भए नभएको छुट्टयाउन सक्दैनन् । धेरैले मासु काटेको र ढुवानी गरेको पनि देख्दैनन् । त्यसैले बिक्री गर्ने ठाउँको सरसफाइका अवस्था र मासुको रुपरङ हेरेर मात्रै राम्रो नराम्रो भन्ने निर्णय गर्छन् । कुनै वैज्ञानिक जाँच वा परीक्षणभन्दा विश्वास नै हो नेपालमा बेचिने मासुको गुणस्तर मापनको आधार । उपभोक्तासम्म स्वस्थ र स्वच्छ मासु पु¥याउने दायित्व राज्यको हो । सरकारले जीवित पशुको स्वास्थ्य सुनिश्चित गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन र मासुको गुणस्तर सुनिश्चित गर्न पशु वधशाला तथा मासु जाँच ऐन र तत्सम्बन्धी नियमहरु बनाएको छ तर व्यवहारमा त्यति कार्यान्वयन भएका छैनन् । मासु बिक्री वितरणमा संलग्न अधिकांश निरक्षर छन् । यसले ऐन नियमहरु बुझेका छैनन् र सरकारले पनि बुझाउन सकेको छैन । तैपनि मासु व्यवसायी समितिद्वारा सरसफाईप्रति सचेत भई मासु बिक्री गर्ने ठाउँबाट पशुको मलमुत्र, रौं, हड्डी हटाउनुपर्ने, शिशा वा जालीको बाकसभित्र अन्य किटाणुले भेट्न नसक्ने गरी राखेर बेच्नुपर्ने, बिक्रेताले सफा एप्रोन लगाउनुपर्ने र बन्द बाकसमा राखेर वा सफा कपडाले छोपेर मासु ढुवानी गर्नुपर्ने चारबुँदे शर्त छन् । बजारबाट मासु किन्दा चाहिँ सधैँ सफा र विश्वासिलो मासु पसलबाट किन्ने गर्नु पर्दछ । राँगा, खसी प्रायः बिहान काटिने हुनाले मासु सधैँ बिहान किन्नु राम्रो हुन्छ । ताजा, दागहरु नभएको, बोसो नगलेको, गन्ध नआउने र नली हाडको भित्री भाग रातो भएको मासु छानेर किन्नुपर्दछ । कुखुराको मासुमा छाला नरम र भिजेको तथा माछाको गिलहरु रातो र कत्ला चहकिलो भएको, आँखा नगढेको हुनु पर्दछ । के के हुन् मासु खाँदा सर्न सक्ने रोगहरु ? एक व्यक्तिलाई स्वस्थ रहन वर्षको १८ किलो मासु वा सो सरहको प्रोटिन आवश्यक पर्दछ, जसले स्वस्थ रहनको लागि प्रोटिनको प्रमुख स्रोत मासुको उपभोग आवश्यक देखाउँछ । तर उपभोग गर्ने मासु अस्वस्थ भइदिनाले एक सय ६० प्रकारका रोगहरुले आक्रमण गर्न सक्छन् । यसमा टिनिया सोलिइम किरा, सुँगुर र बङ्गुरबाट मष्तिस्कमा पुगी छारे रोग, भोजन नलीको क्यान्सरलगायत पर्दछन् । मासु दूषित हुनाको प्रमुख कारण रोगी पशुपक्षी र सरसफाइमा कमी नै हो । त्यसैले स्वस्थ मासुका लागि स्वस्थ पशुपक्षीको बध र सफा वातावरणमा काटकुट, ओसारपसार र बिक्रीवितरण अनिवार्य शर्त हो । पशुपक्षीको मासु खान हुने वा नहुने भनी वध अगाडि तथा पछाडि मासु वा पशुपक्षीको राम्रोसँग निगरानी गरिनु पर्दछ । मासु मानिसका लागि जस्तै विभिन्न किसिमका रोगका जिवाणुका लागि पनि स्वादिलो र पोसिलो खानेकुरा हुने भएकाले उनीहरुको वृद्धि र विकास पनि राम्रोसँग हुन्छ । यसले गर्दा रोग सार्ने माध्यम पनि बन्न सक्छ । पटके, फित्ते जुका, खाद्य विषाक्त केही उदाहरण हुन् । मासु खाँदा सर्नसक्ने रोगहरुमा फित्ते कीराहरु–टिनिया सोलियस, टिनिया साजीनाटा, ट्राकिनेल्ला स्पाइरलिस र फ्यासकीओला हेपाटीका ब्याक्टेरियल सङ्क्रमणमा एन्थ्राकस, एकटिनोमाइकोसिस, क्षयरोग (टिबी) र खाद्य विषाक्तता पर्दछन् । ससेज, सलामी, क्यान वा बट्टामा बन्द ‘टुना फिस’ जस्तो प्याकिङ गरेको मासुमा स्वास्थ्यलाई हानी गर्ने ‘प्रिजरभेटिभ’ राखिने भएकोले ताजा मासु प्रयोग गर्नु नै राम्रो हुन्छ । साथै, कचिलाजस्तो काँचो मासुभन्दा ठिक्कको आगोमा पकाएको मासु राम्रो हुन्छ र कडा आगोमा पकाउँदा मासु खुम्ची ज्यादै कडा बन्छ र पचाउन गाह्रो हुन्छ । त्यसैगरी ज्यादै कडा तापमा तारेको, ओभनमा पकाएको, सेकेको र भुटेको मासु कडा हुने भएकाले पचाउन धेरै गाह्रो बन्ने भएकाले प्रेसर कुकरमा पकाएको अलि झोलिलो मासु स्वास्थ्यका लागि राम्रो हुन्छ । चिनी तथा मिठाइ खान नमिल्ने, मीठो मसिनो खान एकपटक सोंच्न पर्ने मधुमेहका रोगीले एक दुई टुक्रा मासु खान सक्छन् । रोगीले एउटै समयमा औषधि तथा खानाको मात्रा, समय फरकको तालमेल चाडबाडमा नमिल्दा सामान्य असन्तुलनले पनि खतरनाक सावित हुन सक्छ । मधुमेहका रोगीलाई मुटुको रोगको खतरा बढी हुने भएकाले खसीको भन्दा कुखुराको मासु खानु राम्रो हुन्छ, हल्का पेय पदार्थ पिउन सक्छन् तर धुम्रपान, मद्यपान गर्नु हुँदैन । रगतमा युरिक एसीड बढेर भएको एक किसिमको जोर्नीको पीडा हो बाथ । पुरुषमा बढी देखिने बाथ रोगमा सामान्यतया प्युरीनमुक्त खानेकुरा पूर्ण रुपले खान मिल्दछ । त्यसैले रोगीले मासु खान मिल्दैन । यस्ता रोगीले चाडबाडमा हरिया सागपात, केरा, कोक तथा कफी लिन सक्छन्, दूध खान सक्छन् । मोटो शरीर, रगतमा कोलेष्ट्रोल बढी, उच्च रक्तचाप तथा मुटुका रोगीका लागि मासु अनुकूल हुँदैन । यस्ता मानिसहरुले मासु खानै नहुने होइन, तर बढी बोसोयुक्त रातो मासु खानु हुँदैन । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने राँगा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ किन भने कोलेष्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ । माछाका परिकार खानाले शरीरको तौल घट्नुको साथै कोलेष्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ । कुखुराको मासुमा क्याल्सीयम तथा पोटासियम बढी पाइने भएकाले यो अन्य मासुभन्दा राम्रो मानिन्छ । धेरै चिल्लो तथा मसला हालेको मासुले अपच गराउने तथा मुखमा अमिलो पानी आउने, डकार आउने, पेट पोल्ने समस्या ल्याउँदछ । त्यसैले धेरै चिल्लो हालेर भुटेको, पिरो मसलादार मासुभन्दा सामान्य चिल्लो भएको तथा राम्रोसँग पकाएको मासु नै स्वस्थकर हुन्छ । काँचो मासुले विभिन्न किसिमका जुका तथा रोगका जीवाणुहरु सार्ने सम्भावना हुन्छ । त्यसैले मासुका परिकारहरु राम्रोसँग पकाउनु पर्दछ । मासु मात्र खाँदा कब्जियत हुनसक्ने भएकाले मासुसँग फलफूल तथा सलाद पनि सेवन गर्नुपर्दछ । अन्तमा, मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको श्रृङ्खलामा खानपिनमा गुलियो, अमिलो, पिरो, नुनीलो र चिल्लोको मात्रा बढी भएको आहार, विहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड भएको प्रायः देखिन्छ । प्रशस्त रक्सी नभए, मनग्गे खान नपाए, धूमपानको फूिर्तफार्ती र बासीत्यासी अचार नभए तथा नाचगान, देउसीभैँलो, गफगाफ र जुवा तास नखेले चाड मानेजस्तो नहुने सोचाइ पनि धेरैमा पाइन्छ । खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ । यसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आउँ, पखाला, रिँगटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर), उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गाैलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ । त्यसैले चाडपर्व, भोजभतेर आदिमा स्वास्थ्यमा बढी ध्यान दिनु आवश्यक छ । रासस (लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन्)