बाढीले २०२.९६ मेगावाट क्षमताका १८ हाइड्रोमा क्षति, १०५.४ मेगावाट बिजुली उत्पादन बन्द

काठमाडौं । निरन्तरको वर्षाले आएको बाढीका कारण २ सय मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । शुक्रबारदेखि अविरल वर्षा हुँदा आएको बाढी पहिरोका कारण २०२.९६ मेगावाट क्षमताका १८ वटा हाइड्रोपावर कम्पनीहरूमा क्षति पुर्याएको हो ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीले १३ वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्याउँदा १०५.४ मेगावाट बिजुली उत्पादन बन्द भएको छ । साथै, ९३ मेगावाट क्षमताका ५ वटा निर्माणाधीन हाइड्रोमा क्षति पुर्याएको इप्पानले जनाएको छ । इप्पानका अनुसार ४.५ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रो, ८ मेगावाटको हिमाल दोलखा हाइड्रो, २२ मेगावाट क्षमताको सानिमा माइ हाइड्रो, ७ मेगावाटको सानिमा माइ, ७.८ मेगावाटको सुपरमाइ हाइड्रो, ९.६ मेगावाटको सगरमाथा जलविद्युत कम्पनी, ३ मेगावाटको माइखोला हाइड्रो, ७.६ मेगावाटको सानभी इनर्जी, ५.२ मेगावाटको सानभी इनर्जी,  ६.२ मेगावाटको एसिएन हाइड्रोपावर, ९.५ मेगावाटको सामलिङ पावर, ९.९ मेगावाटको पञ्चकन्या माइ हाइड्रो, ५.१ मेगावाटको माइ भ्याली हाइड्रोमा बाढीले क्षति पुर्याउँदा उत्पादन बन्द भएको छ ।  ४.५ मेगावाट क्षमताको हिमाल दोलखा हाइड्रोको इन्टेक, पावरहाउस, सवस्टेसनमा, ८ मेगावाटको हिमाल दोलखाको पावरहाउस र सवस्टेसनमा, २२ मेगावाटको सानिमा माइ हाइड्रोको कलभर्टमा क्षति पुर्याएको इप्पानले जनाएको छ ।  यस्तै, सुपरमाइ हाइड्रोको हेडबक्र्स, एरियल गेटमा, सगरमाथा जलविद्युतको प्रोटेक्सन वाल, टेलरेस र प्रसारणलाइनमा, माइखोला हाइड्रोको पावर हाउस र प्रसारण लाइन, ७.६ मेगावाटको सानभी इनर्जीको हेडबक्र्स, पावर हाउसमा र ५.२ मेगावाटको सानभी इनर्जीको हेडबक्र्स र डिसेन्डरमा क्षति पुर्याएको छ ।  यस्तै, एसिएन हाइड्रोको हेडबक्र्स, सामलिङ पावरको हेडबक्र्स, इन्टेक, पाइपलाइन, टेलरेस र पावर हाउसमा, पञ्चकन्या माइ हाइड्रोको हेडबक्र्स र माइ भ्याली हाइड्रोको पावर हाउसमा पानी छिरेर उत्पादन बन्द भएको छ ।  इप्पानका अनुसार निर्माणाधीन अवस्थामा रहेको २१.५ मेगावाटको अर्बिट इनर्जीको पहुँचमार्ग, निर्माण सामाग्री बगाएको छ ।  यस्तै, ९.९ मेगावाटको ह्याबिटाट पावरको हेडबक्र्स र पहुँचमार्गमा क्षति पुर्याउँदा विद्युत उत्पादनमा ढिलाइ हुने जनाएको छ ।  यस्तै, १० मेगावाटको सिद्धि हाइड्रोपावरको हडे वक्सट, पावर हाउस, क्याम्प, अलाइगमेन्ट र रोडमा क्षति पुर्याउँदा १० दिनमा हुने सिओडी अनिश्चित बनेको इप्पानले जनाएको छ । इप्पानका अनुसार ३६.५१ मेगावाटको ब्रम्हायणी हाइड्रो र १५.१५ मेगावाटको इन्टिक्रेटेड हाइड्रो फण्डको एक्सेस रोड र निर्माण सामाग्रीमा क्षति पुर्याएको हुँदा विद्युत उत्पादनमा ढिलाई हुनेछ । 

सिंहदरबार जल्दा किन मौन बस्यो सेना ?

काठमाडौं । भदौ २४ को साँझ देशको शक्ति केन्द्र सिंहदरबार आगोको लप्कामा जलिरहेको थियो । त्यो आगो कुनै प्रतिकात्मक आगो थिएन । त्यो सेनाको आँखै अगाडि प्रत्यक्ष जलिरहेको थियो । जसको धुवाँले राज्यसत्ताको निरीहता र सुरक्षातन्त्रको सुस्त प्रतिक्रियालाई उजागर गरिरहेको थियो । सर्वोच्च अदालतमा आगजनी गरियो । जिल्ला अदालतले ऐया भन्न पनि पाएन । आफ्नै परमाधिपति राष्ट्रपतिको कार्यालय जल्दा पनि सेना चुपचाप रह्यो । सेनाको यस कदमले जनताको मनमा प्रश्न उठायो, के देशको सुरक्षा गर्न पनि सेनाले निर्देशनको प्रतीक्षा गर्नुपर्छ ? तर, असोज १७ र १८ मा जब देश बाढी–पहिरोको भयावह चपेटामा थियो, त्यही सेना आदेश बिना नै सक्रियता देखायो । सेनाले उद्धार टोली पठायो, र सयौं मानिसको ज्यान बचायो । सेनाको त्यही तत्परता देखेर धेरैले भने देश जोगाउन सेना चाहिन्छ, सत्ता जोगाउन होइन । भदौ २४ को निष्क्रियता र असोजको सक्रियता नेपाली सेनाको चरित्रमा रहेको विरोधाभासको सजीव चित्र भएको बताउँछन् सुरक्षाका जानकारहरू । सिंहदरबार जल्दा मौन सैन्य सिद्धान्त अनुसार सेनाले राष्ट्रिय सुरक्षाको पहिलो तहमा राज्यका संवैधानिक अङ्गहरूको रक्षा गर्नुपर्छ । तर, जब राजधानीको मुटुमा आगो बल्दा र राज्यका तीनै निकाय कार्यपालिका, न्यायपालिका र राष्ट्रप्रमुखका कार्यालय आगोमा परे, तब सेनाको मौनताले गम्भीर प्रश्न उब्जायो । यसमा सेनाले दिएको जवाफ थियो, हामीलाई निर्देशन आएको थिएन । सेनाको यो जवाफ कानुनीभन्दा पनि नैतिक रूपमा कमजोर रहेको सुरक्षाका जानकारहरूको दाबी छ । उनीहरूका अनुसार सेनाको तालिम, स्रोत र दायित्व केवल आदेश पर्खिने संस्थाको होइन । राष्ट्रिय संकटमा स्वतःस्फूर्त प्रतिक्रिया दिने नै सेना हो । प्रत्यक्षदर्शीहरूका अनुसार आगो सुरु भएको ३ मिनेटभित्रै सेनाको ब्यारेकबाट धुवाँ देखिएको थियो । तर सेनाले कुनै तत्कालीन कदम चालेन । यस्तो बेला सेना निष्क्रिय रहनु असंवेदनशीलता भन्दा बढी  संवैधानिक जिम्मेवारीबाट पलायन भएको मान्नुपर्ने सुरक्षाविद्हरूको धारणा रहेको छ । बाढीमा देखियो मानवीय सेना असोज १७ र १८ मा परेको वर्षाको प्रकोपले पूर्वदेखि मध्य नेपालका बस्ती डुबायो, सडक भत्कायो । यो परिस्थितिमा सेनाले आदेशको प्रतीक्षा गरेन । तत्काल उद्धार टोली परिचालन गरियो, हेलिकप्टरले गर्भवती महिलादेखि वृद्धसम्मलाई सुरक्षित स्थानमा पुर्यायो । विभिन्न स्थानमा नदी तटबन्ध फुटेपछि सेनाले तत्काल तटबन्ध पुनर्निर्माणमा हात हाल्यो । त्यो बेला पनि प्रधानमन्त्री, गृहसचिव वा रक्षा सचिवबाट लिखित आदेश आएको थिएन । तर, सेनाले यो मानवीय जिम्मेवारी हो भन्दै काम सुरु गर्‍यो । यही बिन्दुले नेपाली सेनाको अर्को अनुहार देखाउँछ । यो अनुहार भन्छ राजनीतिक आदेश नभए पनि मानवीय विवेकले देशलाई प्राथमिकता दिन सकिन्छ । सेनाका प्रवक्ता उपरथी राजाराम बस्नेतका अनुसार उपत्यकामा २८ स्थानमा सेना स्ट्यान्डबाइ रहेकोले तत्काल उद्धार सम्भव भयो । बस्नेतका अनुसार नदी किनारामा रहेका नागरिकलाई सेनाले बाढी आउनुभन्दा पहिले नै उद्धार गरेर सुरक्षित स्थानमा पुर्याएको थियो । इलामबाट एक वृद्ध र एक गर्भवती महिलाको उद्धार नेपाली सेनाले गरेको जानकारी बस्नेतले दिए । यस्तै सन्दुकपुरको महाबुमा उद्धारका लागि सेनाको हेलिकप्टर पूर्वी पृतना इटहरीमा बसेको छ, तर मौसम नखुलेकाले उडाउन सकिएको छैन । यस्तै कन्काई र माइ खोलामा फसेका नागरिकको उद्धारका लागि काठमाडौंबाटै हेलिकप्टर त्यतातर्फ उडिसकेको बस्नेतले जानकारी दिए । सेनाको यही कदमले सामान्य नागरिकको नजरमा सेना अझै पनि राष्ट्रको सबैभन्दा अनुशासित संस्था हो । तर, पछिल्ला वर्षमा सेना राजनीतिक तहमा बढी देखिन थालेको आरोप बढ्दो छ । भदौ २४ को मौनतापछि सामाजिक सञ्जालमा सेनाको व्यापक आलोचना भए पनि असोजको बाढीपछिको सक्रियताले उक्त आलोचनालाई केही हदसम्म शान्त पारेको सुरक्षा–विद्हरूको दाबी छ । एकजना सुरक्षाका जानकार पत्रकार भन्छन्, 'जब जनताको ज्यानको कुरा आयो, सेनाले आफ्नो धर्म निभायो ।' आदेशभन्दा माथि राष्ट्र हित भदौ २४ र असोज १७ र १८ का दुई विपरीत घटनाहरूले स्पष्ट देखाउँछ, सेना आदेश बिना पनि काम गर्न सक्छ । तर कहिले गर्छ भन्नेचाहिँ प्रसङ्ग र प्राथमिकतामा निर्भर गर्छ, ती पत्रकारले नाम नलेख्ने सर्तमा बताए । उनका अनुसार राष्ट्रिय संकटको परिभाषा राजनीतिक होइन, संवैधानिक र मानवीय हुनुपर्छ । अर्का सुरक्षाविद्ले भने, 'जब सिँहदरबार जल्छ, त्यो पनि राष्ट्रको संकट हो । जब गाउँहरू बाढीले बगाउँछ, त्यो पनि राष्ट्रकै पीडा हो ।' त्यसकारण सेना दुवै अवस्थामा समान रूपले तत्पर हुन सके मात्र देशले उसलाई राष्ट्रको सुरक्षा ढाल भनेर गर्व गर्न सक्ने बताउँछन् ।

सफा देखियो काठमाडौं, आन्तरिक उडान पनि सुरु

काठमाडौं । शनिबार काठमाडौंसँगै देशभर व्यापक वर्षा भएपछि प्रभावित बनेको जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैदेखि काठमाडौंको आकाश खुलेसँगै जनजीवन सामान्य बन्दै गएको हो ।  भारी वर्षापछि काठमाडौं उपत्यका सफा देखिएको छ । शनिबार बन्द भएको हवाई उडान पनि आइतबारबाट सुरु भएको छ । आन्तरिक उडान सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ ।  आइतबार बिहान ७ः३१ बजे पहिलो उडान यती एयरलाइन्सले भद्रपुरका लागि गरेको थियो। उक्त उडानपछि काठमाडौं बाहिरका अधिकांश सुगम विमानस्थलहरूमा पनि उडान सञ्चालन सुरु भएको हो ।