तिहारमा फूलको मूल्य नबढ्ने, व्यवसायीलाई भारतबाट आउने फूलको डर
काठमाडौं । तिहार नजिकिएसँगै किसानहरूले फूल टिप्न र माला बुन्नका लागि तयारी थालिसकेका छन् । नेपाल पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा सयपत्री फूलको मालाको तिहारको लागि मात्र ४० करोडको भन्दा बढी को कारोबार हुने अनुमान गरिएको छ। त्यस्तै सयपत्री फूलको वार्षिक कारोबार भने झन्डै ८३ करोड भन्दा बढी हुने गरेको छ। एशोसिएनले यस वर्ष पनि सोही मूल्य बराबरको फूल तथा माला बिक्री हुने अनुमान गरेको छ । एशोसिएसनको अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार गत वर्षको तिहारमा ३७ कराेड रुपैयाँ बराबरकाे फूल तथा मालाको व्यावसायिक कारोबार भएकाे थियाे । उनका अनुसार वार्षिक फूलको व्यावसायिक कारोबार ४० करोडको भएपनि खपत भने त्योभन्दा बढी हुने गरेको छ । एशोसिएसनको अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अधिकांश नेपालीहरूले आफ्नो लागि आफै उत्पादन गर्छन् । उनले फूल उत्पादन नहुने कोर सहरी क्षेत्रमा मात्रै फूल तथा मालाको व्यावसायिक कारोबार हुँदै आएको छ । फूलको माग ४० लाख रुपैयाँको भएपनि नेपालमा ३५ लाख रुपैयाँ बराबरको मात्रै आन्तरिक उत्पादन हुने गरेको एशोसिएनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अपुग ५ लाख रुपैयाँ पनि फूल व्यवसायीबाट ल्याएर पूर्ति गर्नसक्ने उनको भनाइ छ । त्यस्तै, अलि बढी खपत हुने मखमली हो । एशोसिएनका अनुसार वार्षिक पाँच लाख मखमली खपत हुँदै आएको छ । नेपालबाट मखमली निर्यातसमेत हुने गरेको छ । एशोसिएनका अनुसार २ लाख रुपैयाँ बराबरको माला निर्यात हुने गरेको छ । मूल्य नबढ्ने यो वर्ष फूलमालाको मूल्य नबढ्ने एशोसिएनले जनाएको छ । यसवर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ८५ रुपैयाँ र खुद्रा मूल्य १२० रुपैयाँदेखि देखि १३० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ । त्योभन्दा ठूलो मालाको भने अलि महँगो पर्न सक्छ । त्यस्तै, उपभोक्ताले मखमली ६० देखि ६५ रुपैयाँसम्म किन्न पाउने एशोसिएनले जनाएको छ । अध्यक्ष श्रेष्ठका अनुसार नेपाल फूलमा लगभग आत्मनिर्भर छ । फूलमा आत्मर्निभर हुँदै गएपछि सरकारले नै २ वर्षअघि सयपत्री फूलमा आयात प्रतिबन्ध लगाएको छ । त्यस्तै, सरकारले सयपत्री फूलमा धेरै रोगहरू फैलिएको कारण पनि सयपत्री फूल आयातमा प्रतिबन्धित लगाएको हो । तैपनि नेपालमा अवैधानिक माध्यमबाट सयपत्री फूल आयात हुँदै आएको छ । अध्यक्ष्य श्रेष्ठले प्रतिबन्धित सयपत्रीलाई अवैधानिक आयात हुनबाट रोक्नको लागि सबैको साथ जरुरी रहेको र त्यसमा सबैजना मिलेर लाग्नुपर्ने बताउँछन् । उनले देशलाई समृद्ध बनाउने एउटा सेक्टर फ्लोरी कल्चर भएको उल्लेख गर्दै त्यसमा सरकारले पनि विशेष मनन गर्नुपर्ने औंल्याएका छन् । विदेशबाट वैधानिक रूपमा सयपत्री फूल आयात गर्नुपर्ने अवस्थामा १६ किसिमको रोगहरू नभएको प्रमाणित गरेर मात्रै ल्याउन सक्ने कन्डिसन राखिएको छ । एशोसिएनका महासचिव हिरामणि शर्माले त्यस्तो कन्डिसन राखिएको भएपनि अहिलेसम्म कसैले पनि त्यसरी आपूर्ति नभएको बताए । ‘अहिलेसम्म जति पनि विदेशबाट सयपत्री फूल आयातित भएको छ, ती सबै अवैधानिक लुकिछिपी हो,’ उनले भने, ‘यसलाई रोक्न सरकारले प्रयास गर्दा पनि सफल भएको छैन ।’ अवैधानिक सयपत्री आयातमा एशोसिएनले पनि प्रयास जारी राखेको र केही हदसम्म सफल भएको महासचिव शर्माले बताए । अहिले सयपत्रीमा देखिएको अपुग पनि यदि भारतबाट अवैधानिक आयात रोक्न सक्ने हो भने गाउँघरमा किसानले उत्पादन गरेको सयपत्री बजारमा ल्याएर बेच्न सकिने र यसले किसानलाई पनि आर्थिक रुपमा फाइदा पुग्ने उनको भनाइ छ । महानगरले भोलिदेखि नै अनुगमन गर्ने काठमाडौं महानगरपालिकाले भोलिदेखि नै बजारमा फूल तथा मालाको अनुगमन गर्ने महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । अनुगमनको क्रममा प्रतिबन्धित लगाएको सयपत्री कतै बेचेको पाइएमा वा कोल्ड स्टोरमा राखिएको पाएमा कारबाही हुने उनको प्रतिबद्धता छ । ‘सूचनाको आधारमा हामी अनुगमनमा खट्छौं । सुरुमा नेपाली फूल हो कि होइन भेरिफाई गर्छौं, त्यसपछि सिद गर्ने कि उठाएर लाने निर्णय लिन्छौं ।’ पाण्डे कालोबजारी व्यापारी र विचौलियाले नै गर्ने हुँदा किसान आफैले बेच्न आग्रह गर्छन् । किसानले उत्पादन गरेको फुल बिक्रीको सहजीकरणको लागि महानगरले ३२ केन्द्र तोकेको छ । पाण्डेले महानगरले तोकिएको ठाउँमा गएर फूल तथा माला निःशुल्क बिक्री गर्न सकिने बताए । त्यस्तै, उनले किसानलाई ढुवानीको लागि समस्या भए महानगरमा समन्वय गर्नसमेत आग्रह गरे । ‘हामीले किसानले उत्पादन गरेको फुल बिक्रीमा सहज होस् भनेर काठमाडौंमा ३२ केन्द्र तोकेका छौं, आफूलाई पायक पर्ने ठाउँमा सम्पर्क गरी बिक्री गर्न सक्नुहन्छ । हाम्रो उद्देश्य व्यापरीले कालोबजारी गर्ने मौका नपाओस् र किसानले उचित मूल्य पाओस् भन्ने नै हो,’ पाण्डेले भने । प्रतिबन्धित लगाएको कुनै पनि कोल्ड स्टोरमा राखिएको छ भने महानगरले छापा मार्ने हुँदा यसमा सबै व्यवसायीलाई सतर्क हुन पनि उनले आग्रह गरे । त्यस्तै, पाण्डेले यसपटक पनि विगतका वर्षहरूमा झैं महानगरभित्र प्लास्टिकको फूल तथा माला बिक्री वितरण गर्न नदिने बताए । यदि कसैले बिक्री वितरण गरेको पाइएकोमा जफतसहित कारबाही गरिने उनले चेतावनी दिए । उनले उपभोक्तालाई स्वदेशी किसानले उत्पादन गरेको फूल तथा माला मात्रै प्रयोग गर्न आग्रह गरेका छन् । नेपाली फूल चिन्ने तरिका एशोसिएनका अनुसार विदेशबाट आउने फूल एउटै धागो र एउटै साइजको हुन्छ । त्यस्तै नओइलाओस् भनेर केमिकल प्रयोग गरिएको हुन्छ । नेपाली फूल मालामा भने सानो–ठूलो मिक्स भएको हुन्छ । यसरी सजिलै विदेशी फुल पहिचान गर्न सकिन्छ ।
खरानी टकटक्याएर ट्राफिकको कमाण्ड
काठमाडौं । काठमाडौंको बग्गीखाना । जहाँ कहिल्यै नअल्झिने ट्राफिकका सिठीहरूले बिहानको सन्नाटालाई चिर्थे, अहिले त्यही ठाउँमा धुलो, खरानी र पुन:निर्माणको गन्ध आइरहेको छ । जलेको पर्खालमा हात राख्दा अझै कालो धुलो लाग्छ, तर त्यही कालो धुलोभित्र नवराज अधिकारीका आँखामा चमक देखिन्छ, मुहारमा आत्मबल देखिन्छ- ‘यो संरचना जलेको हो, हाम्रो सेवाभाव होइन ।’ टेन्टभित्र बनाइएको सानो कार्यकक्षमा एउटा कुर्सी, एउटा डेस्क र वरिपरि चार/पाँच जनाको बस्ने ठाउँ । यही सानो संसारबाट काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी अहिले सम्पूर्ण उपत्यकाको ट्राफिक व्यवस्थापन सम्हालिरहेका छन् । कार्यालयमा हाकिमको कुर्सी छैन, वातानुकूलित कोठा छैन । तर, जिम्मेवारीको भार र नागरिकप्रतिको संवेदनशीलता उनको दैनिक आहारजस्तै बनेको छ । ‘ट्राफिक व्यवस्थापनकै लागि कहिले मन्त्रालय, भीआईपी बैठकहरू धाउनुपर्छ,’ उनी भन्छन्, ‘तर जब यहाँ आउँछु, मलाई यो खरानीको गन्धले स्मरण गराउँछ, प्रहरी संस्था जल्दैन, यसलाई फेरि उठाउने आत्मबल बढ्छ ।’ भदौ २३ र २४ गते, कालो धुवाँ र गडगडाहटले काठमाडौंको आकाश ढाकेको थियो । जेनजी आन्दोलनकारीहरूको भीडले सिंहदरबार नजिकैको बग्गीखानास्थित काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा आगो लगायो । भवन, सवारी साधन, कागजात, ट्राफिक उपकरण सबै क्षणभरमा खरानी बने । आन्दोलनपछि अधिकारी घटनास्थल पुग्दा उनले देखे- प्रहरीका जवानहरूको अनुहारमा त्रास र निराशा । उनले त्रसित, निराश र बेचैन भएका ट्राफिक प्रहरीलाई सम्हाल्दै भने, ‘हामी भत्केका होइनौं, हामी परीक्षित भएका हौं, हाम्रा भवन र साधनहरु जलेका हुन्, हाम्रो मन जलेका होइन ।’ उनले जेनजी आन्दोलनको दोस्रो दिनदेखि नै ट्राफिक प्रहरीलाई आत्मबल भरेर सडकमा पठाए । खरानी टकटक्याउँदै ट्राफिक प्रहरी नागरिकको सेवामा सडकमा निस्कियो । आफ्नो बस्ने बासस्थान र चढ्ने सवारी भुलेर ट्राफिक प्रहरी नागरिकको जीवन रक्षामा लाग्यो । ‘जब यहाँ आउँछु, मलाई यो खरानीको गन्धले स्मरण गराउँछ, प्रहरी संस्था जल्दैन, यसलाई फेरि उठाउने आत्मबल बढ्छ ।’ खरानीबाट उठेर पुन:निर्माण आज त्यही बग्गीखानामा पुनः रंगरोगन भइरहेको छ। जलेको चमेना गृहमा नयाँ पेन्टको गन्ध छ, सडकपाटीमा ट्राफिक जवानहरू फेरि सीटी बजाइरहेका छन् । काठमाडौं महानगरपालिका, एनआरएनए, नेपाल प्रहरी मुख्यालय, विभिन्न संघसंस्था, उद्योगी व्यवसायी र नागरिक सबैले सहयोगी हात बढाएका छन् । ‘कतिपयले कन्ट्रोल रुम बनाइदिएका छन्, कतिपयले मोटरसाइकल दिएका छन्, कतिपयले भवन निर्माणमै हात हालेका छन्,’ अधिकारी मुस्कुराउँदै भन्छन्, कतिपयले सहयोग गर्ने प्रतिवद्धता गरेका छन्, यो जनसहयोगले प्रहरीको मनोबल बलियो बनाएको छ ।’ सहयोगका लहरहरूमध्ये एक खास दृश्य अधिकारीले कहिल्यै बिर्सन सक्दैनन् । त्यो दिन उनी दरबारमार्ग ट्राफिक वृत्त पुगेका थिए । केही स्कुले बालबालिकाले हातमा प्रेसर कुकर र खाना खाने थालहरू ल्याएर प्रहरीलाई दिइरहेका थिए । त्यो दृश्य देख्दा अधिकारीका आँखामा चमक र आवाजमा भावुकता निस्कियो । उनलाई थप काम गर्न प्रोत्साहन मिल्यो । नवराज अधिकारी कति भयो क्षति ? जेनजी आन्दोलनबाट काठमाडौं उपत्यका ट्राफिक कार्यालय ठूलो क्षति बहोर्नुपर्यो । ट्राफिक भवनदेखि सवारीसाधनको ठूलो क्षति भयो । क्षतिमा नागरिकका सवारीसाधनसँगै कागजात पनि जले । ट्राफिक प्रहरीले क्षतिको आर्थिक हिसाब ननिकाले पनि भौतिक विवरण भने संकलन गरेको छ । आन्दोलनमा क्षति भएका ७८ भवनमध्ये ३७ वटा भवनमा पूर्ण क्षति भएको छ भने २१ वटा भवनमा आंशिक क्षति पुगेको छ । २० वटा भवन भने बस्न मिल्ने खालका छन् । यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी तथा त्यस मातहतका ८१ वटा दुई पाँग्रे सवारीसाधन र ३२ वटा चार पाँग्रे सवारी सधनहरूमा क्षति पुगेको छ । कारबाहीका लागि प्रहरीले ल्याएका ४ सय २७ मध्ये ३ सय ४० वटा दुई पाँग्रे सवारी पनि आन्दोलनकारीले जलाएका छन् भने २५ वटा चार पाँग्रे सवारी साधनमा १६ वटा पूर्ण क्षति ७ वटामा आंशिक क्षति र एउटा चार पाँग्रे चोरी भएको छ । यस्तै ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवानका ९३ दुई पाँग्रे सवारी र दुइटा चारपाँग्रे सवारी साधन पनि आन्दोलनकारीले जलाइदिएका छन् । यस्तै, उपत्यकाका ७२ ठाउँमा रहेका ट्राफिक लाईटमध्ये ६३ वटा क्षति पुगेको छ भने ५३ वटा ट्राफिक आइल्याण्डमा आजगनी र तोडफोड गरिएको छ । ४ हजार ७ सय २७ ट्राफिक कोण, १ सय ४८ ट्राफिक डिभाइडरमा तोडफोड र आगजनी गरिएको छ । ट्राफिक कोन, आईल्याण्ड र वाटर ट्रीटमेन्ट प्लान्ट पनि पूर्णरुपमा ध्यवस्त भएका छन् । ७८ वटा प्रहरीका युनिफर्म तत्काल नोक्सान हुँदा हेडक्वाटरबाट तत्काल व्यवस्थापन भए पनि अन्य संरचनाको अभाव भने झेल्नु परिरहेको छ । सडकमा खटिएका प्रहरीका पोषाक समेत खोसिएको अवस्थामा बिस्तारै बस्ने खाने व्यवस्था हुँदै अब बिस्तारै सुधारको चरणमा आइसकेको अधिकारी बताउँछन् । अहिले पनि ट्राफिक उपकरण छैनन् । ट्राफिक लाइट र सीसीटीभी फुटेजहरू तोडफोड भएका छन् । प्रहरीको काम सुरक्षा दिनु हो । प्रहरीले एउटा घरभित्रको श्रीमानश्रीमतीको झगडादेखि अपराधिक पृष्ठभूमि र हिंसा, आर्थिक अपराध तथा राजनीतिक रुपमा आउने विभिन्न आन्दोलननको सामना गर्नुपर्ने हुन्छ । प्रहरी समाज सँगसँगै हुन्छ । समाजका हरेक क्रियाकलापसँगसँगै प्रहरी चलिरहेको हुन्छ । एउटा समाजसँगै काम गर्नु सहज विषय नभएको अधिकारी बताउँछन् । प्रहरीले हरेक व्यक्ति विशेषका पछाडि रहेर काम गर्नुपर्ने हुन्छ । उनी भन्छन्,‘हामीले जतिसुकै आदर्शका कुरा गरे पनि समाजमा गएर साँच्चिकै काम गर्न निकै चुनौती छ, कहिलेकाँही ज्यानकै बाजी लगाउनुपर्ने अवस्था आउँछ ।’ आगजनी भएको बग्गीखाना प्रहरी धर्म : सेवाभाव र समर्पण प्रहरी भनेको के हो ? नवराज अधिकारीको भाषामा प्रहरी भनेको समाजको ऐना हो, जुन हरेक चोट र आँसुको प्रतिबिम्ब हो ।’ उनको २३ वर्षको सेवायात्रा हलो जोत्नेदेखि हेडक्वाटरसम्म फैलिएको छ । कञ्चनपुर पुनर्वासमा जन्मेका उनले गाउँमा गोठाला गर्दै अध्ययन गरे । धनगढीको कैलाली बहुमुखदी क्याम्पसबाट स्नातक सकेपछि काठमाडौं आए र प्रहरी निरीक्षक बने । ‘पहिले जागिरका लागि आएको थिएँ, उनी भन्छन्, ‘तर अहिले यो सेवा मेरो धर्म बनेको छ ।’ १० वर्षे जनयुद्ध, त्यसपछिका आन्दोलन र अहिलेको जेनजी । हरेक संकटमा उनले फ्रन्टलाइनमा उभिए । जस र अपजस दुवै भोगे । उनी भन्छन्, ‘प्रहरीको काम भनेको नागरिकलाई सुरक्षा दिनु हो, अपराधीको विरोधमा, नागरिकको पक्षमा ।’ आन्दोलन र सामाजिक सञ्जालको छायाँ जेनजी आन्दोलनको बेला सामाजिक सञ्जालमा प्रहरीमाथि भएका आक्रमणका भिडियोहरू भाइरल भए । कोही नदीतिर लखेटिए, कोहीको पोसाक खोसियो, कोही रक्ताम्मे भए । केहीको मृत्युसम्म भयो । त्यो दृश्य अधिकारीका आँखामा अझै ताजा छ । ‘त्यो हामीले भोग्यौं,’ उनी भन्छन्, ‘तर यस्ता दृश्यले हामीलाई थकाइ दिँदैन, जिम्मेवारी सम्झाइदिन्छ, हामी पनि मान्छे हौं, हाम्रो पनि परिवार छ, भावना छ । तर हामी यो देशका सुरक्षाकर्मी हौं, डरले होइन, धर्मले चल्छौं ।’ त्यसैले पनि आन्दोलनको दुई दिनमै ट्राफिक प्रहरी सडकमा फर्कियो । जलेको युनिफर्म, धुवाँ लागेको हेल्मेट, टेन्टभित्र बनाइएको अफिस । तर, सीटी भने नयाँ ऊर्जामा बजिरहेको छ । सडकमा अहिले फेरि ट्राफिक प्रहरीहरू उभिएका छन् । घाममा पसिना बगाउँदै, भीडमा आदेश दिँदै, उनीहरू नागरिकलाई सुरक्षित पारिरहेका छन् । ‘व्यवस्थापनको पक्ष विस्तारै सुध्रिन्छ, तर हाम्रो जिम्मेवारी कहिल्यै सुस्त हुँदैन,’ उनी प्रश्न गर्छन्, ‘प्रहरीले सडक छोडेको दिन नेपालमा कस्तो अवस्था आउँछ होला ?’ उनको स्वरमा दृढता छ- ‘युद्धकालमा गोली खाएर पनि प्रहरी पछि हटेन, अहिले त झन् उठ्ने बेला हो ।’ अहिलेको बग्गीखाना किन ट्राफिक नै निशानामा ? हरेक आन्दोलनमा प्रहरी निशानामा पर्छ, तर यो पटक खासगरी ट्राफिक प्रहरी बढी प्रभावित भयो । यसलाई अधिकारीले पृथक रुपमा बुझेका छन् । उनी भन्छन्, ‘सडक प्रयोग गर्ने हरेक नागरिकसँग ट्राफिकको ठक्कर नै हुन्छ । कसैलाई चिट काट्दा मन नपर्ने, मापसेमा कारवाही गर्दा रिस उठ्ने । यही रिसले आक्रोश बन्यो र ट्राफिक प्रहरीलाई नै टार्गेटमा राखियो ।’ काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अहिले चुनौतीपूर्ण छ । सवारी चालकले नियम तोड्छन्, पैदल यात्रु पनि नियम तोड्छ । ‘जहाँ पनि चढ्ने, जहाँ पनि झर्ने, हर्न बजाउने’ आम संस्कृति छ । राइडर सेवा (राइडसेयरिङ) ले झन् ट्राफिक व्यवस्थापनमा जटिलता थपेको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘सचेतता सबैमा छ, तर व्यवहारमा पालना कम छ ।’ उनी सडक व्यवस्थापन केवल प्रहरीको मात्रै जिम्मेवारी नभई सबै नागरिकको नैतिकता पनि भएको बताउँछन् । आगामी योजना अधिकारीको सपना छ- डिजिटाइज्ड ट्राफिक व्यवस्थापन । ‘एउटा कन्ट्रोल रुमबाट ट्राफिक नियमन होस्, नियम उल्लंघन गरेकै प्रमाण स्वचालित प्रणालीले देखाओस्,’ उनी भन्छन्, ‘राज्यका सीमा छन्, स्रोत सीमित छ, हामीले हाम्रो अर्थतन्त्रको यथार्थ पनि बुझ्नुपर्छ ।’ उनी ट्राफिक, सडक विभाग र स्थानीय सरकारबीच सहकार्य आवश्यक ठान्छन् । हरेक दिन बिहानै बग्गीखानाको प्रांगणमा पुग्दा उनी जलेका पर्खाल छाम्छन्, र मुस्कुराउँछन् र मनमनै भन्छन्, ‘हाम्रा संरचना जलेका हुन्, हाम्रो मन जलेको छैन । र, दौडिन्छन् सहयोगी हातहरूलाई सहयोग अपील गर्न । उनको बोलीमा दृढता, अनुहारमा शान्ति र शब्दमा आत्मविश्वास छ । उनी भन्छन्, ‘भवन जल्न सक्छ, तर सेवाभाव कहिल्यै खरानी हुँदैन ।’ बग्गीखानाको नयाँ भवनमा अहिले पुनर्निर्माणको आवाज गुन्जिएको छ । ट्राफिक सीटी फेरि थप जोडले बज्न थालेको छ । जलेको राखमाथि ठूलो आशा पलाएको छ । त्यसको कमाण्ड उनै नवराज अधिकारीले सम्हालिरहेका छन् ।
मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै
काठमाडौं । डिजिटल युगमा जब हामी ‘सबैभन्दा धनी’ भन्ने विषयमा सोच्दछौं तब धेरैको मनमा पहिलो नाम आउँछ– एलन मस्क । तर करिब १४औं शताब्दीमा पश्चिम अफ्रिकामा शासन गरेका माली साम्राज्यका राजा मन्सा मुसा (Mansa Musa I) को तुलनामा यी आधुनिक उद्योगपतिको सम्पत्ति धेरै कम देखिन्छ । मन्सा मुसालाई विश्वकै इतिहासकै सबैभन्दा धनी व्यक्ति मानिन्छ। मन्सा मुसा करिब १२८०–१३३७ ईस्वीमा माली साम्राज्यका राजा थिए । उनी आफ्नो साम्राज्यका सुन, खनिज स्रोत, व्यापार, भूमि र कर बाट अकल्पनीय धनको मालिक बने । आजको मूल्यमा उनको सम्पत्ति करिब ४–५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो आधुनिक समयका धनी उद्योगपति मस्क वा बेजोसको सम्पत्तिभन्दा धेरै गुणा बढी हो । उनको प्रसिद्धि विशेषगरी १३२४–१३२५ ईस्वीको हजयात्राबाट फैलियो । मन्सा मुसा मक्कामा हज गर्न गएका थिए र उनका हजारौं अनुयायी, सैनिक र सेवकहरू उनीसँगै थिए । उनले यात्रा गर्दा हजारौं किलो सुन वितरण गरे, जसले गर्दा अरब र इजिप्ट क्षेत्रको अर्थव्यवस्था केही समयका लागि अस्थिर भएको थियो । यो यात्रा केवल धार्मिक उद्देश्यको मात्र नभई माली साम्राज्यको शक्ति, सम्पत्ति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने अवसर पनि बनेको थियो । मन्सा मुसा केवल धनाढ्य मात्र थिएनन्स उनी विद्या, कला र संस्कृति संरक्षणकर्ता पनि थिए । उनले टिम्बक्टु, जिने, कणो जस्ता शहरहरूलाई शिक्षा र सांस्कृतिक केन्द्रमा परिणत गरे । टिम्बक्टुमा उनले पुस्तकालय, इस्लामिक विद्यालय (मद्रासा) र विश्वविद्यालय स्थापना गरे, जसले पछि शताब्दीभर विद्वान र विद्यार्थीलाई आकर्षित गर्यो । उनी आफैले विद्वानलाई आमन्त्रित गर्थे र किताब किन्थे, जसले ज्ञानको संरक्षणमा ठूलो योगदान पुर्यायो । वास्तुकलामा पनि मन्सा मुसा अग्रणी थिए । उनले अफ्रिकामा इस्लामिक शैलीमा मस्जिद र सार्वजनिक भवनहरू बनाउन प्रोत्साहन गरेका थिए । टिम्बक्टुको प्रसिद्ध साँगोर मस्जिद उनकै शासनकालमा बनेको हो । मन्सा मुसाको सन्तानको बारेमा ऐतिहासिक रूपमा स्पष्ट जानकारी छैन । सिंहासनको उत्तराधिकारी परिवार वा अन्य सम्बन्धीबाट आएको मानिन्छ । तर उनका योगदानहरूले माली साम्राज्यलाई विश्वकै आर्थिक, धार्मिक र सांस्कृतिक शक्ति बनाएको थियो । मन्सा मुसाको जीवन र शासनकालले प्रमाणित गर्छ कि वास्तविक शक्ति केवल धनमा होइन, विद्या, संस्कृति र धर्मको संरक्षणमा पनि छ । उनी केवल धनी राजा नभई, इतिहासका उत्कृष्ट शासक र सांस्कृतिक संरक्षकका रूपमा आज पनि सम्झिन्छन् ।