अन्तिम २ मिनेटमा ५ अंकले बढ्यो सेयर बजार

काठमाडौं । सेयर बजार अन्तिम समयमा गएर बढेको छ । अन्तिम दुई मिनेटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ । मंगलबार नेप्से २ बजेर ५८ मिनेटसम्म पनि घटेर राताम्य देखिएको थियो । तर अन्तिम २ मिनेटमा खरिदकर्ता हाबी भएर बजार एकाएक बढेको छ ।  मंगलबार नेप्से ०.२० प्रतिशत बढेर परिसूचक २६५५.९९ बिन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम भने ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर कारोबार भएको छ ।  बजार बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।  दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ६४२ पटक सेयर किनबेच भएको छ ।  १३ वटा मध्ये विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ भने बाँकी अन्य समूह बढको छ । आज लगानीकर्ता होटल तथा पर्यटन समूहमा आकर्षित भएका छन् ।   

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । क्रेस्ट माइक्रो लाइफले अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा हेटौडा–स्थित फेमस तास हाउस रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो । क्षेत्रीय प्रमुख अजय फुयलको सञ्चालनमा भएको कार्यक्रममा हेटौडा तथा आसपासका क्षेत्रका अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत अनुभव र सुझाव आदान–प्रदान गर्दै कार्यक्रममा सहभागिताले थप ऊर्जा र उत्साह प्रदान गरेको बताए । सम्मानित अभिकर्ताहरूले कम्पनीको भविष्यका योजना र लक्ष्यमा प्रभावकारी योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले लघु बीमाको विकास र विस्तारमा अभिकर्ताको महत्वपूर्ण भूमिकाबारे धारणा राखेका थिए । त्यस्तै, बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भावना र अभिकर्ताले अपनाउनु पर्ने रणनीतिबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।

सिटिजन्स बैंकको ‘डीजीबैंक’ डिजिटल प्लेटफर्म सुरु, ५० वटा सेवा एउटै च्यानलमा

काठमाडौं । सिटिजन्स बैंकले  डिजिटल बैंकिङ सेवालाई अझ एकीकृत र सहज बनाउन 'सिटिजन्स डीजीबैंक' नामक नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको  छ । बैंकका अनुसार यस प्लेटफर्मको मुख्य उद्देश्य छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रीत गरी ग्राहकलाई वेब र मोबाइल मार्फत छिटो र सरल पहुँच उपलब्ध गराउनु हो । यसले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । पहिलो चरणमा, प्लेटफर्ममा बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु उपलब्ध छन् । यसमा अनलाइन खाता खोल्ने, प्यान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस सर्टिफिकेट माग, साथै डिम्याट, मोबाइल बैंकिङ र कार्ड सम्बन्धी सेवा समावेश छन् । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै ग्राहकलाई नवीनतम सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । भविष्यमा थप सेवाहरू समावेश गरी यस प्लेटफर्मलाई अझ सशक्त बनाउने प्रतिबद्धता बैंकले जनाएको छ । यसअघि बैंकले नवयुवालाई लक्षित गर्दै 'सिटिजन्स जेनजी सेभिङ अकाउन्ट' पनि सञ्चालनमा ल्याएको थियो ।