सेयर बजारमा ४ अर्बको कारोबार
काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५६ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सेन्ट्रल फाइनान्सको भएको छ । सेन्ट्रल फाइनान्सको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ८.५ प्रतिशत लक्ष्मी बैंक डिभेन्चरको १७ करोड, आँखु खोला जलविद्युतको १३ करोड, सिटी होटलको ११ करोड र रिलाइन्स स्पिीनिङ मिल्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कालिन्चोक हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त, राष्ट्र बैंकमा सपथ ग्रहण
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार पाण्डेयलाई अध्यक्ष पदमा चयन गरिएको हो । नवनियुक्त अध्यक्ष पाण्डेयले निजामती सेवामा करिब २५ वर्ष कार्य गर्दै महत्वपूर्ण अनुभव हासिल गरेका छन् । आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा काम गरेको अनुभवसमेत उनीसँग रहेको बताइएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनरसमक्ष सपथ ग्रहण गराउने व्यवस्था बमोजिम पाण्डेयले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर विश्वनाथ पौडेलले उनलाई सपथ ग्रहण गराएका थिए । सपथ कार्यक्रममा राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डीत, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दिर्घबहादुर रावल, मुक्तिनाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, बोर्ड सचिव शरणकुमार अधिकारीलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
‘सञ्चालकको बन्दीमा सेबोन, नेतृत्वविहीन हुनु दुर्भाग्यपूर्ण’
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनले बोर्डको वर्तमान व्यवस्थापन अनिर्णयको बन्दी बनेको आरोप लगाउँदै संस्थालाई नेतृत्वविहीन अवस्थामा राखिनु दुर्भाग्यपूर्ण भएको जनाएको छ । सेबोनको ३३औं वार्षिकोत्सव तथा ३४औं वर्ष प्रवेशको अवसरमा जारी विज्ञप्तिमा युनियनले बोर्डको इतिहासमै पहिलो पटक वार्षिकोत्सव कार्यक्रम स्थगित हुनु व्यवस्थापनको उदासीनता, अनुत्तरदायित्व र अपरिपक्व निर्णयको परिणाम भएको टिप्पणी गरेको छ । युनियनका अनुसार स्थापनाकालदेखि नै विभिन्न चुनौती र प्रतिकूल परिस्थितिका बीच पनि बोर्डले आफ्नो वार्षिकोत्सव निरन्तर रूपमा मनाउँदै आएको थियो । तर, यस वर्ष कर्मचारी तथा सरोकारवालासँग कुनै परामर्श नगरी कार्यक्रम नगर्ने निर्णय गरिएको भन्दै युनियनले त्यसको भत्र्सना गरेको छ । विज्ञप्तिमा वर्तमान उच्च व्यवस्थापन तथा सञ्चालक समितिलाई अनिर्णयको बन्दी बनेको आरोप लगाइएको छ । युनियनले यही प्रवृत्तिका कारण बोर्ड प्रशासनिक र व्यावसायिक दुवै दृष्टिले कमजोर बन्दै गएको दाबी गरेको छ । युनियनले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रम नभई नियामक निकाय, सूचीकृत कम्पनी, बजार मध्यस्थकर्ता तथा लगानीकर्ताबीच समीक्षा, छलफल र भावी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरेको छ । यस्तो अवसरलाई रोक्नुले संस्थाभित्रको कर्पोरेट संस्कृति र सुशासनको अवस्थामाथि नै प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । युनियनले व्यवस्थापनलाई आफ्नो पदीय जिम्मेवारी र जवाफदेहिता पूरा गर्न आग्रह गर्दै रोकिएका नीतिगत तथा प्रक्रियागत निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान माग गरेको छ । संस्थाको साख जोगाउन र समग्र पुँजी बजारको हितका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको युनियनको भनाइ छ । विज्ञप्तिमा बोर्डको अध्यक्ष पद करिब दुई महिनादेखि रिक्त रहेको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको छ । अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म टुंगोमा नपुग्दा पुँजी बजारको नियामकीय गतिविधि प्रभावित भएको उल्लेख गर्दै युनियनले नेपाल सरकारसँग नियुक्ति प्रक्रिया शीघ्र सम्पन्न गरी बजारलाई आवश्यक नेतृत्व प्रदान गर्न माग गरेको छ । युनियनले सेबोनको संस्थागत सुदृढीकरण, सुशासन प्रवद्र्धन तथा पुँजी बजारको दिगो विकासका लागि तत्काल प्रभावकारी नेतृत्व र निर्णय क्षमतायुक्त व्यवस्थापन आवश्यक रहेको समेत जनाएको छ ।