काठमाडौं । जीवन बीमा कम्पनीहरूको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता (सोल्भेन्सी रेसियो) समग्रमा मजबुत देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार १३ वटा जीवन बीमकको औसत सोल्भेन्सी अनुपात १.८१ प्रतिशत देखिएको छ ।
प्राधिकरणले जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ तोकेको छ । तर १३ वटै जीवन बीमकको सोल्भेन्सी अनुपात १.३ भन्दा माथि नै रहेको छ ।
कम्पनीहरूको सोल्भेन्सी अनुपात नियामकले तोकेको न्यूनतम १.३ प्रतिशतभन्दा माथि रहनुले बीमितहरूको लगानी सुरक्षित रहेको र कम्पनीहरू भविष्यमा आउने सक्ने वित्तीय जोखिम न्यूनीकरण गर्न सक्षम रहेको संकत गर्छ।
प्राधिकरणको तथ्यांकअनुसार रिलायबल नेपाल लाइफको सोल्भेन्सी अनुपात सर्वाधिक २.५४६ छ । सन नेपाल लाइफको सोल्भेन्सी अनुपात २.४३८, आइएमई लाइफको २.३९७, मेटलाइफको २.०८३ रहेको छ ।
त्यस्तै , एशिएन लाइफ इन्स्योरेन्सको १.३३२, सिटिजन्स लाइफको १.७२८, सूर्यज्योति लाइफको १.६५४, सानिमा रिलायन्स १.५१३, प्रभु महालक्ष्मी लाइफको १.९१६, नेशनल लाइफ इन्स्योरेन्सको १.६५५, नेपाल लाइफ इन्स्योरेन्सको १.५३७ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १.५०३ रहेको छ ।
हिमालयन लाइफको सोल्भेन्सी अनुपात सबैभन्दा कम १.३२४ छ ।
लघु जीवन बीमकको सोल्भेन्सी अनुपात पनि नियामकीय प्रावधानभन्दा माथि नै रहेको छ । प्राधिकरणले लघु जीवन बीमकको सोल्भेन्सी अनुपात १.५ तोकेको छ ।
गत आर्थिक वर्षमा गार्डियन माइक्रो लाइफको २.०६, लिबर्टी माइक्रो लाइफको १.९९ र क्रेस्ट माइक्रो लाइफको १.९७ रहेको छ ।