प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष दिनेश सरियाले लिए शपथ

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई बिहीबार पद तथा गोपनीयताको सपथ गराइएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा शपथ गराएका हुन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, निर्देशक शाम्भराज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए । शपथ ग्रहण समारोहले कम्पनीको नेतृत्वमा नयाँ व्यवस्थापनद्वारा अघि बढाइने जिम्मेवारी र दायित्वको औपचारिकता पुष्टि गरेको बताइएको छ ।

एनएमबि बैंकले पायो एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस अवार्ड

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलबाट हालै आयोजित 'लिडरसीप कन्केलभ नेपाल २०२५' सम्मेलनमा 'एक्सीलेन्स इन कमर्सियल कार्ड बिजनेस' अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न गरेको महत्वपूर्ण योगदानको कदरस्वरूप प्रदान गरिएको हो । एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । बैंकले यस उपलब्धिलाई डिजिटल भुक्तानी सेवाको सुधार र व्यावसायिक कार्ड क्षेत्रमा अझ प्रगतिशील कदम चाल्न उत्प्रेरकका रूपमा लिने जनाएको छ ।

लुम्बिनी सिरेमिक्स र नबिल बैंकबीच डिलरलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्न साझेदारी

काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेडले उत्पादन गर्ने लामिनार टाइल्सको वितरण सञ्जाल सुदृढ बनाउन नबिल बैंकसँग च्यानल फाइनान्सिङ सुविधा उपलब्ध गराउने सम्झौता गरेको छ । काठमाडौंमा आयोजित समारोहमा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौता–पत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरिएको हो । सहयोग सम्झौता अनुसार देशभरका लामिनार टाइल्सका डिलरहरूले अब बैंकमार्फत सहज रूपमा चालु पूँजी प्राप्त गर्न सक्नेछन् । यसले इनभेन्टरी व्यवस्थापन प्रभावकारी बनाउने र व्यवसाय सञ्चालन थप सुदृढ गर्ने कम्पनीको अपेक्षा छ । नबिल बैंकले डिलरहरूको सुविधाका लागि ०.५ प्रतिशत ऋण प्रशासकीय शुल्क, एलसी तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर तथा पिओएस मेसिन शुल्कमा ५० प्रतिशत छुटका साथै निःशुल्क एसएमएस ट्रान्जेक्सन अलर्ट सेवा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, मुख्य कर्मचारीका लागि अधिकतम पाँच लाख रुपैयाँ सीमासहित निःशुल्क क्रेडिट कार्ड तथा नबिल केयरअन्तर्गत क्रिटिकल इलनेस बीमा सुविधा पनि प्रदान गरिनेछ । दुवै संस्थाले यो सहकार्यले डिलरहरूको तरलता बढाउने, आर्थिक बोझ घटाउने र नेपालको टाइल उद्योगलाई दिगो रूपमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन् ।