बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी छन् ।प्राधिकरणको फागुन ५ गते बसेको समितिको बैठकले निर्देशक पूजन ढुङ्गेल अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा भएको व्यवस्था अनुसार उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले जानकारी दिए । प्राधिकरणको प्रवक्ताको रूपमा निर्देशक ढुङ्गेलले अब प्राधिकरणका आधिकारिक धारणा सार्वजनिक गर्ने, सूचना प्रवाह गर्ने तथा सञ्चार माध्यमसँग समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछिन् ।

११३ कम्पनीको सेयर मूल्य बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले बढेर २६१६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार ११३ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ३६ करोड रुपैयाँको कारोबार भएको छ । साथै रिडि पावरको ३२ करोड, एसवाई प्यानलको २८ करोड, सीईडीबी होल्डीङको १८ करोड र न्यादी गुप्रको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  सोमबारको कारोबारमा १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।  साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

नेशनल लाईफको ३९ वर्ष पूरा, सामाजिक र प्रविधिमुखी कार्यक्रमलाई प्राथमिकता

काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिकमा आयोजित समापन समारोहको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । उक्त अवसरमा अध्यक्ष सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण योगदान गर्ने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरिन् । उनले सेवाग्राहीलाई उच्चस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारीलाई प्रविधिमा दक्ष बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिइरहेको बताउँदै प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इण्टिलिजेन्स (एआई) सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको जानकारी दिइन्। साथै, यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले उल्लेख गरिन् । समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा सरोकारवालाको सहयोग र सद्भावका कारण कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले भविष्यमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै नियामक निकाय तथा सम्बन्धित संस्थाहरूको मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गरे । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरमा शैक्षिक सामग्री वितरण, बालबालिकालाई भोजन व्यवस्था तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । साथै, देशभरका प्रदेश तथा शाखा कार्यालयमार्फत वृद्धाश्रम, बालकल्याण संस्था तथा मानव सेवा आश्रमहरूमा पनि विभिन्न सामाजिक कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कर्मचारीहरूको शारीरिक तथा मानसिक सक्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तरकर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटसल, टेबल टेनिस तथा बुद्धिचाललगायत खेलहरू आयोजना गरिएको थियो । समापन समारोहमा अध्यक्ष सिंहले खेलकुदमा विजयी कर्मचारीलाई पदक तथा प्रमाणपत्र, रक्तदाता कर्मचारीलाई प्रमाणपत्र तथा सांस्कृतिक प्रस्तुति दिने कर्मचारीलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।