एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट, ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २६२२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ । सोमबार ३३७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै मन्जुश्री फाइनान्सको १७ करोड, शिवम् सिमेन्टको १३ करोड, न्यादी गुप्रको १२ करोड र हिमालयन रिइन्स्योरेन्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।

नोबेल कलेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । काठमाडौंको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ र करिब २८.५७ प्रतिशत सेयर आईपीओमार्फत सर्वसाधारणलाई उपलब्ध गराइनेछ । संस्थापक समूहसँग करिब ७१.४३ प्रतिशत सेयर कायम रहनेछ । नोबेल कलेज, फ्रन्टलाइन ब्राण्ड अन्तर्गत काठमाण्डौंको पुरानो बानेश्वरमा संचालित छ । हालको अस्पतालको क्षमता १०० शैया रहेको छ र विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको छ । थप सेवा विस्तारका लागि निर्माणको चरणमा रहेको २०० शैया क्षमताको नयाँ अस्पताल, जनरल र क्यान्सर रोगलाई मध्यनजर गर्दै बनाइने छ । कम्पनी अध्यक्ष नवराज पाण्डेका अनुसार यसका लागि थप पूँजी आवश्यक भएकाले आईपीओमा जाने निर्णय गरिएको हो । अस्पतालले स्नातक तहका विद्यार्थीका लागि नर्सिङ र फार्मेसी लगायतका शैक्षिक कार्यक्रम पनि संचालन गर्दै आएको छ ।  सोमबार भएको सम्झौतामा नोबेल कलेजको तर्फबाट अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३० पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ०५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।