निर्धन उत्थान लघुवित्तका सीईओ दाहाल बाहिरिए, कार्कीलाई कामु सीईओ जिम्मेवारी
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नारायण बहादुर कार्कीलाई नियुक्त गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनी सचिव जग्य प्रसाद पन्तका अनुसार उनलाई वैशाख ४ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको पदावधि आज वैशाख ३ गते समाप्त भएको कम्पनीले जनाएको छ । यससँगै संस्थाको दैनिक सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हालका लागि कामु सीईओ कार्कीले सम्हाल्ने भएका छन् ।
एनआईसी एशिया लघुवित्तको नाफा ८ हजार १३६.९८ प्रतिशत बढ्यो
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासमा खुद नाफा ८ हजार १३६.९८ प्रतिशत बढेर १० करोड ६९ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १२ लाख ९८ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ७२.२१ प्रतिशत बढेर ८५ करोड ४० लाख ७० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ४९ करोड ५९ लाख ६१ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ६९.४५ प्रतिशत बढेर ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ, सञ्चालन नाफा ८ हजार ३५६.०३ प्रतिशत बढेर १५ करोड ९० लाख ५८ हजार रुपैयाँ पुगेको छ । तर, चैत मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ । चैत मसान्तसम्म लघुवित्तको निक्षेप तथा सापटी ७.८६ प्रतिशत बढेर २० अर्ब ७४ करोड ६७ लाख ८१ हजार रुपैयाँ र कर्जा लगानी १२.३१ प्रतिशत बढेर १९ अर्ब ७२ करोड ६७ लाख १२ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १६.५९ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा १३.५५ प्रतिशत थियो ।
राष्ट्रिय जीवन बीमा कम्पनी 'पेपरलेस' बन्दै, अब घरैबाट बीमा शुल्क तिर्न सकिने
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आफ्ना सेवाहरूलाई पूर्ण रूपमा डिजिटल र प्रविधिमैत्री बनाएको छ । कम्पनीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै 'मोबाइल एप' सार्वजनिक गर्नुका साथै सम्पूर्ण आर्थिक कारोबारलाई कागजातविहीन बनाएको घोषणा गरेको हो । कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेवा प्रवाहमा पारदर्शिता र सहजता ल्याउन यो नयाँ कदम चालेको जनाएको छ । अब सेवाग्राहीले गुगल प्ले स्टोरबाट कम्पनीको आधिकारिक एप डाउनलोड गरी आफ्नो बीमा योजनाको विवरण, प्रिमियम गणना र अभिकर्ता सम्बन्धी जानकारी तुरुन्तै प्राप्त गर्न सक्नेछन् । बीमा शुल्क र कर्जाको साँवा-ब्याज भुक्तानीका लागि अब कार्यालयसम्म धाउनुपर्ने छैन । ग्राहकले कनेक्ट आईपीएस, ईसेवा, खल्ती तथा फोनपेजस्ता डिजिटल माध्यमबाट घरैबाट भुक्तानी गर्न सक्नेछन् । कम्पनीले दाबी भुक्तानी र भेन्डर भुक्तानी लगायतका सबै खर्च प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरेको छ । यसले भुक्तानी प्रक्रियालाई छिटो र छरितो बनाउने कम्पनीको विश्वास छ । कम्पनीले "सुरक्षित भविष्य र डिजिटल सेवा, राष्ट्रिय जीवन बीमाको टेवा" भन्ने नाराका साथ प्रविधिको उच्चतम प्रयोग सुरु गरेको हो । यसबाट सेवा प्रवाहमा सुरक्षा, प्रभावकारिता र विश्वसनीयता कायम हुने कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा पनि सूचना प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाउँदै सबै ग्राहकहरूलाई डिजिटल सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ । थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट www.rbs.gov.np हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।