एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमईबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशत कर्जा सुविधा
काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन् । यस सहकार्यअन्तर्गत जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष ‘हायर पर्चेज’ कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार ‘लोन टु भ्यालू’ अनुपातका आधारमा अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ । ग्राहकलाई छिटो सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक कागजात पूरा भएको एक साताभित्रै डेलिभरी अर्डर जारी गरिनेछ । यस योजनाअन्तर्गत जेसीबी उपकरणका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि तय गरिएको छ । यो सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदमा सहज वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ । साथै प्रतिस्पर्धी कर्जा सुविधा र सरल प्रक्रियाले साना तथा मझौला व्यवसायीलाई समेत आधुनिक उपकरणमा लगानी गरी व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । एमएडब्लु अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल, जेसीबीका विश्वसनीय उपकरण तथा ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म भरपर्दो समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले आगामी दिनमा ग्राहक सुविधा, व्यावसायिक वृद्धि तथा नेपालको निर्माण एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै थप ग्राहकमैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
सानिमा रिलायन्स इन्स्योरेन्सलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को अवार्ड
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १८औं कर्पोरेट बिजनेस अवार्ड २०२६ मा कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ को अवार्ड प्राप्त गरेको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ को भव्य समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पु‍र्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान, नवीन सेवाहरू तथा ग्राहकप्रति समर्पित प्रतिबद्धताको कदरस्वरूप यो विशेष सम्मान प्राप्त गर्न सफल भएको हो । विभिन्न क्षेत्रमार्फत नेपालको आर्थिक विकास तथा समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट व्यक्तित्व र संस्थाहरू सहभागी सो समारोहमा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत १२ वटा अवार्ड र ‘बैंकिङ, इन्स्योरेन्स एन्ड फाइनान्स अवार्ड’ अन्तर्गत ६ वटा संस्थालाई सम्मानित गरिएको थियो । तीव्र प्रतिस्पर्धा र प्रतिष्ठित संस्थाहरूमाझ सानिमा रिलायन्स लाइफले आफ्नो व्यावसायिक श्रेष्ठता प्रमाणित गर्दै यो अवार्ड आफ्नो पोल्टामा पारेको हो । कम्पनीले पछिल्लो समय डिजिटल सेवा विस्तार, दाबी प्रक्रियामा सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी र २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको सानिमा रिलायन्स लाइफले देशभर रहेका १६८ शाखामार्फत ग्राहकहरूलाई आधुनिक र सुलभ बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीको यस सफलतामा १७ हजार भन्दा बढी आबद्ध अभिकर्ताहरूको ठुलो योगदान रहेको छ । यस प्रतिष्ठित अवार्डले कम्पनीलाई आगामी दिनहरूमा आफ्ना ग्राहक, लगानीकर्ता र सरोकारवालाहरूप्रति अझ बढी जिम्मेवार बन्दै थप परिष्कृत, सुरक्षित र प्रविधिमैत्री सेवा प्रदान गर्न ठुलो ऊर्जा र प्रेरणा मिलेको कम्पनीले जनाएको छ ।
मुस्ताङ भन्सारबाट ११ महिनामा ७ अर्ब ६६ करोड राजश्व सङ्कलन
काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा सात अर्ब ६६ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल-चीन उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी मालवस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नेपाल-चीन उत्तरी कोरलानाकाबाट १३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ मुल्य बराबरको मालवस्तु पैठारी भएको छ । यसैगरी २० करोड ५५ लाख ७४ हजार रुपैयाँ मुल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिए । उनका अनुसार यस नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । गत जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) कोरलानाबाट भन्सार जाँचपास भई नेपाल भित्रिएका कार्यालयले जनाएको छ । भन्सार प्रमुख चुडालका अनुसार चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनबाट करिब रु सात अर्ब राजश्व सङ्कलन भएको छ । गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुल्ला भएको कोरला वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको हो । कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएबापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउनमा सबैभन्दा कम सात लाख ५७ हजार र असोजमा सबैभन्दा बढी दुई अर्ब ४९ करोड २५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख चुडालले जानकारी दिए । कोरलानाकाबाट विद्युती सवारीसाधनसहित चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक उपकरण, जुत्ताचप्पल, किराना सामग्री, कस्मेटिकलगायत मालवस्तु नेपाल भित्रिने गरेका छन् । यसैगरी नेपालबाट हस्तकलासम्बन्धी सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेका छन् ।